लोकतान्त्रिक संस्कारबिना संसदीय प्रधानमन्त्री होस् वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कुनैले पनि लोकतन्त्र पुनर्जीवित हुन सक्तैन ।
नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका बारेमा बहस भइरहेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली (फ्रान्सेली र अमेरिकी) जस्तै संसदीय प्रणाली (स्क्यान्डिनेभियाली, जर्मनी, बेलायती र भारतीय) लाई पनि लोकतान्त्रिक मानिन्छ ।
आन्तरिक रूपमा लोकतान्त्रिक राजनीतिक दलहरू भएका मुलुकहरूमा राष्ट्रपतीय प्रणाली र संसदीय प्रणाली अपेक्षाकृत रूपमा चल्छन् ।
लोकतान्त्रिक प्रणालीका लागि राजनीतिक दलहरूले ‘धमनी’ र ‘नसा’ जस्तै काम गर्छन् । राजनीतिक प्रणालीलाई जैविक रूपमा हेर्यो भने ‘धमनी र नसा’ ले राम्ररी काम न गर्दा हृदयाघात, स्ट्रोक वा अंगहरूमा क्षति पुर्याउन सक्छ । यस अर्थमा नेपाली लोकतन्त्रलाई हृदयाघात भएको, निसास्सिएको वा मृत छ ? विभिन्न व्याख्या गर्न सकिन्छ ।
राजनीतिक संस्कृतिले लोकतन्त्र सञ्चालनका लागि अक्सिजनको काम गर्छ, जसले श्वासप्रश्वासमा मद्दत गर्न सक्छ । राजनीतिक संस्कृति नहुने हो भने लोकतन्त्र निर्जीव शरीर जस्तै हुन्छ । व्यंग्यात्मक रूपमा, ‘फुटबल संस्कृति’ वा ‘क्रिकेट संस्कृति’ मध्ये एक छनोट गर्न नेपाली अल्झिएका छन् । विद्यमान नेपाली राजनीतिक संस्कृतिअन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारीले कस्तो प्रकारको परिवर्तन ल्याउन सक्छन् ? वा राजनीतिक संस्कृतिमा के परिवर्तन गर्न सक्छ ? निर्वाचित राष्ट्रपति प्रणाली होस् वा संसदीय प्रणाली राजनीतिक संस्कृतिबिना सफल हुन सक्दैन भन्ने यस लेखको विषयगत सन्देश हो ।
लोकतन्त्र किन र कसरी मर्छ ?
राष्ट्रपतीय र संसदीय प्रणाली कुन देशमा सफल वा असफल भन्ने अन्तर्राष्ट्रिय सूचकांकले नेपालको लोकतान्त्रिक आवश्यकतालाई सहयोग गर्दैन । यी दुवै प्रकारका प्रणालीमा सरकारका तीन अंगहरू (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) बीच शक्तिको स्पष्ट पृथकीकरण, शक्ति नियन्त्रण र सन्तुलनका आधारमा एकअर्काका शक्ति दुरुपयोगलाई रोकिन्छ ।
नेपालमा शक्तिको पृथकीकरण, शक्ति नियन्त्रण र सन्तुलन हुन सकेन । उदाहरणका लागि, दुई प्रमुख दल एमाले र कांग्रेसको गठबन्धनका कारण मन्त्रिपरिषद्को सामूहिक जिम्मेवारी विकास हुन सकेन । दलका नेताहरूको प्रभुत्वका कारण संसद् निष्क्रिय भएको थियो । व्यवस्थापिका वा कार्यपालिकाले सम्हाल्नुपर्ने मुद्दाहरू सर्वोच्च अदालतले निर्णय गर्ने गरेकाले अनावश्यक राजनीतिक खतराहरू निम्त्याएको देख्न सकिन्छ । नेपालमा भइरहेको राजनीतिक उथलपुथलपछि सर्वोच्च अदालतले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका नमुनाहरू आयात वा नक्कल गर्न सकिन्छ । तर राजनीतिक संस्कृति र मूल्यमान्यताहरू आयात वा नक्कल सकिँदैन । अर्थात्, जुन स्थानमा ‘लेउ’, ‘च्याउ’ र ‘खिया’ उम्रिन्छ, त्यहाँ धान, गहुँ र मकै उमार्न सकिँदैन । यी रूपकहरू राजनीतिक प्रणालीहरूको वर्णन गर्न उपयुक्त नहुन सक्छन् । तर राजनीतिक प्रणालीलाई प्रत्यारोपण होइन, रोपण आवश्यक पर्छ ।
आजको ‘कानुनविहीन संसारमा’ लोकतन्त्रका अन्तर्राष्ट्रिय सूचकांक पनि शंकास्पद भएका छन् । यस्ता सूचकांकहरूमा अमेरिका र पश्चिमी युरोपेली लोकतन्त्रहरू आन्तरिक रूपमा काम गरिरहेका हुन सक्छन् । तर तिनीहरूको विश्वसनीयता चकनाचुर भएको छ, विशेष गरी विभिन्न देशहरूमा हुने गरेका अमेरिकी आक्रमण र अमेरिकाप्रति पश्चिमी युरोपेली नीतिहरूका र गाजामा नरसंहारका कारण तेसो हुन गएको हो ।
सुशासनका आख्यानहरू, लोकतन्त्र कहाँ छ र कसको शब्दमा लोकतन्त्र भन्ने गम्भीर प्रश्नहरू उठेका छन् । लोकतन्त्र लेउ, च्याउ र खिया जस्तै भएको त होइन ? ‘लोकतन्त्र अन्धकारमा मर्छ’ भन्ने ‘द वासिङटन पोस्ट’ पत्रिकाले २०१७ मा एक नारा अपनाएको थियो । नागरिक ‘उदासीनता’ बाट लोकतन्त्रको बिस्तारै लोप हुनेछ भनेर दार्शनिक एल्डस हक्सलीले धेरै पहिले अनुमान गरेका थिए । स्विडेनमा ‘सेन्टर पार्टी’ की नेत्री अन्ना–करिन ह्याटले हालै बढ्दो घृणा र धम्कीका कारण राजीनामा दिएकी छन् । उनीभन्दा पूर्वनेत्री अन्नी लोभले पनि सोही कारणले पद त्याग गरेकी थिइन् । सेन्टर पार्टी वर्तमान सरकारमा छैन, यस पार्टीको जातिवादविरोधी अडानका कारण दक्षिणपन्थीहरूले व्यापक घृणा र धम्की दिएका छन् ।
नेपालमा लोकतन्त्र पुनर्जीवित गर्ने प्रयास भइरहेको छ । संसदीय प्रणालीको सुधार गर्ने भन्ने एक प्रकारको जनमत देखिन्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमार्फत लोकतन्त्रको पुनर्जीवन गर्न सकिन्छ भन्ने अर्को प्रकारको जनमत देखिन्छ । लोकतान्त्रिक संस्कारबिना संसदीय प्रधानमन्त्री होस् वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कुनैले पनि लोकतन्त्र पुनर्जीवित हुन सक्तैन । त्यसका लागि नेपाली संस्कृतिको पुनर्विचार वा रोपण आवश्यक छ ।
संसदीय प्रधानमन्त्री र कार्यकारी राष्ट्रपति
नेपालको संसदीय प्रणाली अस्थिरताबाट ग्रस्त छ र मुलुक बारम्बार सरकार परिवर्तनको सिकार भएको छ । राष्ट्रपति प्रणालीको स्थिर कार्यकाल निर्धारित (लगभग पाँच वर्ष) हुने भएकाले नीतिमा निरन्तरता हुन्छ भन्ने विश्वास गरिन्छ । राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनले संसदीय प्रधानमन्त्रीभन्दा लोकतान्त्रिक वैधता दिन्छ । संसदीय प्रधानमन्त्री विधायिकाको विश्वासमा निर्भर हुने र सामूहिक जिम्मेवारीमा आधारित हुने भएकाले छिटो निर्णय लिन सक्दैनन्, त्यसैले राष्ट्रपति प्रणालीको छिटोछरितो र प्रभावकारी हुन सक्छ भन्ने तर्क गरिन्छ । राष्ट्रपतिले विधायिकी नियन्त्रणबिना नै मन्त्रिपरिषद् चयन गर्न सक्छन् । राष्ट्रपतिप्रति उत्तरदायी मन्त्रिपरिषद् प्रभावकारी हुन सक्छ ।
राष्ट्रपति प्रणाली नकारात्मक पनि हुन्छन् । कार्यपालिका र व्यवस्थापिकाबीच गतिरोधको सम्भावना हुन्छ, जस्तै– आर्थिक वर्ष सुरु हुनुपहिले अमेरिकी संसद् कांग्रेसले राष्ट्रपतिद्वारा प्रस्तुत बजेट स्वीकार नगरेसम्म सरकारी खर्च गर्न सकिँदैन, यसलाई ‘गभर्मेन्ट सटडाउन’ भनिन्छ । कार्यकाल समाप्त हुनुभन्दाअघि प्रभावरहित राष्ट्रपतिहरूलाई हटाउन गाह्रो हुन्छ । शक्ति केन्द्रीकरणको जोखिम र अधिनायकवादको सम्भावना हुन्छ । व्यवस्थापिकाप्रति जवाफदेहिता कम हुने हुँदा व्यवहारमा राष्ट्रपतिको शक्तिउपर कमजोर नियन्त्रण हुन जान्छ ।
अमेरिकी राष्ट्रपति निर्वाचन असमान प्रतिनिधित्व, एक व्यक्ति एक मत लागू नहुने र मतदाताहरूलाई बेवास्ता गरिने कारणले विवादास्पद छ । ठूला राज्यहरू, जस्तैः क्यालिफोर्नियाको मतदाताको तुलनामा वायोमिङमा मतदाताको प्रभाव धेरै हुन्छ । विगतमा पाँच पटक लोकप्रिय मत गुमाउने उम्मेदवारले राष्ट्रपति पद जितेको छ । यसले एक व्यक्ति, एक मतको सिद्धान्तलाई कमजोर बनाउँछ । ‘स्विङ स्टेट पूर्वाग्रह’, अर्थात् सुरक्षित राज्यहरूमा मतदाताहरूलाई बेवास्ता गरी परिणामहरू अनुमान गर्न सकिन्छ । यस प्रकारको निर्वाचन दासत्वलाई निरन्तरता दिनका लागि व्यवस्थित गरिएको थियो, जुन अमेरिकी संविधानको कठोर प्रणालीका कारण संशोधन गर्न लगभग असम्भव छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण आशाजनक नभए पनि अमेरिकी लोकतान्त्रिक संस्कृति र प्रणालीको सजकता र लचिलोपनका कारण मानिसहरू अर्को चुनावमा सकारात्मक परिवर्तन हुने आशा गर्छन् ।
व्यवस्थापिकाप्रति जवाफदेही र प्रधानमन्त्रीको उच्च उत्तरदायित्व संसदीय प्रणालीको सकारात्मक चरित्र हो । गैरजिम्मेवार प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिन्छ । कार्यपालिका र व्यवस्थापिकाबीच राम्रो समन्वय आवश्यकता हुन जान्छ । गठबन्धन र सम्झौतालाई प्रोत्साहन गर्दछ (तर बारम्बार सरकार परिवर्तन र अस्थिरता संसदीय प्रणालीको नकारात्मक चरित्र हो) । सत्ताधारी दलसँग पूर्ण बहुमत भएमा अत्याचारमा परिणत हुन्छ । गठबन्धनको राजनीतिले नीतिगत पक्षघात निम्त्याउन सक्छ । भारत र बेलायतमा कार्यकारी प्रभुत्व, कमजोर संसदीय निरीक्षण र संस्थाहरूमाथिको घट्दो विश्वास लोकतन्त्रको समस्या हो ।
नेपालमा संसदीय लोकतन्त्रको असफलता
पाठ्यपुस्तकमा उल्लेख हुनुपर्ने उदाहरण हो । राजा महेन्द्रले संसदीय लोकतन्त्रको असफलता राष्ट्रिय हितलाई बेवास्ता गर्ने दलीय हित, दलहरूबीच अनावश्यक द्वन्द्व र वर्ग सह–अस्तित्वको अभाव आदि जस्ता कारणहरू विकास गरेका थिए । महेन्द्रले ‘देशको माटो सुहाउँदो’ ‘निर्दलीय पञ्चायत’ लाई सन् १९६० देखि सुरु गरे, जुन १९८० को दशकको अन्त्यतिर लेउ, च्याउ र खिया प्रमाणित भयो ।
संसदीय होस् वा राष्ट्रपतीय प्रणाली (राजतन्त्र होस् वा गणतन्त्र), कुनै पनि प्रणालीको सफलता वा असफलता यसको संस्थागत संरचनामा भन्दा राजनीतिक संस्कृतिमा बढी निर्भर गर्दछ । राजनीतिक संस्कृतिले साझा मूल्यमान्यता, विश्वास, मनोवृत्ति र मान्यताहरूलाई जनाउँछ, जसले नागरिक र नेताहरूले राजनीति, अधिकार र आफ्नो नागरिक जिम्मेवारीहरू कसरी बुझ्छन् भनेर आकार दिन्छ । यसले नैतिक र मनोवैज्ञानिक आधार बनाउँछ, जसमा राजनीतिक प्रणालीहरू सञ्चालन हुन्छन् ।
राजनीतिक संस्कृति
राजनीतिक दलहरूबीच गठबन्धन सरकारहरू आदर्श समाधान हुनुपर्नेमा बारम्बार दल विभाजन नेपालको राजनीतिक संस्कृति बनेको छ । श्रीमान्–श्रीमती र परिवारका आफन्तहरूलाई नियुक्त गर्न समानुपातिक प्रतिनिधित्वको दुरुपयोग गरिन्छ । संरक्षण र ग्राहकवाद राजनीतिक संस्कृतिले जरा गाडेको छ । राजनीतिक बफादारीलाई प्रायः योग्यता वा निष्पक्षताको सट्टा भ्रष्टाचार र अक्षमतालाई बढावा दिइन्छ । धेरै राजनीतिक नेताहरूले सार्वजनिक हितभन्दा पार्टी वा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन्, शासन, सेवा र नागरिकको आवश्यकतालाई बेवास्ता गर्छन् । दण्डहीनता र भ्रष्टाचारको संस्कृति विकास भएको छ– राजनीतिक नेताहरू र अभिजात वर्गलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग वा शासनमा असफलताका लागि विरलै जवाफदेही बनाइन्छ ।
जहाँ राजनीतिक संस्कृतिले नागरिक जिम्मेवारी, सहभागिता र जवाफदेहितालाई प्रोत्साहन गर्छ, त्यहाँ लोकतन्त्र फस्टाउँछ । यस्तो संस्कृतिबाट नेताहरूले संवैधानिक सीमाहरूको सम्मान गर्ने र इमानदारीका साथ कार्य गर्ने गर्छन् । जहाँ राजनीतिक संस्कृति संरक्षण वा अवसरवादले भरिएको हुन्छ, नागरिकहरूले प्रणालीमा विश्वास गुमाउँछन्, जसले गर्दा अशान्ति, भ्रष्टाचार र अधिनायकवादी प्रवृत्तिहरू निम्त्याउँछ । त्यसैले नेपालमा प्रणाली नै तहसनहस भयो ।
संस्कृत समाजमा सत्तामा रहेका मानिसहरूको विलासिता वा शक्तिको प्रदर्शनलाई असभ्य मनिन्छ (नेपोकिड कन्ट्रोभर्सी सम्झनु होस्) । नागरिकहरूले लोकतान्त्रिक प्रणालीमा भाग लिनु र समर्थन गर्नु नैतिक कर्तव्य महसुस गर्छन् । नागरिकहरू कर कानुन र सामाजिक नियमहरूको पालना गर्छन् किनभने तिनीहरूलाई साझा हितका लागि उचित योगदानका रूपमा हेर्छन् । नागरिकहरूले सार्वजनिक जानकारी माग गर्छन् र सरकारले सक्रिय रूपमा अनलाइन जानकारी खुलासा गर्छन् ।
तुलनात्मक रूपमा बेलायती र अमेरिकी राजनीतिक संस्कृतिभन्दा नर्डिक मुलुकको समतावाद संस्कृति फरक छ । नर्डिक र दक्षिण एसियाली पितृसत्तात्मक परम्पराहरूबीचको सांस्कृतिक, ऐतिहासिक र राजनीतिक विरोधाभास देखिन्छ । स्विडेनमा लैंगिक समानता राष्ट्रिय पहिचानको स्तम्भ हो । स्विडेनी महिला–पुरुषहरूले सामान्यतया व्यक्तिगत उपलब्धि, पेसा र व्यक्तित्वमार्फत आफूलाई परिभाषित गर्छन्, वैवाहिक वा पारिवारिक पहिचानमार्फत होइन ।
अमेरिकाको विपरीत, नर्डिक देशहरूमा ‘प्रथम महिला’ वा ‘प्रथम सज्जन’को भूमिका, आधिकारिक कर्तव्य वा औपचारिक भूमिकाहरू दिँदैनन् र लिँदैनन् । अमेरिकी ‘प्रथम महिला’बाट परोपकारी संस्थाहरूको नेतृत्व गर्ने वा कूटनीतिक भ्रमणहरूमा नेतासँगै जाने कुनै अपेक्षा स्विडेनमा हुँदैन । जस्तैः पूर्वप्रधानमन्त्री ओलाफ पाल्मेकी पत्नी बिर्गिटा थोर्बजोर्नसन एक मनोविज्ञानविद् शिक्षिका थिइन्, जो राजनीतिक जीवनबाट टाढा थिइन् । नेपालमा शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा एक प्रमुख राजनीतिक र गैरसरकारी संस्थाकी व्यक्तित्व हुन्, उनले विदेशमन्त्रीको पद सम्हालिन् (श्रीमान् र श्रीमती देउवाले अब बुझ्न सक्छन् कि त्यसो गर्नु हानिकारक थियो) ।
स्विडेनका पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसनका पति रिचर्ड फ्रिबर्ग अर्थशास्त्रका प्राध्यापक हुन् तर कहिल्यै राजनीतिक चर्चामा देखा परेनन् । वर्तमान स्विडिस प्रधानमन्त्री उल्फ क्रिस्टरसन र उनकी श्रीमती बिर्गिटा एडले अमेरिकी ‘प्रथम महिला’ जस्तो बन्न खोजेको भन्ने स्विडिस मिडियाले आलोचना गरेको छ ।
भ्रष्ट राजनीतिक संस्कृति
नेपालमा स्वार्थको विरोधाभास (कन्फ्लिक्ट अफ इन्टरेस्ट), अर्थात् प्रधानमन्त्रीको व्यक्तिगत, वित्तीय वा राजनीतिक स्वार्थ हुन्छ, जसले उनीहरूको आधिकारिक निर्णयहरूलाई अनुचित रूपमा प्रभाव गर्छ । उदाहरणका लागि प्रधानमन्त्री, उनको परिवार वा उनको दलका अन्य नेता वा कार्यकर्ताहरू, साथी सर्कलको निर्माण कम्पनीमा सेयर हुन्छ, र सरकारले त्यो कम्पनीलाई ठूलो सार्वजनिक निर्माण ठेक्का प्रदान गर्दछ । तिनीहरूले आफ्नो व्यवसायलाई फाइदा पुर्याउन आफ्नो शक्ति प्रयोग गर्न सक्छन् । सरकार प्रमुख वा क्याबिनेट मन्त्रीको दाजुभाइ, आफन्त वा साथीभाइले सरकारी अनुदान वा ठेक्का प्राप्त गर्ने कम्पनी चलाउँछन् । तिनीहरूले निष्पक्ष प्रतिस्पर्धाभन्दा परिवारलाई समर्थन गर्न सक्छन् ।
प्रदर्शनकारीहरूले घर जलाएपछि सम्पत्ति क्षतिको वर्णन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुहारको एक अमूल्य चित्र उपहार पाएको बारेमा एक भिडियो अन्तर्वार्तामा भनेका छन्– ‘सिंगापुरका एक महानुभावले भियतनामी कलाकारलाई ८ हजार डलर तिरेर एक तस्बिर बनाउन लगाएका थिए ।’ उपहार प्राप्त गर्दाको समयमा ओलीले सार्वजनिक जानकारी गराएका छन् वा छैनन् ?
