मानिसका लागि सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हो । तर, तथ्यांकले भन्छ— महिला र बालिका घरमै असुरक्षित छन् । यसले देखाउँछ– ती कहीँ, कतै र कुनै कुनामा पनि सुरक्षित छैनन् ।
What you should know
महिलाविरुद्धको हिंसा मानवताकै सबैभन्दा पुरानो र व्यापक अन्यायमध्येको एक हो । तर, सबैभन्दा कम कारबाही गरिएको विषय पनि यही हो । आधा जनसंख्या डरमै बाँचिरहेको यो बेला कुनै पनि समाजले आफूलाई ‘सुरक्षित वा स्वस्थ छु’ भन्न सक्दैन । यो हिंसा अन्त्य गर्नु नीतिको मात्रै विषय होइन, बरु मर्यादा, समानता र मानवअधिकारको पनि विषय हो । महिला–युवतीको सशक्तीकरण गर्नु वैकल्पिक होइन, शान्ति, विकास, सभ्य र हिंसारहित समाज निर्माणको पूर्वसर्त हो । महिलाका लागि सुरक्षित घर, परिवार, समाज साँचो अर्थमै ‘स्वर्गीय संसार’ हो ।
विश्वभरै यतिबेला महिला र युवतीविरुद्धको डिजिटल हिंसा तीव्र गतिमा बढिरहेको छ, जसमा साइबर–उत्पीडन गर्नु, पीछा गर्नु, लिंगका आधारमा गलत जानकारी दिनु महिलामाथिको डिजिटल हिंसाको दैनिक वास्तविकता हो । अध्ययनहरूले देखाउँछन्, १६–५८ प्रतिशत महिलाले अनलाइन दुर्व्यवहारको अनुभव गरेका छन् र ८५ प्रतिशतले यो देखेका छन् । यी उल्लंघनहरूले लैंगिक असमानताको अफलाइन ढाँचाहरू प्रतिबिम्बित गर्छन् अनि बलियो डिजिटल सुरक्षा, कानुनी सुरक्षा र समन्वित क्षेत्रीय कामको तत्काल आवश्यकतामाथि जोड दिन्छन् ।
महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभरै १६ दिने अभियान मनाउन थालिएको हो । यही दिनलाई निरन्तरता दिँदै यस वर्षको अन्तर्राष्ट्रिय नारा छ– ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौं ।’ र, राष्ट्रिय नारा छ– ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ । अभियानको उद्देश्य हो– लैंगिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने, महिलाको अधिकार संरक्षण गर्ने र सशक्तीकरणलाई अघि बढाउने । तर, पछिल्ला ग्राफ नियाल्ने हो भने विश्वभरै महिला हिंसाविरुद्धका अभियान जति सञ्चालन गरिए पनि महिलामाथिका हिंसाका घटनामा कमी आएका छैनन् । बरु झनै बढोत्तरी हुँदै जानुले प्रश्नचिह्न खडा भएको छ– कतै यस्ता अभियान प्रभावकारी नभएका त होइनन् ?
