महाधिवेशनले स्पष्ट नीति, नवप्रवर्तन र नवीन नेतृत्व तयार गर्न सक्यो भने निर्वाचनद्वारा कांग्रेस पुनरागमनको अवसरलाई कसैले रोक्न सक्दैन ।
What you should know
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहाससँग अन्योन्याश्रित ढंगले जोडिएको मात्र होइन, देशको राजनीतिक परिवर्तन, रूपान्तरण, संवैधानिक विकास यात्रा र प्रत्येक प्रजातान्त्रिक आन्दोलन र परिवर्तनको संवाहक पनि हो ।
मुलुकमा प्रजातन्त्र स्थापनादेखि राज्य पुनःसंरचनासम्म, सशस्त्र द्वन्द्व र युद्धविरामदेखि संविधान निर्माणसम्म कांग्रेसको नेतृत्व र योगदान महत्त्वपूर्ण र ऐतिहासिक रहेको छ । तर वर्तमान परिवेशमा हामी आन्तरिक द्वन्द्व, संगठनात्मक अलमल, विधिविहीनता, वैचारिक अस्पष्टता, सीमित स्वार्थकेन्द्रित गतिविधिका कारण जटिल परिस्थिति भोगिरहेका छौं । आगामी महाधिवेशनले यिनै चुनौती र जेन–जी आन्दोलनबाट आएको परिवर्तनलाई सम्बोधन गर्दै कांग्रेसलाई पुनः सुदृढ, एकीकृत र अनुशासित बनाउँदै कार्यकर्ता र मतदाताको मनमा विश्वसनीय विकल्पका रूपमा प्रस्तुत गर्ने एउटा अचुक नीति, नेता र पद्धति स्थापना गर्ने चुनौती छ ।
तोकिएको समयमा महाधिवेशन गर्ने कार्यक्रममा कुनै किन्तु, परन्तु हुनै सक्दैन । यदि आलटाल गर्ने वा बहाना मात्र बनाउन खोजियो भने यसले अन्ततः पार्टीलाई ठूलो दुर्घटनामा धकेल्ने काम हुन्छ ।नेपालको कुनै पनि परिवर्तन नेपाली कांग्रेसको संयोजन र नेतृत्वबिना सम्पन्न भएको छैन तर जेन–जी आन्दोलन कांग्रेस संलग्न सरकारको विरुद्ध भयो । यसर्थ यो कांग्रेसविरुद्ध पनि हो । यो परिवेशको गम्भीर र निर्मम समीक्षा गर्दै भएका सम्पूर्ण गल्ती स्विकार्दै र क्षमायाचनासहित सच्चिने प्रतिबद्धता आजको अनिवार्य आवश्यकता हो । सोच, पद्धति र विचारमा नयाँपन र संगठित कांग्रेसले मात्र वर्तमानका समस्या र चुनौतीलाई सामना गर्दै विजय यात्रामा अगाडि बढ्न सक्छ ।
आज नेपालको राज्यव्यवस्था असफलतातिर उन्मुख छ । अर्थतन्त्र कमजोर, बेरोजगारी बढ्दो, लगानी र उत्पादन घट्दो अवस्थाले दिन प्रतिदिन जटिल बनिरहेको छ । निजी क्षेत्र निराश र निरुत्साहित हुँदै छ । सामाजिक रूपमा असमानता, सेवामा पहुँचको अभाव, व्यापक भ्रष्टाचार, शिक्षा–स्वास्थ्यको गुणस्तरमा गिरावट र जनआस्था खस्कँदो अवस्थामा छ । राजनीतिक अस्थिरताले नेतृत्व कमजोर बन्छ, नीति कार्यान्वयन रोकिन्छ, जसले विकास, सुशासन र राष्ट्रिय क्षमता सबै क्षेत्रमा अवरोध पैदा गर्छ । अस्थिर सरकार र बारम्बार प्रधानमन्त्री परिवर्तन, भ्रष्टाचारको संस्थागत स्वरूप, राजनीतिक दलभित्रको स्वार्थपरक चरम गुटबन्दी तथा स्वार्थकेन्द्रित नेतृत्व, न्यायपालिका र संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप, प्रशासनिक अक्षमता र नीतिगत निरन्तरताको अभाव, पुँजी, प्रतिभा र जनशक्तिको पलायन तथा राष्ट्रिय पुँजी र जनशक्तिको क्षयीकरणले गर्दा राष्ट्र गम्भीर संकटमा छ । यी सम्पूर्ण पक्ष सुधारको नीतिगत प्रतिबद्धताका साथै व्यावहारिक रूपान्तरण नै कांग्रेसको वर्तमान दायित्व हो । यसका निमित्त कसैसँग पूर्वाग्रह वा निषेध होइन, कुनै दल वा पक्ष हाम्रा शत्रु होइनन्, केवल वैचारिक प्रतिस्पर्धी हुन सक्लान् । तसर्थ देश असफल हुनबाट जोगाउन सबै मिलेर यो स्थितिबाट उन्मुक्ति दिलाउन कांग्रेसले पुनः ऐतिहासिक संकट मोचकको भूमिका निर्वाह गर्नु जरुरी छ ।
महाधिवेशनको ऐतिहासिक महत्त्व
कांग्रेसको नियमित महाधिवेशन वैधानिक दायित्व र विधानको प्राविधिक प्रक्रिया मात्र होइन, पार्टीमा नयाँ रक्तसञ्चारद्वारा आन्तरिक लोकतन्त्र बलियो र प्रभावकारी बनाउँदै नयाँ ऊर्जा भर्ने सर्वाधिकारसम्पन्न तह हो । महाधिवेशनमार्फत नेतृत्व चयन, नीतिगत बहस, लक्ष्य पहिचान, सांगठनिक पुनर्निर्माण र भावी राजनीतिक रणनीति तय गर्ने अवसर हो । यसले पार्टीभित्र प्रतिस्पर्धात्मक बहसलाई वैधानिक र संस्थागत ढाँचामा राख्छ, नेतृत्वलाई जनता र कार्यकर्तासँग पुनः जोड्छ र मतदातासँगको अन्तरावलोकन गर्न बाध्य बनाउँछ । विशेष महाधिवेशन वा नियमित महाधिवेशन वा दुवै चुनावअगाडि गर्न नहुने र हुनैपर्ने लामो छलफल र गम्भीर मतान्तरपछि २६ देखि २९ पुससम्म नियमित महाधिवेशनका लागि सर्वसम्मत निर्णय गरिएको छ । यसमा कसैको जित र हार होइन, सरोकारवाला सबैको जित भएको छ । वाद–प्रतिवाद, संवाद र यस प्रक्रियामा हुने तिक्तता, कटुता र चर्को घर्षणबाट निस्किने सुन्दर सार नै लोकतन्त्रको गुदी हो । लोकतन्त्र यो संस्कृतिको संवाहक कांग्रेस नै हो भन्ने पुनः प्रमाणित भएको छ । कांग्रेसले आफ्नो लामो इतिहासमा धेरै उतारचढाव देख्यो । २००७ सालमा राणा शासनविरुद्ध संघर्ष, २०४६ र २०६२–६३ को आन्दोलन, शान्तिप्रक्रियाको नेतृत्व, संविधानसभाको यात्रा— यी सबै क्षणहरूमा कांग्रेस नेतृत्वको अग्रपंक्तिमा रह्यो । तर त्यसपछि समय बदलियो, राजनीतिक संस्कार, जनअपेक्षा र मतदाताको सोच रूपान्तरण भयो । यिनै कारण आजको महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने होइन, दलको आगामी मार्गदर्शन पुनः परिभाषित गर्ने जिम्मेवारी बोकेको छ । विगत आन्दोलनहरूको प्रस्ट भूमिकामा रहेको कांग्रेस प्रगति, परिवर्तन, सुशासन र भ्रष्टाचारविरुद्धको प्रतीक र संवाहक थियो । आज हराउँदै गएको त्यो पहिचान आसन्न महाधिवेशनले पुनः स्थापित गर्नुछ ।
आगामी निर्वाचन र कांग्रेसको रणनीतिक परीक्षा
आसन्न निर्वाचन सत्ता–प्रतिस्पर्धाको माध्यम मात्र होइन, दलप्रतिको जनविश्वास मापन गर्ने जनमतको अग्नि परीक्षा हो । पछिल्ला निर्वाचनका नतिजाहरूले जनतामा असन्तुष्टि रहेकाले वैकल्पिक राजनीतिक शक्ति उदाउँदै गएको र पुराना दलहरूप्रति आलोचनाको स्वर बढेको यथार्थ हामीले समयमै बुझेनौं । कांग्रेसले यो सन्देश गम्भीर रूपमा स्विकारेको खण्डमा मात्र भविष्य सुरक्षित हुन्छ । आगामी निर्वाचनमा कांग्रेसका केही प्रमुख प्रश्नहरू छन् ।
सोच, पद्धति र विचारमा नयाँपन र संगठित कांग्रेसले मात्र वर्तमानका समस्या र चुनौतीलाई सामना गर्दै विजय यात्रामा अगाडि बढ्न सक्छ ।आत्मसमीक्षा वा आत्मसंरक्षण ? : पार्टीले विगतका कमजोरी स्वीकार गर्दै सुधारतिर अघि बढ्ने कि आन्तरिक पार्टी, कार्यकर्ता र जनभावनालाई अल्मल्याउँदै औपचारिकतामा सीमित राखेर जस्ताको तस्तै जारी राख्ने वा वैचारिक स्पष्टताका साथ कांग्रेस जनतामा नयाँ विचार र पहिचान लिएर जाने (मध्यमार्गी समाजवादी) लोकतन्त्रको आधुनिक रूप सुशासन र भ्रष्टाचारविरुद्धको अभियन्ता कि इतिहासको स्मृतिमा आधारित दलको ‘ब्रान्ड’ मात्र ? समयको स्पन्दन, विकसित सामाजिक गतिशीलता र हालै जेन–जी विद्रोहबाट स्थापित मान्यता र महत्त्वपूर्ण संवैधानिक सुधारसहितका एजेन्डा कांग्रेसको महाधिवेशनको प्रमुख निर्णय हुनुपर्छ । देश गम्भीर संकटपूर्ण अवस्थामा छ । सर्वपक्षीय सम्मेलनमार्फत संविधानको सुधार आवश्यक छ । यो अवस्थामा कसैलाई पनि निषेध होइन, एकता र मेलमिलाप नै राष्ट्रिय आवश्यकता हो ।
संगठन र उमेर संरचना : युवापुस्ताको सहभागिता, डिजिटल राजनीति, नीति–कुशल नेतृत्व र भूमिकाको स्पष्ट व्यवस्थासाथ यी कुरा पुनर्निर्धारण आवश्यक छ । युवा समूहलाई हरेक तहमा २५ प्रतिशत सहभागिता सुनिश्चितताको आवश्यकता छ । यदि कांग्रेसले आफ्नो ऐतिहासिक गौरवलाई भविष्यका मतदातासँग जोड्न सकेन भने चुनाव केवल प्राविधिक प्रतिस्पर्धामा सीमित हुन सक्छ । तर महाधिवेशनले स्पष्ट नीति, नवप्रवर्तन र नवीन नेतृत्व तयार गर्न सक्यो भने निर्वाचनद्वारा कांग्रेस पुनरागमनको अवसरलाई कसैले रोक्न सक्दैन ।
पार्टीभित्रको संकट, कारण र प्रभाव : कांग्रेस आज संगठनात्मक मात्र होइन, नीतिगत नेतृत्वगत र विधिविहीनताको गम्भीर मनोवैज्ञानिक संकट भोगिरहेको छ । सम्पूर्ण लोकतन्त्र दलतन्त्रमा, दलतन्त्र नेतातन्त्रमा, नेतातन्त्र गिरोहतन्त्रमा र गिरोहतन्त्र बिचौलियातन्त्रमा परिणत हुन पुग्यो । यही नै आजको अवस्थाप्रति आमजनतामा व्यापक रूपले छाएको असन्तोष, अविश्वास र निराशाको प्रमुख कारण हो र यसैको जग नै जेन–जी आन्दोलन हो । जेन–जी आन्दोलनको प्रमुख माग नै सुशासन र भ्रष्टाचारमुक्त समाज हो । यसको सम्बोधन नै आजको आवश्यकता हो ।
गुटबन्दी र आन्तरिक प्रतिस्पर्धा : लोकतान्त्रिक दलभित्र आन्तरिक प्रतिस्पर्धा हुनु आवश्यक र स्वाभाविक हो, तर प्रतिस्पर्धा जब गुटगत आधारमा जकडिन्छ, नीतिभन्दा व्यक्तिकेन्द्रित राजनीति हाबी हुन्छ । त्यहींबाट पतन सुरु हुन्छ । कांग्रेसमा यही प्रवृत्ति बढेको छ । जनसापेक्ष निर्णयभन्दा गुट आबद्धता, विचारभन्दा देवत्वकरण वा दानबीकरणको दूषित बफादारीले प्राथमिकता पाएकाले नीति निर्माण प्रक्रिया कमजोर हुँदै गयो, संगठन तहमा विभाजन बढाउनुका साथै कार्यकर्ता र मतदातामा अविश्वास सिर्जना गर्यो ।
कार्यकर्तामा निराशा र जनतामा दूरी : स्थानीय तहका हाम्रा संस्था र निर्वाचित प्रतिनिधिहरूमा समन्वय पटक्कै हुन सकेन । पार्टीको नीतिगत बहस नहुनु आदिले कार्यकर्तामा नयाँ ऊर्जा दिन सकेन । जनस्तरमा कांग्रेसले नयाँ भाष्य, नयाँ दृष्टि वा नयाँ कार्यक्रम प्रस्तुत गर्न नसक्दा विश्वास पुनर्जीवित हुन सकेको छैन ।
महाधिवेशनले सम्बोधन गर्नुपर्ने मुख्य कार्यनीति : महाधिवेशन केवल कार्यक्रम होइन, समाधान खोज्ने महत्त्वपूर्ण स्थल हो । यसले गर्नुपर्ने केही कार्यहरू छन् ।
आन्तरिक लोकतन्त्रको पुनर्जागरण– निर्णय प्रक्रिया पारदर्शिता, सहभागी र तल्लो तहसम्म समावेशी बनाउनुपर्छ ।
अग्रभागमा नयाँ पुस्ता– अग्रभागमा युवा नेतृत्व, महिलाको सहभागिता, नीति–आधारित प्रतिस्पर्धा र नयाँ राजनीतिक शैलीको विकास गर्नुपर्छ ।
संगठनात्मक नक्सा– प्रदेशदेखि वडा तहसम्म संरचनाको जिम्मेवारी र मूल्यांकन प्रणाली स्पष्ट बनाउनुपर्छ ।
नवीन वैचारिक दस्तावेज– समाजवादी लोकतन्त्रको स्पष्ट व्याख्या, आर्थिक नीति (निरपेक्ष गरिबीमुनिका सीमान्तकृत पक्षको न्याय र सुरक्षाको प्रत्याभूतिसाथै आयको सुनिश्चितता), सामाजिक न्याय र सुरक्षा, सुशासन र विकास मोडलको ठोस प्रस्तुति र समसामयिक माग र जनअपेक्षाको सम्बोधन हुने खालको वैचारिक नीतिसहित दस्तावेज हुनुपर्छ ।
मतदाता र कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध– प्रभावकारी डिजिटल कम्युनिकेसन, हेल्प–डेस्क राजनीति, गाउँ–टोल भेटघाट र नियमित प्रतिवेदन प्रणाली विकास गर्नुपर्छ ।
तोकिएको समयमा महाधिवेशन गर्ने कार्यक्रममा कुनै किन्तु, परन्तु हुनै सक्दैन । यदि आलटाल गर्ने वा बहाना मात्र बनाउन खोजियो भने यसले अन्ततः पार्टीलाई ठूलो दुर्घटनामा धकेल्ने काम हुन्छ । अर्कोतर्फ, महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित भई अन्तर्विरोधलाई ढाकछोप मात्र गर्यो भने त्यसले पार्टीलाई झन् कमजोर बनाउने जोखिम छ । तर यसलाई खुला बहस, नीति–स्पष्टता र विश्वास–पुनर्निर्माणतर्फ बढाइयो भने कांग्रेस फेरि सशक्त राष्ट्रिय सुरक्षा र समस्या समाधानको मियो बन्न सक्छ ।
भविष्यदृष्टि ः कांग्रेससँग अब अलमलिने समय छैन, बरु वैचारिक पुनर्जागरण र संस्थागत विकासको नयाँ अध्याय सुरु गर्नुपर्ने समय यही हो । आजको राजनीति बदलिएको छ, मतदाता सचेत छन्, अपेक्षा बढी छन् र निराशा छिट्टै पैदा हुन्छ । यस्तो अवस्थामा कांग्रेसले केवल इतिहास सुनाएर भविष्य सुरक्षित बनाउन सक्दैन । महाधिवेशनले पार्टी–संगठनमा संवाद, विचार र शुद्धीकरणको प्रक्रिया सुरु गरे, पुराना अनुभव र नयाँ सोचको संयोजन गरिए, गुटगत राजनीतिलाई नीति–आधारित बनाइए, युवापुस्तालाई वास्तविक भूमिकासहित अघि बढाइए, सुशासनका लागि भ्रष्टाचारविरुद्ध सशक्त संवाहक बन्दै विकास, अर्थतन्त्र र यी सबै प्रत्याभूतिको स्पष्ट खाका प्रस्तुत गरियो भने कांग्रेस पहिलो दल बन्ने मात्र होइन, जनविश्वास पुनःस्थापित गर्दै राष्ट्रिय शक्तिको साविक हैसियत पुनः बन्नेछ ।
अन्त्यमा : कांग्रेस ठूलो दल हो— इतिहास बोकेको, क्षमता बोकेको, हजारौं सपनाको प्रतिनिधि । तर इतिहासले केवल गौरव दिन्छ, भविष्य दिँदैन । भविष्य निर्माण वर्तमानको निर्णयले नै हुन्छ र त्यो निर्णयमा यो महाधिवेशनले एउटा ऐतिहासिक यात्रा प्रारम्भ गर्नुपर्छ । आसन्न महाधिवेशनले कांग्रेसलाई सम्भावनाको शिखरसम्म पुर्याउने शक्ति बोकेको छ । तर अवसर चुकाइयो र यथास्थितिकै बन्दी भयो भने दलभित्रको संकट अझ विस्तारित हुनेछ । जनता र कार्यकर्तामा निराशा बढ्नेछ । अन्ततः लोकतन्त्रको आत्मा सुधारमा छ, गतिशील परिवर्तनमा छ र समयसापेक्षता अनुकूल अगाडि बढ्नेलाई मात्र अवसर दिन्छ भन्ने हेक्का राख्दै कांग्रेस अब कुन दिशातर्फ जाने हो, यसबारे महाधिवेशनले तय गर्नैपर्छ । यही क्षण, यही मोड यही परीक्षामा हामी सबै कांग्रेस साथीहरू सम्पूर्ण शक्तिकेन्द्रित गरौं र महाधिवेशनसँगै आमनिर्वाचनमा पूर्ण सफलताका लागि समग्र एकताका साथ दृढप्रतिज्ञ बन्दै अघि बढौं । यो कांग्रेसका लागि मात्र होइन, राष्ट्रिय आवश्यकता नै हो ।
– केसी कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
