नेपालको पर्यटन शक्ति कति ?

पर्वतीय र ग्रामीण पर्यटनको शक्ति राष्ट्र हुने हैसियत राख्छ– नेपाल । प्रतिष्ठित ‘अम्बियो’ जर्नलमा प्रकाशित ‘नेचर कनेक्टेड इन्डेक्स’ को शोधमा लेखिएको छ– हामी साँच्चिकै प्रकृति पुज्ने देशका सन्तान हौं । हामीसँग छन् त सबैथोक छ, तर कहाँनिर भयो चुक ?

मंसिर १५, २०८२

खेम लकाई, प्रचण्डविक्रम न्यौपाने

What is the tourism potential of Nepal?

What you should know

हालै एक विश्वव्यापी सूचीको शीर्ष स्थानमा परेसँगै नेपालको सच्चा परिचय प्रकृतिसँग सबैभन्दा राम्ररी जोडिने देशका रूपमा बनेको प्रस्टै देखिन्छ । ढुंगा–ढुंगामा ‘देवता’ को बास हुने देश भनेर नेपाललाई त्यसै भनिएको होइन । हामी साँच्चिकै प्रकृति पुज्ने देशका सन्तान हौं, जुन प्रतिष्ठित ‘अम्बियो’ जर्नलमा प्रकाशित ‘नेचर कनेक्टेड इन्डेक्स’ को विस्तृत शोधमा समेत लेखियो ।

त्यसमा नेपाल यसरी प्रकृतिसँग जोडिनुमा यहाँको आध्यात्मिकता र धार्मिक आस्थाको सम्बन्धको बलियो भूमिका रहेको जनाइएको छ । विश्वमञ्चमा हाम्रो मौलिक पहिचान र नेपाली पर्यटनका लागि यो सायद पछिल्लो समय देखिएको सबैभन्दा उल्लेख्य पक्ष हो । यो हामी स्वयंलाई केही विषयमा आत्मविश्वास जगाउने, आफ्ना खास सम्पत्ति जोगाउने र स्वयंलाई चिन्ने अवसर पनि हो ।

विश्व पर्यटनको ताजा लहर

अहिले विश्व पर्यटन आत्मशान्ति खोज्ने दिशामा केन्द्रित छ । मानसिक समस्या विश्वमा अब महामारीजसरी फैलँदो छ । त्यस्तोमा कृत्रिम वैभव, आडम्बरभन्दा पर उठेर मानिसहरू प्रकृतिको नजिक, त्यसमा आश्रित सहनशील मानिससम्म पुग्न खोजिरहेका छन् । नेपालमा अनेकौं कुना–कन्दरामा त्यो पवित्रता बाँकी छ । नेपालले यतिखेरै त्यही पवित्रता बुझ्ने, त्यसमै रमाउने विश्वका मूल्यवान् पर्यटक ल्याउने सामर्थ्य राख्छ । त्यस्ता पर्यटकहरू कम वा बढी खर्च गर्ने दाँजोमा हेरिँदैनन् । ती पैसा र शक्तिभन्दा माथि उठेर मूल्यवान् यात्रा अनुभवका लागि व्यग्र हुन्छन् । 

सन् १९५५ मा ब्रिटिस ट्राभल कम्पनी थोमस कुक एन्ड सनले ६० जना पर्यटकलाई नेपाल ल्याउँदा ‘पर्यटनको लहर अब दूरदराजको नेपालसम्म पुगेको’ भनेर ‘लाइफ’ म्यागेजिनले लेखेको थियो । सायद आधुनिक समयमा व्यवस्थित रूपमा नेपालमा पर्यटकहरू आएको त्यो नै उल्लेख्य घटना हो । सात दशकमा धेरै कुरा फेरिएको छ । संसार आपसमा कहिल्यै कल्पना नगरिएको तहमा जोडिँदा पनि अझै ‘दूरदराजको देश’ भन्ने शब्दावली निमिट्यान्न भइसकेको छैन । कुरा सामान्य छ, नेपालको सामर्थ्यको तुलनामा यहाँ जुन संख्यामा पर्यटक आइरहेका छन्, त्यो निकै कम हो । 

पर्वतीय र ग्रामीण पर्यटनको एउटा शक्ति राष्ट्र हुने हैसियत राख्छ– नेपाल । तर, सबैकुरा भईकन पनि कहाँनिर चुक भइरहेको छ ? घुमिफिरी पर्यटनको लहर अहिले नेपालमा जे छ, त्यसकै दिशातर्फ उन्मुख छ । २१ औं शताब्दीको एकचौथाइ समय पार गरिसक्दा पर्यटन विलासिताभन्दा पर गइसकेको छ ।

अहिले खासमा घुम्ने मानिसहरू ‘अर्थपूर्ण अनुभव’ खोजिरहेका छन् । कैयौं प्रतिष्ठित पहिचान बनाएका व्यक्तिहरूले विश्वविद्यालयको पढाइ सकेर नेपाल आएर पदयात्रा गरेपछि जीवनको महत्त्वपूर्ण निर्णय लिएको आफ्ना अनुभवहरूमा लेखेका छन् । अहिले फेरि मध्यमवर्गीयदेखि धनाढ्यहरूसम्मै सहरका वैभव छाडेर गाउँका शान्त घरमा वा पदयात्रामा केही दिन भए पनि हराउने प्रयत्नमा छन् । पूर्वका कञ्चनजंघादेखि सगरमाथा र अन्नपूर्ण क्षेत्र हुँदै माथिल्लो डोल्पासम्मका हाम्रा भेग अहिले तिनै ‘प्रिमियम’ ठाउँ हुन् । पर्यटनको अबको दिशा देखाउने त्यही शक्ति हामीसँग छ । त्यसैले पनि अब नेपाल विश्वको एउटा पर्यटन शक्ति हो । 

सहनशीलता सिक्ने थलो

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपमा विशेष भईकन पनि विश्व पर्यटन बजारमा हामी दिनदिनै कमजोर बनिरहेको यथार्थ हो । केही पक्षसँग हाम्रो विवशता जोडिएको छ । हामीसँग बजेटको सीमितता छ, पूर्वाधारमा तत्काल ठूलो फेरबदल भइहाल्ने अवस्था छैन । तर, हाम्रो पर्यटनका केही अन्तर्निहित विषय छन्, जसमा बाटो बिराउने छुट हामीसँग अहिल्यै छैन । ‘अतिथि देवो भवः’ त्यसै भनिएको होइन । यो हामीले हरेक क्षण जिउने भाव हो । त्यसैले त नेपालको पर्यटनबारे धेरैले भन्ने गर्छन्– म हिमालका लागि आएँ, तर यहाँका मानिसका लागि फर्किएँ । 

हाम्रो जीवनशैली नै संसारका लागि एउटा उत्कृष्ट पर्यटकीय आकर्षण हो । हामी निकै सहनशील छौं । पराइप्रति आफ्नो धारणा बनाइहाल्दैनौं । हाम्रो जीवनमा ‘ह्युमन फस्ट’ प्रवृत्ति छ । हामी आफूसँग भएको ‘बेस्ट’ दिन्छौं । यी सबै हाम्रा पूर्वाधारमा होइन, हाम्रो रगतमा छ । सौभाग्यवश हामीलाई प्रकृति र इतिहासले दिएका त्यस्तै पवित्र धरोहरहरू छन् । त्यही नै हाम्रा खास पहिचान हुन् ।

तोडौं 'गोल्डन ट्र्याङ्गल’ को परिधि

बर्खायाममा नेपालका तारे होटलहरूमा औसतमा एकचौथाइ कोठाहरू पनि भर्न धौ धौ हुन्छ । नेपालको पर्यटन भन्ने बित्तिकै शरद र वसन्त याम बुझ्ने गरिएको अवस्था छ । नेपालको अधिकांश पर्यटन वर्षौंदेखि काठमाडौं, चितवन र पोखराको ‘गोल्डन ट्र्याङ्गल’ भनिने परिधिमै सीमित रह्यो । पश्चिमको बर्दिया पछिल्ला केही वर्षमा तिनै खास गन्तव्यमा जोडिन थालेको छ । त्यसबाहेक अन्नपूर्ण र सगरमाथाजस्ता पदयात्रा मार्गमा धेरै पर्यटक आउँछन् । पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथजस्ता पवित्र स्थलका आफ्नै श्रद्धालु पर्यटक छन् । तर, खाडी देशका पर्यटक खास घुम्न रुचाउने समय भनेकै बर्खा हो । 

बर्खामासमा फूल्ने फूलहरू हेर्न खोज्ने पर्यटक संसारमा प्रिमियम पर्यटकका रूपमा गनिन्छन् । नेपालका गौरीशंकर वा बडिमालिकाजस्ता त्यस्ता दर्जनौं गन्तव्यहरूमा सुरक्षाका मापदण्ड केही कसिलो पारेर किन प्रवर्द्धन नगर्ने ? पर्यटनमा ससाना संवेदनशीलताको ठूलो अर्थ रहन्छ ।

बर्खामासमा मध्यपूर्वका मुस्लिम बहुल पर्यटकका लागि होटलका कोठामा प्रार्थना गर्न मिल्ने एउटा कुनो छुट्याइदिँदा वा त्यहाँ ‘हलाल सर्टिफिकेसन’ हुने प्रबन्ध गरिदिँदा त्यसले ठूलो फरक पारिदिन्छ । त्यस्तै धेरै चिनियाँ घुमघाम गर्ने सिजन हो– फेब्रुअरी महिना आसपासको चिनियाँ नयाँ वर्ष । उनीहरूकै भाषामा मेन्यु र केही ती अनुकूलका परिकार थपिदिए त्यसले ठूलो अन्तर पारिदिन्छ । यस्ता कुरा पैसा वा पूर्वाधारसँग जोडिँदैनन्, आफैंभित्रको अन्तरनिहित गुणको परिष्कार हो । 

साउदी अरबले यतिखेर पर्यटनको परिचय ‘हफवा’ शब्दसँग जोडेर विकास गरिरहेको छ । हफवा साउदी संस्कृतिको एउटा त्यस्तो मूल्य हो, जुन त्यस देशको उदारता, स्वागत र रेखदेखसँग जोडिन्छ । तेल–धनी राष्ट्रबाट आगामी दशकमा पर्यटनमा झन् बढ्ता विस्तारित हुन खोजिरहेको साउदी अरबको ‘पर्यटकले खोजेभन्दा बढ्ता दिने, आफ्नो विशेष दर्जा प्रस्तुत गर्ने’ योजना छ ।

त्यसका लागि उनीहरूको योजनामा दैनिक हुने औपचारिक–अनौपचारिक व्यवहारमा चुस्तता, सेवाको गुणस्तर, धार्मिक सेवामा उच्चस्तरको पहुँच, एकत्रित प्रविधि, स्वास्थ्यजन्य परिस्थितिका लागि तदारुकतालगायत छन् । यी पर्यटनसँग जोडिने जुन कुनै देशका लागि नयाँ विषय होइनन् । तर, पर्यटकीय शक्ति बन्न ती ‘नन नेगोसेबल’ (बहसै गर्नु नपर्ने) सर्तका रूपमा रहनुपर्छ ।

साउदी अरब मक्का–मदिना दर्शनबाहेक पर्यटनका लागि झट्ट दिमागमा आउने नाम होइन । र, उनीहरूका लागि त्यो अर्थोपार्जनको मुख्य स्रोत पनि होइन । तर, उनीहरूले देखाएको यस अग्रसरता साँच्चिकै हामीजस्तो पर्यटनमा आश्रित देशका लागि पाठ हो ।

नेपालको पर्यटकीय पहिचान के ?

समकालीन विश्वमा धेरथोर पर्यटक जहाँ पनि पुग्छन् । तर, पर्यटन भन्नेबित्तिकै मानिसको दिमागमा नेपालको नाम आउँछ ? कम्तीमा तथ्यांकले त्यसो भनिरहेको छैन । विदेशी मुद्रा आर्जनका लागि विप्रेषणपछिको दोस्रो मुख्य स्रोत भईकन पनि अझै कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानले दोहोरो अंक छुन सकिरहेको छैन । 

समुद्री गन्तव्यका रूपमा माल्दिभ्स वा सेसेल्स जसरी आफ्नो जीडीपीमा ५० प्रतिशतभन्दा बढ्ता पर्यटनकै योगदान हुने देशका रूपमा छन्, नेपालसमेत त्यस्तै सामर्थ्य भएको पर्वतीय गन्तव्य हो । त्यसमाथि हिन्दु र बौद्धमार्गीका लागि नेपालमा रहेका तीर्थस्थल इतिहासले दिएका वरदान हुन् । तर, आकारका हिसाबले अझै पनि ठूला शक्तिराष्ट्र अमेरिका र चीन नै ट्रिलियन डलरमा पर्यटनबाट कमाइ गर्ने देशका रूपमा छन् । 

इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मक्का र मदिनामा बर्सेनि २ करोड हाराहारीमा पर्यटक पुग्दा किन नेपालको लुम्बिनीमा चहलपहल छैन ? पशुपति, बौद्धनाथ वा मुक्तिनाथको खास सामर्थ्य हामीले थाहा पाएका छौं ? यी यस्ता पवित्र स्थल हुन् जसमा वर्षौंका खोज–अनुसन्धान, लगाव र समर्पणसहित पुस्तौंपुस्ताले लगानी गर्नुपर्छ । आस्थाको धरोहरमा स्वार्थ मिसियो भने त्यहाँ हुने ‘शक्ति भाव’ हराउन थाल्छ । 