महिलाविरुद्धको हिंसाको विश्वव्यापी स्तर मापन गर्दा अनुमानित ८४ करोड महिला लगभग तीनमध्ये एक आफ्नो जीवनमा कम्तीमा एक पटक शारीरिक दुर्व्यवहार वा यौन हिंसा साझेदार वा गैर–साझेदार यौन हिंसा वा दुवैको सिकार भएका छन् (१५ वर्ष र सोभन्दा माथिका ३० प्रतिशत महिलाहरू) । यो तथ्यांक, जसमा यौन उत्पीडन समावेश छैन, विगत दुई दशकमा धेरै हदसम्म अपरिवर्तित छ । घनिष्ट साझेदार हिंसा घटाउने प्रगति विगत दुई दशकमा धेरै ढिलो भएको छ, केवल ०.२ प्रतिशत वार्षिक गिरावट आएको छ । हिंसा भोगेका महिला र युवतीमा डिप्रेसन, चिन्ता, विकार, अनियोजित गर्भावस्था, यौन सञ्चारित संक्रमण र एचआईभीबाट पीडित हुने सम्भावना बढी हुन्छ, जसबाट दीर्घकालीन रूपमै उनीहरूले गहिरो मानसिक र शारीरिक पीडा भोगिरहेका हुन्छन् । अहिले पनि साथीबाहेक अरू कसैबाट हुने यौन हिंसा व्यापक तवरमा विद्यमान छ, तर यसको अत्यन्तै कम रिपोर्ट गरिएको छ । विश्वव्यापी रूपमा ८ प्रतिशत वा १५ वर्ष र सोभन्दा माथिका २६ करोड ३० लाख महिलाले जीवनकालमा कम्तीमा एक पटक पार्टनरबाहेक अरू कसैबाट यौन हिंसाको अनुभव गरेको रिपोर्टले देखाएको छ ।
लैंगिक हिंसाभित्र पनि यौनजन्य हिंसा अत्यन्तै अमानवीय, क्रूर र निकृष्ट हिंसा हो, जघन्य अपराध हो । हाम्रो देशमा पनि यस्तो हिंसा लगभग शतप्रतिशत नै चिनजानकै व्यक्तिबाट हुने गरेको डरलाग्दो नतिजा प्रहरी तथ्यांकले देखाएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा प्रहरीले यौनजन्य हिंसाका ९२ प्रतिशत अभियुक्त चिनजानकै रहेको आँकडा सार्वजनिक गरेको हो । तथ्यांकअनुसार, ०८१/८२ मा यौन हिंसामा संलग्न अभियुक्तमध्ये १ हजार ८ सय ७८ अभियुक्त सामान्य चिनजान, ९ सय १ छिमेकी, ४ सय १९ पारिवारिक नाताका, ३३ शिक्षक र बाँकी २ सय ८० मात्रै अपरिचित रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यस्तै प्रहरीका अनुसार, ०८१/८२ मा देशैभर यौनजन्य हिंसाका ३ हजार १ सय ७८ मुद्दा दर्ता भएका थिए, जसमा ३ हजार २ सय १२ महिला पीडित बनेका छन् । हिंसामा संलग्न ३ हजार ५ सय ११ अभियुक्त पक्राउ परेका थिए । उनीहरूमध्ये ३ हजार २ सय ३१ अर्थात् ९२.०२ प्रतिशत अभियुक्त चिनजानकै व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
अझै यौन हिंसाबाट पीडितमध्ये ६४ प्रतिशत बालिका रहेको प्रहरी तथ्यांकले देखाउँछ, जसले हाम्रो घरपरिवार र समाजमा छोरीलाई कहाँ लगेर सुरक्षित तवरले राख्न सकिएला भन्ने चिन्ता उब्जिएको छ । तथ्यांकअनुसार, आ.व. ०८१–८२ मा मुलुकभर यौनजन्य हिंसाबाट १८ वर्षभन्दा कम उमेर समूहका २ हजार ७१ बालिका पीडित बने, जुन कुल पीडित संख्याको ६४.४७ प्रतिशत हो । त्यसमा पनि सबैभन्दा धेरै १० देखि १४ वर्ष उमेर समूहका ६ सय ९० बालिका पीडित बने । त्यस्तै, १५ देखि १६ वर्ष उमेर समूहका ६ सय १६ र १७ देखि १८ वर्ष उमेर समूहका ४ सय १४ बालिका यौन हिंसामा परेको प्रहरी तथ्यांक छ । १० वर्षमुनिका ३ सय ५१ बालिका र १९ वर्षमाथिका १ हजार १ सय ४१ बालिका यौन हिंसामा परेका छन् ।
मानिसका लागि सबैभन्दा सुरक्षित ठाउँ आफ्नै घर हो । तर, आज सबैभन्दा धेरै महिला र बालिका घरमै असुरक्षित बन्दै गइरहेको तथ्यांक सार्वजनिक हुनुले समाजमा बालिका र महिला कहीँ, कतै पनि सुरक्षित छैनन् भन्ने प्रस्ट देखाएको छ । मुलुकभर ३ हजार २ सय १२ महिलामध्ये २ हजार २ सय ५७ महिला आफ्नै घरमा यौन हिंसाका सिकार भए, जुन कुल पीडित संख्याको ७०.२६ प्रतिशत हो । त्यस्तै, ५ सय २८ महिला सार्वजनिक स्थानमा यौन हिंसाको सिकार भएका छन् भने २ सय ५६ जना एकान्त वा वनजंगल क्षेत्रमा । १ सय १९ होटल तथा गेस्ट हाउसमा, २२ जना पेसागत स्थानमा, ९ जना सवारीसाधनमा, ३ जना अनलाइनमा र एक जना धार्मिकस्थलमा यौन हिंसाको सिकार भएका छन् । बाँकी १५ महिलाले भने यौन हिंसा भएको ठाउँ खुलाएका छैनन् । यसले वर्तमान अवस्थामा महिला र बालिकाले भोग्नुपरेको पीडादायी अवस्था चित्रण गर्छ ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार, सन् २०२४ मा विश्वभर ५० हजार महिला तथा युवती आफ्ना घनिष्ट पार्टनर वा परिवारका सदस्यद्वारा मारिएका थिए । यस वर्ष राष्ट्रसंघीय महिलाले हिंसाको नयाँ रूप डिजिटल हिंसा वा प्रविधिमार्फत भइरहेका हिंसामा ध्यान केन्द्रित गरिरहेको छ । यसमा महिलाको पिछा गर्ने, तस्बिर, भिडियो र अडियोलाई डिपफेक गर्ने, सहमतिबिना तस्बिर सेयर गर्ने र विशेषगरी हाई प्रोफाइल र सार्वजनिक जीवनमा रहेका व्यक्तिलाई आक्रमणको निसाना बनाउनेलगायत क्रियाकलाप समावेश छन् । कृत्रिम बुद्धिमताले परिस्थितिलाई झनै खराब बनाइरहेको छ, तस्बिरमा आधारित दुर्व्यवहार विस्फोट भइरहेकै छ । अनुमानित ९० देखि ९५ प्रतिशत अनलाइन डिपफेकले महिलालाई यौनजन्य तरिकाले चित्रण गर्ने गरेको राष्ट्रसंघीय महिलाको भनाइ छ । अनलाइनमा हुने घटनाक्रमले महिला र युवतीलाई उनीहरूको जीवनभरि नै गम्भीर असर पुर्याउँछ । राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए), युनिसेफ र सेभ द चिल्ड्रेनको हालैको विश्वव्यापी प्रतिवेदन ‘प्रविधि–सुविधायुक्त लिंगमा आधारित हिंसा : जीवनभर विचार’ प्रतिवेदनले पनि यही विषयलाई पुष्टि गरेको छ । साथै डिजिटल दुरुपयोग बढ्दो रूपमा हिंसात्मक अतिवादसँग जोडिँदै गइरहेकाले पनि यसले सामाजिक सञ्जाल प्लाटफर्महरूमा महिलाहरूको आवाज दबाउने र मौन बनाउने प्रयासमा अग्रसर बन्दै गइरहेको छ, जुन गलत प्रवृत्तिको द्योतक हो ।
धेरै देशमा डिजिटल हिंसा सम्बोधनका प्रयास भइरहेका छन्, जुन महत्त्वपूर्ण छन् । किनभने लक्ष्य हानि रोक्नु मात्रै होइन, बरु बालबालिका र युवायुवतीले डिजिटल जीवनमा पूर्ण रूपमा भाग लिन सकून् भन्ने सुनिश्चित गर्नु पनि हो । उनीहरूको अवसर फराकिलो बनाउने डिजिटल ठाउँ सिर्जना गर्नु परिवार, विद्यालय, समुदाय, नीति–निर्माता र प्रविधि कम्पनीको साझा जिम्मेवारी हो । यही जिम्मेवारी आत्मसात्सँगै सहकार्य गर्यौं भने डिजिटल प्लाटफर्म महिला र युवतीका लागि अघि बढ्ने, नेतृत्व गर्ने र फस्टाउने सुरक्षित ठाउँ बन्दै जानेछ । र, यसले डिजिटल संसारलाई पनि समृद्ध बनाउनेछ ।
