सशंकित समाजमा उत्साह छर्ने क्रिकेट उत्सव

खेल प्रतियोगितामा मैदानभित्रको कौशल सम्मोहनकारी हुन्छन् । तर मैदानबाहिरको व्यवस्थापन कौशल पनि उसैगरी महत्त्वपूर्ण हुने गर्छ । मैदानबाहिरका काम–कौशल पारदर्शी हुन सकेन भने सफल प्रतियोगितामाथि नै सन्देह उत्पन्न हुन्छ, नकारात्मक भावना विकास हुन्छ ।

कार्तिक ३०, २०८२

सम्पादकीय

A cricket festival that instills enthusiasm in a skeptical society

What you should know

अबको झन्डै एक महिना नेपाली खेल जगत्मा सबैभन्दा बढी उच्चारण हुने शब्दहरू हुनेछन्– रन र विकेटलगायतका क्रिकेटसँग सम्बन्धित शब्दहरू । जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजको खेलसँगै सोमबारबाट सुरु हुने नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले खेल जगत्लाई क्रिकेटमय बनाउने निश्चित छ ।

नेपालमा यसअघि धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग भइसकेको भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पूर्ण स्वामित्वमा आयोजना गरेको एनपीएलले माथिल्लो तहको चर्चा र सम्भावना बोकेको छ ।

प्रतियोगिताले देशी–विदेशी खेलाडी, भौतिक तथा डिजिटल दर्शक, पानी बेच्ने साना व्यापारीदेखि फ्रेन्चाइज टिमका सञ्चालक व्यावसायिक घरानासम्मलाई जोडेको छ । परिणामतः आर्थिक गतिविधि सुस्त भएको नेपालमा एनपीएलले धेरथोर गति दिनेछ । स्थापित खेलाडीलाई अभ्यास र नयाँ खेलाडीलाई क्षमता देखाउने अवसर हुनेछ । यही नै कुनै पनि घरेलु प्रतियोगिताको विशिष्ट पक्ष हो । यसलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग अपरिहार्य छ ।

दोस्रो संस्करणको एनपीएलमा पनि आठवटा फ्रेन्चाइज टिम विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी हुनेछन् । यी टिममा नेपाली राष्ट्रिय टोलीका खेलाडी, अन्य स्थापित तथा नवप्रतिभा र विभिन्न देशका प्रतिभाशाली खेलाडीको पनि उपस्थिति हुनेछ ।

फ्रेन्चाइजहरूको नाम प्रादेशिक र क्षेत्रीय पहिचानसँग जोडिएका छन् । त्यसैले एनपीएल क्रिकेट उत्सव मात्रै होइन, संघीयताप्रतिको अपनत्व प्रकट गर्ने अवसर पनि हो । राजनीतिक खेलोफड्कोले संघीयतालाई जनमानसमा बलियो गरी स्थापित हुन ढिलाइ गरिरहेको पृष्ठभूमिमा एनपीएलले भने पहिलो प्रतियोगितामै असाधारण सफलता दिलाएको थियो । प्रतियोगिताभर प्रायः समर्थक आ–आफ्नै प्रदेशलाई प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टिमसँग भावनात्मक रूपमा जोडिएका थिए । त्यसैले संघीयतालाई प्रशासनिक संरचनाबाट भावना र पहिचानसम्मै विस्तार गर्न एनपीएलले पनि योगदान दिएको र दिने निश्चित छ ।

स्वदेशभित्रको स्थापित खेलाडी, ‘ट्यालेन्ट हन्ट’बाट छानिएका नवप्रतिभा र फ्रेन्चाइजहरूले लगानी गरेर भित्र्याएका विदेशी खेलाडीहरूको साझा मञ्च बन्नेछ, एनपीएल । यसले बहुआयामिक लाभ पुग्नेछ । पहिलो, राष्ट्रिय टोलीका खेलाडीका लागि एनपीएल आगामी ट्वान्टी–२० विश्वकपको पूर्वतयारीका रूपमा लिन सकिन्छ । उनीहरूले झन्डै एक महिनासम्म स्वदेश तथा विदेशका खेलाडीसँग खेलेर आफूमा थप निखार ल्याउन सक्छन् । आत्मविश्वास वृद्धि गर्न सक्छन् । दोस्रो, देशभित्रका नयाँ प्रतिभाहरूले स्वदेशी तथा विदेशी खेलाडीसामु आफ्नो क्षमता देखाउन सक्नेछन्, अनुभव लिन सक्नेछन् । त्यसले उनीहरूलाई अघि बढ्न ठूलो मद्दत पुग्नेछ । किनकि, ‘ट्यालेन्ट हन्ट’ बाट छानिएका नवप्रतिभाले विभिन्न देशका चर्चित खेलाडीसँग मैदानमा साझेदारी र प्रतिस्पर्धा गर्न पाउनु दुर्लभ अवसर हो । तेस्रो, एनपीएल खेल्न आएका विदेशी खेलाडी नेपाल र नेपाली क्रिकेटका ‘ब्रान्ड एम्बेस्डर’ हुन् । उनीहरूले नेपाली दर्शकबाट माया र सद्भाव पाउनेछन्, तोकिएअनुसारको आम्दानी पनि गर्नेछन्, त्यसको बदलामा नेपाली क्रिकेटलाई विश्वभर प्रचारित गर्नेछन् ।

