अपांगता दिवसले देखाएको समावेशी समाजको दिशा

महासन्धिको धारा १३ ले न्यायमा पहुँचलाई राज्यको अनिवार्य दायित्वका रूपमा व्याख्या गर्छ, तर यसको पूर्ण कार्यान्वयनको अवस्था नेपालमा अझै अपुग देखिन्छ । अन्ततः समाजमा ‘दया होइन, अधिकार’ भन्ने सोच स्थापित गर्दै सामाजिक संस्कृतिको परिवर्तन नै दिगो समावेशिताको दीर्घकालीन आधार बनेर उभिन्छ ।

मंसिर १७, २०८२

प्रकाश पन्थ

The direction of an inclusive society shown by the International Day of Persons with Disabilities

What you should know

हरेक वर्ष डिसेम्बर–३ मा मनाइन्छ– अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस । यो दिवसले विश्व समुदायलाई सम्झाउँछ— समावेशी समाज निर्माणको प्रश्न दया र मायाको होइन, अधिकार, सम्मान र सामाजिक न्यायको हो । यस वर्ष संयुक्त राष्ट्रसंघको नारा छ, ‘फोस्टरिङ डिस्एबिलिटी इन्क्युसिभ सोसाइटिज् फर एड्भान्सिङ सोसल प्रोग्रेस’ ।

यो नाराले स्पष्ट भन्छ– समावेशिताबिना दिगो प्रगति सम्भव छैन । नेपालको राष्ट्रिय नारा ‘अपांगता समावेशी समाजको प्रवर्द्धन ः सामाजिक उन्नतिको संवर्द्धन’ ले पनि यही प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।

नेपालको जनगणना– २०७८ अनुसार, देशमा २.२ प्रतिशत अपांगता भएका व्यक्ति छन् । तर, राष्ट्रिय र सरोकारवाला विभिन्न निकाय तथा संघसंस्थाले देखाएको वास्तविकता यसभन्दा धेरै उच्च छ । तथ्यांकको असंगति आफैंमा नीतिगत चुनौती हो किनकि अनिश्चित तथ्यांकले सेवाको लक्ष्यीकरण, बजेट विनियोजन र कार्यान्वयनलाई प्रत्यक्ष प्रभावित पार्छ ।

प्रश्नको घेरामा समावेशी समाज

अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस–२०२५ ले नेपाललाई एउटा गम्भीर आत्ममूल्यांकनको अवसर दिएको छ । संविधान, अन्तर्राष्ट्रिय महासन्धि, ऐन, नीतिगत संरचना र संघीय शासन— सबै उपलब्ध भएर पनि हामी समावेशी समाज निर्माणको लक्ष्यनजिक पुगेका छैनौं, किन ?

नेपालको राजनीतिक संक्रमण, राज्य पुनःसंरचना र सामाजिक रूपान्तरणको लामो यात्रामा अपांगता भएका व्यक्तिको अधिकार विकासको मुख्य सूचक बन्नुपर्ने हो । तर, व्यवहारले देखाउँछ– अधिकारका प्रतिज्ञा कागजमा बलिया छन्, कार्यान्वयनमा चुनौती कायमै छ । यही यथार्थले आज एउटा मूल प्रश्न उठाउँछ– हामीले प्रतिबद्धता पूरा गरिरहेका छौं कि केवल पुनरावृत्ति गर्दै छौं ?

महासन्धि नेपालको ठोस प्रतिबद्धता

नेपालले संयुक्त राष्ट्रसंघको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र स्वैच्छिक प्रोटोकल दुवै अनुमोदन गरिसकेको छ । स्वैच्छिक प्रोटोकल अनुमोदन गरेको अर्थ हो– उल्लंघनका केसहरू संयुक्त राष्ट्रसंघसमक्ष पुर्‍याउने वैधानिक बाटो पनि खुला छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा बढी जवाफदेही बनाउँछ र घरेलु कार्यान्वयनमा मजबुतीको माग गर्छ । महासन्धिका सिद्धान्तहरू गरिमा, स्वतन्त्रता, बराबरी सहभागिता, पहुँच, समान अवसर, भेदभावविहीनता नेपाली कानुन तथा नीति निर्माणका आधार हुन् । तर, पछिल्ला वर्ष संयुक्त राष्ट्रसंघले नेपाललाई दिएका सिफारिसहरू विशेषतः शिक्षा, रोजगारी, डेटा प्रणाली, पहुँचयुक्त पूर्वाधार र न्याय पहुँच पूर्ण रूपमा कार्यान्वयनमा पुगेका छैनन् ।

दशक कार्यान्वयन यात्रा, कति सफल ?

नेपालको संविधान– २०७२ ले अपांगता भएका व्यक्तिलाई मौलिक हक प्रदान गरेको छ– शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, न्यायमा पहुँच र समावेशी प्रतिनिधित्व । संविधानपछि पारित अपांगता अधिकार ऐन–२०७४ बनेको आज ८ वर्ष बितिसकेको छ । ऐनले महासन्धिअनुरूप अधिकारको ढाँचा दिएको छ, तर कार्यान्वयनमा संरचनागत कमी देखिन्छ । ऐनबमोजिम बन्नुपर्ने धेरै नियमावली ढिलो बने, संस्थागत संयन्त्र कमजोर रह्यो, मन्त्रालय–प्रदेश–स्थानीय तहबीच समन्वय अपेक्षाकृत कमजोररह्यो । धेरै वर्षसम्म राष्ट्रियस्तरको प्रमुख संरचना नहुँदा नीति कार्यान्वयनबीच दूरी बढ्यो । 

आयोग गठन अझै अपूरो

राष्ट्रिय सभाले २०८० मा पारित गरेको अपांगता अधिकारसम्बन्धी संकल्प नेपालका लागि एक ऐतिहासिक मोड थियो । यसले पहिलो पटक अधिकारमा आधारित अपांगता अधिकार आयोग स्थापना गर्न सरकारलाई निर्देशन दिएको थियो । यद्यपि यो संकल्प पारित भएको २ वर्ष बितिसक्दा पनि आयोग गठनको गति अपेक्षाकृत सुस्त छ । अधिकार आयोग नहुँदा अनुगमन, अभिकथन, पीडित सहायता, नीति–परामर्श र राज्यको जवाफदेहितालगायतले संस्थागत बल पाउन सकेका छैनन् । महासन्धिको धारा ३३ अन्तर्गतको स्वतन्त्र संयन्त्र अझै पूर्ण रूपमा कार्यान्वित भएको छैन । 

नेपालको संघीय संरचनामा ७ सय ५३ स्थानीय तह अपांगता अधिकार कार्यान्वयनका मुख्य आधार हुन् । स्थानीय तहहरूले अपांगता परिचयपत्र, सामाजिक सुरक्षा, पुनःस्थापना सेवा, स्वास्थ्य सहयोग, पहुँचयुक्त पूर्वाधार, विद्यालय समावेशीकरण जस्ता धेरै क्षेत्रमा प्रत्यक्ष भूमिका निर्वाह गरिरहेका छन् । उदाहरणका लागि ललितपुर महानगरलगायत केही पालिकाले सार्वजनिक भवनमा चरणबद्ध रूपमा गरेको पहुँच सुधारको अभ्यासले समावेशिताको दिशामा स्थानीयस्तरको सम्भावना देखाउँछ । तर, समग्र देशभित्र एकरूपता छैन । कतै आधारभूत सेवा पनि पुग्न कठिन छ । संघीय–प्रदेश–स्थानीय समन्वय कमजोर हुँदा असमानता झनै बढेको छ ।

समावेशिताको चुनौती

समावेशी शिक्षा नेपालको सबैभन्दा चुनौतीपूर्ण क्षेत्र बनेको छ । पर्याप्त सहायक शिक्षक छैनन्, धेरै विद्यालय पहुँचयुक्त छैनन्, सहयोगी शिक्षक, ब्रेल–सामग्री तथा सांकेतिक भाषा सेवा अपर्याप्त छन् । स्वास्थ्य क्षेत्रमा उपचार, पुनःस्थापना र सहयोगी सेवा तथा मानसिक–मनोसामाजिक अपांगतासम्बन्धी सेवा विस्तारण अझै अपूरो छ । रोजगारीतर्फ ५ प्रतिशत कोटा व्यवस्था कागजमा राम्रो छ, तर सरकारी संस्थामा पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । निजी क्षेत्रलाई प्रोत्साहन र दायित्व दुवै आवश्यक छ । आर्थिक स्वावलम्बन नबढे समावेशी समाज घोषणा मात्रै रहन्छ ।

सहायक प्रविधि, डिजिटल पहुँच र प्रविधिमैत्री शासन

डिजिटल प्रविधिले समावेशिताको नयाँ सम्भावना खोलिरहेको छ । स्क्रिन–रिडरमैत्री वेब प्रणाली, सांकेतिक भाषासहितको प्रसारण, ई–स्वास्थ्य सेवा, अनलाइन शिक्षा यी सबैले पहुँच बढाइरहेका छन् । सहायक प्रविधिको वितरणसँगै यसको दिगो प्रयोग सुनिश्चित गर्न मर्मत–सम्भार, अनुगमन तथा प्रयोगकर्ता सीप–प्रशिक्षणलाई पनि नीतिगत रूपमा मजबुत बनाउनु आवश्यक छ । तर, सरकारी डिजिटल सेवा सबैलाई समावेशी बनाउन अझै धेरै काम गर्न बाँकी छ । सहायक प्रविधि वितरणमा नियमितता, मापदण्ड, गुणस्तर र दिगोपन चाहिन्छ । सहायक प्रविधि केवल उपकरण वितरण होइन, जीवनस्तर रूपान्तरण हो भन्ने बुझाइ आवश्यक छ ।

नागरिक समाज, अपांगता आन्दोलन र समावेशी लोकतन्त्र 

नेपालमा नागरिक समाज र अपांगता–आन्दोलन (संघ, महासंघ, थेरापी केन्द्र, अभिभावक समूह, युवा आधारित अभियान) ले अधिकार आन्दोलनलाई राष्ट्रिय स्तरमा पुर्‍याएको छ । सरोकारवाला यी संस्थाहरूले नीति वकालत, जनचेतना, निगरानी, सामाजिक व्यवहार परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । समावेशी लोकतन्त्रको आधार भनेको सहभागिता, प्रतिनिधित्व र निर्णय प्रक्रियामा आवाज हो । यही तीन तत्त्व अपांगता भएका व्यक्तिका लागि अझै मजबुत बनाउनु आवश्यक छ ।

सुधारका व्यावहारिक मार्ग– कागजबाट व्यवहारमा

नेपालमा अपांगता अधिकार सुनिश्चितता अब कागजी प्रतिबद्धताभन्दा व्यावहारिक कार्यान्वयनतर्फ रूपान्तरण गर्नुपर्ने महत्त्वपूर्ण मोडमा पुगेको छ । पहिलो, संसदीय संकल्पअनुसार स्वतन्त्र, सक्षम र महासन्धिअनुरूप काम गर्ने अपांगता अधिकार आयोग तत्काल गठन गर्न आवश्यक छ, जसले अनुगमन, पीडित सहायता र राज्यलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्छ ।

दोस्रो, विखण्डित कार्यक्रमलाई अन्त्य गरी स्पष्ट बजेट, समयसीमा र अनुगमनसहितको एकीकृत राष्ट्रिय कार्ययोजना बनाइनुपर्छ, ताकि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय एकरूप होस् । तेस्रो, सार्वजनिक भवनदेखि सरकारी वेबपोर्टलसम्म सबै पूर्वाधार र डिजिटल सेवालाई युनिभर्सल डिजाइनमा रूपान्तरण गर्नु वर्तमान आवश्यकता मात्र होइन, कानुनी दायित्व पनि हो ।

त्यस्तै, खण्डीकृत र विश्वसनीय तथ्यांक प्रणाली निर्माण नगरी नीति प्रभावकारी बन्न सक्दैन । जाति, उमेर, लिंग, भूगोल र अपांगताको प्रकारलगायत आधारमा वर्गीकृत डेटा अनिवार्य छ । समावेशी शिक्षालाई व्यवहारमा उतार्न सहयोगी सेवा, पहुँचयुक्त कक्षा, ब्रेल–सामग्री, सांकेतिक–भाषा सेवाहरू अत्यावश्यक छन् । रोजगारीमा ५ प्रतिशत कोटा व्यवस्था कार्यान्वयनका लागि सरकारी र निजी दुवै क्षेत्रमा कडाइ र प्रोत्साहन आवश्यक छ, किनभने आर्थिक स्वावलम्बन समावेशिताको मेरुदण्ड हो ।

साथै, अदालत र प्रहरी सेवामा सांकेतिक भाषा दोभाषे, ब्रेल सुविधा तथा मनोसामाजिक रूपमा मैत्री सेवा उपलब्ध गराई न्याय–पहुँच सुनिश्चित गर्नुपर्छ । महासन्धिको धारा १३ ले न्यायमा पहुँचलाई राज्यको अनिवार्य दायित्वका रूपमा व्याख्या गर्छ, तर यसको पूर्ण कार्यान्वयनको अवस्था नेपालमा अझै अपुग देखिन्छ । अन्ततः समाजमा ‘दया होइन, अधिकार’ भन्ने सोच स्थापित गर्दै सामाजिक संस्कृतिको परिवर्तन नै दिगो समावेशिताको दीर्घकालीन आधार बनेर उभिन्छ ।

प्रकाश

Link copied successfully