नेपाललाई विश्व समुदायमा एक समुन्नत राष्ट्रको परिचय दिलाउनका लागि बुढ्यौली पुस्ताको दन्त्यकथामा आधारित कहिल्यै नसकिने एकालाप होइन, नयाँ पुस्ताको ऊर्जापूर्ण सुस्पष्ट सोच, परिपक्व समन्वय र फराकिलो दर्शनको जरुरी छ।
What you should know
ताजा भएका कारण केही साता अगाडिको एउटा घटनाको प्रसंग जोड्दा सान्दर्भिक नै हुन्छ । राजधानीको एउटा सभाहलमा सञ्चालन भइरहेको बन्दसत्रमा नेपालमा उच्च शिक्षामा कस्ता सुधार जरुरी छन् र ती किन अहिलेसम्म सम्भव हुन सकेनन् भन्नेमा जोड दिँदै राजनीतिक नेता तथा सामाजिक अभियन्ता सागर ढकाल बोल्दै थिए ।
उनको प्रस्तुति नितान्त उच्च शिक्षा सुधारका लागि हामीले आधारभूत रूपमा गर्नुपर्ने सुधारमा केन्द्रित थियो । तर त्यहाँ उपस्थित अघिल्लो पुस्ताका, एक हिसाबले सेवा निवृत्त व्यक्तित्वहरू अकस्मात् सागर ढकाल समयभन्दा बढी बोलेको र आफूहरूलाई उपदेश दिने हिम्मत गरेको भनेर आक्रामक बने । बलात् उनलाई बोल्नबाट रोकियो । सागरले कुनै प्रतिवाद नगरी माइक हस्तान्तरण गरे । बाँकी छलफल सुने र उनी त्यहाँबाट निस्के । मध्याह्नको समय हुँदै थियो । त्यहाँ उपस्थित बाँकी रहेकाहरूले आफू बसेकै ठाउँमा टक्र्याइएको दिवा भोजन गर्दै कार्यक्रम अगाडि बढाए ।
मैले यो उदाहरण यहाँ किन प्रस्तुत गरेको भने यसले हाम्रो समाजमा दिनानु दिन भइरहेका व्यवहारहरूलाई प्रतिविम्बित गर्छ । समाजमा अहिले सबैतिर नेतृत्वमा रहेको ‘वृद्ध’ पुस्ता नयाँ कुरा, नयाँ विषय र काम गर्ने नौलो र छरितो तरिका सुन्न चाहँदैन । ढिलो नगरी एउटा द्रष्टव्य दिन चाहन्छु– मैले वृद्ध किन भनेको भने त्यो पुस्ताले सबै उमेर समूहका आफूभन्दा उमेरले सानो तथा नयाँलाई युवा करार गर्छ ।
अब यस्तो खालको अन्तरपुस्ता विवाद र अविश्वासको वातावरण भएको अवस्थामा हामीले कसरी अगाडिको बाटो कोर्न सक्छौं ? सबैतिरबाट असक्षम वृद्धहरूको तजबिजमा चल्ने परिपाटीबाट हामीले खोजेको उन्नत समाज, विकसित अर्थतन्त्र र सभ्य राजनीतिक परिपाटी सम्भव छैन भन्ने त स्पष्ट नै छ ।
यो मुलुकको विशेष एक पुस्ताले मुलुकको आर्थिक विकास र राष्ट्र निर्माणमा बाधा पुर्याउने काम गरिरहेको छ । विगतको ब्याजलाई अहिलेको आफ्नो पुँजी हो भन्ठानेर परिवर्तन र नवप्रवर्तनलाई स्विकार्न सक्दैन । पुराना सोच र अभ्यासमा अडिग छ । स्वार्थी र असंवेदनशील व्यवहार गर्छ । यसको ज्वलन्त उदाहरण नेपालका हरेक मञ्च, संस्था तथा दलहरूमा देखिन्छ ।
यसले गर्दा हाम्रो मुलुक विकासको लिगमा पछाडि धकेलिरहेको छ । यस अवस्थाले सामाजिक, राजनीतिक र आर्थिक प्रणालीमा स्थिरता ल्याउँछ भने प्रगतिलाई असर पुर्याउँछ । त्यसैले सबै पुस्ताबीच संवाद, सहकार्य र समावेशी सोचलाई प्रोत्साहन गर्नुपर्छ ताकि दीर्घकालीन विकास सम्भव होस् । तर त्यसो गर्नका लागि अघिल्लो पुस्ताले यो मुलुक हामीले जितेको खेल मैदान हो भन्ने अहं त्याग्नुपर्छ ।
नेपालको आर्थिक विकास नहुनु, यहाँको राजनीतिले एउटा लय समात्न नसक्नु, समाज विग्रहतर्फ उन्मुख हुनु, भ्रष्टाचार, बेथिति र अराजकता थप बढ्दै जानुमा कुनै निश्चित व्यक्ति, संस्था, समुदाय, दल तथा पेसामा लागेकाहरू वा एउटा नेता दोषी छैन । गरिब, विश्व समुदायमा अपहेलित, मगन्ते, बौद्धिक रूपमा दरिद्र र दार्शनिक रूपमा भुक्ते राष्ट्र नेपालको सार्वभौमिकता बाँकी छ कि छैन ? यदि बाँकी छ भने जेन–जी आन्दोलनको रापतापले मात्तिएका र यसबाट आत्तिए (डराए) का दुवैलाई नेपाली समाजले चिन्न सक्नुपर्छ । यी दुवैले मुलुकलाई भविष्यको बाटोमा सही तरिकाले अगाडि बढाउन सक्दैनन् र त्यो अलिकति बाँकी रहेको सार्वभौमिकतालाई जोगाउन सक्ने छैनन् ।
राष्ट्र निर्माणमा राजनीतिक पक्ष जति महत्त्वपूर्ण हुन्छ, त्यति नै रूपमा आर्थिक पक्षले भूमिका खेलेको हुन्छ । नेपाल एउटा बलियो राष्ट्र–राज्यका रूपमा अगाडि आउन नसक्नुमा एकपछि अर्को गरी हुने राजनीतिक परिवर्तनपश्चात् आर्थिक रूपमा स्पष्ट बाटो तय गर्न नसक्नु हो । त्यो आर्थिक रणनीति तयार हुन नसक्नु भनेको नेतृत्वमा रहेकाहरूको शासकीय क्षमताको अभाव हो ।
राजनीतिक आन्दोलनको नेतृत्व गर्नु र सुशासन कायम गर्दै आर्थिक परिणाम दिने गरी शासकीय प्रणाली स्थापित गर्नु फरक कुरा हुन् । यसकारण पनि खोजी गर्नुपर्ने पक्ष भनेको अबको राजनीतिक कोर्सलाई संस्थागत गर्न हामीले कस्तो आर्थिक प्रणाली स्थापित गर्नुपर्ने भन्ने हो । र, त्यो कसले नेतृत्व गर्ने भन्ने अर्को मुख्य प्रश्न हो ।
अब प्रश्न उठ्छ कि के हाम्रोमा पुस्तान्तरणीय अविश्वास छ ? जस्तै, पुरानो पुस्ताले नयाँ पुस्ताको सोच, सीप, प्रविधि प्रयोग र कार्यशैलीलाई विश्वास नगर्नु वा नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव, मूल्य र परम्परालाई सम्मान नगर्नु । के यस्तो अविश्वासले हाम्रो समाजमा विभाजन, संवादको अभाव र सहकार्यमा कमी ल्याएको हो ?
राष्ट्र निर्माणका लागि सबै पुस्ताबीच सहकार्य, आपसी सम्मान र विश्वास अत्यावश्यक हुन्छ । जब फरक पुस्ताबीच अविश्वास बढ्छ, तब नीति निर्माण, कार्यान्वयन र दीर्घकालीन योजनामा समस्या आउँछ । पुरानो पुस्ताले नयाँ विचारलाई अस्वीकार गर्दा नवप्रवर्तनमा अवरोध आउँछ भने नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवलाई बेवास्ता गर्दा गलत निर्णय र गल्तीहरू दोहोरिन सक्छन् ।
आर्थिक विकासमा पनि पुस्तान्तरणीय अविश्वासको प्रत्यक्ष असर पर्छ । नयाँ पुस्ताले प्रविधि, उद्यमशीलता र नवीन सोच ल्याउन सक्छन् तर यदि तिनीहरूलाई पुरानो पुस्ताले समर्थन नगरे, तिनीहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन सक्दैन । त्यस्तै, पुरानो पुस्ताको अनुभव र सञ्जाललाई नयाँ पुस्ताले नअपनाए, तिनीहरूले चुनौतीहरू सजिलै पार गर्न सक्दैनन् । यसले उत्पादनशीलता, नवप्रवर्तन र समग्र आर्थिक वृद्धिमा अवरोध ल्याउँछ ।
पुस्तान्तरणीय अविश्वास कम गर्नका लागि खुला संवाद, आपसी सम्मान र सहकार्यको वातावरण सिर्जना गर्नुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको विचार प्रविधि र जोसलाई स्वीकार गर्नुपर्छ भने नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव, मूल्य र परम्परालाई सम्मान गर्नुपर्छ । यसरी मात्र पुस्ताबीचको सहकार्यबाट राष्ट्र निर्माण र आर्थिक विकासमा दिगो प्रगति सम्भव छ ।
अब फर्कौं जेन–जी आन्दोलनतर्फ । यो एक हिसाबले अन्तरपुस्ता संवादको अभावमा सिर्जना भएको एक विस्फोट थियो । तर त्यो विस्फोटबाट पाठ सिकेर सुधार गर्नेभन्दा पनि सबैतिर त्यो आन्दोलन र आवाजलाई नै निस्तेज पार्ने प्रयत्न भइरहेका छन् ।
नेपालको नीतिनिर्माण तहमा रहेको ठूलो हिस्साले विगत तीन दशकदेखि निरन्तर पद तथा नेतृत्वमा रहेर पनि तुलनात्मक रूपमा कुनै परिणाम दिन नसकेको हुँदा उनीहरू बिदा हुनुपर्ने आवाज छ । तर संस्थागत रूपमा सोच्ने हो भने यसरी सडकबाट राजीनामा माग्ने अथवा पदच्युत हुनुपर्छ भन्ने माग जायज होइन । त्यस कारणले हामीले नीतिगत रूपमा नै अपारदर्शी, असक्षम र जवाफदेहिताको अभावलाई निर्मम रूपमा बिदाइ गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्छ ।
नेपालको इतिहासको विभिन्न कालखण्डमा राजनीतिक आन्दोलनहरूलाई अगाडि बढाउने अहिलेका दलका नेता र तिनका वरिपरिका सबैजसोले नै यो मुलुकमा भ्रष्टाचार र बेथितिलाई अँगाले । जसले गर्दा मुलुकको आर्थिक तथा सामाजिक विकास धेरै पछाडि धकेलियो । जो–जो यो भ्रष्ट समूहको पछाडि लागेर चाकडी र चाप्लुसीमा समाहित हुन सक्यो, त्यो नै अवसर र स्रोत तथा साधनको भागीदार बन्यो । यसकारण नेपालमा एउटा बलियो बुझाइ के छ भने, यहाँ राज्य, दल र नेताले नै पछिल्लो तीन दशकमा सामाजिक विभेदको खाडल खने । जसको दलदलमा अहिले उनीहरू आफैं फसेका छन् ।
अबका दिनमा हामीले खोजेको कस्तो समाज, राष्ट्र र शासकीय पद्धति हो ? त्यो हासिल गर्नका लागि के सुधार हुनुपर्छ र कस्तो खालको नयाँ सोचलाई हामीले बढावा दिनुपर्छ ? त्यसको नेतृत्व कसले गर्न सक्छ ? हामी केका लागि छलफलमा जुट्ने ? यी आधारभूत प्रश्नमा नयाँ पुस्ताको ध्यान जान जरुरी छ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा हामीले खोजेको सुधार कसरी हासिल गर्ने र त्यसलाई संस्थागत गर्न हामीले खडा गर्नुपर्ने आधारभूत संरचना कसरी निर्माण गर्न सक्छौं भन्नेमा नयाँ पुस्ताको छलफल केन्द्रित हुनुपर्छ ।
जेन–जी आन्दोलनपछिको समयमा सबैभन्दा कठिन देखिएको पक्ष नै हाम्रा प्राथमिकताका विषयमाथिको छलफल हो । राजनीतिक र सामाजिक रूपमा छिन्नभिन्न भएका राजनीतिक दलका तिनै नेताले फेरि मुलुकका प्राथमिकता पहिचान गर्लान् र सुधारको बाटोमा हिँडाउलान् भन्नेमा स्वयं उनीहरूमा नै आत्मविश्वास नभएको जस्तो देखिन्छ । यसकारण नयाँ पुस्ताको काँधमा आएको पहिलो जिम्मेवारी भनेको धैर्य भएर मुलुकका प्राथमिकताहरूमाथि छलफल र विमर्श सुरु गर्नु हो ।
अलिकति उदाहरण विश्व इतिहासबाट लिने प्रयत्न गरौं । दोस्रो विश्वयुद्धले मानव सभ्यतालाई गहिरो घाउ दियो । लाखौं मानिसको ज्यान गयो, सहरहरू ध्वस्त भए, विश्व अर्थतन्त्र धराशायी भयो र समाजमा निराशा छायो । यस्तो कठिन घडीमा राष्ट्रहरूलाई पुनः उठाउन, समाजमा आशा जगाउन र नयाँ भविष्यको निर्माण गर्न त्यतिबेलाका युवाहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो । उनीहरूको जोस, साहस र नवीन सोचले समाजमा नयाँ ऊर्जा सञ्चार गर्यो ।
दोस्रो विश्वयुद्धपछिको युरोप, जापान र अन्य प्रभावित राष्ट्रहरूमा युवाहरूले राष्ट्र पुनर्निर्माणका लागि ऐतिहासिक भूमिका खेले । युद्धले भौतिक संरचना मात्र होइन, सामाजिक संरचनामा पनि गहिरो असर पारेको थियो । घर, विद्यालय, अस्पताल, उद्योगधन्दा सबै ध्वस्त थिए । यस्तो अवस्थामा, युवाहरूले आफ्नो कर्तव्यबोधलाई आत्मसात् गर्दै, राष्ट्र निर्माणको अभियानमा जुटे । नयाँ सोच अगाडि सारे ।
युरोपमा युवाहरूले ‘मार्शल प्लान’ अन्तर्गत पुनर्निर्माणका काममा सक्रिय सहभागिता जनाए । उनीहरूले इँटा बोक्नेदेखि विज्ञान, प्रविधि र शिक्षा क्षेत्रमा नयाँ सोच ल्याउनेसम्मका काम गरे । जर्मनीको आर्थिक चमत्कार सम्भव बनाउन युवाहरूको योगदान अतुलनीय रह्यो । जापानमा युवाहरूले अनुशासन, परिश्रम र नवप्रवर्तनको भावना बोकेर राष्ट्रलाई विश्वको एक प्रमुख आर्थिक शक्ति बनाउने अभियानमा जुटे ।
युवाहरूको सोच, जोस र नेतृत्व क्षमताले राष्ट्रको भविष्य निर्धारण गर्छ । उनीहरूले मात्र भौतिक संरचना निर्माण गर्दैनन्, समाजमा आशा, विश्वास र सहकार्यको भावना पनि जगाउँछन् । आजको सन्दर्भमा हेर्दा, विश्वले फेरि नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । जलवायु परिवर्तन, बेरोजगारी, प्रविधिको द्रुत विकास, सामाजिक असमानता र राजनीतिक अस्थिरताजस्ता समस्याहरूले समाजलाई चुनौती दिइरहेका छन् ।
यस्ता समस्याहरू समाधान गर्न आजका युवाहरूले पनि आफ्नो भूमिका पहिचान गर्नुपर्छ । तर यो आलेखमा म नेपालको हकमा मात्र केन्द्रित छु । त्यसकारण नेपाली युवा पुस्ता आफ्ना प्राथमिकता पहिचान गरेर राष्ट्र निर्माणमा जुट्न र नयाँ उद्घोषका साथ अगाडि बढ्न जरुरी छ ।
जिम्मेवारीबोध, सामाजिक उत्तरदायित्व र नेतृत्वमा ध्यान दिएर समाजलाई अगाडि लैजानका लागि डर होइन, साहसको आवश्यकता हुन्छ । त्यसकारण मुलुकको नयाँ बाटो बनाउँदै गर्दा डराउनेहरूभन्दा साहसका साथ अगाडि बढ्न सक्नेहरू नेतृत्वमा रहनुपर्छ । सबै तह र तप्कामा रहेका नयाँ पुस्ताले समाजमा सकारात्मक परिवर्तन ल्याउन, उनीहरूले आफ्नो सीप, ज्ञान र ऊर्जा राष्ट्र निर्माणमा लगाउनुपर्छ ।
अब केवल भौतिक पुनर्निर्माणमा मात्र ध्यान दिएर पनि पुग्दैन । सँगसँगै हामीले सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा पनि ध्यान दिनुपर्छ । शिक्षा, स्वास्थ्य, प्रविधि र सामाजिक न्यायका क्षेत्रमा सुधार ल्याउन युवाहरूको सक्रियता आवश्यक छ । तर अहिलेको जेन–जी विद्रोहले यी पक्षहरूमा दीर्घकालमा कस्तो असर र प्रभाव पार्ने हो भन्ने टुंगो छैन । सामाजिक न्याय, लैंगिक समानता, जातीय समावेशीकरण र मानवअधिकारका पक्षमा अहिलेको जेन–जी पुस्ताका विचार के हुन् ? उनीहरूले भ्रष्टाचार, विभेद र अन्यायविरुद्ध संघर्ष त गरे तर उपलब्धिलाई संस्थागत गर्न कस्तो रणनीति अख्तियार गर्दै छन् ?
युवाहरू केवल प्रविधिको प्रयोग, सामाजिक अभियान र उद्यमशीलतामा सीमित नभएर राजनीतिक रूपमा बलियो विचार लिएर अगाडि बढ्न जरुरी छ । अन्ततः समाजलाई दिशानिर्देश गर्ने भनेको विचारले हो । यसकारण जेन–जी विद्रोहले समाजमा विद्यमान बेथिति र भ्रष्टाचारलाई निस्तेज पार्ने उद्देश्य त अगाडि सारेको छ तर नयाँ पुस्ताको अर्थ–राजनीतिक वैचारिकी के हो भन्ने पनि स्पष्ट हुनुपर्छ ।
राष्ट्रको भविष्य युवाहरूको हातमा छ । उनीहरूले आफ्नो सोच, जोस र प्रतिबद्धताबाट समाजमा नयाँ ऊर्जा, आशा र परिवर्तन ल्याउन सक्छन् । दोस्रो विश्वयुद्धपछिका दिनमा जस्तै आजका युवाहरूले पनि राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्नुपर्छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन, युवाहरूले आफ्नो जिम्मेवारीबोध, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमतामा ध्यान दिनुपर्छ ।
नेपाललाई विश्व समुदायमा एक समुन्नत राष्ट्रको परिचय दिलाउनका लागि बुढ्यौली पुस्ताको दन्त्यकथामा आधारित कहिल्यै नसकिने एकालाप होइन, नयाँ पुस्ताको ऊर्जापूर्ण सुस्पष्ट सोच, परिपक्व समन्वय र फराकिलो दर्शनको जरुरी छ । समाजका सारा बेथितिविरुद्ध लड्न तयार भएको जेन–जी पुस्ताका अगाडि तमाम चुनौती छन् । तर तीमध्ये सबैभन्दा प्रमुख चुनौती उनीहरू स्वयंले आफैंलाई के प्रश्न सोधिरहेका छन् भन्ने हो ।