आचरण भएका देशहरूमा विदेशी व्यक्तिबाट यस्तो महँगो व्यक्तिगत उपहार स्वीकार गर्दा विदेश नीति निर्णयहरू प्रभावित हुन सक्ने मानिन्छ (पाकिस्तानमा अमेरिकी डलर ३०० भन्दा बढीको उपहार स्वीकार गर्न प्रतिबन्ध छ) । नेपालमा यस सम्बन्धमा कुनै कानुन छ कि छैन वा सत्तामा रहेका व्यक्तिहरूलाई कानुन लागू हुँदैन ? व्यापारी मीनबहादुर गुरुङले तत्कालीन प्रधानमन्त्री ओलीको एमाले पार्टी कार्यालयका लागि जग्गा उपहार दिएको रिपोर्ट आएको थियो । जसले गर्दा उनकै दलका नेताहरूबाट आलोचना भएको थियो । आलोचकहरूउपर ओलीले अनुशासन कारबाही गरे ।
नेपालमा स्वार्थको विरोधाभासलाई सार्वजनिक बहसमा गम्भीरतापूर्वक लिइँदैन । सार्वजनिक जानकारी गरिँदैन । प्रधानमन्त्रीले आफ्नो राजनीतिक दलको प्रचार गर्न सरकारी स्रोतहरू प्रयोग गर्छन् । सत्तामा हुँदा गरिएका निर्णयहरू व्यक्तिगत भविष्यको लाभबाट प्रेरित हुन सक्छन् । प्रधानमन्त्रीले गोप्य रूपमा सह–स्वामित्वमा रहेको कम्पनीलाई फाइदा पुर्याउने विदेशी व्यापार सम्झौतालाई बढावा दिन्छन् । उनीहरूले सार्वजनिक हितको सट्टा आफ्नो सेवा गरिरहेका छन् ।
निष्कर्षमा, ‘राजनीतिक संस्कृति भनेको शक्ति, अधिकार र न्यायका बारेमा नागरिकहरूले के विश्वास गर्छन् भन्ने हो र विश्वासहरूले राष्ट्रको जीवनलाई आकार दिन्छ । एउटा मुलुकले अर्को मुलुकको राजनीतिक संरचनाको नक्कल गर्न सक्छ, तर नागरिक शिक्षा, कानुनको सम्मान र साझा हितको भावनाबिना ती संरचनाहरू प्रभावकारी रूपमा काम गर्दैनन् । राजनीतिक प्रणालीहरू शासनको निकाय हुन्, तर राजनीतिक संस्कृति यसको आत्मा हो । कुनै पनि राष्ट्रको वास्तविक मेरुदण्ड यसको नेतृत्व होइन तर यसका नागरिकहरू हुन् । साधारण मानिसहरू– कामदार, किसान, शिक्षक, डाक्टर, चालक र अनगिन्ती अन्य, जसले देशलाई साँच्चै जीवित र कार्यरत राख्छन् । सरकारहरू आउँछन् र जान्छन्, नेताहरू उठ्छन् र पतन हुन्छन्, तर जनता राष्ट्रको निरन्तर धड्कन बनिरहन्छन् ।
नेपालका लागि उपयुक्त राजनीतिक प्रणालीका लागि समताको राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ । विद्यमान भ्रष्ट राजनीतिक संस्कृतिको अन्त्य हुनुपर्छ । केहीलाई दण्ड दिएर मात्र होइन, सबैको विवेक जगाएर आफ्नो राजनीतिलाई शुद्ध गर्न सकिन्छ । राजनीतिक संस्कृति वंशानुगत रूपमा प्राप्त हुँदैन, यो सिकाइन्छ र सिकिन्छ । शिक्षाको माध्यमबाट स्वस्थ राजनीतिक संस्कृतिको विकास गर्नु सुशासन र नागरिक उत्तरदायित्व निर्माण गर्ने सबैभन्दा दिगो तरिकाहरूमध्ये एक हो । कक्षाकोठा, परिवारभित्र र समुदायमा सामूहिक लोकतान्त्रिक संस्कृतिको जन्म हुन्छ वा निर्माण गर्न सकिन्छ । नेपाली जनताले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा सुधारिएको संसदीय प्रणाली बारेमा जेसुकै निर्णय गरून्, लोकतान्त्रिक संस्कृतिको निर्माणबारे गम्भीर रूपले सोच्नुपर्छ ।