तिनको विकास हठात् कोही सत्ता वा शक्तिमा आउँदैमा वा पैसाको भरमा गर्न सकिँदैन । ती स्थलका मर्म र गरिमा बुझ्दै त्यसको सम्मान गर्न सक्ने नेतृत्वको निरन्तरताले मात्रै त्यस्ता तीर्थस्थलले जीवन्तता पाउँछन् । थाइल्यान्ड, म्यान्मार वा श्रीलंकाजस्ता कैयौं देशका सामान्य आयस्रोत नै भएका बौर्द्धमार्गीहरू जीवनभरको बचत सञ्चय गरेर कम्तीमा एकपटक लुम्बिनी आउन चाहन्छन् । नेपालले त्यस्ता पर्यटकको भ्रमणको जीवनको एक क्षण मूल्यवान् बनाउन कुनै कसर छाड्नुहुन्न । त्यसबाहेक लुम्बिनी र आसपासका बौद्ध तीर्थस्थल वरपर सन्तान जन्माउने चाहना धेरैको हुने गर्छ । त्यहाँ सुविधासम्पन्न ‘बर्थिङ’ अस्पतालदेखि ध्यान केन्द्रहरू बनाउनु आवश्यक छ । 

राम–सीताको विवाह भएको पौराणिक मिथिला नगर जनकपुर हिन्दुहरूको विवाह गर्ने विशेष गन्तव्य बन्न सक्छ । ‘माइक्रो वेडिङ’ का लागि हिमाली फेदका नेपालका आकर्षक रिसोर्टहरू खास छन् । विवाह अघि वा पछिका तस्बिर खिचाउन चिनियाँ जोडीले मुस्ताङजस्ता नेपालका हिमाली भेग रुचाउन थालेको पाइन्छ ।

नेपालभित्रैको क्षेत्रीय सामर्थ्य

नेपाल आउनु भनेको काठमाडौं नै उत्रनुपर्छ भन्ने सोच अब नेपाली पर्यटन क्षेत्रले छाड्न आवश्यक छ । कम्तीमा लुम्बिनी र पोखराका हकमा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार बनिसक्दा ‘नेपाल भ्रमण’ भन्न छाडेर ‘लुम्बिनी भ्रमण’ वा ‘पोखरा भ्रमण’ का रूपमा अलग्गै प्रवर्धन गर्ने अवसर छ ।

बरु त्यहाँ पर्यटकलाई भुलाउन गर्न सकिने गतिविधिको पहिचान र विकास गर्न सकिन्छ । लुम्बिनी भन्नासाथ तिलौराकोट, रामग्रामदेखि देवदहसम्मको सर्किटका रूपमा विस्तार गरेर होस् वा पोखरा भन्नासाथ आसपासका पदमार्गसमेत हामीसँग छन्, यी गन्तव्य आफूमा पूर्ण छन् । तर, हामीले तिनलाई सहज र स्मरणीय बनाउने काम गर्नुपर्छ । ती ठाउँलाई हामीले सित्तैमा पाएजसरी हेर्नु हुँदैन, बरु त्यसमा जीवन्तता भर्न लगानी बढाउनुपर्छ ।

लुम्बिनी त्यहाँको मायादेवी मन्दिर मात्र होइन, भैरहवाबाट पश्चिम लागेदेखिको सबथोक हो । त्यसको भाव त्यहाँ आँखा, कान र श्वासले अनुभूत गर्नुपर्छ । मास्क लगाएर लुम्बिनीमा ध्यान गर्नुपरेका तस्बिरले हाम्रो विशेष सम्पत्तिबारे विश्वजगतमा राम्रो सन्देश दिँदैन । लुम्बिनीको गेटबाहिर निस्कनेबित्तिकै अव्यवस्थित तरिकाले राखिएका ठेला र पसलले त्यसको गरिमामा आँच नै पुर्‍याइरहेको हुन्छ ।

कुनै बेला नेपालको एउटा मुख्य आकर्षण मानिने अन्नपूर्ण पदयात्रामा विदेशी पर्यटकहरूको आकर्षण घट्दो छ । प्रकृति र फरक विश्वको संस्कृतिसँग जोडिएको अनुभूति जुन पहिले हुन्थ्यो त्यो अब मर्दै गएको उनीहरूले महसुस गर्न थालेको पढ्न–सुन्न पाइन्छ । नेपालका हिमाली पदयात्रामा ध्यान गर्दै गरेको अनुभूति हुने भावलाई मर्न दिएकै दिन त्यसको मौलिकता मर्न पुग्नेमा हामी चनाखो हुन जरुरी छ ।

नेपालका तिनै पदयात्रा मार्ग र बिराना गाउँबस्ती अहिले विश्व पर्यटनको ‘प्रिमियम’ हुन् । वैभवले पूर्ण भईकन पनि स्वयंमा एक्लो भइरहेका विश्वका करोडौं मानिस जीवन बुझ्न यतिखेर दूरदराजका कुनाकन्दरा खोजिरहेका छन् । ‘ठूलो’ मान्छे पनि ‘सानो’ हुने ठाउँ र हाम्रो अस्तित्वको समानता सिकाउने ती ठाउँलाई पवित्र राखिराख्ने अहम् जिम्मेवारी अहिलेको पुस्तासामु छ ।

के हो नेपालको ब्रान्ड ?

नेपालको पर्यटन प्रकृति, संस्कृति, परम्परा र पुरातत्त्वसँग जोडिएको छ । नेपालले जे जस्तै अवस्थामा पनि हिमाल आरोहण र पदयात्राका लागि पर्यटकको एउटा उल्लेख्य संख्या पाइरह्यो । सरकारले संरक्षण क्षेत्रहरू बनाएसँगै तीसमेत पर्यटकलाई व्यवस्थित रूपमा आकर्षित गर्न सहयोगी बने ।

तर, संसारमा घुम्न निस्कने करोडौं मानिसमाझ नेपालको पहिचान के हो ? यतिखेर हामीले बुझ्नुपर्छ । र, त्यसकै आधारमा प्रवर्धन गर्न थाल्नुपर्छ । त्यसरी हेर्दा पवित्र ग्रामीण पर्यटन नेपालको विशेष पक्ष हो । मानिसहरूले यहाँ पाँचतारे होटलको विलासिता खोजिरहेका छैनन् । तर, त्यसो भन्नुको अर्थ न्यूनतम आवश्यकताको सहज उपलब्धता अनिवार्य सर्त हुनुपर्छ । 

अब नेपालको पर्यटनको मुहार कस्तो बनाउने भनेर विश्वका उत्कृष्ट ब्रान्ड विज्ञ तथा परामर्शदातासँग छलफल गरेर हाम्रो मूल्य कस्तो हुने भन्ने तय गर्नुपर्छ । त्यसले हाम्रो पहिचानसँग जोडिने पर्यटकीय स्थलका घरका छाना र मुहारमा भवन संहितालाई कडाइसाथ लागू गर्नुपर्छ ।

कुन ठाउँको मौलिक कुरा के हो ? त्यो थाहा पाएर त्यसलाई जोगाउने काम प्राथमिकतामा अगाडि बढाइनुपर्छ । पर्यटकले आफैं थाहा पाउँछन् भन्ने नभई, त्यसलाई कसरी देखाउने भन्ने सिर्जनशील तरिका अपनाउनुपर्छ । हाम्रा धेरै ऐतिहासिक ठाउँमा पुग्दा सयौं–हजारौं वर्षअघि सभ्यता टक्क अडिएजस्तो अनुभूति हुन्छ । त्यसलाई त्यही स्वरूपमा कसरी जोगाउने भन्ने हाम्रो नीति हुनुपर्छ । 

नेपाल त भिसा नलगाईकन छिमेकबाट लाखौं पर्यटक आउन सक्ने, दर्जनौं देशका लागि एयरपोर्टमै भिसा लगाउन सकिने सहज गन्तव्य हो । अबको एक दशकमा यहाँ महत्त्वपूर्ण सडक तथा होटल पूर्वाधारको स्वाभाविक गतिमै विकास हुनेछ । तर, पर्यटनमा बेच्ने मुख्य विषय त्यसबेला पनि पूर्वाधार नभई अनुभव हुनेछ, जसको तयारी एकै दिन पनि ढिलो नगरी थाल्नुपर्छ । 

– न्यौपाने लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री र लकाई पाटा–नेपालका अध्यक्ष हुन् ।

खेम लकाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का नेपाल च्याप्टर अध्यक्ष हुन् ।

प्रचण्डविक्रम न्यौपाने लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री हुन्।

Link copied successfully