कर्णालीका छोरीहरूको अलग संघर्ष

कर्णाली प्रदेश सरकारले छोरीहरूका लागि भनेर विशेष बजेटको व्यवस्था गरेको छैन । ‘छोरी खाता’ भन्ने योजना पनि अधुरो छ । छोरी र महिलाका लागि बनाएका विभिन्न योजना अपूरै र अधुरै छन् । दिगो विकास लक्ष्यले ‘सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने’ भन्ने लक्ष्यले सार्थकता नपाएको भान हुन्छ ।

मंसिर २२, २०८२

वसन्ती शाही

The unique struggle of Karnali's daughters

What you should know

अहिले कर्णालीका स्कुलहरूमा छोरीको संख्या धेरै छ । यसको मतलब छोरा कम जन्मेको भने होइन । छोरी जन्मिने संख्या बढेको पनि होइन । पछिल्लो समय छोरीहरूले पनि स्कुल जान पाएकाचाहिँ हुन् । र, स्कुलमा छोरीको संख्या बढी हुनुमा यो एउटा मात्रै कारण होइन ।

छोराहरूलाई सहरका बोर्डिङ स्कुलमा पढाउन थालेपछि गाउँका स्कुलमा छोरीको संख्या बढेको हो । यसले देखाउँछ— कर्णालीको समाज अझै पनि छोरा र छोरीमा विभेदित छ । 

कर्णालीका छोरीहरू डाक्टर छन्, इन्जिनियर छन्, पाइलट छन्, सचिव, उपसचिव र अधिकृत पनि छन्, अग्रपंक्तिका खेलाडी छन्, मिस नेपाल छन्, गायिका छन्, कलाकार छन्, पत्रकार र महिला शिक्षक पनि छन् । विश्वविद्यालयतिर प्राध्यापक छन्, व्यापार–व्यवसाय गर्ने महिला पनि उत्तिकै छन् । राजनीतिमा हेर्ने हो भने पनि कर्णालीका छोरीहरू सभामुख र उपसभामुख छन् । 

कर्णाली प्रदेश सरकारका मन्त्री पदमा पनि महिला आसीन छन्, पहिले पनि थिए । प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा समेत कर्णालीका महिलाको प्रतिनिधित्व आशाजनक नै छ । यो भनेको महिलाको शिक्षित र सशक्त जनसंख्या हो । तर, सानो जनसंख्या मात्रै । 

यसरी अग्रपंक्तिमा रहने र उच्च ओहदा हासिल गर्ने महिलाहरूलाई तिनको पारिवारिक सहयोग पक्कै छ । ती महिलामाथि हेर्ने दृष्टिकोण पनि सकारात्मक नै छ भन्ने विश्वास छ । पारिवारिक सहयोग र हौसलाबिना यो स्थानमा पुग्नै सकिन्न । राम्रो शिक्षाको अवसर र पारिवारिक सहयोगले प्रगतिको मार्ग प्रशस्त गर्छ । प्रगतिका लागि हौसला बढाइदिन्छ । ‘छोरीले पनि गर्न सक्छे’ भन्ने विश्वास पनि अभिभावकमा हुनु जरुरी छ । 

अर्कोथरी परिवार यस्तो छ, जो छोरीलाई माया गर्छ, तीमाथि लगानी गर्न पनि तयार छ, तर छोरीलाई विश्वास गर्न सक्दैन । यस्तो परिवारका छोरीहरूको प्रगति रोकिन्छ । त्यसैले ‘यो त छोरी हो, कमजोर छे, एक्लै कतै जानै सक्दिन, ऊ असुरक्षित छे, आनोे सुरक्षा आफैँ गर्न सक्दिन, हामीले उसको सुरक्षा गरीदिनुपर्छ । बाहिरफेर गएर छोराहरूसँग प्रतिस्पर्धा गर्न पनि सक्दिन’ भन्ने मनस्थिति अभिभावकले हटाउनै पर्छ । छोरीलाई एक्लै छोड्दा कसैले केही गर्ला कि ? कसैले केही भन्ला कि ? भन्ने हाउगुजी हामीले अब हटाउनै पर्छ । जब छोरी स्वतन्त्र हुन्छे, आफ्नोे सुरक्षाको योजना आफैँ बनाइसकेकी हुन्छे । त्यसैले छोरीमाथि लगानीमा किन कन्जुस्याइँ गर्ने ? 

गत वैशाखमा सुर्खेतमा ज्योति फाउन्डेसनले ‘कर्णाली छोरी सम्मेलन’ आयोजना गरेको थियो, जसमा कर्णालीका छोरीहरूले आफ्ना दुःख बिसाए, अनुभूति सुनाए र कथा–व्यथा पोखे । सरकारीस्तरमा छोरीहरूको समग्र सिकाइमा कमजोर लगानी भइरहेका बेला फाउन्डेसनले कर्णालीका ७९ वटै पालिकाका दुई सय छोरीलाई एकै थलोमा भेला पारेको थियो । त्यहाँ समाजको मूलधारमा आउन नसकेका राउटे, राजी, कुसुन्डा समुदायका छोरीहरूले समेत आफ्ना मनका कुरा सुनाए । कर्णालीबाट सफल छोरीहरू र भविष्य बनाउन अघि सरेका छोरीहरूबीच भावनात्मक भेटघाट र विचार आदानप्रदान भयो । 

भविष्य बनाउन तम्सेका छोरीहरूले सफल भएका दिदीहरूका सफलताका कथा, व्यथा र भावनाहरू सुने । ठूलो र चौडा छाती भएका बाउहरूको साथ–सहयोगको कारण नै दिदीहरू सफल भएको थाहा पाए । एउटी छोरी मान्छेलाई सफल हुन कति चुनौती सामना गर्नुपर्ने रहेछ ? यी कुरा पनि थाहा पाए । कर्णालीका धेरै छोरी अझै छाउगोठमै छन् । थाप्लोको भारीले अझै छाडेको छैन । समाज छोरीप्रति अझै सकारात्मक हुन सकेको छैन । सफल हुने छोरीले तेहरो भूमिका निर्वाह गरेर अघि बढ्नुपरेको छ । 

कर्णाली एउटा भूगोल हो, तर यहाँभित्रको विविधताबारे मुलुक बेखबर छ । यहाँको हिमाल र पहाडका पाखापखेरामा छोरीहरूले गर्ने दुःख अलग–अलग छन् । पढाइ र रोजगारीका लागि महिलाले गर्नुपर्ने संघर्ष भिन्न छन् । कोही घाँस काट्न जाँदा भीरबाट लडेर ज्यान गुमाउँछन्, कोही स्कुल जाँदा । अन्धविश्वास र कुरीतिको पहाडले कर्णालीलाई नै धेरै थिचिरहेको छ । देउताले बिराम, सन्चो नगरेपछि मात्रै अस्पताल जाने चेतना भएको समाजमा छोरीले डाक्टर बनेर सेवा गर्ने मौका कहिले पाउने होला ? 

कर्णाली प्रदेश सरकारले छोरीहरूका लागि भनेर विशेष बजेटको व्यवस्था गरेको छैन । ‘छोरी खाता’ भन्ने योजना पनि अधुरो छ । छोरी र महिलाका लागि बनाएका विभिन्न योजना अपूरै र अधुरै छन् । दिगो विकास लक्ष्यले ‘सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने’ भन्ने लक्ष्यले सार्थकता नपाएको भान हुन्छ । 

कर्णाली प्रदेशमा माध्यमिक तह (९–१२ कक्षा) मा छोरीहरूको संख्या ६४ हजार ६ सय ८९ छ भने छोराहरूको संख्या ६४ हजार २ सय २८ छ । माध्यमिक तह (९–१२ कक्षा) मा ५८.६ प्रतिशत छोरीको भर्ना हुन्छ भने ५६.७ प्रतिशत छोराको भर्ना हुन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार, कर्णाली प्रदेशको कुल साक्षरता प्रतिशत ६२.८ छ । यसमा पुरुषको ८३.३ र महिलाको ६९.४ छ । ३० प्रतिशत महिला अझै शिक्षाको उज्यालोबाट वञ्चित छन् । सीप र दक्षता हस्तान्तरण गर्न सकिएको छैन । छोरीका लागि बनेका योजना र कार्यक्रम गन्तव्यमा नपुग्दै तुइन्छन् । यसको खोजी कसले गर्ने ? छोरीका काम र क्षमतामाथि विश्वास गर्न सकिएको छैन । 

कर्णालीबाट देशका विभिन्न स्थानमा छोरीहरूले विभिन्न भूमिका निभाएका छन् । छोरीहरूले केही गर्न सक्दैनन् भन्ने उदाहरण दिनुभन्दा पनि छोरीहरूमा लगानी बढाउनुपर्छ भन्ने विषयले बढी सार्थकता पाउला ।

त्यसैले आत्मनिर्भरता बढाउन, पारिवारिक सशक्तीकरण र सामाजिक रूपान्तरण गर्न, आर्थिक अवस्था सुधार्न, वैज्ञानिक तरिकाले स्वास्थ्य सरसफाइ र हेरचाह गर्न, स्वस्थ पारिवारिक योजना निर्माण गर्न, हिंसारहित समाजको निर्माण, सामाजिक नेतृत्वको विकास, सामाजिक भेदभाव, विकृति र कुरीतिहरूको अन्त्य गर्न, परम्परागत समाजमा जरो गाडेर बसेका विसंगतिहरू निर्मूल पार्नका लागि छोरी शिक्षित हुनै पर्छ । शिक्षाले नै आत्मबल र साहस पैदा गर्छ । यसकारण पनि छोरीलाई शिक्षा दिनु अपरिहार्य छ । 

वसन्ती शाही प्रदेश लोक सेवा आयोग कर्णालीकी कार्यवाहक अध्यक्ष हुन् ।

Link copied successfully