राजनीतिक संस्कारको पुनर्लेखन

तर अब हामीलाई एकल नायक होइन, सामूहिक चेतना चाहिएको छ । जसले आफ्नै ठाउँबाट सानो तर इमानदार प्रयास गर्छ, त्यही नै नयाँ राजनीतिक संस्कारको बीउ हो ।

कार्तिक १८, २०८२

आकृति घिमिरे

Rewriting political culture

२३ भदौअघिको नेपाल सम्झन मन लाग्यो । नीतिगत भ्रष्टाचारले व्याप्त, शिक्षित बेरोजगारले भरिएका सहर, अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको घुइँचो, बाँझा खेत र श्रमका लागि छुट्टिएका परिवार– यही त थियो ।

सामन्तविरुद्ध लडेकाहरू सत्तामा पुगेपछि आफैं सामन्त भए । न मिटरब्याजका समस्या हल गरे, न सहकारी पीडितका, न लघुवित्त पीडितका । न निर्मला पन्तको हत्यारा समाते, न निर्मला कुर्मीलाई न्याय दिए । हामीले राजनीतिक संस्कार पुनःपरिभाषित नगर्ने हो भने अर्को पुस्ताले पनि नेपालको स्थितिलाई यसरी नै व्याख्या गर्लान् ।

हाम्रो राजनीतिक संस्कार अचम्मको छ । एकातिर हामी सबै कर्मचारीलाई घुस्याहा भनेर पारिवारिक छलफलमा गाली गर्छौं, अर्कातिर आफ्नै ‘भिनाजु’ ले सरकारी तलब मात्रै थापेर दुई वर्षमै घर बनाएकामा मक्ख पर्छौं । राजनीतिक दलहरू पटकपटक फुट्दै र जुट्दै गरेको पचाउँछौं, तर जेन–जीका फरक समूहलाई ‘किन एक नभएको ?’ भन्छौं । नेताले काम गरेन भनेर चिया पसलमा आलोचना गर्छौं तर अफिसको सामान्य कार्यक्रममा नेतालाई नै रिबन काट्न बोलाएर चार घण्टा व्यतीत गराउँछौं । यही राजनीतिक संस्कारको उपज हो, यो निवर्तमान शासन पद्धति र ती अकर्मण्य सरकारहरू ।

यसकारण, राजनीतिक संस्कार भनेको नेतृत्वले देखाएको आचरण मात्र होइन, नागरिकको मौनता र समर्थनको एकत्रित परिणामसमेत हो । यो संस्कारलाई हामी उल्ट्याउन सक्छौं । मौनतालाई प्रश्नमा परिणत गर्न सक्छौं । सहमतिको साटो समालोचनात्मक चेतना र सरोकार देखाएर आवश्यक खण्डमा मात्र समर्थन प्रस्तुत गर्न सक्छौं । परिवर्तन शासनबाट होइन, संस्कारबाट सुरु हुन्छ र संस्कार हाम्रै व्यवहारबाट ।

यहाँ चर्को नीतिगत भ्रष्टाचार छ । अख्तियारमा फाइलका चाङ लागेका छन् । ललिता निवास प्रकरण, वाइडबडी काण्ड, टेरामक्स, पतञ्जलि जग्गा प्रकरण, अन्तःशुल्क स्टिकर छपाइ प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट काण्ड, भिजिट भिसा प्रकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार, सहकारी ठगी प्रकरणजस्ता काण्डसँगै तपाईंहरूलाई एउटा–एउटा मात्र पात्रको नाम पर्यायवाची शब्दझैं याद आउन सक्छ ।

नेपालमा राम्रो गरे एक व्यक्तिलाई जस, नराम्रो गरे एक व्यक्तिलाई दोष । तर ती सबै प्रकरणमा एक व्यक्तिको मात्र हात छैन, त्यहाँ त कैयौं हात संलग्न छन् । सायद हामीलाई अंक ‘एक’ सँगको मोह छ । ‘एक’ को लत पनि यही संस्कारको पाटो हो, जसका कारण हामी जहिले एउटा हिरो, एउटा भगवान् र एउटा नेताको खोजीमा छौं । तर अब हामीलाई एकल नायक होइन, सामूहिक चेतना चाहिएको छ । जसले आफ्नै ठाउँबाट सानो तर इमानदार प्रयास गर्छ, त्यही नै नयाँ राजनीतिक संस्कारको बीउ हो ।

सायद, यही ‘एक’ बाट जन्मन्छ ‘एकता’ को माग । अहिले जेन–जीलाई ‘तिमीहरू एक हुनुपर्छ’ भन्ने माग गरिरहेका छौं । तर विचारधारामा नमिल्नेबीचको सहकार्य कहिले दिगो भएको छ र ? विचारधारामा केन्द्रित हुनुपर्ने बहस आज पनि उही पात्र केन्द्रित बनेको छ । प्रश्नमा अहिले पनि पात्र खोजिन्छ, विचार होइन । तर हामीले बुझ्न नसकेको हो कि बुझाउन नसकेको, लोकतन्त्रको मर्म नै फरक मतमा रहन्छ । लोकतन्त्र एकको शासन होइन, लोकको, फरक विचारधाराको वातावरणमा मौलाउने तन्त्र हो । यसैले यहाँ एकको खोजी होइन, विचारधाराबीचको संवादको खोजी हुनुपर्ने हो । सायद फरक विचार हुनुलाई स्वाभाविक रूपमा लिन नसक्नु पनि हाम्रो संस्कार रहेछ । हामीलाई फरक मतसँग किन अप्ठ्यारो लागेको ? के हामीलाई विनम्रतापूर्वक तार्किक र राजनीतिक बहस गर्न नआउने भएर हो ? कि हामीले यस्ता उदाहरण नदेखेर हो ?

मान्छे पदमा पुगुन्जेलसम्म देश बनाउने उसको रहर मरिसक्दो रहेछ । कुनै बेला यी सबै पात्र जनप्रिय नै थिए भन्ने सुनेकी मात्र छु । तर मनमा प्रश्न के आउँछ भने, जब नेताले बाटो बिराए, त्यही बेला उनका कार्यकर्ताले किन विरोध गरेनन् ? के हामीलाई नेतालाई जवाफदेही बनाउनै नआएको हो ? कि हामीले असल नेता पहिल्याउनै जानेनौं ? १९ युवामाथि गोली हानेर निर्मम हत्या गर्दासमेत, आत्मकेन्द्रित, घमण्डी र अहंकारी स्वभाव व्यक्त गर्ने पात्रलाई मात्र किन काम गर्नुपर्ने ठाउँमा पुर्‍यायौं ?

यद्यपि राजनीतिक संस्कार भनेको नेतृत्वले कस्तो व्यवहार देखाउँछ वा कस्ता निर्णय लिन्छन् भन्नेमा मात्र सीमित छैन । राजनीति, नीति र यसमा जोडिएका पात्रले गरेका कार्यप्रतिको हाम्रो प्रतिक्रियाले पनि बन्ने हो संस्कार । न हाम्रो शिक्षाले हामीलाई प्रश्न गर्न सिकाउँछ, न हामीलाई समालोचनात्मक चेत नै सिकाउँछ ।

नेताहरूले व्यवस्थालाई नै दोष देखाएर उम्किएका पनि छन् । दलगत संगठन उहाँको, कार्यकर्ता उहाँको, पद उहाँको तर दोष व्यवस्थाको । उहाँहरूको अकर्मण्यताको दोष व्यवस्थामाथि लगाएर उम्कने प्रवृत्तिलाई जनताले सहजै पनि पचाइदिएका छन् । ‘काम गर्न दिएनन्’ को जवाफ कुनै दिन त ‘नाच्न नजान्ने आँगन टेढो’ हुन्छ होला कि ? सायद यो प्रश्न पनि हामीले गर्न सकेनौं ।

हाम्रो मौनतामा यस किसिमको राजनीतिक संस्कार अझै फस्टाउँछ । नातावाद र कृपावादको हरेक नियुक्तिमा हाम्रो प्रतिक्रियाको अभावले समेत आजको अवस्था सिर्जना भएको हो । अबोधगम्य प्रक्रियामा टेकेर गरिएका निर्णयलाई समेत हामीले सायद कैयौं पटक बुझ्न सकेनौं । अबको चुनौती र अवसर यही नै हो– पारदर्शिता, जवाफदेहिताको माग र नीति आधारित संस्कारको निर्माण । अब पनि हामीले सुधार सुरु नगर्ने हो भने अर्को पुस्ताले पनि हामीजस्तै गुनासो लेख्दै बस्नेछ ।

यहाँ पात्र बदल्न सजिलो छ, प्रणाली बदल्न कठिन । त्यसैले हरेक पाँच वर्षमा नयाँ अनुहार खोज्छौं तर पुरानै बानीमा फर्कन्छौं । हाम्रो राजनीतिक संस्कारकै जगमा भ्रष्टाचार मौलाएको छ, फस्टाएको छ । हाम्रा शासकीय स्वरूप फेरिए, पात्र फेरिए, कार्यालय थपिए– तर राजनीतिक संस्कार फेरिएन । यद्यपि, यो असम्भव छैन । प्रणाली फेरिने संकेत नागरिकको चेतनामा सुरु हुन्छ । जब जनताले नेताको भाषणभन्दा काम हेरेर प्रश्न गर्छौं, नाताभन्दा योग्यता रोज्छौं र मौनताभन्दा प्रश्नलाई प्राथमिकता दिन्छौं, तब सुरु हुन्छ राजनीतिक संस्कारको पुनर्लेखन ।

आकृति घिमिरे

Link copied successfully