समाज चिन्न समाजशास्त्र

समाजले आधुनिकताको पछ्यौरी ओढिरहँदा समस्याहरू पनि बढ्दै गएका छन् । ती समस्याका कारण पत्ता लगाउने र सहज–सरल समाधान खोज्ने वातावरण समाजशास्त्रले नै बनाउँछ ।

मंसिर १४, २०८२

सुनिता गाइसी

Sociology to understand society

What you should know

समाज, मान्छे र तिनका सम्बन्धहरूको एक वैज्ञानिक अध्ययन हो– समाजशास्त्र ।

समाजशास्त्रको प्रयास रहन्छ– मान्छेहरूमाथि बुझ्ने । मान्छेहरू कस्तो व्यवहार गर्छन् ? समाजमा किन समूहहरू बन्छन् ? शक्ति, संस्कार, मूल्य, वर्ग, लैंगिकता, भूमिकाजस्ता संरचनाले समाजलाई कसरी चलाइरहेका हुन्छन् ? समाज कस्तो छ ? यो यस्तै किन छ ? र, समाज कसरी बदलिन्छ ? यी प्रश्नहरूको उत्तर खोज्ने विज्ञान नै समाजशास्त्र हो । त्यसैले समाज बुझ्न–जान्न समाजशास्त्रले महत्त्वपूर्ण भूमिका खेल्छ ।

जसरी मेडिकल डाक्टरले रोग पत्ता लगाउन विभिन्न परीक्षणहरू गर्छन्, उसैगरी समाजशास्त्रीले पनि समाजमा भएका विभिन्न पक्षको अवस्थाहरूमाथि विस्तृत रूपमा अध्ययन अनुसन्धान गर्ने काम गर्छ । समस्याको पहिचानदेखि निदानसम्मका विषयहरूमा योजनाबद्ध रूपमा कार्य गर्छ समाजशास्त्रले । समाजशास्त्रले समाज सुहाउँदो र व्यावहारिक उपायहरूको पहिचान गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, संस्कृति, समुदायबारे गहन अध्ययन गर्ने कार्य समाजशास्त्रको मुख्य क्षेत्र हो । स्कुल तहमा सामाजिक अध्ययन, सामाजिक शिक्षा, नैतिक शिक्षाको माध्यमबाट जीवन उपयोगी सीपहरू सिकाउने गरिन्छ । कलेज तहमा समाजशास्त्रका माध्यमबाट सामाजिक व्यावहारिक ज्ञानहरू दिइन्छ, जसले गर्दा कुनै पनि व्यक्तिले सदासर्वदा समाजको भलाइका लागि पाइला चालोस् । देश विकासमा आ–आफ्ना क्षेत्रबाट आवश्यक सरसहयोग गर्न उत्प्रेरणा जगाउने काम पनि समाजशास्त्रले गर्ने गर्छ । समाजका विकृतिलाई कम गर्न र सभ्य समाज बनाउन हामी सबैको उत्तिकै जिम्मेवारी छ भनी अनुभूति गराउने काम पनि यस्ता विषयहरूले गर्छन् । त्यसैले आजको समाजमा नैतिक मूल्य, मान्यता र हाम्रा परम्परागत ज्ञान, सीप सिकाउने विषयको आवश्यकता छ, जुन समाजशास्त्रले पूरा गरेको छ ।

हाल समाजशास्त्रको क्षेत्र पनि क्रमशः बढदै गएको देखिन्छ । समाज जति आधुनिकतातर्फ अगाडि बढ्दै छ, त्यति नै धेरै सामाजिक समस्या पनि नजानिँदो पारामा बढ्दै छ । त्यसैले पनि हरेक विधा तथा विभागहरूमा समाजशास्त्रको आवश्यकता महसुस गरी पढाउन थालिएको छ, त्यो चाहे नर्सिङ, वन विज्ञान वा बीबीएम नै किन नहोस् ! अन्य धेरै संकायहरूमा समाजशास्त्रलाई पढ्नैपर्ने विषयका रूपमा समावेश गरिएको छ । समाजशास्त्रले नै समाजको गुदी विषय बुझ्न मद्दत गर्छ । समस्याको गहन अध्ययन गर्ने, त्यसको समाधानका लागि विभिन्न उपाय पत्ता लगाउने र ती उपायको माध्यमबाट समस्या समाधान गर्नेसम्मका विषय समाजशास्त्रका परिधि हुन् ।

समाजले आधुनिकताको पछ्यौरी ओढिरहँदा अनेक समस्या पनि तीव्र रूपमा बढ्दै गएका छन् । ती समस्याको जरो कारण पत्ता लगाई सहज र सरल रूपमा समाधान गर्न सक्ने वातावरण पनि समाजशास्त्रले नै बनाउँछ ।

स्नात्तक, स्नातकोत्तर, एमफिल र पीएचडी तहमा समाजशास्त्र विषय आकर्षणको केन्द्र बनेको छ । स्नातकोत्तर वा माथिल्लो तहमा जुनसुकै विषय वा संकायले पनि समाजशास्त्र विषय पढ्न पाउने हुनाले समाजशास्त्रमाथि विद्यार्थीको आकर्षण बढेको छ । पहिले अन्य विषय पढे पनि पछि समाजशास्त्रको आवश्यकता महसुस गरी पाका उमेरका मानिसहरू पनि समाजशास्त्र विषय पढ्न आएका भेटिन्छन् । त्यसैले एउटै कक्षामा पनि युवादेखि पाका उमेरका व्यक्तिसम्म सँगै पढिरहेका हुन्छन् । उनीहरू कक्षाका कोर्सबाहेक पनि आफ्ना कार्यक्षेत्रका ज्ञान तथा अनुभव एकअर्कालाई साटासाट गर्छन् । त्यसैले पनि कक्षाले सैद्धान्तिक ज्ञान प्रदान गर्ने गर्छ । अन्य अनौपचारिक छलफल, चिया गफ, अनौपचारिक भेटघाटले भने व्यावहारिक ज्ञान साटासाट हुने गर्छ ।

हरेक वर्ष समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर तहमा ५ सय जना विद्यार्थी भर्ना भई अध्ययन गर्ने गरेका छन् । साथै त्रिविका आंगिक क्यापसलगायत अन्यमा पनि समाजशास्त्र पढ्नेको संख्या दिनानु दिन बढ्दै गएको छ । हाल समाजशास्त्र पढ्ने विद्यार्थीको संख्या हजारौं पुगेको छ । यसैगरी केन्द्रीय क्याम्मस, कीर्तिपुरमा समाजशास्त्रको एमफिल–पीएचडीमा हरेक वर्ष ३५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ६०, ७० जनाभन्दा बढीले यसको प्रवेश परीक्षा दिने गर्छन् । अन्य कतिपय विषयमा आवश्यक संख्या पनि पूरा नभएको अवस्था देखिन्छ, तर समाजशास्त्रमा धेरै विद्यार्थीले प्रवेश परीक्षा दिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

समाजशास्त्रले सामाजिक सेरोफेरो, चालचलन, चाडपर्व, भाषा, धर्म, संस्कारबारे गहन अध्ययन गर्ने गर्छ । हाल समाजमा बढिरहेका विभिन्न विकृति–विसंगतिबारे अध्ययन गर्ने काम पनि समाजशास्त्रले गर्छ । सम्बन्धविच्छेद, हिंसाका घटनाहरू निकै बढिरहेका छन् । के कारण ती घटना बढ्दै छन् ? त्यसको अध्ययन गर्ने काम पनि समाजशास्त्रीले गर्छन् ।

सामान्य देखिने विषयवस्तुले पनि समाजमा नजानिँदो पारामा असर पार्छ । त्यसबारे छलफल र चर्चा हुनु आवश्यक छ । हाल समाजशास्त्रप्रति विद्यार्थीको आकर्षण बढेसँगै हरेक वर्ष विभिन्न अध्ययन, अनुसन्धान, छलफल कार्यक्रम, अनुसन्धान कार्यपत्र प्रस्तुतीकरण, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरू हुँदै आएका छन् । हालै मात्र मानवशास्त्र केन्द्रीय विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा १०० भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत भएका थिए, १० भन्दा बढी देशका अनुसन्धानकर्ताले यस सम्मेलनमा भाग लिएका थिए । यो सम्मेलनमा कतिपय अनुसन्धान कार्यपत्र समाजशास्त्रसँग सम्बन्धित थिए । समाजशास्त्रले हरेक विधालाई एकअर्कासँग जोड्ने पुलको काम गर्छ । पहिले मानविकी संकायकाहरूले मात्रै पढ्नुपर्ने विषय हाल आएर अन्य संकाय वा विधाहरूमा पनि अनिवार्य विषयका रूपमा राखिएको छ । यसले गर्दा पनि समाजशास्त्रको क्षेत्र क्रमशः बढ्दै गएको छ । वास्तवमै समाजशास्त्र अध्ययनले व्यक्तिलाई ‘आफू’ चिन्न सहयोग पुर्‍याउँछ । आफ्नो वरपरको परिवेश, वस्तु वा अवस्था बुझ्न पनि समाजशास्त्रले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । परीक्षामा राम्रो नम्बर ल्याएर मात्रै हुँदैन, व्यक्तिमा राम्रो व्यवहार र संस्कार हुनु पनि उत्तिकै जरुरी हुन्छ । सामाजिक विज्ञानका विषयहरूले मानवीय व्यवहार, सम्बन्ध र संस्कारबारे विस्तृत जानकारी दिने गर्छन् ।

प्लस–टुदेखि नै विभिन्न कार्यक्षेत्र बनाएर समाजशास्त्र विषयमा अध्ययन गराउँदै आइएको छ । किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञानका लागि ‘रियल वर्ल्ड’ मै लगेर विद्यार्थीलाई अध्ययन गराउने कार्य समाजशास्त्रले गरेको छ । स्नातक र स्नातकोत्तरमा केही प्रतिशत नम्बर प्राक्टिकलका रूपमा राखिएको छ, जसले गर्दा विद्यार्थीको आकर्षण बढ्न पुगेको छ– समाजशास्त्रमा । यस्ता खालका व्यावहारिक, शैक्षणिक अभ्यासले विषयलाई जीवन्त बनाउन निरन्तर प्रयास गर्छ । त्यसैले पनि समाजशास्त्रमा विद्यार्थीहरूको विशेष आकर्षण बढेको देखिन्छ ।

समाजको वास्तविक रूप, जीवनशैली, परम्परा र संस्कृतिबारे जानकारी दिने समाजशास्त्र विषयमाथि अध्ययन, अनुसन्धान र छलफल हुनु आवश्यक छ । पछिल्लो समय मानविकी संकायमा विद्यार्थीहरूको संख्या निकै कम हुँदै गएको देखिन्छ । पहिले १३, १४ वटा विषयहरू पढाउने कलेजले हाल ४,५ वटा विषय मात्रै सञ्चालन गर्न सकिरहेका छन् । यसको कारण खोतल्ने हो भने मानविकी संकायमा विद्यार्थीहरूको भर्ना नै निकै कम हुने गरेको देखिन्छ । तर, यति हुँदाहुँदै पनि समाजशास्त्र, सामाजिक कार्य विषयप्रति विद्यार्थीको आकर्षण अझै बढिरहेकै छ । १२ कक्षा सकिनेबित्तिकै विदेशिने क्रमले गर्दा सबै क्षेत्रमा समस्या देखापर्न थालेको छ । विदेशको सुन्दरतामा लोभिएर अल्लारे उमेरमै आफ्नो पैतृक सम्पत्ति बेच्न बाध्य बनाएर विदेशिनेको संख्या बढिरहेका बेला मानविक संकायअन्तर्गतका विषयहरूलाई जीवन्त पार्न सके अनि यसमा व्यावहारिक ज्ञान र प्राक्टिकल नम्बरमार्फत विद्यार्थीलाई आकर्षण गर्न सके युवा विदेशिने क्रम केही रोक्न सकिन्थ्यो कि ?

यस्ता विषयमार्फत नै परम्परागत ज्ञान र सीपलाई बढावा दिई उद्यमी बन्ने बाटोमा डोर्‍याउन सके युवा नेपालमै बस्ने वातावरण बन्ने थियो । हाल काम र पढाइकै कारण देखाएर युवा पुस्ता विदेशिने क्रम बढेको सबैलाई थाहै छ । यो क्रमलाई बेलैमा रोक्न जागिरे मानसिकताभन्दा पनि उद्यमी र उद्यमशीलतामा बढी जोड दिनुपर्छ । हाल आएर सामाजिक उद्यमशीलताको चर्चा पनि निकै बढेको छ । अब व्यवस्थापन पढेकाले मात्रै होइन, मानविकी पढेका विद्यार्थीहरू पनि व्यापार–व्यवसायमा लाग्न सक्ने र त्यहाँ विभिन्न अवसरहरू रहेको सूचना विभिन्न माध्यमबाट सम्फ्रेषण गर्नु जरुरी छ । देशको दक्ष जनशति देशमै रहे मात्रै देशको विकास हुन्छ । आफ्नो माटोको माया आफैंले गर्नुपर्छ, अरूले गरिदेला भनी कुर्नु हुँदैन ।

नेपाली समाजको वास्तविक रूप, जीवनशैली, परम्परा, संस्कृतिबारे जानकारी दिने समाजशास्त्र विषयबारे अध्ययन, अनुसन्धान र छलफल हुनु जरुरी छ । समाजको आवश्यकताअनुसारका विषयवस्तुबारे आजका युवामाझ छलफल हुनुपर्छ । समृद्ध समाज निर्माण गर्न समाजशास्त्रले विशेष भूमिका खेलिआएको छ । यस विषयको महत्त्व दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सामान्य देखिने विषयवस्तुले पनि समाजको गहनताबारे बताइरहेको हुन्छ । हामीले दैनिक जीवनमा उपयोग गर्ने हरेक वस्तुभित्र समाज लुकेको हुन्छ । समाजलाई एकअर्कामा बाँधेर राख्ने कार्य पनि समाजशास्त्रले नै गर्छ । जस्तै एक कलमलाई उदाहरणका रूपमा लिने हो भने कलम ‘कलम’ बन्ने बेलासम्म धेरै मानिसको योगदान रहन्छ । एक व्यक्तिबाट मात्रै यो कार्य सम्भव हुँदैन । समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र ‘हाम्रा अगाडि रहेका हरेक कुरामा समाज लुकेको हुन्छ’ भन्दै ‘हाम्रो कपालको पनि समाजशास्त्र हुन्छ’ भनी कक्षामा उदाहरण दिनुहुन्थ्यो । कपाल लामो वा छोटो कस्तो राख्ने ? यो व्यक्ति र उसको समाजअनुसार फरक–फरक हुनेबारे चर्चा गर्नु हुन्थ्यो । त्यसैले त मानिसहरू पुर्खा वा भनौं जंगली अवस्थादेखि नै समूह वा झुन्डमा बस्ने गरेका थिए, जसले गर्दा उनीहरूलाई सिकार गरेर खाना जुटाउन र हिंस्रक जंगली जनावरबाट बच्न सजिलो भयो ।

यसरी समाजको विकासक्रममा मानिसले परिवार, नाता सम्बन्ध, भाषाको विकास गरे, जसले गर्दा तिनलाई आफ्नो जीवन चलाउन सजिलो भयो । मानवशास्त्री मोर्गनले समाज विकासका चरणहरूको चर्चा गर्दा जंगली, बर्बर र सभ्य युगबारे उल्लेख गरेका छन् । यसरी मानिस क्रमैसँग विकासको सभ्यतातिर उकालो लागेका थिए । त्यसपछि नै मानिसले विभिन्न संस्कार, संस्कृति पनि विकास गरे र आजको सुन्दर समाज निर्माण भयो ।

त्यसैले पनि समाजशास्त्र विषयमाथिको क्रेज बढ्दै गइरहेको छ, जुन नेपाली समाजका लागि अत्यन्तै सुन्दर खबर हो ।

सुनिता गाइसी सुनिता गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन्।

Link copied successfully