छिन्ताङका पीडित लडाकु महिलाहरू उमेरले ७० नाघिसके तर न्यायको अपेक्षा गरिरहेकै छन् । जब अरुण सुसाउँछ, छिन्ताङका महिला योद्धाका घाउ दुखिरहन्छ ।
What you should know
एउटा गीत छ– खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा... । यो मर्मस्पर्शी गीतले सम्झाइरहन्छ, २०३६ को त्यो ऐतिहासिक छिन्ताङ व्यथा । हामीले सुनिरहेकै/पढिरहेकै एक ठूलो घटना थियो त्यो । तर, जब म आफैं घटनास्थल पुगें, त्यो व्यथा नजिकबाटै महसुस गरें ।
वैशाख अन्तिम साता धनकुटाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताड गाउँ पुग्दा मेरो मस्तिष्कमा त्यही घटनाका दृश्यहरू ओहोरदोहोर गरिरहे । गाउँ पुग्दा आँगनको पिँढीमा अघिल्लो लहरमा लस्करै थिए– २०३६ को किसान आन्दोलनमा जेल परेका पुरुषसँगै तीन महिलाहरू ।
त्यो छिन्ताङ हत्याकाण्ड
२०३१ मा बम देवान नामका एक शिक्षक धनकुटा पुगेका थिए । उनको उपस्थितिसँगै गाउँका केटाकेटीले विद्यालयमार्फत औपचारिक शिक्षा प्राप्त गर्न थाले । एक किसिमको जागरण गाउँमा फैलन थालेको थियो । स्थानीय र युवाहरू संगठित भएर न्यायको आवाज उठाउन थालेका थिए ।
२०३६ सालमा खोकु छिन्ताङ गाउँमा भोकमरी लाग्यो । तर, गाउँका सीमित धनी किसानले वर्षाौंदेखि अन्नपात भण्डार गरिराखेका थिए । गाउँलेहरू भोकले गाउँ छाड्ने अवस्था आउँदा केही मानिसले भने घरमा वर्षौंलाई पुग्ने र बेच्नका लागि पनि अन्न भण्डार गरिराखेकै थिए ।
यस्तैमा गाउँका केही युवाले जमिनदारको घरमा भएको अन्न ‘पछि तिर्ने सर्तमा’ अनिकालमा परेका जनतालाई बाँड्न आग्रह गरे । केहीले माने, केहीले मानेनन् ।
अभाव र अनिकालको चपेटामा परेका किसानसँग कुनै विकल्प थिएन । गाउँमा अनिकाल लाग्दा अन्नपात लुकाएर राख्ने किसानसँग जत्ति आग्रह गरे पनि अन्न सापट दिन तयार नभएपछि युवा र किसानको समूह एकजुट भएर धनीहरूकहाँ पुगे र भकारी फोर्ने अभियान सुरु गरे । र, साहु परिवारलाई वर्षैभरि खान पुग्ने अन्न राखेर बाँकी अन्न ‘पछि तिर्ने सर्तमा’ स्थानीयलाई वितरण गर्न थालियो ।
त्यो भकारी कब्जा–काण्डले उग्र रूप लियो । स्थानीय चिन्ताबहादुर पौडेल र बकसमान राईले अन्नपात कब्जा गर्नेहरूविरुद्ध तत्कालीन जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे । त्यही उजुरीका आधारमा २०३६ असारदेखि स्थानीय युवा किसानमाथि धरपकड सुरु गरियो ।
छिन्ताङ हत्याकाण्डसँगै ओझेल पर्यो बलात्कार घटना
छिन्ताङ हत्याकाण्डमा गाउँले युवा तथा पुरुष किसान मात्रै पीडित थिएनन् । त्यसबेला दर्जनौं महिलाले भोग्नुपरेको बलात्कार, हिंसा, अपमान र मानसिक यातनाको लामो शृंखला छ । जुन विषय सबै ओझेल पर्छ । स्थानीयका अनुसार, त्यस घटनामा गर्भवती लक्ष्मी राई र दुई दिनकी सुत्केरी श्रीमाया राई (हाँकखिला साइँली) लाई बच्चासहित घिसार्दै बारीको पाटामा पुर्याएर बलात्कारपछि हत्या गरिएको थियो ।
चरम दमन र यातनाका बाबजुद बाँचे पनि मानसिक र शारीरिक रूपमा विक्षिप्त झपेन्द्र राईको उपचारको अभावमा माघमा मृत्यु भएको थियो । उक्त घटनासँग सम्बन्धित ३१ जना युवालाई गिरफ्तार गरी डकैतीको अभियोगमा १८ वर्षसम्म सजाय माग गरी विभिन्न जेलमा राखिएको थियो । उनीहरूका पक्षमा अधिवक्ता सुवास नेम्वाङ र शम्भु थापाले वकालत गरेका थिए ।
२०४३ सालमा त्यस मुद्दाको बयानका क्रममा कृष्णबहादुर राईले ‘आफूले तमसुक गरेर राजीखुसीमा अन्न र पैसा दिएको’ बताएपछि मुद्दा पीडित पक्षले जित्यो र साढे सात वर्षपछि ती जेलमुक्त भए । तीमध्ये धेरैको मृत्यु भइसकेको छ ।
