प्राविधिक शिक्षा र व्यावसायिक तालिम देशको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । युवालाई सीपयुक्त बनाएर उत्पादनशील क्षेत्रमा संलग्न गराउनु राष्ट्रको दिगो विकासको आधार हो ।
What you should know
किताबी ज्ञानलाई मेसिनसँग जोडेर काम गर्न सिकाउँछ, औद्योगिक प्रशिक्षार्थी तालिमले । यसले उद्योगको कार्यशैली पनि सिकाउँछ । त्यसैले ‘करिअर’ को आधारस्तम्भ हो— औद्योगिक प्रशिक्षार्थी तालिम । र, हो— सीप, रोजगार र उद्यमशीलता विकासको सशक्त अभ्यास । शिक्षालयले प्रदान गर्ने सैद्धान्तिक ज्ञान र उद्योग–व्यवसायले सिकाउने व्यावहारिक अनुभवको संयोजनले प्रशिक्षार्थीलाई असली कामका लागि तयार बनाउँछ ।
उत्पादन क्षेत्रमा चाहिने व्यावहारिक क्षमता, कामको अनुशासन, उपकरण चलाउने सीप यहींबाट सिकिन्छ । यो तालिमले ‘आफ्नै उद्योग सुरु गर्ने’ आधार पनि तयार पारिदिन्छ– युवालाई उपकरण चिनाउँछ, उत्पादन प्रक्रिया बुझाउँछ । त्यसैले यो तालिमले एक युवालाई देशका लागि ‘कुशल जनशक्ति’ बनाउँछ ।
२४ महिना सञ्चालन हुने यो तालिममा प्रशिक्षार्थीहरू २० महिना उद्योग–व्यवसायको कार्यस्थलमै रहेर अनुभवी कामदार तथा कम्पनी ट्रेनरको मातहतमा सीप सिक्छन् । त्यसले उनीहरूलाई सीप सिक्ने मात्रै होइन, दक्ष बन्ने अवसर पनि दिन्छ । बाँकी अवधि प्रशिक्षार्थीले शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गर्छन् । प्रशिक्षार्थीका लागि यो तालिम सीप र रोजगारीबीचको जीवन्त पुल हो ।
अनुभवी प्रशिक्षकले प्रशिक्षार्थीलाई काम गर्न सिकाउँछन् र उत्पादन प्रक्रियामा संलग्न गराउँछन् । यसरी सिकाइ र उत्पादन एकैसाथ चल्ने भएकाले सीप, रोजगारी, स्वरोजगारी र उद्यमशीलता विकासमा तालिमको योगदान अत्यन्तै प्रभावकारी हुन्छ ।
यो तालिम कार्यक्रमप्रति युवाहरूको आकर्षण बढिरहेको देखिन्छ । परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र ०८१/०८२ मा १६ सय ६५ भर्ना क्षमताका लागि माग गरेको आवेदनमा २८ सय ४० जनाको तथा ०८२/०८३ मा १४ सय ५५ भर्ना क्षमताका लागि माग गरेको आवेदनमा ३ हजार ५५ जनाको आवेदन परेको तथ्यले तालिमप्रति युवा आकर्षण पुष्टि हुन्छ । सीमित सिट, तर बढ्दो प्रतिस्पर्धाले यो तालिम क्रमशः आकर्षक बन्न थालेको छ । अवसर पाउनै कठिन हुने वातावरणले कार्यक्रम प्रति विश्वसनीयता बढाइरहेको छ । दलित, आदिवासी, महिला र आर्थिक रूपमा कमजोर युवालाई प्राथमिकता दिइनुले सामाजिक समावेशिता पनि देखिएको छ । उद्योगको सिफारिस र संलग्नताले तालिमको गुणस्तरमाथि थप विश्वसनीयता सुनिश्चित गरेको छ ।
तालिममा सहभागी प्रशिक्षार्थीले आर्थिक सुविधासमेत पाउँछन् । शिक्षालयले दैनिक हाजिरका आधारमा सय रुपैयाँ दिन्छ, यातायात खर्चका रूपमा । र, उद्योगले कार्यस्थलमा योगदानका आधारमा थप प्रोत्साहन रकम पनि प्रदान गर्छ ।
करिब २० महिना उद्योगमा बिताएको अनुभव नै प्रशिक्षार्थीका लागि अमूल्य सम्पत्ति बन्छ । तालिमपछि धेरै प्रशिक्षार्थी त्यही उद्योगमा स्थायी रूपमै रोजगारीमा रहन्छन् । केहीचाहिँ नयाँ अवसर खोजी गरी अन्य उद्योगमा प्रवेश गर्छन् भने केही आत्मविश्वास र सीपका भरमा स–साना व्यवसाय सुरु गरेर स्वरोजगार बनेका छन् । यसरी तालिमले युवालाई परनिर्भरता होइन, आत्मनिर्भर र उत्पादनशील बनाइरहेको छ ।
एक अध्ययनअनुसार, औद्योगिक प्रशिक्षार्थी तालिममा सहभागी करिब ७५ प्रतिशत प्रशिक्षार्थीले तालिमपछि रोजगारी पाएका छन् । रोजगारमा रहेका ८७ प्रतिशत र स्वरोजगारीमा रहेका ८८ प्रतिशत व्यक्ति तालिमसँग सम्बन्धित आफ्नै क्षेत्रमा काम गर्छन् । यसले तालिम र श्रम बजारबीचको बलियो सम्बन्ध प्रमाणित गर्छ ।
यो तालिम ‘दिगो तथा सम्मानजनक रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत नेपाल र स्वीट्जरल्यान्ड सरकारको स्रोत–सहकार्यमा सञ्चालन भइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालय र परिषदन्तर्गतका आंगिक, साझेदार तथा टेक्स कार्यक्रम सञ्चालन गर्ने शिक्षालयसँगै सम्बन्धित उद्योग व्यवसायको प्रत्यक्ष संलग्नतामा यो तालिम कार्यक्रम सञ्चालन हुँदै आएको छ । तालिमअन्तर्गत प्रि–डिप्लोमा तहका (इनफर्मेसन टेक्नोलोजी, इलेक्ट्रिकल, मेकानिकल, सिभिल इन्जिनियरिङ, टी–टेक्नोलोजी, होटल म्यानेजमेन्ट र अर्ली चाइल्डहुड डिभलपमेन्ट फ्यासिलिटेसन) कार्यक्रमका पाठ्यक्रम विकास भई सञ्चालनमा आएका छन् । यी सबै विषय आधुनिक उद्योगका मागसँग प्रत्यक्ष जोडिएका छन् ।
प्राविधिक शिक्षा र व्यावसायिक तालिम देशको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । युवालाई सीपयुक्त बनाएर उत्पादनशील क्षेत्रमा संलग्न गराउनु राष्ट्रको दिगो विकासको आधार हो । त्यसैले प्रि–डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थीलाई उद्योग, व्यवसायको समन्वयमा डिप्लोमा तहका कार्यक्रमसम्मै विस्तार गर्नु आवश्यक छ । उद्योग, व्यवसायसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रमले नेपालका युवालाई सीपवान्, आत्मनिर्भर र दिगो रोजगारीका लागि सक्षम बनाउँछ ।
औद्योगिक प्रशिक्षार्थी तालिमले ‘कामका लागि पढाइ’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेको छ, जसले युवालाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाएको छ । र, देशको उत्पादनशील शक्ति पनि निर्माण गरिरहेको छ । यसले सीप र रोजगारी बीच सम्बन्ध स्थापित गर्दै नेपालको भविष्यलाई दिगो विकासको दिशामा अघि बढाउन मद्दत गर्ने निश्चित छ ।
