मधेश प्रदेश : स्थिरताको चाहना, अस्थिरताको अभ्यास

सोनललाई विश्वासको मत दिनु वा नदिनु दलहरूको रोजाइको विषय हो । सांसदहरूको विवेकको विषय हो । भोलि अरू कोही व्यक्ति मुख्यमन्त्री भए पनि रोजाइ र विवेक प्रयोगको स्वतन्त्रता रहन्छ नै । तर विषय यतिमा मात्रै सीमित छैन । दल र सांसदहरूले निर्णय लिँदा कस्तो नतिजा निस्किन्छ, हेक्का राख्नुपर्छ ।

कार्तिक २४, २०८२

सम्पादकीय

Madhesh Province: Desire for stability, practice of instability

What you should know

स्थिरताको समेत माग राखेर जेन–जीले आन्दोलन गरेकै साता मधेश प्रदेशका मुख्यमन्त्री बनेका जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिनुपरेपछि अस्थिरताको सम्भावना बढेको छ । शनिबारको प्रदेशसभा बैठकमा सोनलले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका भए पनि पाउने सम्भावना नरहेपछि ‘फ्लोर’ बाटै सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएका मुख्यमन्त्री सोनलको राजीनामासँगै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया कसरी अघि बढ्नेछ, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको विवेकले निर्धारण गर्नेछ । तर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको मतिमा हेरफेर नआएमा तत्काल जोसुकै मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउन कठिन हुनेछ ।

त्यस्तो स्थितिले अन्ततः प्रदेशलाई विघटनतर्फ लैजानेछ । त्यसैले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू गम्भीर हुन जरुरी छ । उनीहरूले अस्थिरतालाई होइन, सभा र सरकारको पूर्ण अवधिका लागि प्रयत्न गर्नुपर्छ । त्यसमार्फत जनअपेक्षाको पूर्तिलाई प्राथमिकता दिनुपर्छ ।

सोनल २९ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनी उनको दल लोकतान्त्रिक समाजवादी पार्टीका अतिरिक्त जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ५६ प्रदेशसभाको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनले विश्वासको मत लिने दिनसम्म आइपुग्दा उनलाई समर्थन गरेका दलका सांसदकै मत नपाउने स्थिति बन्यो ।

कतिपय सांसद बैठकमै उपस्थित भएनन्, कतिपयले बैठकबाटै मत नदिने बताए । जस्तो कि, शनिबारको प्रदेशसभामा सम्बोधन गर्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहवर अन्सारीले आफूले पक्ष वा विपक्षमा मत नदिने घोषणा नै गरे । बोल्ने सूचीमै नरहेका अन्सारीको सम्बोधनपछि नै माओवादीभित्रको विवाद सार्वजनिक भएको थियो । सभामुखको पनि आलोचना भएको थियो । बैठक स्थगित भएर पुनः बस्ने बेलासम्ममा सोनलले विश्वासको मत नपाउने निश्चित भयो । विवादका बीच उनले ‘फ्लोर’ बाटै सम्बोधन गरेर राजीनामा दिए ।

२०७४ मा गठित पहिलो प्रदेशसभाको अवधिभर लालबाबु राउत मुख्यमन्त्री भएका थिए । पहिलो कार्यकालमा मधेश र सुदूरपश्चिमका मुख्यमन्त्रीले मात्रै पूर्ण अवधि काम गरेका थिए । जबकि, त्यतिबेला बाँकी पाँच वटै प्रदेशमा पटकपटक सरकार परिवर्तन भएको थियो । २०७९ मा गठित सबैजसो प्रदेशमा सुरुवातदेखि नै सरकार परिवर्तन भइरहेका छन् । संघीय सरकारमा उथलपुथल आउनासाथ प्रदेशहरूमा पनि असर देखिने गरेको छ । अस्थिरता निम्तिने गरेको छ ।

संघदेखि प्रदेशसम्मका सरकार पटकपटक बन्ने र ढल्ने प्रवृत्तिले पनि जनतालाई दिक्दार तुल्याएको छ । नेताहरूको ध्यान नै सरकार बनाउन र ढलाउन केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त भएको छ । यस्तै प्रवृत्तिलाई देखाएर कतिपयले शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्ने आवाज पनि उठाउन थालेका छन् । त्यस्तो स्थितिमा संघीयता र संसदीय प्रणालीका पक्षधरले नकारात्मक सन्देश जाने किसिमको निर्णय लिन दलहरू अग्रसर हुनु हुँदैन । संघीयताको आवाजको जननी मधेश प्रदेश नै हो । संघीयताको सफलता यो प्रदेशको कार्यशैलीमा पनि निहित छ । त्यसैले मधेश प्रदेशमा हुने सत्ता खेलोफड्कोले संघीयतालाई नै कमजोर तुल्याउन सक्नेतर्फ सम्बन्धित सबै सचेत हुनुपर्छ ।

प्रदेशसभाको सत्ता हेरफेरमा ‘काठमाडौं’ हाबी हुने गरेको छ । प्रदेशका मुख्यमन्त्री कसलाई बनाउने, मन्त्री र राज्यमन्त्री कसलाई बनाउने, सभामुख र सचेतक कसलाई बनाउने भनेर काठमाडौंका कोठाचोटामा निर्णय हुने गरेका छन् । दलहरूले संघीयताको मर्मअनुसारको व्यवहार देखाउनै सकेका छैनन् । यस पटक पनि माओवादी केन्द्रका संयोजक (अहिले नेपाली कम्युनिस्ट पार्टी) ले प्रदेश संसदीय दलको नेता अदलबदलमा समेत हस्तक्षेप गरिरहेका थिए ।

उनले प्रदेश सभामुखलाई पत्र पठाएर मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएको अवगत गराएका थिए । उनले संघीयताको मर्मविपरीत अभ्यास त गरेकै थिए, आफ्नै प्रदेशसभाका सदस्यहरूको विवेकलाई समेत बन्धक बनाउन खोजेका थिए । त्यसप्रतिको असन्तुष्टि शनिबार प्रदेशसभामै प्रकट भयो । माओवादीका अन्सारी र माला कर्णले मुख्यमन्त्रीलाई मत नदिने निर्णय सुनाए । यतिबेला माओवादी केन्द्र सन्दर्भमा भए पनि सबैजसो दलको मनस्थिति र व्यवहार करिब यस्तै छ । जसलाई जेन–जी आन्दोलनले पनि बदल्न सकेको देखिँदैन ।

सोनललाई विश्वासको मत दिनु वा नदिनु दलहरूको रोजाइको विषय हो । सांसदहरूको विवेकको विषय हो । भोलि अरू कोही व्यक्ति मुख्यमन्त्री भए पनि रोजाइ र विवेक प्रयोगको स्वतन्त्रता रहन्छ नै । तर विषय यतिमा मात्रै सीमित छैन । दल र सांसदहरूले निर्णय लिँदा कस्तो नतिजा निस्किन्छ, हेक्का राख्नुपर्छ ।

यथास्थितिलाई अस्वीकार गर्नेहरूले उन्नत विकल्पतर्फ प्रदेशलाई लैजाने खाका प्रस्तुत गर्नुपर्छ । त्यसको विश्वास दिलाउनुपर्छ । नत्र झन् बढी असन्तुष्टि बढ्छ, सबै खराब नै हुन् भन्ने मान्यता बलियो बन्छ । सोनलको राजीनामासँगै मधेश प्रदेशसभा विघटनतिर पो जाने हो कि भन्ने आशंका पनि व्यक्त भएका छन् । किनकि, अहिलेको मनस्थितिमा जो मुख्यमन्त्री बने पनि विश्वासको मत पाउन कठिन छ । हुन त प्रदेशसभा कायमै रहनु वा विघटन हुनु संवैधानिक प्रावधानले निर्दिष्ट गरेकै प्रक्रिया हो । यद्यपि, यस्ता स्थिति यतिबेला स्वाभाविक होइनन् । सामान्य समय भएको भए त्यसैअनुसार लिन सकिन्थ्यो । समय सन्दर्भका कारण त्यस्तो अवस्थाले नागरिकमा निराशा थपिन सक्छ । यसलाई सबै दलले मनन गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully