खेतीकर्मको भविष्य पनि युवाकै हातमा 

अहिले गाउँबस्तीमा केवल पाका पुस्ता छन्। यिनको सेखपछि खेतबारी कसले सम्हाल्छ ? न उनीहरूलाई थाहा छ, न खाद्य अधिकारको नारा भट्याउनेलाई नै !

मंसिर १०, २०८२

कृष्णप्रसाद पौडेल

The future of farming is in the hands of the youth.

What you should know

अहिले खेतीपातीले युवालाई प्रश्न गरिरहेको छ– अब मलाई कसले सम्हाल्छ ? अस्तित्वको मूल आधार खानेकुरा र यसको बन्दोबस्ती मिलाउने खेतीपाती पृथ्वी र प्रकृतिले सम्भव बनाएको हो । अब आँट र विवेक भएका युवाले मात्रै खेतीपातीको यो यक्ष प्रश्नको जवाफ दिन सक्नेछन् ।

यो प्रश्न जति सरल र सान्दर्भिक छ, उत्तिकै पेचिलो पनि छ । अहिले खेतका गह्रा, बारी, कान्ला र खरबारीमा अरू केही गर्ने आँट नपुगेका र माटो खोस्रेरै जीवन गुजारा गर्न बाध्यहरू मात्रै छन् । ती खानाका लागि खेती होइन, पैसा फलाउने धुन्धुकारी लालसा बोकेर माटो र प्रकृति दोहनको तानाबाना बुनिरहेका छन् । केही नगन्य प्रकृतिसँग रमाउने बास्ना बोकेर खेतबारीका डिलमा डुलिरहेका भेटिन्छन् । यी सबैको हूलमा समेत युवा कमै भेटिन्छन् । 

युवालाई आमा–बा र बाजेहरूले थामेको खेतीपरम्परा थाम्न फेरि गाउँ फर्किन पटक्कै मन छैन । केही खेती कर्ममा रमाउन चहानेहरू पनि आज दुनियाँको चमकधमकमा यसैबाट जीवन चल्ने र भविष्यमा उज्यालो बल्नेमा दुविधा राख्छन् । यस्तो दुविधाका कारण र प्रभाव धेरैलाई थाहा छ । अहिले गाउँबस्तीमा पाका पुस्ता मात्रै बाँकी छन् ।

यिनको सेखपछि यो खेतबारी कसले समाल्छ ? न उनीहरूलाई थाहा छ, न खाद्य अधिकारको नारा भट्याउनेलाई । समृद्धिको भाषण गरेर कहिल्यै नथाक्ने नेतागण, यसैका वरिपरि विश्लेषणको चाङ लगाउने बुद्धिजीवी र यसको बहस गरेर गुजारा चलाउनेलाई पनि यो थाहा छैन । ‘लौ बर्बार्द भयो’ भनेको सुनिन्छ । तर, किन र कसरी यस्तो भयो ? यसलाई सम्हाल्न के गर्ने हो ? मेरो रोजाइ खेतीपाती कसरी हुन्छ ? त्यो भन्ने आँट कसैले गर्दैन । अनि पुस्तौंपुस्तादेखि खेतबारीबाट लखेटिएको म किन खेतबारीमा फर्किनुपर्ने हो ? कसैले चित्तबुझ्दो जवाफ दिँदैन ।

म खेती गर्न किन चाहन्न ? के मलाई खानका लागि खेती गर्नुपर्छ भन्ने आम सत्य थाहा नभएको हो ? होइन, मलाई राम्ररी थाहा छ । कसै न कसैले खेतीपाती नगरे मेरो भान्सामा भात पाक्दैन, मुखमा माड लाग्दैन । तर, किन मलाई यो कुराले छुँदैन ? यो मार्मिक प्रश्नको उत्तर र यसलाई सम्बोधन गर्ने दूरदृष्टि नभएसम्म घाटाको जीवन चलाउने मनस्थिति र हीनताबोधको भारी बोकेर म खेतीपातीमा फर्किन्न । 

यी र यस्ता प्रश्नले अहिलेका युवालाई घेरिरहेको छ । उनीहरूले एउटै आन्दोलनका बलमा पाका पुस्ताले बनाएका सबै मानक भत्काइदिएका छन् । यो युगीन विद्रोहको जस र अपजस मात्र हैन, अब भविष्य निर्माण गर्ने कार्यभारसमेत उनीहरूले नै सम्हाल्नुपर्नेछ । तर, खानेकुरा जस्तो आधारभूत सवालमा किन उनीहरू बोलिरहेका छैनन् ? यो झनै पेचिलो प्रश्न छ । खेतबारीमा जान हिच्किचाउने सबैलाई यो सवाल तातो पिँडालुजस्तै भएको छ ।

‘बोल्यो कि पोल्यो’ भनेझैं आफू नगर्ने, तर अरूलाई अर्ती दिने सबैलाई सामाजिक नैतिकताले आँखा जुधाएर गिज्याउँछ । बस् कुरा सिधा छ– आफूले नगर्ने कुरा बोलेर किन मुख रातो बनाउनुपर्‍यो ? बरु नबोलेर नै जितिने आस छ । यो आजको समाज व्यवस्थामाथि प्रश्न उठाउने सबैको सामाजिक मनोदशा हो । यो हूलमा युवा नहुने कुरै भएन ।

आजको युवालाई यो मनोदशामा पुर्‍याउने यसअघिका पुस्ता नै हुन् । यसअघिका पुस्ता पनि रातारात यो अवस्थामा आइपुगेका भने हाइनन् । यसको भेद थाहा पाउन मानव सभ्यताको विगतका केही कोसेढुंगा पल्टाएर हेर्नुपर्छ । यसले बिराएको बाटो मात्रै देखाउँदैन, यसलाई फेर्ने सुझबुझसमेत दिन्छ ।

संक्षेपमा, प्राकृतिक युगमा रमाएको मानव जातिले सहकार्यको संकल्पमा बढेको आत्मविश्वाससहित आफ्नो खानाको आफैं बन्दोबस्त गर्ने मानव सभ्यताको निर्माण गर्‍यो । यस क्रममा मानिसले आफूलाई सहज बनाउन प्रकृतिबाट सिकेर प्रविधिको विकास मात्रै गरेन, पेटभरि पोषणयुक्त खाना खान पाएको मानिसले नयाँ–नयाँ खोज र आविष्कार गर्न सक्यो । यसले नै प्रविधि, विज्ञान र औद्योगिक यन्त्रीकरण उन्नत भएको हो । अहिलेको जीएमओ र बौद्धिक यन्त्र यसका सबैभन्दा पछिल्ला उदाहरण हुन् । 

मानिससँग इतिहासबाट सिक्ने र भविष्यलाई जिम्मा लगाउने अद्भुत मानसिक क्षमता छ । यसले नै यो प्रजातिको मात्रै आफ्नै विश्व समुदाय बनेको छ । प्रजातीय एकताको यो अलौकिक चेतना नै मानव प्रजातिको फरक विशेषतासमेत हो । यो नै अहिलेको मानव मात्रको उन्नति वा अवन्नतिको आधार हो । तर, पछिल्ला केही हजार वर्षमा भइरहेको ज्ञानको हस्तान्तरण गर्ने प्रविधि खासगरी शिक्षा प्रणालीमा व्यापक फेरबदल आएको छ । मुख्यतः यो प्रणालीले प्रकृतिका शाश्वत नियम, ज्ञान र अनुभवको हस्तान्तरण गर्न चुकेको छ । 

अहिलेका युवाहरूले यही शिक्षा–दीक्षा र प्रविधिलाई नै आफ्नो उन्नतिको स्वाभाविक मानक बनाएका छन् । यो सजिलोसँग काम गर्न मन पराउने मानवीय स्वभावसँग मेल खाने प्रवृत्ति बनेको छ । यस्तो प्रविधि विगत ४०० वर्षदेखि मैदानी परिवेशमा उन्नत भएर विश्वव्यापी भयो । यसले नेपाल जस्तो पहाडी भूगोल र यसको प्रकृतिसम्मत प्रविधि र विवेक पछि पर्‍यो । किन अहिलेका युवाहरूले यस्तो भूगोलमा खेतीपाती गर्न चाहँदैनन् ? यो गम्भीर विषयको भेदको सार यहीँ लुकेको छ । 

खेतीपातीमा फर्किन यो देशको राष्ट्रियता, आत्मनिर्भरता, स्वाभिमान वा सम्प्रभुताको रट लगाएर वा खाना र खेतीपातीका संकट देखाएर, धम्क्याएर सम्भव छैन । यस्तो हुने भए यसअघिको पुस्ताले किन खेतीपाती छोड्यो ? यो पंक्तिकारले समेत जवाफ दिन सक्नुपर्छ । सँगै, यस्तो दासताको उर्दी दिने युगको अन्त्य भइसक्यो । भलै अहिलेका पुरातनवादी राजनीतिक पुस्तामा यो धङ्धङ्गी अझै बाँकी छ । यसमै हाम्रो खेतीपातीको ओरालो यात्राको तथ्य लुकेको छ । 

युरोपेलीसम्म मैदानी विकासे भाष्यसँगै नेपाली समाजले आफ्नो गतिमा उन्नत हुने बाटो छोडेर परमुखी हुने बाटो समात्यो । यसको सबैभन्दा ठूलो प्रभाव विस्तार गर्न आधुनिक शिक्षा हतियार भयो भने शिक्षाविद् यसका मतियार भए । यसको विस्तारसँगै सक्नेले छोराछोरी विदेश वा सहरका राम्रा भनिएका महँगा विद्यालयमा पढाउँछन् । नसक्ने गाउँका बोर्डिङमै आँखा लगाउँछन् ।

पढाइ–लेखाइमा प्रकृति, खाना, खेतीपाती र यसको गहिरो सम्बन्धको कहिल्यै चर्चासमेत हुँदैन । आफूले टेकेको माटो हाम्रा लागि के हो भन्ने विद्यार्थीले थाहा पाउँदैनन् । तर, सहरका बाटो चौडा बनाउनदेखि मंगलमा बस्ती बसाउने जस्ता कुरा उसलाई कण्ठ हुन्छ । यस्तो बाह्य बुद्धि बढाएका छोराछोरीले खेती गरेर खान सक्छन् भन्ने आमा–बालाई लाग्दैन । 

छरछिमेक र साथीभाइले समेत पढेपछि खेतबारी त के सकभर गाउँ नै नफर्किन दबाब दिन्छन् । अर्को कुरा, अहिलेको प्रविधिले पैसा नभए बच्चादेखि बूढासम्म व्यवहार नचल्ने भएको छ । यसले जे गरेर पनि पैसा बनाउने दबाब चर्किंदै गएको छ । हिजो धकेलिएर गाउँ आइपुगेको पुस्तासमेत अब फर्किन आँट नगर्ने भएको छ । यी सबै दबाबले निसास्सिएको एउटा युवा पासपोर्ट बनाएर लाखौं खर्च गरेर विदेश जान्छ । त्यहाँ उसले ‘के काम’ नभनी सबै काम गर्छ । किन होला ? कुरा सिधा छ– अरू पेसाकर्मीले जस्तै उनीहरूले पैसा पाउँछन् । 

हामी अहिले जानेर वा नजानेर यही शिक्षाले दिएको प्रविधि, ज्ञान बेचेर गुजारा चलाउन विवश छौं । यो विवशता युवाको आफ्नो रोजाइ होइन । यहाँसम्म पुर्‍याउने त अघिल्लो पुस्ता हो । यो क्रमिक समाज विकासले अहिले हामी यान्त्रिक बौद्धिकताको युगमा आइपुगेका हौं । यहाँ आइपुग्दासम्म बाध्यताले खेती गर्नेले फलाएको अन्नपातबाट गुजारा चलेकै छ । तर, यो कस्तो छ ? र, अहिलेको खेतीपातीले माटो र मानव स्वास्थ्य बिग्रिरहेको तथ्यसँगै अहिलेसम्म धेरैले विचार गर्नु नपरेको खेतीपाती अब ‘कसले गर्ला ?’ भन्ने चिन्ता बढेको छ । 

अनि कसरी खेतीपातीमा टिक्छ युवा ? अबको युग रोजाइको युग हो । यो हामी कसैले बिर्सन नहुने विषय हो । यसलाई राजनीतिक रूपमा लोकतन्त्र भनिन्छ । यही भेद बुझ पचाएको राजनीतिक नेतृत्वले ‘युवाको रोजाइको सम्मान गर्छ’ भन्ने भ्रमबाट मुक्त भएर मात्रै नयाँ खेतीपाती युगको थालनी हुनेछ । खेतीपातीलाई प्रतिस्पर्धी सामाजिक सेवा बनाउन कुनै ‘यदि’ र ‘तर’ को कुरा गर्नु व्यर्थ छ । आँटका साथ गर्ने कुरा त खेतीपाती गर्न चाहने जोकसैलाई खेतीयोग्य जमिन उपलब्ध गराउने र यो सामाजिक उद्यममा चाहिने लगानी (श्रम) गर्ने वातावरण बनाउनु हो । 

फेरि किसानले गर्ने श्रम भनेको सहजीकरण मात्रै हो । उत्पादन गर्ने प्रकृतिको नियम हो । यसको श्रम गर्ने लाखौं श्रमजीवी माटोमै छन् । यसमा सघाउन सिंगो ब्रह्माण्ड साथमै छ । तर, हाम्रो खानेकुरालाई र यो उत्पादनमा सहजीकरण गर्ने किसानलाई हेर्ने सोच नफेरी यस्तो खेतीपाती गर्ने आँट कसैले गर्दैन । 

सबैभन्दा पहिले, अन्य पेसा जस्तै खेतीपाती गर्नेलाई बिना कुनै भेदभाव श्रमको ज्याला दिने, उनीहरूको सामाजिक सुरक्षा गर्ने व्यवस्था नभएसम्म कसैले खेतबारी टेक्दैन । खेतीपातीबाट आउने उपज सामाजिक सेवा हो । यो सेवाको मूल्य आपसी प्रतिस्पर्धामा राख्ने व्यवस्था नभए किसान बेरोजगार इन्जिनियर जस्तै निरीह हुन्छ । किसानको सामाजिक सेवा कसैले लिएन भने यो प्रकृतिमै मिल्छ । यस्तो सेवा बेच्न नपाएर माटोमै मिलाएमा माटो उर्बर गरेबापत किसानलाई क्षतिपूर्ति गर्ने व्यवस्था गर्नुपर्छ । यसो गरे किसान हुन प्रतिस्पर्धा कसले नगर्ला ?

कृष्णप्रसाद पौडेल पौडेल कृषिविज्ञ हुन् ।

Link copied successfully