मसँगको संवादका क्रममा छिन्ताङका स्थानीय रेखा राई, नारायणदल राई, बकसमान राईका छोरा रामप्रसाद राई, मर्दबहादुर राई, पोखमान राई, चित्रमान राई, मल्सुराम राई, गोकेलमान राई, गुर्दबहादुर राई, शुक्तबहादुर राई, मीना राई, विरिमध्वज राई, बालुन्सरी राई, शारदा राई, बुद्धमान राई, कृष्ण राई, गोर्खमाया राईलगायतले महिलामाथिको यातना र बलात्कारका फेहरिस्त सुनाएका थिए ।
त्यसबेला मारिने र जेल पर्ने पुरुषका श्रीमतीहरूलाई प्रहरी र गाउँका अन्य ठालुहरूले नियोजित रूपमै अर्को बिहे गर्न दबाब दिएका थिए । ‘जेल परेका श्रीमान् घर फर्किने टुंगो छैन, अर्को बिहे गर्नु’ भन्दै प्रहरी र ठालुहरूले मानसिक दबाब दिएको उनीहरू सुनाउँछन् ।
श्रीमान् लामै समय जेल परेर परिवारै विघटित बन्ने अवस्था आउँदा कतिपय महिलाले गाउँमै अर्को बिहे गरे । तर, वर्षौंपछि जेलबाट छुटेर आएका ती किसानहरूले श्रीमतीलाई अर्कैसँग बिहे गरेको देख्दा पनि कुनै आक्रोश पोखेनन् ।
संवादमा के पनि थाहा भयो भने, घरमा बस्ने–खाने र सुरक्षाको पनि बन्दोबस्त थिएन । यस्तोमा आफू घर फर्कने टुंगो नभएपछि बालबच्चा र श्रीमतीले अर्को बिहे गर्दा सुरक्षा पाएकामा श्रीमान्हरू खुसी थिए । यसरी अर्को बिहे गर्नेमध्ये कतिपय महिला पूर्वपतिसँग र पुरुष पूर्वपत्नीसँग सौहार्द व्यवहार गर्छन्, मेलापातमा पनि सरसहयोग गरिरहेकै छन् ।
जो गणतन्त्रको नजरमा परेनन्
पुरुषसँगै लडाइँमा होमिएका महिलामाथि निकै दमन भएको थियो । प्रहरी गाउँ–गाउँ छिर्यो, महिला–पुरुषलाई जहाँ भेट्यो, त्यहीँ लखट्ने–कुट्ने गर्थ्यो । आन्दोलनमा पुरुषसँगै होमिएकी योद्धा हुन्– रेखा राई, जसले अभाव र संघर्ष मात्रै भोगिनन्, महिलामाथिका यातना र हिंसा पनि प्रत्यक्ष देखिन् । प्रहरीबाट बालिका र आमाहरू बलात्कृत भएका थुप्रै घटनाको उनी प्रत्यक्षदर्शी हुन् । त्यो पीडा अझै बिर्सन सकेकी छैनन् । सुत्केरी र गर्भवती महिला पनि सुरक्षित थिएनन् ।
रेखाका अनुसार, थुप्रै पुरुष किसानलाई पक्राउ गर्दै विभिन्न मुद्दामा जेलमै सडाइने भएपछि ३० जनाभन्दा धेरै महिलाको समूह प्रहरी चौकी घेराउ गर्न गयो, केहीले श्रीमान्लाई पक्राउबाट जोगाउन प्रहरीसँग भिडे, नाराबाजी लगाए । प्रहरीले भने आन्दोलनकारी महिलालाई धम्की दिन थाल्यो ।
प्रहरीको ज्यादती, यातना र धम्कीका बाबजुद गाउँमै डटेर बसिरहेका तीन महिला थिए– रेखा, मीना र शारदा राई । ती श्रीमान् जेल पर्दा पनि गाउँमै राजनीतिक छलफल र सभामा सहभागी हुन्थे । ‘श्रीमान्लाई जेलमै सडाए पनि अर्को बिहे नगर्ने’ भन्दै राजनीतिक गतिविधिमा सक्रिय महिला प्रहरीको आँखामा तारो बनिरहे ।
बहुदल आएपछि २०४७ सालमा छिन्ताङ–काण्डमा सामाजिक न्यायका लागि सहादत भएका १६ परिवारलाई प्रतिपरिवार एक लाख र जेल जीवन बिताएका ३१ परिवारलाई ५० हजार रुपैयाँ राज्यले क्षतिपूर्ति दियो । तर, प्रहरीको कुटाइपिटाइ, मानसिक यातना र हिंसाका बाबजुद गाउँमै संघर्ष गरिरहेका लडाकु महिलाहरू भने अझै ओझेलमै छन् । बलात्कृत महिलाहरूले पनि क्षतिपूर्ति पाउन सकेनन् । गणतन्त्र स्थापनापछि पनि छिन्ताङका लडाकु पीडित महिलाले राज्यबाट कुनै राहत पाएका छैनन् ।
छिन्ताङका पीडित लडाकु महिलाहरू उमेरले ७० नाघिसके तर न्यायको अपेक्षा गरिरहेकै छन् । जब अरुण सुसाउँछ, छिन्ताङका महिला योद्धाका घाउ दुखिरहन्छ ।
