भू–स्वामित्वबाट वञ्चित महिला किसान

महिला किसानहरू भू–स्वामित्वको अधिकारबाट वञ्चित छन् । ती खेतीपातीमा कृषि–मजदुरी गर्छन्, तर भू–स्वामित्व नहुँदा दुःखी र निराश छन् ।

कार्तिक २५, २०८२

पार्वती थामी

Women farmers deprived of land ownership

What you should know

मौसम बदलीले किसानलाई पछिल्लो समय असाध्यै दुःख दिन थालेको छ । दुःख गरेर बाली लगायो, भित्र्याउने बेला वर्षाले दुःख दिन्छ ।

लगानी गरिएको, श्रम–पसिना बगाएको खेती र अन्नबालीमा क्षति पुगेपछि किसानहरूमा कसरी बाँच्ने भन्ने चिन्ता थपिएको छ । यस पटकको वर्षाले पनि किसानलाई अघिल्ला वर्षहरूमा झैं दुःख थपिदियो ।

माटोसँग किसानहरूको नाता नङ र मासुजस्तै जोडिएको हुन्छ । जमिन छ, किसान छ । किसान छ र उत्पादन छ । उत्पादन छ र हामी मानिस बाँचिरहेका छौं । हामी किसानहरू माटोलाई जीवन सम्झन्छौं । हरेक दिन बिहानीको मिरमिरेदेखि साँझसम्मै माटोसँग खेल्छौं । किसान मात्रै होइन, हामीहरू जोकोही पनि माटोबिना बाँच्नै सक्दैनौं । माटोले नै संसार थेगेको छ । सारा दुनियाँलाई जीवनदान दिएको छ माटोले । र, बचाएको पनि छ । अनि मानव–पृथ्वी चलेको छ ।

हाम्रो कृषिप्रधान देश नेपालमा ६० प्रतिशत मानिस कृषि कर्ममा निर्भर छन् । तर, कहिले खोला–बाढी, कहिले सुक्खा–खडेरीले किसानलाई समस्या दिइराखेकै हुन्छ । त्यो समस्या यस्तो छ, जसले किसानलाई दुई छाक पेट भर्नै पनि धौ–धौ पर्छ ।

नेपालीहरू, जो अधिकांश कृषि पेसामै सम्बन्धित छन् । तर, उनीहरूसँग उत्पादनका लागि पर्याप्त जमिन छैन । अधिकांश किसान अरूकै जमिनमा परिश्रम, ज्यालादारी गर्न बाध्य छन् । केही किसान अरूको जग्गा भाडामा लिएर भए पनि खेती गर्ने, आफ्नो परिवार पाल्ने र जग्गा प्रयोगबापत अन्नपात अधियाँका रूपमा तिर्न बाध्य छन् । किसानी गर्ने, तर भूमिहीनहरू पनि हामीकहाँ धेरै छन् । उनीहरू खोलाको बगर, नदी–उकासको जग्गा, वन–जंगल छेउको जग्गा, ऐलानी जग्गामा खेती गर्छन् र केही अन्नपात जोहो गर्ने गर्छन् । एकातिर खेती गर्न लागत बढी पर्ने, अर्कोतर्फ विभिन्न मौसमी प्रकोप एवं वन्यजन्तुको असर पनि पर्ने भएकाले किसानलाई खेती गर्न उति सजिलो छैन । त्यसैले त पछिल्लो समय जग्गा बाँझै छाडिदिने चलन बढ्न थालेको छ ।

एकातिर जलवायु परिवर्तनको असर बढ्दो छ, अर्कोतिर गाउँघरमा समेत खेती गर्न जनशक्ति उपलब्ध नहुने समस्या थपिएको छ । किसानहरू परम्परागत खेतीमै तल्लीन छन्, उता जलवायु परिवर्तनको असरले थलिएका छन् । जलवायु अनुकूलन खेतीबालीका लागि सरकारले स्थानीय किसानलाई पर्याप्त ज्ञान र स्रोत उपलब्ध गराउन सकेको छैन । जसले गर्दा किसानमा पर्याप्त नयाँ परिवेश र परिवर्तित मौसम अवस्थाको जानकारी नहुने हुँदा ती बर्सेनि धेरै क्षति व्यहोर्न बाध्य छन् । अर्कोतर्फ मौसम विभागले जानकारी गराए पनि किसानहरू (जो ग्रामीण भेगमा बसोबास गर्छन्) सम्म त्यो सूचना पुग्दैन र पुगे पनि पत्याइहाल्ने अभ्यास नभएको हुँदा खेतीबालीको क्षति बढ्ने गर्छ । केही हप्ताअघि भएको वर्षाले पनि बाली भित्र्याउने मुखमै पुगेको धानबालीमा भयानक ठूलो क्षति हुन पुग्यो ।

यहाँ असर पर्ने भनेको किसानलाई न हो । क्षति पुग्ने भनेको किसानलाई नै हो । अरूलाई त खेतीबालीको मतलबै छैन । किसानबाहेक जागिर गर्ने, राजनीति गर्ने, कर्मचारी लगायतलाई बजारबाट किनेर खाने ज्ञान मात्रै छ । उनीहरूलाई किसानको खास समस्याबारे भेउ नै छैनजस्तो देखिन्छ ।

नेपालका किसानहरू अधिकांश गरिबीमा छन् । गरिब किसानमध्ये पनि बढी पीडितचाहिँ महिला किसान हुन्छन् । खेतीपातीमा अहिले पनि पुरुषको तुलनामा महिलाको योगदान बढी छ । खेतीपाती लगाउने, गोडमेल गर्ने, उत्पादन गर्ने, त्यसको सुरक्षित भण्डारण गर्ने र बनाएर खुवाउनेसम्मको भूमिकामा महिलाको अतुलनीय योगदान रहिआएको छ । र, यसबाट उत्पन्न भइरहेको समस्याको बढी मार पनि महिला किसानमै परिरहेको छ, चिन्ता उनीहरूलाई नै बढी छ । अर्कोतर्फ उत्पादन भएको अन्नपात घरमै भण्डारण गरिराख्न र लामो समय सुरक्षित गर्न पनि चुनौती छ ।

पछिल्लो समय अन्नबालीमा रोग–किराको आक्रमण पनि बढ्दो छ । किनभने आजकल गरिने खेतीपातीमा अधिकांश बीउबिजन हाइब्रिड छन् । पहिले–पहिलेको जस्तो आजकाल अन्नबाली लामो समय जोगाएर राख्न सकिने अवस्था नै हुन्न । यी सबैको पीरचिन्ता भने महिला किसानलाई बढी छ ।

यिनै महिला किसान भू–स्वामित्वको अधिकारबाट पनि वञ्चित छन् । उनीहरूसँग जग्गा जमिनको स्वामित्व छैन । अधिकांश साना किसान, भूमिहीन किसान परिवारको महिलासँग त झन् भूमिको पहुँच नै छैन । उनीहरू खेतीपातीमा परिश्रम गर्छन्, कृषि मजदुरी गर्छन् तर भूस्वामित्व नहुँदा दुःखी छन्, पीडित छन् ।

हाम्रै भूमि अधिकार आन्दोलनको मागअनुसार, सरकारले संयुक्त लालपुर्जा बनाउने नीति ल्यायो । जसअनुसार जग्गा–जमिन हुनेले श्रीमान्–श्रीमतीका नाममा संयुक्त स्वामित्व कायम गराउन सक्छन्, तर यो अभियान पनि प्रभावकारी रूपमा अघि बढ्न सकेन । यो नीतिलाई देशैभरि सबैले अनुसरण गरेर अभ्यासमा लैजानुपर्ने हो । त्यसले मात्रै महिला किसानको स्वामित्वमा जमिनको स्वामित्व पुग्न मद्दत गर्ने थियो ।

अर्कोतर्फ वर्षौंदेखि भू–स्वामित्वको माग गरिरहेका भूमिहीन परिवारले नै जग्गाको स्वामित्व नपाएको हुँदा ती परिवारका महिला किसान अझै बढी स्वामित्वबाट वञ्चित छन् । राज्य अनि सरकारले यी वर्गको माग सुनुवाइ गरिरहेको छैन ।

एउटा अर्को आशा थियो । त्यो निराशामा परिणत भयो जेन–जी आन्दोलनपछि । किनकि भूमि आयोग थियो, जसले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारका लागि जग्गा दर्ता र जग्गा व्यवस्थापनको काम गरिरहेको थियो । त्यो आयोग जेन–जी आन्दोलनपछि बनेको सरकारले विघटन गरिदियो । त्यसपछि त झन् भूमिहीन र महिला किसानमाथि ज्यादै ठूलो दुःखद पीडाको अवस्था सिर्जना भएको छ ।

नेपालको संविधानले दिएको हकसमेत भूमिहीन परिवारले उपयोग गर्न पाएनन् । यसमा सरकारले आयोग खारेज गरिदिएपछि काम रोकियो र लालपुर्जा पाउने आशामा रहेका सबै भूमिहीन परिवारमा निराशा छायो ।

अहिले त देशमा महिला प्रधानमन्त्री हुनुहुन्छ । यो नेपाली इतिहासमा एउटा सुनौलो अवसर पनि हो । यस अवस्थामा प्रधानमन्त्रीले नै एउटा अधिकारसम्पन्न भूमि आयोग बनाएर महिला किसानदेखि सम्पूर्ण भूमिहीनसम्मको भूमि हक दिलाउने गरी कार्यादेश दिएर अघि बढी दिने हो भने वर्षौंदेखिको जमिनको स्वामित्वमा रहेका भूमिहीन एवं किसानलाई न्याय हुने थियो ।

पार्वती

Link copied successfully