लैंगिक विभेदको अन्त्य नगर्दासम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन सक्दैन
What you should know
यतिबेला लैंगिकताका आधारमा हुने विभिन्न प्रकारको हिंसा अन्त्य गर्नका १६ दिने अभियान चलिरहेको छ । यसका लागि विश्वव्यापी रूपमा ‘सबै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा अन्त्यका लागि एकजुट होऔं’ तथा राष्ट्रिय रूपमा ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ तय गरिएको छ ।
हरेक वर्ष लैंगिकताका आधारमा हुने विभिन्न प्रकारको हिंसा अन्त्य गर्नका लागि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर अन्तर्राष्ट्रिय दिवसको १६ दिने अभियान मनाइँदै आइएको छ । लैंगिक हिंसाविरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षकबीच ऐक्यबद्धता कायम गर्नु, लैंगिक हिंसाका विविध आयामका साथ रणनीतिक छलफल गर्नु साथै लैंगिक हिंसाविरुद्धमा समाजमा जनचेतनामूलक कार्यक्रममार्फत लैंगिक हिंसा न्यूनीकरण गरी समाजमा लैंगिक हिंसारहित समाजको निर्माण गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य छन् ।
नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने सन्दर्भ डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो । यसलाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । दिदीबहिनी तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरू पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातनाका बाबजुद पनि दिदीबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् ।
यसै क्रममा सन् १९६० मा निरंकुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तीनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरू पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरूलाई मुलुकको ठूलो समस्याका रूपमा घोषणा गर्यो । घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरूको हत्या गरियो । यी दिदीबहिनीको हत्यालाई महिलाविरुद्धको हिंसाका रूपमा लिइयो र यिनीहरूको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् ।
सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउन संयुक्त राष्ट्रसंघमा पेस गरेको प्रस्ताव महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रूपमा पारित भएपछि विभिन्न राष्ट्रहरू अभियानमा सहभागी हुँदै आएका छन् । नोभेम्बर २५ देखि डिसेम्बर १० का बीचमा अन्य महत्त्वपूर्ण दिवस पनि पर्छन् । डिसेम्बर १ विश्व एड्स दिवस, डिसेम्बर २ अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, डिसेम्बर ५ स्वयंसेवक दिवस, डिसेम्बर ८ मर्यादित महिनावारी दिवस, डिसेम्बर ९ भ्रष्टाचारविरुद्धको दिवस र डिसेम्बर १० मा मानवअधिकार दिवस पर्ने हुँदा यिनीहरूलाई थप प्रभावकारी बनाउनका लागि १६ दिने अभियान मनाउने गरिन्छ ।
नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्नेतर्फ जोड दिएको छ । त्यस्तै, महिलाविरुद्ध हुने लैंगिक भेदभाव, आर्थिक–सामाजिक विभेद तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । साथै नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत जनाएको छ । लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । सरकारी तथा गैरसरकारी सरोकारवाला निकायले पनि मानवअधिकार नै महिला अधिकार भनी वकालत गर्दै कार्यान्वयनमा जोड दिँदै आएका छन् ।
विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र हानिकारक परम्परागत अभ्यासले लिंगकै आधारमा महिलामाथि विभेद र दुर्व्यवहार हुँदै आएको छ । त्यसैले, महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्दा लैंगिक हिंसाविरुद्धको दिवस थप प्रभावकारी बन्छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित गर्न जरुरी छ । लैंगिक विभेदको अन्त्य नगर्दासम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन सक्दैन । त्यस्तै, ‘म हिंसा गर्दिनँ, हिंसा पनि सहन्नँ, हिंसा हुन पनि दिन्नँ’ भनी प्रत्येक घरपरिवारबाट समाजका सबै सरोकारवाला निकायहरूले हरेक दिन अभियान चलाउन आवश्यक छ । १६ दिने अभियानलाई वर्षभरि नै सञ्चालन हुने गरी विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कानुनहरूको परिपालनामा जोड दिन जरुरी छ । लैंगिक विभेदको अन्त्यका लागि आफैंबाट, घर, परिवार, टोल, समाजबाट समन्वय, सहकार्य गरिनुपर्छ ।
