नेतृत्व परिवर्तनको सेरोफेरोमा कांग्रेस

सभापति देउवा यतिबेला कांग्रेसको नेतृत्व र सत्ता राजनीतिको चक्रव्यूहबाट बाहिरिन खोजेको प्रतीत हुन्छ । राजनीति हो, राजनीतिमा जे पनि हुन सक्दछ । उनी सत्ताको चक्रव्यूहबाट बाहिर ननिस्कन पनि सक्छन् । तर, चक्रव्यूहबाट बाहिरिनु राम्रो कुरा हो ।

मंसिर २०, २०८२

किशोर नेपाल

Congress on the brink of leadership change

What you should know

राजनीतिक जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी आरजु देउवा जेन–जी आन्दोलनको आडमा २३ र २४ भदौमा मच्चिएको विध्वंसकारी आक्रमणको सिकार बन्न पुगे । घाइते देउवा दम्पतीको उपचार नेपाली सेनाको अस्पतालमा भयो ।

उपचारपछि देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए । आफ्नो उपचार गरेर फर्किएका देउवाको मनबाट त्यो आक्रमणबाट उत्पन्न भएको अवसादको भाव हटेको पक्कै छैन । पञ्चायतकालीन समयमा प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै निरंकुशतन्त्रको सक्रिय प्रतिरोध गरेबापत अनेकन यातनाबाट सुरु भएको उनको राजनीतिक यात्रा दुःखान्तमा टुंगिएको छ । देउवा नेपाली कांग्रेसको सभापति पदबाट निवृत्त हुन चाहन्छन् । आफूविरुद्ध केन्द्रित आक्रमणले उनको मनोबल धरमराएको छ ।

यस्तो लाग्छ, कांग्रेसका समकालीन नेताहरूले आफ्नै पार्टीको सिद्धान्त र संकल्पलाई राम्ररी बुझ्न सकेका छैनन् । पार्टीमा सुझबुझ भएका नेताहरूको कमी छैन । तर, उनीहरू अघिल्लो शताब्दीको विश्वव्यापी आर्थिक निर्भरतामा रमाइरहेका छन् ।नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि उनले गरेका लामो र पीडादायक संघर्षको सराहना गर्नै पर्दछ । तर, राजनीतिको जोड–घटाउमा अत्यन्त पोख्त सावित भएका देउवाले संघीय गणतान्त्रिक नेपालको ‘मुहार’ चम्काउन के कस्तो योगदान दिए ? यो प्रश्न देउवाका सन्दर्भमा मात्रै होइन, एमाले अध्यक्ष खड्गप्रसाद ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका सन्दर्भमा पनि उत्तिकै जायज छ ।

पछिल्लो चुनावपछि दाहाल नेतृत्वको सरकारको लौरो बनेका थिए, देउवा । कांग्रेस महासमितिको गोदावरी बैठकपछि उनले प्रचण्डलाई दिएको लौरो खोसेर एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई टेको लगाए । उनको यो कदम सही थिएन भन्ने त घटनाक्रमहरूले बताइसकेका छन् ।

सभापति देउवा यतिबेला कांग्रेसको नेतृत्व र सत्ता राजनीतिको चक्रव्यूहबाट बाहिरिन खोजेको प्रतीत हुन्छ । राजनीति हो, राजनीतिमा जे पनि हुन सक्दछ । उनी सत्ताको चक्रव्यूहबाट बाहिर ननिस्कन पनि सक्छन् । तर, चक्रव्यूहबाट बाहिरिनु राम्रो कुरा हो ।

प्रधानमन्त्रीका रूपमा आफ्नो ‘पटके’ शासनकालमा देउवाले देश विकासका सन्दर्भमा खासै योगदान दिएको देखिँदैन । उनमा देश विकासको विचार र परिकल्पना नभएको होइन । तर, उनको समय सत्ता राजनीतिको जोड–घटाउमा बित्यो । उनले पहिलो पटक प्रधानमन्त्री भएका समयमा पञ्चेश्वर योजना निर्माणका लागि भारतसँग वार्ता गरेर सकारात्मक कदम नचालेका होइनन् । तर, त्यो योजनाको कार्यान्वयनका लागि तदारुकता देखाउने काम उनीबाट भएको देखिएन ।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको राष्ट्रिय जनआन्दोलनको सफलतापछि देउवा संघर्षको राजनीतिबाट सत्ताको राजनीतिमा प्रवेश गरेका हुन् । राष्ट्रिय जनआन्दोलनको सफलतापछि भएको २०४८ को संसदीय चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि कांग्रेसका शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री बने । त्यसपछि उनले राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आन्तरिक विवाद र विग्रहका कारण कोइराला नेतृत्वको सरकार ढल्यो र मध्यावधि चुनावको घोषणा भयो । चुनावमा कांग्रेसले बहुमत ल्याउन सकेन । एमाले संसद्मा सबभन्दा ठूलो दलका रूपमा उपस्थित भयो । एमालेले लोकप्रिय कम्युनिस्ट नेता तथा पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनायो । तर, अधिकारी नेतृत्वको यो सरकार लामो समय चल्न सकेन । यो सरकारले पनि संसद् विघटन र मध्यावधि निर्वाचन घोषणा गर्‍यो । प्रतिपक्षी कांग्रेसले संसद् विघटनका विरुद्ध सर्वोच्च अदालत गुहार्‍यो । सर्वोच्च अदालतले मध्यावधि चुनावका विरुद्ध संसद् पुनःस्थापनाको आदेश दियो । सर्वोच्चको फैसलापछि राजनीतिक हिसाबले, सत्ताको बागडोर गिरिजाप्रसाद कोइरालाको हातमा पर्नुपर्ने थियो । तर, कोइराला त्यतिखेर सत्ताको पासोमा अल्झिनबाट जोगिए ।

कोइरालाले प्रधानमन्त्री पदमा ‘चासो’ नदेखाएपछि सत्ताको केन्द्रमा स्थापित भए, देउवा । उनले पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जुटाएर मिलिजुली सरकार बनाए । यो सरकार झन्डै डेढ वर्ष चल्यो । यो अवधिमा सांसदहरूको विदेश भ्रमणदेखि अपहरणसम्मका अनेकौं रोचक र नाटकीय घटना भए । अन्ततः ‘लोकप्रिय’ र ‘अलोकप्रिय’ निर्णय गर्दै देउवा नेतृत्वको सरकार विघटन भयो । त्यो विघटन आफैंमा रोचक थियो । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसका दुई सांसद अचानक गायब भए । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ढल्यो । यो घटनापछि कांग्रेसभित्रको आन्तरिक द्वन्द्व झन् चर्किन थाल्यो । कांग्रेसको समर्थनमा उभिएका पूर्वपञ्चहरूको समूह पनि छितरिन थाल्यो । राजनीतिक अवस्था नाजुक मोडमा पुग्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलिजुली सरकारको नेतृत्वबाट देउवाको निर्गमपछि एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द र कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने । तर उनीहरू पनि लामो समय टिकेनन् । बरु गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री भए । यसका साथै, कांग्रेसभित्र विग्रहको विघटनकारी खेल अझै तीव्र भयो । प्रधानमन्त्रीका रूपमा कोइरालाको पुनरागमनसँगै देशमा तेस्रो चुनावको समय आयो । कांग्रेस सभापतिका रूपमा कोइरालाले कृष्णप्रसाद भट्टराईको काँधमा निर्वाचन अभियानको नेतृत्व सुम्पिए । भट्टराईको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिएको निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो । दुई पटक अन्तर्घातको मारमा परेर पराजित भएका कृष्णप्रसाद भट्टराई काठमाडौं र पर्साबाट उम्मेदवार बनेका थिए । उनले दुवै क्षेत्रबाट विजय प्राप्त गरे ।

दुई क्षेत्रबाट निर्वाचनमा विजयी कृष्णप्रसाद भट्टराईका लागि आफ्नो आत्म–सन्तोषको विषय पनि थियो । उनी प्रधानमन्त्री बने । तर, प्रधानमन्त्रीका रूपमा उनले सात महिना पनि राम्ररी काम गर्न पाएनन् । सत्ताको ‘भोग गर्न’ नपाएर छटपटिएका कांग्रेसका मन्त्री र सांसदहरूले ‘सिंहदरबार’ मा ‘मसान शान्ति छाएको’ नारा लगाउन थाले । त्यसपछिका राजनीतिक घटनाहरू कांग्रेसका लागि अभिशाप सावित भयो । २०४६ को राष्ट्रिय जनआन्दोलनको उपलब्धिका रूपमा आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र गहिरो संकटमा भासियो । यो समयले कांग्रेस, कम्युनिस्ट र अन्य सबै दलका नेताहरू र सर्वसाधारण जनतालाई राजनीतिक संकट र सामाजिक विघटनको संघारमा पुर्‍यायो । संकटको यो कालखण्डमा शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस पार्टीको विभाजन भयो । देउवा आफ्ना सहयोगी र गिरिजाविरोधी नेता–कार्यकर्ताको समूहसहित ‘रुख’ को छहारीबाट निस्केर ‘कलश’ समात्न पुगे ।

त्यो समय नेपाल माओवादीहरूले चलाएको हिंसात्मक आन्दोलनको चापमा चेपिएको थियो । जनता राज्य र माओवादीको बन्दुकको चेपमा चेपिएका थिए । सामान्य नेपालीको जीवनमा हाहाकार मच्चिएको थियो । माओवादीसँग वार्ताका प्रयासहरू नभएका होइनन् । तर, त्यसले परिणाम दिएका थिएनन् । त्यही सेरोफेरोमा २०५८ जेठमा राजा वीरेन्द्र तथा उनको वंशको नाश हुने गरी हृदय विदारक घटना भएको थियो । राजा वीरेन्द्रका उत्तराधिकारीका रूपमा ज्ञानेन्द्र शाह राजसिंहासनमा बसेका थिए । राजा बनेपछि ज्ञानेन्द्रले चटक देखाउने मदारीले जस्तै अनेकौं प्रयोग गरे । गिरिजाप्रसाद कोइरालादेखि कांग्रेस–कम्युनिस्टका सामान्य कार्यकर्ताहरूलाई जेलमा कोचेर शासन गर्ने उनको मनसाय स्पष्ट देखियो । प्रयोगकै क्रममा, उनले देउवालाई पनि प्रधानमन्त्रीका रूपमा काम गर्ने ‘मौका’ दिए । त्यतिबेला देउवाले ‘गोर्खाली राजाबाट न्याय पाएको’ उद्गार प्रकट गरेका थिए । पछि, देउवा राजा ज्ञानेन्द्रको कोपभाजनमा परे । राजाले उनलाई पनि जेल हाले ।

राजा ज्ञानेन्द्रले आफ्नो शासनलाई ‘प्रभावकारी’ बनाउन आफ्नै नेतृत्वमा मन्त्रिमण्डलको गठन गरेका थिए । डा. तुलसी गिरी र कीर्तिनिधि बिष्टलगायत पञ्चायतकालीन नेताहरूलाई मन्त्रिमण्डलमा भित्र्याएर देशलाई एकतन्त्रीय तानाशाही व्यवस्थातिर मोड्ने प्रयत्न गरे । समकालीन विश्वमा उनको त्यो प्रयोग विफल भयो । देश–विदेश कतैबाट पनि उनलाई समर्थन प्राप्त भएन ।

माओवादी आन्दोलन बाक्लिँदै गएको त्यो समयमा कांग्रेस सभापति कोइरालाकै अगुवाइमा दलहरूबीच एकता स्थापित भयो । यसपछि माओवादीहरूले पनि राजतन्त्रलाई कज्याएर शासन गर्ने परिकल्पना त्यागेर परिवर्तनका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्ने नीति लिए । अन्ततः २०६२ मा राजनीतिक दलहरूले जनआन्दोलनको संरचना गरे । आन्दोलनमा माओवादीको सक्रिय सहभागिता थियो । आन्दोलन निर्णायक सावित भयो । यही आन्दोलनको बलमा राजतन्त्रको अन्त्य भयो । देश संघीय गणतन्त्रको बाटोमा मोडियो ।

तर, यो भन्न हिचकिचाउनु पर्दैन, संघीय गणतन्त्र स्थापनाको बीस वर्ष बितिसक्दा देशमा राजनीतिक घटना त धेरै भए । तर, सामाजिक, सांस्कृतिक र आर्थिक जागरणका लागि सिन्कोसम्म भाँचिएको छैन । संघीय गणतन्त्रलाई सक्रिय बनाउन प्रदेश त बन्यो । तर, प्रदेश निवासी नेपाली जनताको मौलिक पहिचान बनाउने र उनीहरूलाई स्वावलम्बी बनाउने काममा संघीय सरकारले सिन्कोसम्म भाँच्न सकेन । दलहरूको ध्यान वडा तहदेखि संघीय तहसम्मको सबै राजनीतिक संरचना कब्जा गर्नेमा नै केन्द्रित भयो । दरिद्रता बहुआयामिक बन्यो । बितेका बीस वर्षको अवधिमा जनताले आफ्नो व्यावसायिक सीपको प्रवर्द्धन गर्ने मौका कति पाए त ? नेपाली तन्नेरीहरू लर्को लागेर रोजगारीको खोजीमा विदेशिने परिस्थिति कसरी बन्यो ? आर्थिक हिसाबले हामी अहिले कुन धरातलमा उभिएका छौं ? के अहिले राजनीतिको शीर्षमा रहेका कुनै पनि नेता र निर्वाचित जनप्रतिनिधिले यसको उत्तर दिन सक्छन् ?

कांग्रेसका सन्दर्भमा कुरा गर्दा यस्तो लाग्दछ– समकालीन नेताहरूले आफ्नै पार्टीको सिद्धान्त र संकल्पलाई राम्ररी बुझ्न सकेका छैनन् । कांग्रेस पार्टीमा सुझबुझ भएको नेताहरूको कमी छैन । तर, उनीहरू अघिल्लो शताब्दीको विश्वव्यापी आर्थिक निर्भरतामा रमाइरहेका छन् । २०३२ सालतिर पञ्चायतकालीन समयमा अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आत्मसात् गरेर प्रयोगमा ल्याएका ‘स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम’ को धङधङीमा रमाइरहेका छन्, नेपाली नेताका प्रियपात्रका रूपमा चिनिएका अर्थशास्त्रीहरू । उनीहरूलाई यो कुराको ज्ञान नभएको होइन– एक्काइसौं शताब्दीको विश्वमा आर्थिक अवधारणाहरू बदलिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता संस्थाहरूको कार्य नीति र पद्धतिमा परिवर्तन आइसकेको छ । नेतालाई देख्नेबित्तिकै ‘लाल सलाम’ र ‘जय नेपाल’ को अभिनन्दन चढाएर नतमस्तक हुने कार्यकर्ताहरूले यो कुरालाई बुझ्नुपर्दर्छ– विकास गर्ने पनि जनताले नै हो । विकास चाहिएको पनि जनताका लागि नै हो । नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइराला भन्नुहुन्थ्यो– गाउँलाई बेवास्ता गर्ने कुनै पनि विकास, विकास नै होइन । विकास मूलतः राजनीतिक कार्य हो । प्राविधिक प्रयोग होइन । जनतालाई उत्साहित गराएर काममा लगाएपछि मात्र विकासको आशा राख्न सकिन्छ । विकास मूलतः राजनीतिक कार्य हो, प्राविधिक प्रयोग होइन ।

कांग्रेस अहिले महाधिवेशनको मोडतिर हानिएको छ । सभापति देउवा सभापतित्वको भारी छिटो बिसाउन चाहन्छन् । उनैको निर्देश र चाहनाअनुरूप कांग्रेस नियमित अधिवेशनको बाटोमा लागेको छ । सभापति देउवा आफ्नो उत्तराधिकारी कसलाई बनाउन चाहन्छन् ? उनीतिरबाट कुनै स्पष्ट संकेत आएको छैन । कांग्रेसका सक्रिय कार्यकर्ताहरू निवर्तमान सभापति देउवा र उनको उत्तराधिकार सम्हाल्न चाहने व्यक्तित्वहरूको संकेत पर्खेर बसेका छन् । महाधिवेशनमा कांग्रेसीहरूले वैचारिक मुद्दा पक्कै उठाउने छैनन् । कांग्रेसीहरूले आफ्नो ‘प्लेटफार्म’मा विचार–विमर्श गरेको अहिलेसम्म देखिएको छैन । यति हो कि, चुनाव सम्पन्न हुने र नहुने द्विविधा रहँदारहँदै पनि फागुन २१ का लागि तोकिएको चुनाव कांग्रेसका लागि मात्र नभएर एमाले, माओवादी लगायतका सबै पार्टीका लागि चुनौतीका रूपमा आएको छ । कतिपय मानिस चुनाव हुन्छ कि हुन्न ? भन्ने विवादमा अल्झिएका छन् । कतै पाकिस्तानमा जस्तो फौजी ढंगको चुनाव त हुने होइन ? भन्ने आशंकामा छन् । सरकारले ती आशंकाहरूलाई मेट्न सक्नुपर्दछ । देशको भलो चाहने सबैको आशा र आकांक्षा संघीय गणतन्त्र नेपालको समुन्नति नै हो ।

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully