निर्वाचनमा दल र मतदाताको उत्साहजनक अग्रसरता

अब शान्तिपूर्ण निर्वाचन गराउने प्रमुख दायित्व सरकार र निर्वाचन आयोगकै हो । दल र मतदाताको उल्लेख्य सहभागिता जनाउने संकेत गरिसकेकाले शान्तिपूर्ण निर्वाचनका लागि सरकारले गम्भीर गृहकार्य गर्नुपर्छ ।

मंसिर ८, २०८२

सम्पादकीय

Enthusiastic turnout of parties and voters in the election

What you should know

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने क्रमले तीव्रता पाएको छ । जेन–जी आन्दोलनपछि राजनीतिक यथार्थमा परिवर्तन आएको र त्यसको अनुमोदन निर्वाचनमार्फत हुने भएकाले दलहरूको सक्रियता र चुनावी सहभागिता अपेक्षित छ ।

यसैअनुसार आयोगमा दर्ता हुन गएका दलहरूले आफूहरू निर्वाचनको प्रतीक्षामा रहेको सन्देश दिएका छन् । लोकतन्त्रका आधारभूत प्रक्रियामा समाहित भएर अघि बढ्न तयार दलहरूले नै लोकतन्त्रलाई बलियो बनाउने हुन् । त्यसैले दल दर्ताको प्रक्रिया निर्वाचनमार्फत आफूहरूको लोकप्रियता जाँच्ने हुटहुटी मात्रै होइन, लोकतन्त्रलाई जीवन्त राख्ने दायित्वबोध पनि हो । यद्यपि, दल दर्ता निर्वाचनको पूर्वतयारीअन्तर्गतको एउटा काम मात्रै हो । निर्वाचन परिणामसम्मै पुग्नका लागि अनेकौं चरण बाँकी छन् । बाँकी सबै प्रक्रियामा दलहरू सक्रिय सहभागी हुनुपर्छ । यसले निर्वाचनलाई सफल त बनाउँछ नै, अन्योलग्रस्त राजनीतिक यात्रालाई समेत सुरक्षित अवतरण गराउनेछ ।

निर्वाचन आयोगमा सूचीकृत दलको संख्या १२९ पुगेको छ । पछिल्लो समय १० नयाँ दल दर्ता भएका छन् । नयाँ पार्टीका रूपमा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, नेकपा माओवादी, राष्ट्र निर्माण दल नेपालले दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् । सूचीकृत दलहरू निर्वाचनमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकेको छ । शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पुरानै दलहरूले दर्ता गर्नु स्वाभाविक उपक्रम भए पनि नयाँ दल दर्ता हुने क्रमलाई भने उल्लेखनीय मान्नुपर्छ । किनकि, नयाँ दल दर्ता गर्ने अग्रसरतालाई आफ्ना एजेन्डा लागू गराउन आफैं अघि बढ्नुपर्छ भन्ने उत्प्रेरणाका रूपमा अर्थ्याउन सकिन्छ । यसले जनतालाई पनि थप विकल्पहरू प्रदान गर्छ ।

जेन–जी आन्दोलनपछि राजनीति नयाँ ढंगले अघि बढिरहेको छ । त्यसैले वर्तमान राजनीतिक यात्रा र चुनावलाई लिएर सबैमाझ मतैक्य भने छैन । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले निर्वाचनप्रति आशंका व्यक्त गर्दै आएको छ । यद्यपि, उसले पनि निर्वाचनको तयारीलाई पनि सँगसँगै अघि बढाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनका लागि दल दर्ता गर्ने बताएका छन् । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरेपछि आइतबार नै दल दर्ता गरिएको छ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको यस निर्णयले निर्वाचनको माहोल बढाउने अपेक्षा गरिएको छ । अन्य कैयौं दलहरू दर्ता भइसकेका छन् । मूलभूत रूपमा कुनै पनि प्रभावशाली दलले निर्वाचनबाट बाहिर रहने निर्णय नगरेको स्थितिमा निर्वाचनप्रति आशंका व्यक्त गरिरहनु वाञ्छनीय हुँदैन । यसलाई सफलतापूर्वक टुंगोमा पुर्‍याउन सरकारदेखि आयोगसम्मको अतिरिक्त सक्रियता आवश्यक छ । 

दल दर्तासँगसँगै नयाँ मतदाताका लागि नाम दर्ता पनि उल्लेखनीय देखिएको छ । आयोगले ५ मंसिरसम्म दिएको समयसीमाभित्र ८ लाख ३७ हजार ९४ जनाले आवेदन दिएका छन् । आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म निर्वाचन कार्यालयमा बायोमेट्रिक दिएर नाम दर्ताका लागि आवेदन दिनेको संख्या ३ लाख ४४ हजार ९ सय १४ छ । २७ कात्तिकबाट मतदाता नामावलीको लिंक राष्ट्रिय परिचपत्रसँग जोडिएको थियो । त्यसयता एक साताको अवधिमा राष्ट्रिय परिचयपत्रको माध्यमबाट आवेदन दिनेको संख्या ४ लाख ९२ हजार १ सय ८० छ । मतदाता नामावली ऐनअनुसार संकलित नाममाथि दाबी विरोध लगायतका कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै मतदाता नामावलीमा नयाँ नामहरू समावेश हुनेछन् । आयोगले २० मंसिरमा अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

निर्वाचनका लागि नयाँ नाम दर्ता गर्नेहरू मूलतः युवा नै हुन् । यसबाट युवा पुस्तामा निर्वाचनप्रतिको चासो बढेको देखिन्छ । राजनीतिप्रति नयाँ पुस्तामा अनेकौं गुनासा र आक्रोश छन् । जेन–जी आन्दोलन त्यसकै प्रस्फुटन थियो । अब आगामी चुनावमार्फत सुशासनप्रति प्रतिबद्ध, क्षमतावान्, जनहितका काममा अग्रसर हुन सक्ने नेतृत्व चयन गर्न सके भने युवा पुस्ताले खोजेको जस्तै राजनीतिक वातावरण पाउनेछन् ।

अर्कोतर्फ, नयाँ पुस्ताले आफूले चाहेको जस्तै राजनीति स्थापित गर्ने हो भने, आफूले चाहे जस्तै गति र लयमा काम भएको खोज्ने हो भने, आफूले चाहेको जस्तै नेतृत्वले शासन गरोस् भन्ने चाहने हो भने आफैं पनि प्रत्यक्ष राजनीतिमा होमिने विकल्प रोज्न सक्नुपर्छ । आफैं उम्मेदवार बनेर जनताको विश्वास जित्ने र शासन प्रक्रियामा सहभागी हुने निर्णय लिन सकिन्छ । होइन भने, सक्रिय मतदाताका रूपमा आफूले चाहे जस्तो उम्मेदवार जिताउन भूमिका खेल्न सकिन्छ । स्थापित दलहरूबाट राम्रा व्यक्तिलाई टिकट दिलाउनका लागि रचनात्मक दबाब दिन सकिन्छ ।

अब शान्तिपूर्ण निर्वाचन गराउने प्रमुख दायित्व सरकार र निर्वाचन आयोगकै हो । दल र मतदाताको उल्लेख्य सहभागिता जनाउने संकेत गरिसकेकाले शान्तिपूर्ण निर्वाचनका लागि सरकारले गम्भीर गृहकार्य गर्नुपर्छ । समाजमा पुराना राजनीतिक दल र नयाँ पुस्ताबीच असमझदारी प्रकट भइरहेका छन् ।

असमझदारी न्यूनीकरणका लागि राजनीतिक संवाद गरिनुपर्छ । राजनीतिक हल खोज्नुपर्छ । जेन–जी आन्दोलनका क्रममा कैदीहरू भागेका र प्रहरीका हतियार पनि लुटिएका कारण त्रास छ । त्यसैले सुरक्षा रणनीति बनाइनुपर्छ । उम्मेदवार र मतदाताको सुरक्षा सुनिश्चित गरिनुपर्छ । निर्वाचन निष्पक्ष हुने सुनिश्चितता पनि हुनुपर्छ । त्यसका लागि आयोग र सरकारले नै विश्वास दिलाउनुपर्छ । दलहरू अगाडि बढिसकेको, मतदाता तयार भइसकेको पृष्ठभूमिमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सरकार र आयोगले पनि आफ्नो भूमिकालाई सक्रिय बनाउनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully