पर्वतीय र ग्रामीण पर्यटनको शक्ति राष्ट्र हुने हैसियत राख्छ– नेपाल । प्रतिष्ठित ‘अम्बियो’ जर्नलमा प्रकाशित ‘नेचर कनेक्टेड इन्डेक्स’ को शोधमा लेखिएको छ– हामी साँच्चिकै प्रकृति पुज्ने देशका सन्तान हौं । हामीसँग छन् त सबैथोक छ, तर कहाँनिर भयो चुक ?
What you should know
हालै एक विश्वव्यापी सूचीको शीर्ष स्थानमा परेसँगै नेपालको सच्चा परिचय प्रकृतिसँग सबैभन्दा राम्ररी जोडिने देशका रूपमा बनेको प्रस्टै देखिन्छ । ढुंगा–ढुंगामा ‘देवता’ को बास हुने देश भनेर नेपाललाई त्यसै भनिएको होइन । हामी साँच्चिकै प्रकृति पुज्ने देशका सन्तान हौं, जुन प्रतिष्ठित ‘अम्बियो’ जर्नलमा प्रकाशित ‘नेचर कनेक्टेड इन्डेक्स’ को विस्तृत शोधमा समेत लेखियो ।
त्यसमा नेपाल यसरी प्रकृतिसँग जोडिनुमा यहाँको आध्यात्मिकता र धार्मिक आस्थाको सम्बन्धको बलियो भूमिका रहेको जनाइएको छ । विश्वमञ्चमा हाम्रो मौलिक पहिचान र नेपाली पर्यटनका लागि यो सायद पछिल्लो समय देखिएको सबैभन्दा उल्लेख्य पक्ष हो । यो हामी स्वयंलाई केही विषयमा आत्मविश्वास जगाउने, आफ्ना खास सम्पत्ति जोगाउने र स्वयंलाई चिन्ने अवसर पनि हो ।
विश्व पर्यटनको ताजा लहर
अहिले विश्व पर्यटन आत्मशान्ति खोज्ने दिशामा केन्द्रित छ । मानसिक समस्या विश्वमा अब महामारीजसरी फैलँदो छ । त्यस्तोमा कृत्रिम वैभव, आडम्बरभन्दा पर उठेर मानिसहरू प्रकृतिको नजिक, त्यसमा आश्रित सहनशील मानिससम्म पुग्न खोजिरहेका छन् । नेपालमा अनेकौं कुना–कन्दरामा त्यो पवित्रता बाँकी छ । नेपालले यतिखेरै त्यही पवित्रता बुझ्ने, त्यसमै रमाउने विश्वका मूल्यवान् पर्यटक ल्याउने सामर्थ्य राख्छ । त्यस्ता पर्यटकहरू कम वा बढी खर्च गर्ने दाँजोमा हेरिँदैनन् । ती पैसा र शक्तिभन्दा माथि उठेर मूल्यवान् यात्रा अनुभवका लागि व्यग्र हुन्छन् ।
सन् १९५५ मा ब्रिटिस ट्राभल कम्पनी थोमस कुक एन्ड सनले ६० जना पर्यटकलाई नेपाल ल्याउँदा ‘पर्यटनको लहर अब दूरदराजको नेपालसम्म पुगेको’ भनेर ‘लाइफ’ म्यागेजिनले लेखेको थियो । सायद आधुनिक समयमा व्यवस्थित रूपमा नेपालमा पर्यटकहरू आएको त्यो नै उल्लेख्य घटना हो । सात दशकमा धेरै कुरा फेरिएको छ । संसार आपसमा कहिल्यै कल्पना नगरिएको तहमा जोडिँदा पनि अझै ‘दूरदराजको देश’ भन्ने शब्दावली निमिट्यान्न भइसकेको छैन । कुरा सामान्य छ, नेपालको सामर्थ्यको तुलनामा यहाँ जुन संख्यामा पर्यटक आइरहेका छन्, त्यो निकै कम हो ।
पर्वतीय र ग्रामीण पर्यटनको एउटा शक्ति राष्ट्र हुने हैसियत राख्छ– नेपाल । तर, सबैकुरा भईकन पनि कहाँनिर चुक भइरहेको छ ? घुमिफिरी पर्यटनको लहर अहिले नेपालमा जे छ, त्यसकै दिशातर्फ उन्मुख छ । २१ औं शताब्दीको एकचौथाइ समय पार गरिसक्दा पर्यटन विलासिताभन्दा पर गइसकेको छ ।
अहिले खासमा घुम्ने मानिसहरू ‘अर्थपूर्ण अनुभव’ खोजिरहेका छन् । कैयौं प्रतिष्ठित पहिचान बनाएका व्यक्तिहरूले विश्वविद्यालयको पढाइ सकेर नेपाल आएर पदयात्रा गरेपछि जीवनको महत्त्वपूर्ण निर्णय लिएको आफ्ना अनुभवहरूमा लेखेका छन् । अहिले फेरि मध्यमवर्गीयदेखि धनाढ्यहरूसम्मै सहरका वैभव छाडेर गाउँका शान्त घरमा वा पदयात्रामा केही दिन भए पनि हराउने प्रयत्नमा छन् । पूर्वका कञ्चनजंघादेखि सगरमाथा र अन्नपूर्ण क्षेत्र हुँदै माथिल्लो डोल्पासम्मका हाम्रा भेग अहिले तिनै ‘प्रिमियम’ ठाउँ हुन् । पर्यटनको अबको दिशा देखाउने त्यही शक्ति हामीसँग छ । त्यसैले पनि अब नेपाल विश्वको एउटा पर्यटन शक्ति हो ।
सहनशीलता सिक्ने थलो
प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपमा विशेष भईकन पनि विश्व पर्यटन बजारमा हामी दिनदिनै कमजोर बनिरहेको यथार्थ हो । केही पक्षसँग हाम्रो विवशता जोडिएको छ । हामीसँग बजेटको सीमितता छ, पूर्वाधारमा तत्काल ठूलो फेरबदल भइहाल्ने अवस्था छैन । तर, हाम्रो पर्यटनका केही अन्तर्निहित विषय छन्, जसमा बाटो बिराउने छुट हामीसँग अहिल्यै छैन । ‘अतिथि देवो भवः’ त्यसै भनिएको होइन । यो हामीले हरेक क्षण जिउने भाव हो । त्यसैले त नेपालको पर्यटनबारे धेरैले भन्ने गर्छन्– म हिमालका लागि आएँ, तर यहाँका मानिसका लागि फर्किएँ ।
हाम्रो जीवनशैली नै संसारका लागि एउटा उत्कृष्ट पर्यटकीय आकर्षण हो । हामी निकै सहनशील छौं । पराइप्रति आफ्नो धारणा बनाइहाल्दैनौं । हाम्रो जीवनमा ‘ह्युमन फस्ट’ प्रवृत्ति छ । हामी आफूसँग भएको ‘बेस्ट’ दिन्छौं । यी सबै हाम्रा पूर्वाधारमा होइन, हाम्रो रगतमा छ । सौभाग्यवश हामीलाई प्रकृति र इतिहासले दिएका त्यस्तै पवित्र धरोहरहरू छन् । त्यही नै हाम्रा खास पहिचान हुन् ।
तोडौं 'गोल्डन ट्र्याङ्गल’ को परिधि
बर्खायाममा नेपालका तारे होटलहरूमा औसतमा एकचौथाइ कोठाहरू पनि भर्न धौ धौ हुन्छ । नेपालको पर्यटन भन्ने बित्तिकै शरद र वसन्त याम बुझ्ने गरिएको अवस्था छ । नेपालको अधिकांश पर्यटन वर्षौंदेखि काठमाडौं, चितवन र पोखराको ‘गोल्डन ट्र्याङ्गल’ भनिने परिधिमै सीमित रह्यो । पश्चिमको बर्दिया पछिल्ला केही वर्षमा तिनै खास गन्तव्यमा जोडिन थालेको छ । त्यसबाहेक अन्नपूर्ण र सगरमाथाजस्ता पदयात्रा मार्गमा धेरै पर्यटक आउँछन् । पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथजस्ता पवित्र स्थलका आफ्नै श्रद्धालु पर्यटक छन् । तर, खाडी देशका पर्यटक खास घुम्न रुचाउने समय भनेकै बर्खा हो ।
बर्खामासमा फूल्ने फूलहरू हेर्न खोज्ने पर्यटक संसारमा प्रिमियम पर्यटकका रूपमा गनिन्छन् । नेपालका गौरीशंकर वा बडिमालिकाजस्ता त्यस्ता दर्जनौं गन्तव्यहरूमा सुरक्षाका मापदण्ड केही कसिलो पारेर किन प्रवर्द्धन नगर्ने ? पर्यटनमा ससाना संवेदनशीलताको ठूलो अर्थ रहन्छ ।
बर्खामासमा मध्यपूर्वका मुस्लिम बहुल पर्यटकका लागि होटलका कोठामा प्रार्थना गर्न मिल्ने एउटा कुनो छुट्याइदिँदा वा त्यहाँ ‘हलाल सर्टिफिकेसन’ हुने प्रबन्ध गरिदिँदा त्यसले ठूलो फरक पारिदिन्छ । त्यस्तै धेरै चिनियाँ घुमघाम गर्ने सिजन हो– फेब्रुअरी महिना आसपासको चिनियाँ नयाँ वर्ष । उनीहरूकै भाषामा मेन्यु र केही ती अनुकूलका परिकार थपिदिए त्यसले ठूलो अन्तर पारिदिन्छ । यस्ता कुरा पैसा वा पूर्वाधारसँग जोडिँदैनन्, आफैंभित्रको अन्तरनिहित गुणको परिष्कार हो ।
साउदी अरबले यतिखेर पर्यटनको परिचय ‘हफवा’ शब्दसँग जोडेर विकास गरिरहेको छ । हफवा साउदी संस्कृतिको एउटा त्यस्तो मूल्य हो, जुन त्यस देशको उदारता, स्वागत र रेखदेखसँग जोडिन्छ । तेल–धनी राष्ट्रबाट आगामी दशकमा पर्यटनमा झन् बढ्ता विस्तारित हुन खोजिरहेको साउदी अरबको ‘पर्यटकले खोजेभन्दा बढ्ता दिने, आफ्नो विशेष दर्जा प्रस्तुत गर्ने’ योजना छ ।
त्यसका लागि उनीहरूको योजनामा दैनिक हुने औपचारिक–अनौपचारिक व्यवहारमा चुस्तता, सेवाको गुणस्तर, धार्मिक सेवामा उच्चस्तरको पहुँच, एकत्रित प्रविधि, स्वास्थ्यजन्य परिस्थितिका लागि तदारुकतालगायत छन् । यी पर्यटनसँग जोडिने जुन कुनै देशका लागि नयाँ विषय होइनन् । तर, पर्यटकीय शक्ति बन्न ती ‘नन नेगोसेबल’ (बहसै गर्नु नपर्ने) सर्तका रूपमा रहनुपर्छ ।
साउदी अरब मक्का–मदिना दर्शनबाहेक पर्यटनका लागि झट्ट दिमागमा आउने नाम होइन । र, उनीहरूका लागि त्यो अर्थोपार्जनको मुख्य स्रोत पनि होइन । तर, उनीहरूले देखाएको यस अग्रसरता साँच्चिकै हामीजस्तो पर्यटनमा आश्रित देशका लागि पाठ हो ।
नेपालको पर्यटकीय पहिचान के ?
समकालीन विश्वमा धेरथोर पर्यटक जहाँ पनि पुग्छन् । तर, पर्यटन भन्नेबित्तिकै मानिसको दिमागमा नेपालको नाम आउँछ ? कम्तीमा तथ्यांकले त्यसो भनिरहेको छैन । विदेशी मुद्रा आर्जनका लागि विप्रेषणपछिको दोस्रो मुख्य स्रोत भईकन पनि अझै कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानले दोहोरो अंक छुन सकिरहेको छैन ।
समुद्री गन्तव्यका रूपमा माल्दिभ्स वा सेसेल्स जसरी आफ्नो जीडीपीमा ५० प्रतिशतभन्दा बढ्ता पर्यटनकै योगदान हुने देशका रूपमा छन्, नेपालसमेत त्यस्तै सामर्थ्य भएको पर्वतीय गन्तव्य हो । त्यसमाथि हिन्दु र बौद्धमार्गीका लागि नेपालमा रहेका तीर्थस्थल इतिहासले दिएका वरदान हुन् । तर, आकारका हिसाबले अझै पनि ठूला शक्तिराष्ट्र अमेरिका र चीन नै ट्रिलियन डलरमा पर्यटनबाट कमाइ गर्ने देशका रूपमा छन् ।
इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मक्का र मदिनामा बर्सेनि २ करोड हाराहारीमा पर्यटक पुग्दा किन नेपालको लुम्बिनीमा चहलपहल छैन ? पशुपति, बौद्धनाथ वा मुक्तिनाथको खास सामर्थ्य हामीले थाहा पाएका छौं ? यी यस्ता पवित्र स्थल हुन् जसमा वर्षौंका खोज–अनुसन्धान, लगाव र समर्पणसहित पुस्तौंपुस्ताले लगानी गर्नुपर्छ । आस्थाको धरोहरमा स्वार्थ मिसियो भने त्यहाँ हुने ‘शक्ति भाव’ हराउन थाल्छ ।
तिनको विकास हठात् कोही सत्ता वा शक्तिमा आउँदैमा वा पैसाको भरमा गर्न सकिँदैन । ती स्थलका मर्म र गरिमा बुझ्दै त्यसको सम्मान गर्न सक्ने नेतृत्वको निरन्तरताले मात्रै त्यस्ता तीर्थस्थलले जीवन्तता पाउँछन् । थाइल्यान्ड, म्यान्मार वा श्रीलंकाजस्ता कैयौं देशका सामान्य आयस्रोत नै भएका बौर्द्धमार्गीहरू जीवनभरको बचत सञ्चय गरेर कम्तीमा एकपटक लुम्बिनी आउन चाहन्छन् । नेपालले त्यस्ता पर्यटकको भ्रमणको जीवनको एक क्षण मूल्यवान् बनाउन कुनै कसर छाड्नुहुन्न । त्यसबाहेक लुम्बिनी र आसपासका बौद्ध तीर्थस्थल वरपर सन्तान जन्माउने चाहना धेरैको हुने गर्छ । त्यहाँ सुविधासम्पन्न ‘बर्थिङ’ अस्पतालदेखि ध्यान केन्द्रहरू बनाउनु आवश्यक छ ।
राम–सीताको विवाह भएको पौराणिक मिथिला नगर जनकपुर हिन्दुहरूको विवाह गर्ने विशेष गन्तव्य बन्न सक्छ । ‘माइक्रो वेडिङ’ का लागि हिमाली फेदका नेपालका आकर्षक रिसोर्टहरू खास छन् । विवाह अघि वा पछिका तस्बिर खिचाउन चिनियाँ जोडीले मुस्ताङजस्ता नेपालका हिमाली भेग रुचाउन थालेको पाइन्छ ।
नेपालभित्रैको क्षेत्रीय सामर्थ्य
नेपाल आउनु भनेको काठमाडौं नै उत्रनुपर्छ भन्ने सोच अब नेपाली पर्यटन क्षेत्रले छाड्न आवश्यक छ । कम्तीमा लुम्बिनी र पोखराका हकमा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार बनिसक्दा ‘नेपाल भ्रमण’ भन्न छाडेर ‘लुम्बिनी भ्रमण’ वा ‘पोखरा भ्रमण’ का रूपमा अलग्गै प्रवर्धन गर्ने अवसर छ ।
बरु त्यहाँ पर्यटकलाई भुलाउन गर्न सकिने गतिविधिको पहिचान र विकास गर्न सकिन्छ । लुम्बिनी भन्नासाथ तिलौराकोट, रामग्रामदेखि देवदहसम्मको सर्किटका रूपमा विस्तार गरेर होस् वा पोखरा भन्नासाथ आसपासका पदमार्गसमेत हामीसँग छन्, यी गन्तव्य आफूमा पूर्ण छन् । तर, हामीले तिनलाई सहज र स्मरणीय बनाउने काम गर्नुपर्छ । ती ठाउँलाई हामीले सित्तैमा पाएजसरी हेर्नु हुँदैन, बरु त्यसमा जीवन्तता भर्न लगानी बढाउनुपर्छ ।
लुम्बिनी त्यहाँको मायादेवी मन्दिर मात्र होइन, भैरहवाबाट पश्चिम लागेदेखिको सबथोक हो । त्यसको भाव त्यहाँ आँखा, कान र श्वासले अनुभूत गर्नुपर्छ । मास्क लगाएर लुम्बिनीमा ध्यान गर्नुपरेका तस्बिरले हाम्रो विशेष सम्पत्तिबारे विश्वजगतमा राम्रो सन्देश दिँदैन । लुम्बिनीको गेटबाहिर निस्कनेबित्तिकै अव्यवस्थित तरिकाले राखिएका ठेला र पसलले त्यसको गरिमामा आँच नै पुर्याइरहेको हुन्छ ।
कुनै बेला नेपालको एउटा मुख्य आकर्षण मानिने अन्नपूर्ण पदयात्रामा विदेशी पर्यटकहरूको आकर्षण घट्दो छ । प्रकृति र फरक विश्वको संस्कृतिसँग जोडिएको अनुभूति जुन पहिले हुन्थ्यो त्यो अब मर्दै गएको उनीहरूले महसुस गर्न थालेको पढ्न–सुन्न पाइन्छ । नेपालका हिमाली पदयात्रामा ध्यान गर्दै गरेको अनुभूति हुने भावलाई मर्न दिएकै दिन त्यसको मौलिकता मर्न पुग्नेमा हामी चनाखो हुन जरुरी छ ।
नेपालका तिनै पदयात्रा मार्ग र बिराना गाउँबस्ती अहिले विश्व पर्यटनको ‘प्रिमियम’ हुन् । वैभवले पूर्ण भईकन पनि स्वयंमा एक्लो भइरहेका विश्वका करोडौं मानिस जीवन बुझ्न यतिखेर दूरदराजका कुनाकन्दरा खोजिरहेका छन् । ‘ठूलो’ मान्छे पनि ‘सानो’ हुने ठाउँ र हाम्रो अस्तित्वको समानता सिकाउने ती ठाउँलाई पवित्र राखिराख्ने अहम् जिम्मेवारी अहिलेको पुस्तासामु छ ।
के हो नेपालको ब्रान्ड ?
नेपालको पर्यटन प्रकृति, संस्कृति, परम्परा र पुरातत्त्वसँग जोडिएको छ । नेपालले जे जस्तै अवस्थामा पनि हिमाल आरोहण र पदयात्राका लागि पर्यटकको एउटा उल्लेख्य संख्या पाइरह्यो । सरकारले संरक्षण क्षेत्रहरू बनाएसँगै तीसमेत पर्यटकलाई व्यवस्थित रूपमा आकर्षित गर्न सहयोगी बने ।
तर, संसारमा घुम्न निस्कने करोडौं मानिसमाझ नेपालको पहिचान के हो ? यतिखेर हामीले बुझ्नुपर्छ । र, त्यसकै आधारमा प्रवर्धन गर्न थाल्नुपर्छ । त्यसरी हेर्दा पवित्र ग्रामीण पर्यटन नेपालको विशेष पक्ष हो । मानिसहरूले यहाँ पाँचतारे होटलको विलासिता खोजिरहेका छैनन् । तर, त्यसो भन्नुको अर्थ न्यूनतम आवश्यकताको सहज उपलब्धता अनिवार्य सर्त हुनुपर्छ ।
अब नेपालको पर्यटनको मुहार कस्तो बनाउने भनेर विश्वका उत्कृष्ट ब्रान्ड विज्ञ तथा परामर्शदातासँग छलफल गरेर हाम्रो मूल्य कस्तो हुने भन्ने तय गर्नुपर्छ । त्यसले हाम्रो पहिचानसँग जोडिने पर्यटकीय स्थलका घरका छाना र मुहारमा भवन संहितालाई कडाइसाथ लागू गर्नुपर्छ ।
कुन ठाउँको मौलिक कुरा के हो ? त्यो थाहा पाएर त्यसलाई जोगाउने काम प्राथमिकतामा अगाडि बढाइनुपर्छ । पर्यटकले आफैं थाहा पाउँछन् भन्ने नभई, त्यसलाई कसरी देखाउने भन्ने सिर्जनशील तरिका अपनाउनुपर्छ । हाम्रा धेरै ऐतिहासिक ठाउँमा पुग्दा सयौं–हजारौं वर्षअघि सभ्यता टक्क अडिएजस्तो अनुभूति हुन्छ । त्यसलाई त्यही स्वरूपमा कसरी जोगाउने भन्ने हाम्रो नीति हुनुपर्छ ।
नेपाल त भिसा नलगाईकन छिमेकबाट लाखौं पर्यटक आउन सक्ने, दर्जनौं देशका लागि एयरपोर्टमै भिसा लगाउन सकिने सहज गन्तव्य हो । अबको एक दशकमा यहाँ महत्त्वपूर्ण सडक तथा होटल पूर्वाधारको स्वाभाविक गतिमै विकास हुनेछ । तर, पर्यटनमा बेच्ने मुख्य विषय त्यसबेला पनि पूर्वाधार नभई अनुभव हुनेछ, जसको तयारी एकै दिन पनि ढिलो नगरी थाल्नुपर्छ ।
– न्यौपाने लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री र लकाई पाटा–नेपालका अध्यक्ष हुन् ।
