कस्ता पार्टी, कस्तो नेतृत्व ?

इतिहास र अतीतमुखी होइन, भविष्यमुखी पार्टी आजको आवश्यकता हो । जनताले शासक होइन, सेवक खोजेका छन् । शासन होइन, सुशासन खोजेका छन् । केवल सरकार मात्रै होइन, डेलिभरी खोजेका छन् । जुन पार्टीले डेलिभरी गर्न सक्दैन, त्यसको भविष्य छैन । त्यसैले विद्यमान समस्या समाधान गर्ने स्पष्ट भिजन र ठोस मार्गचित्र भएको थप उन्नत लोकतन्त्रवादी, उदारवादी, बहुलवादी र जनमुखी पार्टी जनताले खोजेका छन् ।

कार्तिक २८, २०८२

गेजा शर्मा वाग्ले

What party, what leadership?

What you should know

नेपाली राजनीतिमा अहिले राजनीतिक पार्टी र नेतृत्वका बारेमा गम्भीर छलफल, बहस र विवाद चलिरहेको छ । लोकतान्त्रिक प्रणालीमा राज्य सञ्चालन पार्टीले र पार्टी सञ्चालन नेतृत्वले गर्ने भएका कारणले यस्तो बहस अस्वाभाविक भएन । जेन–जी आन्दोलनले पार्टी र नेतृत्वबारे परम्परागत अवधारणा र मानक विनिर्माण गरेपछि यस्तो बहसले थप आयतन, घनत्व र परिधि हासिल गरेको छ ।

केवल नेपालको सन्दर्भमा मात्रै पनि होइन, अहिले विश्वव्यापी रूपमै एकातिर राज्य, राजनीति, वैकल्पिक राजनीति, सरकार, पार्टी, नेतृत्वलगायतका विषयमा विवादित बहस हुँदै आएको छ । अर्कोतिर उग्रराष्ट्रवादी, पपुलिस्ट, अनुदारवादी, दक्षिणपन्थी, अराजकतावादी पार्टी, प्रवृत्ति र भाष्य हाबी हुँदै गएको देखिन्छ । जुन भाष्य, बहस र प्रवृत्तिको परोक्ष वा प्रत्यक्ष प्रभाव नेपाली राजनीतिमा पनि पर्दै आएको छ । 

पुराना पार्टी र ती पार्टीका मूल नेतृत्व असफल भए । कि पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित गरी पार्टी पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गर्नुपर्‍यो । होइन भने नयाँ भिजन र दृष्टिकोणसहितको नयाँ पार्टी बन्नुपर्‍यो । समकालीन राजनीतिमा यस्तो भाष्य प्रचलित र लोकप्रिय हुँदै गएको देखिन्छ ।

पार्टी र नेतृत्वसम्बन्धी अवधारणा, आधार र आयाम नै परिवर्तन भएको हो कि प्रचलित भाष्यजस्तै पुराना पार्टी असान्दर्भिक र असफल हुँदै गएका हुन् ? के पुराना पार्टीको युग सकिएर नयाँ पार्टीको अध्याय सुरु भएकै हो ? के पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित गरी पुराना पार्टी पुनर्गठन र रूपान्तरण सम्भव छ ? यदि छ भने त्यसको मार्गचित्र के हो ?

कि पुराना पार्टीमा सम्भावना नभएको कारणले नयाँ पार्टी नै अबको एक मात्र विकल्प हो ? जनताले चाहेको पार्टी र नेतृत्व कस्तो हो ? भन्नेजस्ता स्वाभाविक तर जटिल प्रश्न उठेका छन् । त्यसैले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवर्तित सन्दर्भमा पार्टी र नेतृत्वका सैद्धान्तिक आयाम र जनताको अपेक्षाको सापेक्षतामा वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ । 

पार्टी निर्माणका परम्परागत पद्धति

२० औं शताब्दीको अन्त्यसम्म कुनै पनि पार्टी निश्चित राजनीतिक विचारधारा, सिद्धान्त र वर्गीय आधारमा निर्माण हुने पद्धति थियो । नेपालका कांग्रेस र कम्युनिस्ट मात्रै होइन, अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक, बेलायतका लेबर र कन्जरभेटिभ, भारतका बीजेपी र कंग्रेसलगायत सबै पार्टी सोही सैद्धान्तिक, वैचारिक र वर्गीय आधारमा निर्माण भएका हुन्  । तर २१ औं शताब्दीको उत्तरआधुनिक (पोस्ट–मोडर्न), उत्तरवैचारिक (पोस्ट–आइडियोलोजी) तथा सत्योत्तर (पोस्ट–ट्रुथ) युगमा पार्टी निर्माणका परम्परागत पद्धति विघटन भई नवीन मानक स्थापित भएका छन् ।

आइडियोलोजी (वाद, विचारधारा) र सिद्धान्तको सान्दर्भिकता र औचित्य कति छ ? भन्ने सैद्धान्तिक प्रश्न स्वयं राजनीतिशास्त्रीका बीचमा गहन अध्ययन र बहसको विषय भएको छ । केवल अहिले मात्रै होइन, सन् १९६० मा अमेरिकी राजनीतिशास्त्री ड्यानियल बेलको बहुचर्चित पुस्तक ‘दी एन्ड अफ आइडियोलोजी’ प्रकाशित भएदेखि नै यस्तो बहस सुरु भएको थियो । 

नेपालको सन्दर्भमा पुराना पार्टीहरू कोरा सिद्धान्त र विचारधाराको बन्दी हुँदै आएका छन् । मार्क्सवाद, साम्यवाद, समाजवाद, उदारवाद, राष्ट्रवाद, विस्तारवाद, सामन्तवाद, उपनिवेशवाद, साम्राज्यवादजस्ता शास्त्रीय सिद्धान्त र ‘जार्गन’ अहिलेसम्म पनि जपिरहेका छन् । कांग्रेस र कम्युनिस्टका आदर्श पुरुषहरू बीपी र मार्क्स गतिशील र प्रगतिशील थिए । तर कांग्रेसले बीपीलाई, कम्युनिस्टले मार्क्स र लेनिनलाई तथा माओवादीले माओलाई गायत्री मन्त्रजस्तै जप्दै यथास्थितिवादी तथा जडसूत्रवादीका रूपमा व्याख्या र विश्लेषण गर्दै आएका छन् ।

त्यसैले कांग्रेस, एमाले, माओवादीहरू सैद्धान्तिक–वैचारिक दृष्टिले यथास्थितिवादी भएका छन् । यदि जनभावनाअनुसार गतिशील, जीवन्त र सान्दर्भिक पार्टीका रूपमा विकसित गर्दै जाने हो भने कांग्रेसले बीपी, एमालेले मार्क्स र लेनिन तथा माओवादीले माओलाई पुनः अध्ययन (रिभिजिट) र पुनर्विचार वा पुनरावलोकन (रिथिंक) गर्नु आवश्यक छ । यसैगरी बीपी, मार्क्स, लेनिन, माओका आइडियोलोजी र मूलभूत सिद्धान्तलाई निरन्तरता दिँदै समयानुकूल पुनः परिभाषा (रिडिफाइन) वा पूरक व्याख्या गर्नु अपरिहार्य देखिएको छ ।

पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, संगठन र नेतृत्व हुन् । २० औं शताब्दीसम्म नेता–कार्यकर्ताले पार्टीका सिद्धान्त, विचार, नीति लिएर जनतासमक्ष जान्थे । कुनै पनि पार्टीका लागि जनतासँग जाने माध्यम केही हदसम्म सार्वजनिक सञ्चारमाध्यम भए पनि मूलभूत रूपमा नेता–कार्यकर्ता थिए । त्यही आधारमा संगठन गरी जनमत हासिल गरिन्थ्यो । तर अब त्यस्तो परम्परागत पद्धति र शैलीबाट पार्टी निर्माण हुने सम्भावना छैन ।

अहिलेको डिजिटल युगमा पार्टी निर्माणका पद्धति र शैली मौलिक रूपमा परिवर्तन भएका छन् । त्यसैले अब पार्टी निर्माण पद्धतिलाई नै पुनः परिभाषित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जनताको शैक्षिक स्तर तथा चेतना र सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासको कारणले पार्टी निर्माणको नवीन पद्धति विकसित भएको छ । सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पार्टी, नेता र कार्यकर्ताले जनतासमक्ष प्रत्यक्ष संवाद, अन्तरक्रिया र विचार आदानप्रदान गरिरहेका छन् । राजनीतिक सञ्चार र संवादका दृष्टिले यो सबैभन्दा प्रभावकारी र लोकप्रिय माध्यम भएको छ । 

अहिले पार्टी निर्माणका आधार र एजेन्डा

बेलको निष्कर्षजस्तै राजनीति अब कोरा विचारधारा र सिद्धान्तभन्दा पनि विचार, नीति र एजेन्डाको दिशातर्फ उन्मुख भएको छ । विचार, नीति र एजेन्डा पार्टी निर्माण र मूल्यांकनका प्रमुख आधार भएका छन् । यद्यपि आइडियोलोजी र सिद्धान्तविहीन पार्टीको वकालत वा परिकल्पना पंक्तिकारको उद्देश्य होइन । पार्टी निर्माणका विश्वव्यापी लहर र नयाँ प्रवृत्तिको आधारमा निकालिएको निष्कर्ष मात्रै हो ।

आइडियोलोजी, सिद्धान्त, मूल्य–मान्यताको राजनीति समाप्त भएको होइन, डेलिभरीको युग प्रारम्भ भएको मात्रै हो । कुनै पनि पार्टीका विचारधारा र सिद्धान्त धार्मिक ग्रन्थ वा मन्त्र होइनन् । समाजको गति, चेतनाको विकास, राजनीतिक–आर्थिक परिवेश र जनताको भावनाअनुसार सुधार, अद्यावधिक र विकसित हुँदै जान्छन् । किनभने विचारधारा र सिद्धान्त गतिशील हुन्छन् । लोकतन्त्र र उदारवाद चिरस्थायी हुनुको प्रमुख कारण गतिशीलता हो । त्यसैले पार्टीका सिद्धान्त, विचार, नीति पनि अपडेटेड (अद्यावधिक) हुनुपर्छ । यदि अपडेटेड भएनन् भने आउटडेटेड (असान्दर्भिक) हुन्छन् ।

१९ औं र २० औं शताब्दीभन्दा २१ औं शताब्दीका समस्या जटिल र चुनौतीपूर्ण छन् । शास्त्रीय सिद्धान्त र नीतिले यी समस्या समाधान हुने सम्भावना छैन । दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, आर्थिक असमानता, जलवायु परिवर्तन, तापक्रम वृद्धि, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासन, सहरीकरणजस्ता नयाँ विषय, समस्या र चुनौती सिर्जना भएका छन् । जनतालाई यी समस्या समाधान गर्ने ठोस विचार, नीति र मार्गचित्र चाहिएको छ । जुन पार्टीले समयसापेक्ष नीति अनुसरण गर्छन्, ती लोकप्रिय र सान्दर्भिक हुन्छन् । तर जुन पार्टीले गर्दैनन्, ती अलोकप्रिय र असान्दर्भिक हुन्छन् । त्यसैले शास्त्रीय सिद्धान्तवादीभन्दा गतिशील विचार र नीतिप्रधान पार्टी आजको आवश्यकता छ । 

सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासको कारणले बौद्धिक तथा व्यावसायिक, सेलेब्रिटी, सामाजिक सञ्जालका ‘इन्फुन्सियसर’, स्वतन्त्र नागरिकमार्फत विचार निर्माण तथा भाष्य स्थापित हुने परिस्थिति सिर्जना भएको छ । पार्टीका संगठन विभागभन्दा सामाजिक सञ्जाल विभाग शक्तिशाली र प्रभावशाली हुँदै गएका छन् ।

निर्वाचनमा विजय हासिल गर्न तथा प्रतिस्पर्धी पार्टीलाई कमजोर बनाउन सञ्चारमाध्यम, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल व्यवस्थापन गर्ने नयाँ अभ्यास र रणनीतिको अध्याय सुरु भएको छ । हिजोसम्म संगठनमा पकड भएको तथा नेतृत्वको विश्वास अर्थात् आशीर्वाद प्राप्त पात्र नेतृत्वमा पुग्ने वा पुर्‍याउने अभ्यास थियो । तर अब केवल नेता र कार्यकर्ताको मात्रै होइन, जनताको विश्वास हासिल गरेको पात्र नेतृत्वमा पुग्ने पद्धति विकसित हुँदै गएको छ । त्यसैले अब नीति, सिद्धान्त र एजेन्डाका आधारमा पार्टी तथा भिजन र छविका आधारमा नेतृत्व विकसित हुने युग सुरु भएको छ । पार्टी निर्माण र नेतृत्व विकासको दृष्टिले यो सकारात्मक पक्ष हो ।

पुराना पार्टी पुनर्गठन कि नयाँ पार्टी ?

पुराना पार्टी पुनर्गठन हुन्छन् कि नयाँ पार्टी बन्छन् ? अहिलेको ज्वलन्त र बहुचर्चित प्रश्न यही हो । अहिले पार्टी र पार्टी प्रणाली नै असफल भएको प्रायोजित भाष्य चर्चित हुँदै गएको देखिन्छ । तर यो कुनै पार्टी विशेष वा पार्टी प्रणालीको असफलता होइन ।

विगत लामो समयदेखि सरकार र पार्टीको नेतृत्वमा रहेका तथा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका पुराना पार्टीका शीर्ष नेतृत्व पंक्तिको असफलता हो । पुराना पार्टीको असफल नेतृत्व पंक्तिप्रति जनतामा व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ । त्यसैले ती पार्टी अलोकप्रिय हुँदै गएका छन् । तर असफल र अलोकप्रिय नेतृत्वको सिकार पार्टी र पार्टी प्रणाली हुनुहुँदैन । जनताले पार्टी र पार्टी प्रणालीको विकल्प खोजेका छैनन् । तर यथास्थितिमा पुराना पार्टीको भविष्य पनि छैन, औचित्य पनि छैन । 

लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेका पुराना पार्टीको पुनर्गठन र रूपान्तरण पहिलो र स्वाभाविक विकल्प हो । पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित गरी मौलिक रूपमा रूपान्तरण गरे पुराना पार्टीप्रति जनताको विश्वास पुनः स्थापित हुने सम्भावना छ । जति छिटो त्यस्तो असफल र अलोकप्रिय नेतृत्वबाट मुक्ति पाउँछन्, त्यति नै छिटो पुनर्जीवन पाउने छन् ।

कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा तथा मधेश केन्द्रितलगायत सबै पार्टीमा पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण गरी पुनर्गठनको बहस चलिरहेको छ । सबै पार्टीहरू पुनर्गठन, रूपान्तरण र नेतृत्व हस्तान्तरणको यही प्रसव वेदनाबाट गुज्रिरहेका छन् ।

यद्यपि विशेष कि नियमित महाधिवेशन तथा फागुन २१ को प्रतिनिधिसभाको निर्वाचन अघि कि पछि भन्नेबारेमा कांग्रेसमा धारावाहिक विवाद र आरोप–प्रत्यारोप चलिरहेको छ । तर जहिले भए पनि आसन्न महाधिवेशनबाट कांग्रेसमा पुस्तान्तरणसहित नयाँ नेतृत्व स्थापित हुने सम्भावना छ । तर कांग्रेसबाहेक अन्य पार्टीमा पुस्तान्तरणसहित नयाँ नेतृत्व निकट भविष्यमा स्थापित हुने सम्भावना क्षीण देखिन्छ ।

पुराना पार्टी र मूल नेतृत्वको असफलताबाट निराश भएका जनता नयाँ पार्टीप्रति आकर्षित भएको देखिन्छ । बेरोजगारी समस्या उच्च भएको देशमा अहिले राजनीतिक रोजगारीको मौसम सुरु भएको छ । जेन–जी, सेलेब्रिटी, व्यावसायिक, विज्ञ, उद्योगी, व्यापारी सबैले एकपछि अर्को पार्टी घोषणा गरेका छन् भने केही घोषणाको प्रक्रियामा छन् । तर आन्दोलनको भावनाअनुसार जेन–जी पुस्तासहित वैकल्पिक सिद्धान्त र संस्कार भएको एउटा एकीकृत नयाँ पार्टी बन्ने सम्भावना देखिएन ।

एकातिर आन्दोलनकारी जेन–जी पुस्ताको विभाजन अर्कोतिर सामाजिक सञ्जालकेन्द्रित पात्रहरूले पपुलिजमलाई प्रमुख आधार मानेर नेताविशेषलाई देवत्वकरण गरी हालसम्म घोषणा गरिएका पार्टीहरूप्रति जनताको प्रारम्भिक टिप्पणी उत्साहजनक छैन । तर पुराना पार्टी पुनर्गठन र रूपान्तरण मात्रै होइन, नयाँ पार्टी निर्माण पनि उत्तिकै चुनौतीपूर्ण र निराशाजनक भएको देखिन्छ । त्यसैले पुराना पार्टीको सफलता–असफलताबाट शिक्षा लिँदै मार्गचित्र बनाउनु नयाँ पार्टी पक्षधरको स्वास्थ्यको लागि लाभदायक हुनेछ । 

पुराना पार्टीविरुद्ध ‘नो नट अगेन’ को नारा लगाएर २०७९ को निर्वाचनमा आकस्मिक रूपमा उदाएका तथा नयाँ र वैकल्पिक भनिएका रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी किन र कसरी विवादित भए, असफल भए, विभाजित भए र विघटोन्मुख भए ? भन्नेबारेमा गम्भीर समीक्षा आवश्यक छ । सैद्धान्तिक–वैचारिक आधार कमजोर भएको पार्टी र नैतिक धरातल कमजोर तथा उग्र महत्त्वाकांक्षा भएको विवादित पात्र नेतृत्वमा पुग्दा कसरी सम्भावना भएको पार्टी धराशायी हुने रहेछ भन्ने ज्वलन्त उदाहरण रास्वपा हो ।

सभापति रवि लामिछानेको चरम सत्ता लिप्सा, सहकारी ठगी र जेन–जीको आन्दोलनको आवरणमा किर्ते सरकारी पत्रका आधारमा जेलबाट बाहिरिएपछि थप गम्भीर प्रश्न उठेका छन् । सापेक्षिक रूपमा राम्रो छवि बनाएकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले लामिछानेमाथि गम्भीर आरोप लगाउँदै रास्वपा परित्याग गरिसकेकी छन् भने तोसिमा कार्की, गणेश कार्की, पुकार बमलगायतका नेताहरूले पुनर्गठन र रूपान्तरणको माग गरिरहेका छन् । रास्वपाप्रतिको भ्रम तीन वर्ष पनि नपुग्दै समाप्त भएको छ । अहिले एकपछि अर्को घोषणा भएका नयाँ ‘प्रजाति’ का पार्टीले सबैभन्दा ठूलो क्षति रास्वपालाई हुने निश्चित छ ।

सत्ताका लागि सिद्धान्तलाई तिलाञ्जली दिने, सरकारमा गएर विवादित काम गर्ने तथा परिवारलाई नै पार्टी ठान्ने जनमत र नागरिक उन्मुक्ति टुक्रा–टुक्रामा विभाजित भएपछि ती पार्टीका बारेमा चर्चा गरेर समय बर्बाद गर्ने प्रश्नै भएन । त्यसैले नयाँ र वैकल्पिक भनिएका पार्टी, पात्र र प्रवृत्तिहरू पनि पपुलिस्ट र सत्तामुखी भए, राजनीतिक तथा आर्थिक विकृति–विसंगतिको पर्यायवाची भए । जुन समस्या पुराना पार्टीमा छन्, तीभन्दा पनि जटिल समस्या नयाँ र वैकल्पिक भनिएका पार्टीमा देखिए । त्यसैले ती पार्टी जुन गतिमा उदाएका थिए, त्यही गतिमा नै अस्ताउने दिशातर्फ उन्मुख भएको देखिन्छ ।

जनताले खोजेको पार्टी 

अब प्रश्न उठ्छ, जनताले खोजेको पार्टी कस्तो हो ? उत्तर सरल र स्पष्ट छ । इतिहास र अतीतमुखी होइन, भविष्यमुखी पार्टी आजको आवश्यकता हो । जनताले शासक होइन, सेवक खोजेका छन् । शासन होइन, सुशासन खोजेका छन् । केवल सरकार मात्रै होइन, डेलिभरी खोजेका छन् ।

जुन पार्टीले डेलिभरी गर्न सक्दैन, त्यसको भविष्य छैन । त्यसैले विद्यमान समस्या समाधान गर्ने स्पष्ट भिजन र ठोस मार्गचित्र भएको थप उन्नत लोकतन्त्रवादी, उदारवादी, बहुलवादी र जनमुखी पार्टी जनताले खोजेका छन् । यसैगरी जननिर्वाचित संविधानसभामार्फत बनेको संविधान, विधिको शासन र मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध तथा जनताप्रति उत्तरदायी पार्टी नै जनताको चाहना हो । कसैलाई भ्रम नरहोस्, जनताको चाहना प्रतिगामी, यथास्थितिवादी, पपुलिस्ट, अनुदार, अराजक पार्टी होइन । प्रतिगमन र पपुलिजमको दिवा सपना कसैले नदेखे हुन्छ । जनताको भावना र जेन–जी आन्दोलनले पनि उक्त वास्तविकताको पुनर्पुष्टि गरेको छ । 

वातावरणमैत्री आर्थिक नीति र दिगो विकासको उपयुक्त मोडेल के हो ? भ्रष्टाचार अन्त्य गरी सुशासनको प्रत्याभूति गर्ने तथा गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्यसम्बन्धी ठोस नीति के हो ? बेरोजगारी समस्याको कारणले दैनिक हजारौं युवा विदेश गइरहेको समयमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने दृष्टिकोण के हो ? सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज स्थापना गर्ने मार्गचित्र के हो ? तीनै तहका सरकारले सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने कार्यक्रम के हो ? सहकारी, लघु वित्त र मिटर ब्याजपीडित, किसान, भूमिहीन नागरिकका समस्या समाधान गर्ने ठोस नीति के हो ? अहिले नेपाली जनताका प्रश्न पनि यिनै हुन्, मुद्दा पनि यिनै हुन् र प्राथमिकता यिनै हुन् । ती समस्या समाधान गर्ने ठोस मार्गचित्र कुन पार्टीसँग छ ?

लोकतन्त्रवादी र भिजनरी नेतृत्व 

सिद्धान्त र नीतिपछि कुनै पनि पार्टीको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ भनेको नेतृत्व हो । तर नेपालको सन्दर्भमा सबैभन्दा ठूलो समस्या नै नेतृत्वमा छ । नेतृत्वबारे जनताको अपेक्षा स्पष्ट छ । पपुलिस्ट, अनुदारवादी र प्रतिगामी होइन, लोकतान्त्रिक प्रणालीलाई थप सबल, जनमुखी र कार्यमूलक बनाउने लोकतन्त्रवादी, उदारवादी र विश्वसनीय नेतृत्व खोजेका छन् ।

तिलस्मी नायक, जादुगर वा स्टन्टवाज होइन, समुन्नत नेपाल निर्माण गर्ने स्पष्ट दृष्टिकोण र मार्गचित्र भएको भिजनरी नेतृत्व खोजेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनका नाममा सत्ताको खेती गर्ने सौदागर होइन, सुशासनको प्रत्याभूति गराउने सदाचारी नेतृत्व चाहेका छन् । लोकतान्त्रिक अभ्यासका नाममा सत्ताको सिन्डिकेट चलाउने सत्तामुखी होइन, उत्तरदायी र पारदर्शी नेतृत्व खोजेका छन् । पार्टी प्रणालीका नाममा नेतातन्त्र, वृद्धतन्त्र र गुटतन्त्र होइन, वास्तविक लोकतन्त्र, स्वस्थतन्त्र र योग्यतातन्त्र (मेरिटोक्रेसी) खोजेका छन् । 

पुराना पार्टी पुस्तान्तरणसहित रूपान्तरण र पुनर्गठन होऊन् र नयाँ पार्टी भिजनरी नेतृत्वसहित लोकतन्त्रवादी र उदारवादी बनून् भन्ने जनताको चाहना हो । तर दुर्भाग्यवश जनताको आकांक्षाविपरीत पुराना पार्टी रूपान्तरित र पुनर्गठन नहुने र नयाँ पार्टी पनि लोकतन्त्रवादी र उदारवादी नबन्ने जोखिम बढ्दै गइरहेको छ । जनता र लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? 

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully