हामी महिलालाई व्यथा फुकाउनुपरे कुनै गोप्य स्थानको आवश्यकता पर्ने रहेनछ । र, अन्धविश्वासकै कुरा गर्न पनि महिलालाई सार्वजनिक ठाउँ काफी हुनेरहेछ ।
What you should know
सोह्रदिने लैंगिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम चलिरहेको थियो । परिचय कार्यक्रममा अलि खुलाएर आफ्नोबारे भन्नुपर्ने थियो । पुरुष–महिलालगायत लैंगिक यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्तित्व– सबैले आ–आफ्नो परिचय दिए ।
महिलाले भूमिका बाँधेर परिचय दिँदा धेरैको मुखबाट ‘म एक आमा हुँ’, ‘कसैको श्रीमती हुँ’, ‘कसैकी बुहारी हुँ’, ‘अनि बल्ल कुनै कार्यालयमा काम गर्ने कर्मचारी हुँ’ भन्ने जस्ता अभिव्यक्ति आयो । तिनको परिचय आउनुपर्ने थियो त ‘म एक आत्मनिर्भर र आत्मविश्वासी व्यक्ति हुँ’ भन्ने पनि, तर कुरा भावनाको हुँदोरहेछ ।
भावनाले हामीलाई कसेर बाँधेको हुनेरहेछ । हुन त भावनालाई चटक्कै छाडेर आफ्ना मात्रै कुरा राख्दा कतै मानवतामा दक्खल पुग्ने हो कि भन्ने एक प्रकारको भयले पनि जरो गाडिराखेको हुन्छ हाम्रो मनमा । मान्छे–मान्छेबीच एकआपसमा माया, प्रेम, सामीप्यता बनाइराख्न पनि भावनालाई बलियो बनाउनुपर्छ ।
जीवनका केही वर्ष मात्रै मानिसले ‘म एक्लै केही गर्न सक्छु, कसैको साथ–सहयोग नभए पनि’ भनेर संघर्ष गर्न सक्लान् । तर, साङ्लो बाँधिएजस्तै मानिस एकआपसमा भने जेलिएको हुन्छ । कतिपयले भने आफ्नो स्वःपरिचय दिँदा हामीले पहिरिएका कपडा, गरगहना, चुरा–पोतेको सहारा पनि लिँदारहेछौं ।
जस्तो अहिलेकी एक चर्चित गायकले आफ्नो प्रेमी अनि पछि श्रीमान्सँग विचार नमिलेका कारण छुट्टिनुपर्दा यस्तैखाले भावुक स्टाटस पोस्ट गरेबाट पनि यो आकलन गर्न सकिन्छ । उनले आफू एक सबल र सक्षम युवती भएको, विचार मिल्न नसकेर जोडी छुट्टिएको विषयलाई सामान्य नमानेर भावनामा आफैंलाई पीडित बनाइरहेकी थिइन् ।
सबैलाई सबै ठाउँमा आफ्नो परिचय खुलाइरहनु पनि पर्दैन । जहाँ साक्षर मानिस एकआपसमा भेला हुन्छन्, परिचय गर्छन्, आफूलाई अझ बढी समाजमा चिनाउने आकांक्षा राख्छन्– यस्तोमा योखाले परिचयको आवश्यक पर्छ । तर, यसरी दुई–चार जनाबीच परिचय नगरीकनै पनि जीवन–संघर्ष गरिरहेका मानिस/महिला मनग्गे छन् हाम्रो समाजमा । हाम्रा आमा, दिदी, बहिनीहरूले जीवन बाँच्न संघर्षको आफ्नै शैली बनाएका छन् ।
आफ्ना लागि मात्रै नसोचेर परिवारमाथिको जिम्मेवारी बोध गर्दै, बालबच्चाको स्याहार–सुसारमा कुनै आँच आउन नदिई सम्पूर्ण समय परिवारमै समर्पित गर्ने महिला हुन् या आफू विभिन्न रोगले ग्रसित हुँदाहुँदै हिम्मत जुटाएर श्रीमान्को स्वास्थ्य ख्याल राखिरहेकी ज्येष्ठ महिला नै किन नहोऊन्– तिनले ‘सबल मान्छे’ हुनुको परिचय परिवारमै र छरछिमेकका अघि दिइरहेकै छन् ।
महिला हुन् वा पुरुष वा लैंगिक तथा यौनिक अल्पसंख्यक– सर्वप्रथम उनीहरू मानव हुन् र उनीहरूको स्वतन्त्र व्यक्तिको पहिचान हुन्छ । आफ्नै नैतिकताको मापन बनाएर, धर्म–संस्कृतिले दिएका भूमिका र अग्रजहरूको निर्देशन मान्दै पनि ऊ ‘आफू’ भएर हिँडिरहेको हुन्छ । हुन त हाम्रा परिचयलाई धेरै थरी चीजले बाँधेको हुन्छ– धर्म, संस्कृति अनि जातका पर्खाल ।
आफ्नो मूल्य, विश्वास, रुचि, सबलता, कमजोरी, विगतको अनुभव र भावनाले व्यक्तिगत जीवन डोहोर्याइराखेको हुन्छ । आफ्नो मूल्यको पहिचान गर्ने र कुन सिद्धान्त, इमानदारिता, न्यायले निर्देशित छु भन्ने कुरा हामी आफैंलाई पनि जानकारी नभएको हुन सक्छ । आफू साँच्चै के गर्न चाहने हो ? सोको पहिचान र त्यो काम गर्ने छुट अनि वातावरण कतिको छ ? त्यो पनि सोचेर चल्ने वातावरण छैन ।
आफ्ना सबल पक्ष र कमजोरीलाई पहिचान तथा समीक्षा गर्दै सुधार गर्नुपर्ने विषयमा हामी सोच्न भ्याउँछौं कि भ्याउँदैनौं ? आफ्ना विगतहरूले आजको दिनको मापन गर्यो कि गरेन होला ? लेख्न सक्नहरूले विचार र भावना लेख्न र आत्मसमीक्षा गर्न सक्छन् । तर, विचार, भावना र आत्मसम्मानले बाँचेका कैयौं महिला अक्षर बुन्न नसक्ने पनि हुन्छन् ।
भन्न त आफू के बन्न चाहेको हो र कस्तो खालको जीवन जिउन चाहेको हो ? भिजुअलाइजेसन गर्ने नै पो कति छौं र ? ‘जसरी चल्छ चल्छ’ को व्यवस्था, पितृसत्ता र महिलाप्रतिको सामाजिक मूल्य मान्यताले पनि हाम्रो आत्मपहिचान गुमनाम छ ।
आफ्ना पीडा एक महिलाले कतै न कतै कसैसँग बाँड्न चाहिरहेका हुन्छन् । प्रायः महिलाले मनका बह कतै न कतै पोखेर ‘स्ट्रेस रिलिज’ गरिरहेका हुन्छन् । एउटा सानो उदाहरण दिऊँ– म सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । एक जना हंसमुख र फरासिली लाग्ने महिला बस चढिन् । बस रित्तै थियो । उनले यताउता सबैतिर नियालिन् ।
अनि मसँग कुरा गर्न थालिन् । तपाईं कहाँ जाने ? घरै यतै हो कि ? के काम गर्नुहुन्छ ? सरकारी काम हो कि दैनिक ज्यालादारी ? एकपछि अर्को प्रश्न सोध्दै गइन् । मैले एक–दुई वटाको मात्रै जवाफ दिएर टारिरहेकी थिएँ । उनी आफ्नोबारे पनि बताउन खोज्दै थिइन् । ४५ मिनेटको दूरीमा आफ्नो माइती भए पनि विगत ३ महिनादेखि आमाबाबु भेट्न जान नपाएको कुरा उनी भनिरहेकी थिइन् । यस्तैमा अर्को स्पटबाट अर्की महिला बस चढिन् । ती महिला पनि बोलक्कड रहिछन् ।
ती चर्चमा जान लागेको कुरा गर्दै थिइन् । ३ महिनापछि माइत जान लागेकी महिला र चर्चमा जान लागेकी महिलाबीच फेरि संवाद हुन थाल्यो । मसँग भन्न बाँकी कुरा ती पहिले बस चढ्ने महिलाले अर्की चर्च जान लागेकी महिलासँग खोलिन् । उनको दर्दभरि कहानी रहेछ । उनी १३ वर्षदेखि प्यारालाइज्ड श्रीमान्को रेखदेख गरेर बसिरहेकी रहिछन् ।
उनी भन्दै थिइन्– २० वर्ष अगाडि रूखबाट लडेर श्रीमान्को ढाडको हड्डी भाँचिएको थियो र त्यसको ७ वर्षपछि उनी प्यारालाइज्ड नै भए । यी कुरा उनी ती चर्च जाने महिलालाई बाँडिरहेकी थिइन् ।
फेरि ती महिलाले ‘हैन, प्रभुकोमा जानुस् न । जस्तोसुकै समस्या भए पनि ठीक पारिदिनुहुन्छ’ भन्दै थिइन् । र, लोग्नेको स्याहार–रेखदेख गरिरहेकी महिला भने अब भएभरका ओखतीमूलो गरिसकेको हुनाले ठीक हुन नसक्ने कुरा गर्दै थिइन् । तर, ती विश्वासी महिलाले काल्पनिक र हुनै नसक्ने कुरालाई जोड दिएर नीको हुन्छ भनिराखेकै थिइन् । अरू छेउछाउका कुरा सुन्नेले पनि चुपचाप सुनिरहेकै थिए, जसमा म पनि ती महिलाले गलत प्रेषण गरिरहेकी छन् भन्ने लाग्दालाग्दै चुपचाप थिएँ ।
हामी महिलालाई व्यथा फुकाउनुपरे कुनै गोप्य स्थानको आवश्यकता पर्ने रहेनछ । र, अन्धविश्वासकै कुरा गर्न पनि महिलालाई सार्वजनिक ठाउँ काफी हुनेरहेछ । एक महिला घरमा श्रीमान्को प्यारालाइज्ड अवस्थाबारे बह पोखेर केही सदासयता र आफ्नोपन प्राप्त गर्न चाहन्थिन्, तर जसलाई सुनाइएको थियो, ती भने गलत सन्देश बाँडेर ढाडस दिँदै थिइन् । हामी बाँचेको समाज यस्तो छ, हामी आफ्नै प्रकारको जीवन जिउने शैली लिएर बाँचिरहेका छौं । कतै न कतै हामीले आफ्ना पीडा, दुःख, खुसी र संघर्षका इतिहासलाई परिचय बनाएर कसैसामु अभिव्यक्ति गर्न खोजिरहेका हुँदारहेछौं । तर, त्यो परिचयभित्रको मर्मचाहिँ सुन्ने मान्छेले महसुस गर्छ कि गर्दैन ? त्यो विचारणीय छ ।
महिलाको वेदनाको कुरा महिलाले मात्रै बुझ्ने हो कि पुरुषले पनि आत्मसात् गर्नुपर्ने हो ? त्यो प्रश्न महत्त्वपूर्ण छ । अनि पुरुषले पनि आफ्ना भावना महिलासँग निःसंकोच बाँड्नुपर्छ । प्रायः भावना साटासाटमा पुरुषले ‘महिलाका कुरा’ लाई उति ध्यान दिएको पाइँदैन । तर, हामीले सोच्ने–बुझ्ने शैली फरक भए पनि भावनात्मक र मानवताका कुरा आउँदा भने मानवताकै व्यवहार देखाउनुपर्ने हुन्छ– कसैले आफ्ना बह पोखिरहेको खण्डमा केही भावनात्मक सहयोग पनि पाओस् । तर, त्यसो भन्दैमा फेरि माथि उल्लेख गरेजस्तो ‘प्रभुको शरणमा गएर रोइकराइ गर, अवश्य तिम्रो श्रीमान्को रोग निको हुन्छ’ भन्ने खालका भावनात्मक सहयोग नहोस् । अब हामी महिलाले विशेष गरी ‘आफ्नो परिचय’ मा पुराना र अन्धविश्वासी मनोदशा फालेर प्रगतिउन्मुख स्वयंको परिचय समाजमा दिने बेला भइसकेको छ ।
सोह्रदिने लैंगिक हिंसाविरुद्धका अभियान पनि चलिरहेकै हुन्छन् । यस्ता अवसरमा महिलाकेन्द्रित सिकाइ, छलफल केन्द्र, लाइब्रेरी स्थापनाबारे पनि कार्यक्रम चलाउँदा त्यो प्रभावकारी हुनेछ । फुर्सदका बेला महिलाहरू त्यो ‘स्पेस’ मा महिलाकै समस्यामाथि छलफल गरून् । र, तिनले आफ्ना समस्या पहिचान गरून् ।