एउटा महत्त्वाकांक्षी प्रतियोगिताका रूपमा अघिल्लो वर्ष एनपीएल सुरु भएको थियो । व्यापक सहभागिताका साथ प्रतियोगिता सफल पनि भयो । दर्शकले पनि प्रशस्तै मनोरञ्जन पाए । त्यतिबेलादेखि नै एनपीएललाई नेपाली क्रिकेटको विकासका लागि एउटा कोसेढुंगा मानिएको छ । यद्यपि, हाम्रा पूर्वाधार, पूर्वाधारमा लगानी गर्ने क्षमता, बजार, क्रिकेटमा लगानी गर्ने मानसिकता, खेलाडी उत्पादन गर्नका लागि सघाउ पुग्ने गरी तल्ला तहका संरचना सबै कमजोर छन् ।

तैपनि, हरेक प्रतियोगितामा सकारात्मक विकास र उपलब्धि हासिल हुँदै गयो भने कालान्तरमा त्यसले आशा र उत्साह सिर्जना गर्नेछ । निश्चय नै, अघिल्लो वर्षभन्दा यस वर्ष त्रिविस्थित क्रिकेट मैदानमा भौतिक सुधार भएको छ । मुख्यतः फ्लड लाइट जडान भएको छ । र, प्रतियोगिताको उद्घाटन खेल नै फ्लड लाइटमा हुँदै छ । यद्यपि, क्रिकेटमा प्रविधि प्रयोगको अभ्यास चरमचुलीमा पुगिसकेको छ, भारतमा आयोजना हुने आईपीएलमा प्रविधिको दबदबा नेपाली दर्शकले पनि देखेका छन् । नेपालमा पनि त्यही ढंगको प्रविधि प्रयोग आगामी दिनमा हुँदै गयो भने एनपीएल थप उचाइमा पुग्नेछ । 

एनपीएल जस्ता उत्सव आयोजक, फ्रेन्चाइज, खेलाडी वा प्रशिक्षकको समर्पणले मात्रै सफल हुन सक्दैन । दर्शकको साथसहयोग पनि उत्तिकै आवश्यक रहन्छ । हुन त भौतिक र डिजिटल संलग्नताको दृष्टिले नेपाली दर्शक विश्वभर परिचित छन् । यसलाई क्रिकेटको माहोल विकास गर्न र आम्दानीको भरपर्दो स्रोत बनाउने चुनौती क्यानसँग छ । पहिलो चरणको एनपीएल सफलतापूर्वक सम्पन्न भएको र यस पटक पनि सफल हुने सम्भावना देखिएकाले यसको निरन्तरताको आधार पनि बन्दै गएको देखिन्छ ।

यसका लागि तल्लो तहदेखि नै क्रिकेटको विकास गर्ने, खेलाडीहरूको आर्थिक जीवनलाई सुनिश्चित गर्ने, एनपीएल जस्ता अवसरलाई ‘ब्रान्डिङ’ गर्ने जस्ता काम प्राथमिकतामा पर्नुपर्छ । खेल प्रतियोगितामा मैदानभित्रको कौशल सम्मोहनकारी हुन्छन् । तर मैदानबाहिरको व्यवस्थापन कौशल पनि उसैगरी महत्त्वपूर्ण हुने गर्छ । मैदानबाहिरका काम–कौशल पारदर्शी हुन सकेन भने सफल प्रतियोगितामाथि नै सन्देह उत्पन्न हुन्छ, नकारात्मक भावना विकास हुन्छ । त्यसैले अघिल्ला प्रतियोगिताका कमजोरी सुधार्दै अघि बढ्नुपर्छ । पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully