सबै अट्ने कांग्रेस

जेन–जी आन्दोलन र फागुन २१ को निर्वाचनको चुनौतीले दिएको अवसरलाई उपयोग गर्दै कांग्रेसले तत्काल महाधिवेशनको स्पष्ट कार्यतालिकामा नेतृत्वको वैधता सुनिश्चित गर्नुपर्छ ।

कार्तिक २१, २०८२

डिला संग्रौला

All-inclusive Congress

What you should know

वर्तमान समयमा नेपाली कांग्रेसको राजनीतिक वृत्त एक गम्भीर आत्ममन्थन र संगठनात्मक रूपान्तरणको दबाबमा गुज्रिरहेको छ । देशले भर्खरै बेहोरेको ‘जेन–जी’ विद्रोह र त्यसपछिको राजनीतिक शून्यताले कांग्रेसलाई पुरानो कार्यशैली, नेतृत्वको एकाधिकार र जनताप्रतिको जवाफदेहितामाथि कठोर आत्मसमीक्षा गर्नुपर्ने घडीमा उभ्याएको छ ।

१५ औं महाधिवेशनको समयसीमा नजिकिँदै गर्दा पार्टीभित्रका युवा पुस्ताले एक सशक्त ‘पार्टी सुधार अभियान’ मार्फत आमूल परिवर्तनको एजेन्डालाई केन्द्रीय बहसका रूपमा स्थापित गरेका छन् । 

यो अभियान केवल भावनात्मक आन्दोलन होइन, पार्टी विधानमै युग सुहाउँदो परिवर्तनको वैधानिक आधार खोज्ने प्रयास हो । उनीहरूको मुख्य माग हो– पार्टीका हरेक तह र निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत प्रतिनिधित्व युवालाई सुनिश्चित गरिनुपर्छ । तिनको तर्क छ– देशमा युवा जनसंख्याको ठूलो हिस्सा रहेका बेला पार्टीको नीति निर्माण तहमा पुरानै पुस्ताको निरन्तर प्रभुत्व कायम रहँदा कांग्रेसले जनभावनालाई प्रतिनिधित्व गर्न सकेको छैन । निर्वाचनमा ४० प्रतिशत टिकट युवालाई दिइने वैधानिक व्यवस्था गरिए मात्रै सीमित व्यक्तिले बारम्बार मौका पाउने पुरानो रोगको उपचार सम्भव हुनेछ । त्यसैले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आमूल सुधार र रूपान्तरणका लागि सही निर्णय गरेर अगाडि बढ्नु आवश्यक छ । 

यो युवा अभियानले अघि सारेको सबैभन्दा क्रान्तिकारी एजेन्डा हो– निर्वाचित पदहरूमा कार्यकालको सीमा तोक्ने प्रस्ताव । सीमित व्यक्ति नै पटक–पटक आमनिर्वाचनमा उम्मेदवार बन्ने, पार्टी र सरकारमा लाभका पद तिनैले ओगटिरहने प्रवृत्ति अन्त्य गर्न युवाले केही कडा वैधानिक व्यवस्था माग गरेका छन् । तिनको प्रस्ताव छ– अब एक व्यक्ति सांसद (प्रत्यक्ष वा समानुपातिक) कति पटकभन्दा बढी बन्न नपाउने, त्यो स्पष्ट व्यवस्था गरिनुपर्छ । र, यो प्रस्तावले नेपाली कांग्रेसभित्र पुस्तौंदेखि जरा गाडेको ‘आजीवन राजनीतिक करिअर’ र ‘पटक–पटक अवसर पाउने’ संस्कृतिलाई जरैदेखि उखेल्ने लक्ष्य राखेको छ । अब राजनीतिमा नयाँ, योग्य र इमानदार व्यक्तिका लागि ढोका खुल्नेछ र नेतृत्व जनभावना र कार्यकर्ताप्रति जवाफदेही बनिरहनेछ । पार्टी र सरकार सञ्चालन गर्ने व्यक्ति फरक–फरक हुनुपर्ने माग पनि अघि सारिएको छ, जसले शक्ति सन्तुलन कायम गर्न र पार्टीलाई सरकारको छायाबाट मुक्त गर्न मद्दत गर्नेछ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ देखि सुरु भएर बीचमा तिहार र छठका कारण स्थगित भई हाल पुनः बसिरहेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चलिरहेको यो बैठकमा ‘जेन–जी’ प्रदर्शनपछिको राजनीतिक अवस्था र पार्टीको भूमिकामाथि गहन छलफल भइरहेको छ । जेन–जी आन्दोलनले बाहिरबाट दिएको दबाब र पार्टी सुधार अभियानले भित्रबाट सिर्जना गरेको दबाबबीच केन्द्रीय कार्यसमितिले अब ठोस सुधारका एजेन्डा पारित गर्नुपर्छ । सभापति शेरबहादुर देउवाको वर्तमान कार्यकाल मंसिरभित्रै सकिँदै छ । यस अवस्थामा विशेष महाधिवेशन मागसहित महाधिवेशन प्रतिनिधि (५४ प्रतिशतभन्दा बढी) ले हस्ताक्षर बुझाएका छन् । अहिलेको मुख्य चुनौती हो– पार्टीलाई कसरी एकजुट पारेर लैजाने ? पार्टीभित्र सबैखाले अभिमत सम्मान गरिनुपर्छ । बहुमतको डन्डा चलाउन खोजे पार्टी विभाजित हुन सक्ने खतराबारे पनि सचेत रहनुपर्छ । 

रूपान्तरणको अपरिहार्यता

अन्तरिम सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन फागुन २१ मा गर्ने घोषणा गरेको छ । तोकिएकै मितिमा चुनाव गराउन प्राविधिकभन्दा सुरक्षासम्बन्धी चुनौती बढी गम्भीर छन् । हजारौं कैदीबन्दी जेलबाहिर छन्, ठूलो मात्रामा हातहतियार लुटिएको छ । यो स्थिति सम्बोधन गर्न सरकारले जुन तत्परता र क्षमता देखाउनुपर्ने हो, त्यो देखिएको छैन । त्यसैले प्रतिनिधिसभा चुनावभन्दा ताजा जनादेश लिनेतर्फ कांग्रेस अघि बढ्नुपर्छ । 

यसै वर्षको सुरुमा काठमाडौंमा आयोजित राष्ट्रिय दलित गोलमेच सम्मेलनले नेपालका प्रमुख राजनीतिक दलहरूले सदियौंदेखि हेपिएका दलित समुदायलाई तिनको हक सुनिश्चित गर्नु सट्टा भोट बैंकका रूपमा आफूलाई प्रयोग गरिरहेको ठहर गरेको थियो । लामो समय पहिचानको लडाइँ लडेको आदिवासी–जनजातिले आफ्नै समुदायको नेतृत्व चाहेको देखिन्छ भने मधेशी, थारू, मुसलमानलगायतका समुदायले पनि ठूला राजनीतिक दलहरूले आफ्ना समस्यालाई पर्याप्त सम्बोधन नगरेको गुनासो गरिरहेका छन् । 

मुलुकको सार्वभौम अस्तित्व र संविधानमाथि जुन संकट देखिएको छ, धेरै दल गठन गरेर वा छुट्टाछुट्टै चुनाव लडेर त्यो समाधान गर्न सकिँदैन । लोकतन्त्र, राष्ट्रियता, उदारवाद र सामाजिक न्यायप्रति विश्वास गर्ने, वर्तमान संविधानमाथि आस्था राख्ने सबै शक्ति एक ठाउँमा आउनु आवश्यक छ । नेपालका सबै जातजाति, भाषाभाषी, धर्म, समुदाय, वर्ग र पुस्ताको प्रतिनिधित्व गर्ने, बीपी कोइरालालगायतका संस्थापक नेताहरूले परिकल्पना गरेको ‘सबै नेपाली अटाउने’ एक ‘बिग टेन्ट’ पार्टीका रूपमा नेपाली कांग्रेसलाई रूपान्तरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो । त्यसैले कांग्रेसले आगामी महाधिवेशनद्वारा नयाँ नीति, नेतृत्व, कार्यक्रम र कार्यशैलीसहित जनतामा जाने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । सबै लोकतान्त्रिक शक्ति साथै लिएर समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने घोषणापत्रसहित आमचुनावमा गएर जनताको समर्थन प्राप्त गर्ने आँट कांग्रेसले गर्नुपर्छ । र, भ्रष्टाचारमुक्त सुशासन दिने, हिजोका गल्ती–कमजोरीहरूको समीक्षा गर्दै ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्छ । 

अब नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले पुरानो ढर्रा छाडेर युवाको ऊर्जा आत्मसात् गर्नुपर्छ । ‘सबै जुट्ने र सबै अट्ने कांग्रेस’ बनाउन पार्टी विधानमा ४० प्रतिशत युवा प्रतिनिधित्व, नेतृत्वको पदमा कार्यकालको सीमा र पार्टी सञ्चालनमा नयाँ पुस्तालाई विशेष प्राथमिकता दिनुपर्छ । जेन–जी आन्दोलन र फागुन २१ को निर्वाचनको चुनौतीले दिएको अवसरलाई उपयोग गर्दै कांग्रेसले तत्काल महाधिवेशनको स्पष्ट कार्यतालिकामा नेतृत्वको वैधता सुनिश्चित गर्नुपर्छ । 

यी कठोर र अपरिहार्य सुधारका एजेन्डा आत्मसात् गर्न सके मात्रै नेपाली कांग्रेस संकटबाट मुक्त भई राष्ट्रिय राजनीतिको सशक्त र भरपर्दो शक्ति बनेर उदाउनेछ । परम्परागत बेथितिमा अल्झिरहने हो भने इतिहासले कसैलाई माफी दिने छैन ।

–पूर्वसांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

डिला प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

Link copied successfully