भय, प्रश्न र सम्भावनाको भाष्यमा जेन-जी

२३–२४ भदौको घटना ‘क्रान्ति’ नै हो कि होइन ? त्यसको राजनीतिक प्रमाणीकरण गरिनुपर्छ वा समयान्तरमा त्यसको टुंगो लाग्ला ।

मंसिर १२, २०८२

कुसुम थापा

Zen-G on Fear, Questions, and Possibilities

What you should know

२३ र २४ भदौको आन्दोलनपश्चात् जेन–जी शब्द बोलीचालीमा निकै प्रयोग हुन थालेको छ । यो पुस्तामा पर्ने सबैलाई विद्रोही, मोबाइलमा डुबेका, अराजक, अपरिपक्व, विध्वंसकारी, निष्ठाहीन, परम्परा नमान्नेजस्ता विशेषणको भारी बोकाइने गरिएको छ । यस्ता ‘लेबल’ हरूले केवल कुनै व्यक्तिविशेष होइन, पूरै पुस्तालाई नै आरोपित गरिरहेको छ ।

उल्लिखित भाष्यहरू केवल हाँसोको विषय होइनन् । यी सामाजिक अर्थ निर्माणका शक्तिशाली उपकरण हुन् । शब्दले केवल पहिचान मात्र दिँदैन, अर्थ, मूल्य, दोष, सम्मान र आरोप पनि दिन्छ । यही कारण जेन–जी आज एक प्रकारको सामाजिक ‘लेबल’ जस्तै बनेको छ । जहाँ व्यक्तिको बहुआयामिक अस्तित्व मेटिँदै जान्छ । र, हँसिमजाकका भाष्यजस्तै ‘टिकटके पुस्ता’, ‘अपरिपक्व भीड’, ‘दिशाहीन युवा’ जस्ता शब्दले एउटा ठूलो समूहलाई परिभाषित गर्न थालेको छ ।

अमेरिकी समाजशास्त्री होवार्ड बेकरको ‘लेबलिङ सिद्धान्त’ ले भन्छ– कुनै व्यवहारलाई ‘अपराध’ बनाउने कुरा क्रिया होइन, अपराध वा विकृति भन्ने कुरा क्रियाबाट होइन, समाजले कसरी व्याख्या र लेबल गर्छ भन्ने प्रक्रियाबाट निर्माण हुने गर्छ । यही कारण जेन–जी पुस्तालाई अपरिपक्व, अस्थिर भीड, अराजकका रूपमा चित्रित गर्ने कार्य सामान्य प्रतिक्रिया होइन । यो पिँढीगत शक्ति–सन्तुलन कायम राख्ने सामाजिक अभ्यास हो ।

विशेषगरी २३–२४ भदौको आन्दोलनपछि देश जति अस्थिर हुँदै गयो, त्यसभन्दा ठूलो अस्थिरता समाजले सिर्जना गरिरहेको ‘भाष्य’ बन्न थालेको छ । जसले एकै पटक पूरै पिँढीलाई नै थिचिरहेको छ । आन्दोलनमा भएका सम्भावित गल्ती, अनुभवको कमी, भीडको व्यवहार, हिंसालगायतका पक्ष विश्लेषणको छुट्टै पाटो हुन सक्छ । तर, प्रश्न यो पनि हो कि बहस त्यसको सट्टा किन जेन–जीको सम्पूर्ण पहिचानमाथि खनियो ? किन जेन–जीलाई हुल्लडबाज, अपरिपक्व, अराजक, विध्वंसकारी भनेर बुझाइँदै छ ?

यति बेला डर जन्मिएको छ । यो डर तत्कालको राजनीतिक अवस्थाको मात्र होइन, समाजमा एउटा नयाँ वर्ग जन्मिँदै गरेको संकेतको हो । जसको अपहेलना भइरहेको छ । आत्मसम्मानमा प्रश्न उठाइएको छ । विचारलाई अपरिपक्वताको ‘लेबल’ लगाइएको छ ।

२३–२४ भदौको घटना ‘क्रान्ति’ नै हो कि होइन ? त्यसको राजनीतिक प्रमाणीकरण गरिनुपर्छ वा समयान्तरमा त्यसको टुंगो लाग्ला । तर, एउटा कुरा प्रस्ट छ– त्यति बेला सडकमा उभिएको ऊर्जा केवल क्रोधको विस्फोट मात्र थिएन, त्यो प्रश्नहरूको ठूलो लहर थियो । जसले हामीले वर्षौंदेखि बिर्सिएको संवादलाई पुनर्जीवित गर्न खोजिरहेको थियो ।

२३ भदौको विस्फोट वर्षौं थिचिएको राजनीतिक, सामाजिक असन्तुष्टिको संकेत थियो । २४ भदौको विनाश भावनाको अनियन्त्रित उभार थियो । दुवैलाई एउटै तराजुमा तौलिन मिल्दैन । देश अस्थिर हुनु ठूलो समस्या हो तर त्यसभन्दा ठूलो समस्या हो, यसको जिम्मा एकै पुस्तामाथि थोपर्ने गरी गलत अर्थमा निर्माण भइरहेको भाष्य । यदि यसरी नै थिचिइरहियो भने हामीले नदेखेको तर हृदयमै घाउ बनिरहेको दुःख एक दिन बाहिर निस्कनेछ । त्यति बेला समाजले उत्तर दिन गाह्रो हुनेछ ।

अहिले जेन–जीले जुन उमेर समूहलाई प्रतिनिधित्व गर्छन्, त्यही उमेर समूहका मान्छे इतिहासमा ठूलो परिवर्तनका अग्रदूत बनेको पाइन्छ । नेपाल एकीकरणको कार्य केवल राजनीतिक रणनीति र सैन्य बलबाट जन्मिएको थिएन । त्यसको मुटुमा एक युवकको असाधारण निर्णयशक्ति, जोखिम लिन सक्ने क्षमता र अटुट जिद्दीपन थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्न थाल्दा उनी करिब २०–२१ वर्षका मात्र थिए ।

युवाको उमेरलाई आज काँचो र अपरिपक्व भन्दै उपहास गरिन्छ तर त्यसै काँचोपनले अदम्य कल्पनाशक्ति दिन्छ । जसले यथास्थितिलाई परिवर्तन गर्ने साहस जगाउँछ । २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ र २०६२/६३ को जनआन्दोलन, भूमिगत सशस्त्र द्वन्द्वकाल सबैमा संवाहक, जोसिलो भीड, सडकको ऊर्जा र वैचारिक ताप युवाकै अँगालोमा जन्मिएको थियो । हिजो सडकमा लाठी खानेहरू आजको जेन–जीजस्तै उमेर समूहका थिए । तर त्यसबखत तिनीहरूलाई यो समाजले ‘देशप्रेमी’ भनेर सम्मान गर्थ्यो तर आजका त्यस्तै युवालाई ‘हुल्लडबाज’ भनिँदै छ ।

हो, जेन–जी मोबाइल धेरै प्रयोग गर्छ, प्रश्न धेरै सोध्छ, परम्परालाई पुनर्लेखन गर्न चाहन्छ । तर मोबाइल हातमा लिएरै उनीहरू दुई मिनेटमै विश्वको संविधान तुलना गर्न सक्छन्, पर्यावरणको ‘डाटा’ विश्लेषण गर्न सक्छन्, बहस गर्न सक्छन् । बोल्छन् किनकि बोल्नु अपराध होइन बरु अचेत रहनु अपराध हो । विद्यार्थी आन्दोलन, लैंगिक अधिकार, मानसिक स्वास्थ्य, ‘कर्पोरेट एक्स्प्लोइटेसन’ जस्ता मुद्दालाई आज उनीहरूले नै उजागर गरिरहेका छन् । यसले स्पष्ट पार्छ, जेन–जी ‘खतरा’ होइन, इतिहासकै निरन्तरता हो । तर बाटो हिँड्दा, बसमा कुराकानी सुन्दा, कफी पसलमा बहस सुन्दा, नयाँ निर्मित भाष्यले मलाई तर्साएको छ । कतै एउटा ‘पिँढी’ नयाँ दमित वर्गका रूपमा जन्मिने हो कि ?

यदि हामीले अहिलेको घटनाक्रमलाई केवल ‘राजनीतिक अशान्ति’ का रूपमा मात्र बुझ्दै छौं भने त्यो अनुशासन र दमनबाट जन्मिएको पुरानो दृष्टिको निरन्तरता हो । तर यसलाई सांस्कृतिक–दार्शनिक प्रश्नहरूको तीव्र आवेगका रूपमा हेर्न सक्यौं भने यो नयाँ चेतनाको बीज जन्मिँदै गरेको ऐतिहासिक क्षण पनि हो ।

यही अर्थमा, अहिले घटिरहेको परिवर्तन पुस्ता–परिवर्तन मात्र होइन, मानव मूल्यहरूको पुनरावलोकन, लोकतान्त्रिक संवादको पुनर्निर्माण र शक्ति सम्बन्धको पुनर्व्याख्या हो । यसमा अस्थिरता छ, जोखिम छ, भावनात्मक उछाल छ । तर, इतिहासले सधैं भन्दै आएको छ– यही अस्थिरताभित्रै भविष्यका स्थिर आधारहरू रोपिन्छन् । तर यहाँ एक गम्भीर सर्त छ– यो चेतनाले दिगो नेतृत्व, उत्तरदायित्व र नैतिक दिशा नपाए यसको ऊर्जा र सम्भावनालाई अराजकतामा रूपान्तरित गर्न सक्छ । 

काँचोपनलाई मार्गदर्शन गर्ने क्षमता राख्ने समाज हौं त हामी ? यदि हामी यसमा असफल भयौं भने भविष्यले गल्तीलाई युवाको काँधमा नभई हाम्रो मौनता, उपेक्षा र दोषारोपणलाई अपराधका रूपमा लेख्नेछ ।

अहिले भइरहेको ‘भाष्य निर्माण’ को अदृश्य मानसिक दमनले यो पुस्ताकै आत्मविश्वास मक्किँदै छ । जसले देशको नेतृत्व गर्न सक्ने पुस्तालाई दोषको ‘लेबल’ दिएर भविष्यकै मेरुदण्ड भाँचिदिने खतरा बनाएको छ । समाजले यसरी नै यदि प्रश्न सोध्नेलाई ‘दोषी’, ‘हुल्लडबाज’, ‘लक्ष्यहीन भीड’ भनिरह्यो भने देशले साहस र नवोन्मेषको सम्भावना गुमाउँछ ।

इतिहासले हामीलाई सधैं सिकाएको कुरा स्पष्ट छ, हिजोका आन्दोलनजस्तै आजका प्रश्न पनि केवल राजनीतिक होइन । बरु चेतना, न्याय र असमानताको गहिरो संरचनासँग जोडिएका छन् । त्यसैले, बाटो खुला रहोस्, प्रश्न सोध्ने शक्ति बाँचोस्, उत्तर खोज्ने आत्मसम्मान सुरक्षित रहोस् । हाम्रो जिम्मेवारी कच्चा काठलाई जलाएर खरानी बनाउनु होइन, स्याहारेर भोलिको पुल निर्माण गर्ने सामग्रीमा रूपान्तरण गर्नु हो ।

अब समय आएको छ, कि त हामी एउटै पुस्तालाई दोष दिएर भविष्य ध्वस्त पारिरहन सक्छौं, कि त बहसको संस्कार जन्माउन । यो प्रश्न केवल युवा वा जेन–जीको विषय होइन । यो हाम्रो समाज, चेतना र सामाजिक मूल्यको परीक्षा हो । हामीले कुन बाटो रोज्ने ? यही प्रश्न हाम्रो समाजशास्त्रीय परीक्षा हो ।

कुसुम

Link copied successfully