बीपीको ४४ वर्षअघिको त्यो लेख : नवयुवाले के गर्नुपर्छ ?

राजनीतिक प्रक्रिया ठीक भएन भने आर्थिक वा सामाजिक परिवर्तनका अन्य प्रक्रिया पनि ठीक हुँदैनन् । राजनीतिक प्रक्रियाचाहिँ प्रजातान्त्रिक तवरबाट हासिल भएमा मात्र मान्य हुन्छ, परिवर्तन सार्थक हुन्छ अन्यथा तत्कालका निम्ति मात्र भएर जान्छ, विरोधीहरूलाई समाहित गर्ने काम हुन सक्दैन । 

कार्तिक १७, २०८२

बीपी कोइराला

That BP article from 44 years ago: What should young people do?

नेपालमा जेन–जीको विद्रोहले उथलपुथल मच्चाइरहेका बेला यहाँ यस्ता व्यक्तित्वको धारणा प्रस्तुत गर्दै छौं, जो नेपालमा समाजवादी विचारक र लोकतान्त्रिक नेतृत्वको प्रथम हस्ताक्षर हुन्, जसको जीवन र आचरणले नेपालको राजनीति र मनोविज्ञानमा लोकतन्त्रको बीउ रोपेको थियो ।

मृत्युको एकाध महिनाअघि प्रकाशित बीपी कोइरालाको ‘मेरो दृष्टिमा युवकहरू’ शीर्षक–लेखमा युवाप्रति दह्रो आशावाद पोखिएको छ । ‘यौवन’ मासिक, वर्ष ४, अंक ९–१२, २०३८ पौष–चैत्रमा प्रकाशित बीपीको यो लेख हामीलाई विश्लेषक राजेन्द्र महर्जनले उपलब्ध गराएका हुन् : 

मैले पहिले पनि युवकहरूका बारे ‘यौवन’ मा नै मन्तव्य दिएको हुँ । 

युवकहरूलाई मैले सामान्यतः दुई श्रेणीमा बाँड्ने गरेको छु । एक थरी तिनीहरू, जो उमेरले मात्र युवा, अर्का थरी त्यस्ता युवा, जो कुनै आदर्शप्रति समर्पित मात्र होइनन् कि कुनै सिद्धान्तलाई लिएर अगाडि बढ्ने, त्यस्तालाई मैले ‘तरुण’ भन्ने गरेको छु । 

दोस्रो कुरा, विश्वभरि नै र नेपालमा पनि युवकहरूको जोस र आन्दोलनलाई लिएर मैले धेरै पुलपुल्याएर सम्बोधन गर्ने गरेको छु । युवकहरू के भन्ठान्छन् भने हामीहरू जे पनि गर्न सक्दछौं र युवक भएकै कारण हामीहरूको सोचाइ पनि बेग्लै छ, हामीहरू विशेष वर्ग हौं । त्यसै कारण उनीहरूमा जेमा पनि अग्राधिकारकै आकांक्षा तर जवाफदेहीप्रति भने नितान्त उदासीनता... । त्यसले गर्दा जुनसुकै आन्दोलनका दुइटा विरोधी खेमाका अनुयायीहरूमा युवकहरू नै भेट्टिन्छन् । 

अहिले बेलायतमा जाऊँ भने एसियन र अफ्रिकन मूलका मानिसलाई पिट्न आउने युवकहरू नै छन्, अमेरिकामा पनि, जहाँसुकै । युवकहरूले नै हिटलरको मिटिङ बिथोल्ने गर्थे । यसबाट हिटलरलाई शान्ति र सुव्यवस्था कायम गर्ने बहानामा सैनिकलाई अगाडि ल्याउने मौका मिल्यो । यस प्रकार फासिजमलाई ल्याउनमा युवकहरूले नै मद्दत गरे ।

नेपालमा पनि फासिस्ट मनोवृत्तिलाई बढाउने, कालो झन्डा देखाउने, बोल्न नदिने, मुखमा कालो दल्ने इत्यादि युवकहरूले नै गरिरहेछन् । युवक हुनेबित्तिकै ती सर्वगुण सम्पन्न तत्त्व हुन्छन् भन्ने म पत्याउन्नँ । हो, उनीहरूमा जोस, उत्साह र आवेश रहन्छ । तर, त्यही कारणले उनीहरू खतराका पनि तत्त्व भएर जान्छन् । मैले आफ्नै देशको अनुभवबाट पनि यो कुरा भनिरहेछु । यहाँ जहिले–जहिले प्रतिक्रान्ति वा त्यसको सम्भावना भए ती युवकहरूकै माध्यमबाट भएका छन् र प्रतिक्रान्ति गर्ने तत्त्वले युवकहरूलाई नै हात लिएका छन् । 

अर्कोतिर त्यस्ता युवकहरू पनि छन्, २०१७ सालदेखि यताको मात्र फेरिस्त हेरे पनि थाहा हुन्छ, जसले देशका निमित्त ज्यानसम्म दिएका छन् । त्यसै कारण सबैलाई एउटै स्तरमा राख्न मिल्दैन । युवक हुनेबित्तिकै सबै ठीक हुन्, उमेरकै कारण उनीहरूलाई कुनै किसिमको बन्देजको आवश्यकता छैन भन्ने होइन । यति हुँदाहुँदै पनि मैले युवकहरूलाई पुलपुल्याएर बोलेको छु । 

प्रश्न छ– नेपालमा युवकहरूले के गर्नुपर्ने ? तरुणहरूले के गर्नुपर्ने ? ठीक यही कुरामा बोल्न भनी कोलम्बिया विश्वविद्यालयले मलाई बोलाएको थियो । मैले भने बढ्ता आलोचक नै भएर भनेको थिएँ– जहाँ–जहाँ प्रगति हुन थालेको छ, त्यहाँ–त्यहाँ युवकहरू सामेल भएर प्रतिक्रिया नै ल्याइदिएका छन् । सन् १९६० मा ठूलो आन्दोलन चल्यो र त्यसबेला त्यसको नेतृत्व यही कोलम्बिया विश्वविद्यालयको थियो । तर त्यसको फाइदा थिएन, बेफाइदा धेरै भए । विश्वका हरेक ठाउँमा, जहाँ–जहाँ कसैले पनि राष्ट्र हितविपरीत काम गर्न, अस्थिरता ल्याउन खोज्छ भने त्यहाँ–त्यहाँ युवकहरू नै अग्रसर भएर, युवकहरूले नै त्यस्तो भूमिका अदा गरेका हुन्छन् । मैले भनें, कोलम्बियाको मात्र कुरा होइन, जहाँसुकै भइरहेको विद्यार्थी आन्दोलन के हो ? यस विश्वविद्यालयका तपाईं विद्यार्थीहरूले यत्रो 

ठूलो आन्दोलन गर्नुभयो तर स्थायी योगदान के भयो ? अन्तर्राष्ट्रिय धरातलमा भनुँ या राष्ट्रिय धरातलमा ? कुनै प्रतिक्रियावादीको पिछलग्गु भएर विभिन्न पाखण्डी नारा लगाएर तपाईंहरू समाजलाई छिन्नभिन्न पार्न चाहनुहुन्छ... । 

म देखिरहेछु– एउटा सोचविचारहीन आन्दोलनको सिपाही भएर, एउटा आवेगमा युवकहरूबाट काम भइरहेछ र प्रजातन्त्रचाहिँ आवेगबाट स्थापित हुने व्यवस्था होइन । प्रजातन्त्र त बडो सन्तुलित विरोधीहरूको पनि कुरा सुन्ने सहनशीलता र सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने ‘हो’ पनि भन्ने यस किसिमको पद्धति हो । यस्तो मानसिकता अपेक्षा गर्दछ– प्रजातान्त्रिक आन्दोलनले । तर, त्यही कुरा युवकहरूमा छैन– अर्काको दृष्टिकोण सुन्ने, विरोधीहरूको विचार सुन्ने, कुनै पनि कुरामा एकभन्दा बढी पक्ष हुन्छ भन्ने बुझ्ने, आलोचना सुन्ने ।

कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक विषयमा एउटा मात्र विचार वा पक्ष छ भन्यो भने त्यो तानाशाही मनोवृत्ति हुन्छ । होइन, अर्को पक्ष पनि छ भन्ने बुझ्यो भने मात्र त्यो प्रजातान्त्रिकता हुन्छ । तर, यही कुरा मान्न युवकहरूलाई गाह्रो परिरहेछ । युवकहरूको भावना राम्रो होला तर उनीहरूको जोसले, अनुभवको कमीले, केही कुरा छिट्टै हासिल गरूँ भन्ने व्यग्रता र मेन्टालिटी (मानसिकता) ले गर्दा त्यो बुझ्न गाह्रो पर्दछ । जीवनको वास्तविकता एउटा छ, सामाजिक परिवर्तन गर्ने प्रक्रियाहरू छिटोछिटो हिँड्दैनन्, यही नै युवकहरूको अधैर्यको कारण हो । 

त्यसैले युवकहरूलाई मेरो एउटै कुरा भन्नु छ– यदि प्रजातन्त्र पक्ष ठीक हो भने दुई, तीन कुरा मान्नुपर्दछ ः राजनीतिक प्रक्रिया ठीक भएन भने आर्थिक वा सामाजिक परिवर्तनका अन्य प्रक्रिया पनि ठीक हुँदैनन् र त्यो राजनीतिक प्रक्रियाचाहिँ प्रजातान्त्रिक तवरबाट हासिल भएमा मात्र मान्य हुन्छ, परिवर्तन सार्थक हुन्छ अन्यथा तत्कालका निम्ति मात्र भएर जान्छ, विरोधीहरूलाई समाहित गर्ने काम हुन सक्दैन । प्रजातान्त्रिक आन्दोलनले प्राथमिक ध्यान दिनुपर्ने कुरा यिनै हुन् । 

अर्को कुरा, नेपालमा हर ठाउँमा अवरोध छ । एक जना युवा व्यापारीले हालै यही कुरामा सहमति जनाए । उनले भने– हामीसित विचार छ, विकास कार्यमा योगदान गर्ने अठोट छ, तैपनि माथिदेखि तलसम्म जतासुकै बाधा विरोध मात्र छ । यस्तो अवरोध किन त भन्दा उनले भने नेपालमा निर्णय प्रक्रिया प्रजातान्त्रिक छैन, त्यसले गर्दा कुनै कुरामा भरोसा छैन, जे गरिदिए पनि भा’छ । त्यसैले आर्थिक, सामाजिक, राजनीतिक कुनै पनि परिवर्तन प्रजातान्त्रिक प्रक्रियाबाट मात्र हुन्छ भन्ने मान्यता नेपालका युवकहरूले स्विकार्नु पर्‍या छ । म यो कुनै पार्टीविशेषका लागि भनिरहेको छैन, प्रजातान्त्रिक आन्दोलनका सम्बन्धमा भनिरहेछु । म चाहन्छु– युवकहरू प्रजातन्त्रका प्रहरी हुन् र त्यो हुनका लागि विशेषतः तिनीहरू नै चनाखो हुन पर्‍या छ । 

अर्को कुरा छ, युवकहरूले बहन गर्नुपर्ने जिम्मेदारी वा जवाफदेही । मैले घरमा पनि भन्ने गर्‍या छु– बूढापाका मान्छेले त गैरजिम्मेवार भए पनि हुन्छ किनभने उनीहरूको भविष्य छैन । तर, नवयुवकहरूको भविष्य छ, त्यसो हुनाले उनीहरू गैरजिम्मेवार हुनै सक्दैनन् । म त अब धेरै दुःख झेल्न सक्दिनँ, त्यसैले म जे चाहन्छु, त्यही गर्छु पनि म भन्न सक्छु ।

तर, ती युवकहरू, जसले शैक्षिक योग्यता हासिल गरिसकेका छन्, तिनले त्यसो भन्न पाउँदैनन् । तिनले जवाफदेही वहन गर्नैपर्दछ । सामाजिक जीवनमा होस् वा पारिवारिक जीवनमा वा राजनीतिक जीवनमा, जहाँसुकै र जुनसुकै जीवनमा पनि पूर्ण जवाफदेहीसाथ आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध हुनै पर्दछ । बूढा मान्छेले त्यति जवाफदेही वहन नगरे पनि समाजलाई धेरै नोक्सान पुर्‍याउँदैन । पचास वर्षभन्दा माथिका मानिसले कुनै प्रकारले राजनीतिक वा सामाजिक कार्य गर्न पाउँदैन भनेर छुट दिएकै खण्डमा पनि त्यसबाट समाजलाई त्यति हानि हुँदैन ।

तर, २५ देखि ४५ वर्षसम्मका युवकहरूलाई तिमीहरूले कुनै काम गर्न पाउँदैनौं भनियो भने हर क्षेत्रमा ह्रास भएर जान्छ, समाजले ठूलो नोक्सानी बेहोर्नुपर्छ । कहिलेकाहीँ त्यसै कारण ठट्टैठट्टामा घरमा आफ्ना छोराहरूलाई मैले भन्ने पनि गर्‍या छु– म तिमीहरूको बाबु, बूढो भइसकें, पात्तिन पनि सक्छु तर तिमी युवकहरू त्यसो गर्न सक्तैनौं । तिमीहरूले त आफ्नो जवाफदेही वहन गर्नै पर्छ–पर्छ । म त अवकाश लिन पनि सक्छु । 

त्यसो त यसो पनि भनिन्छ, बूढाहरूले पो आफ्नो आदर्श देखाउनुपर्छ । परिवारप्रति पनि बूढाहरूले नै दायित्व निभाउनुपर्छ । छोराछोरी खान्छन् कि खाँदैनन्, त्यो पनि हेर्नुपर्छ । म त भन्छु– बूढाबूढीको यो जिम्मेवारी होइन, जसको भविष्य नै छैन, उसले त केवल आफ्नो मात्रै चिन्ता लिए हुन्छ । समाजले पनि छुट दिनुपर्छ, त्यस्ता बूढाबूढीलाई । 

तर, युवक भनेको एउटा व्यक्ति मात्र नभएर समाजकै भविष्य हो । युवकहरू जिम्मेवार नभए समाज बिग्रन्छ, देश बिग्रन्छ । युवकहरू भविष्यप्रति व्यग्र हुनुपर्दछ ।  केही दिन पहिले एक जनाले भने कि ४० वर्षमाथिका मान्छे कामै लाग्दैनन् । यो त युवकहरूले खालि सहुलियत लिन खोजेको मात्र हो । भारतकै हेरूँ, सञ्जय गान्धीले खडा गरेको त्यहाँ युवाको संगठन छ । ती युवा काफी गतिशील पनि छन् । तर, तिनीहरूले कुनै दिशाबोध गरेका छन् भन्ने मलाई लाग्दैन । त्यसैले मैले भन्न खोजेको के भने बढी सहुलियत लिँदैमा देशका औसत नागरिकभन्दा बढी अधिकार पनि लिन्छु भन्न पाइन्न र अधिकारभन्दा कर्तव्य ज्यादा छन् भन्ने युवकहरूले बुझ्नुपर्दछ । युवकहरूले कुनै कुरामा अडान लिऊन्, त्यो नलिऊन् मैले भनेको होइन । 

मेरो दृष्टिमा नयाँ–नयाँ विचारहरूको ग्रहणशीलता, सामाजिक मूल्यहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना, परिस्थिति र तिनका प्रभावप्रतिको सजगताजस्ता कुराबाट नै खास युवाको पहिचान हुन्छ । झन् यस्तै कुरामा युवकहरूलाई म उदासीन पाउँछु । जस्तो कि, जब म बिहावारीको कुरा गर्छु, मेरो उमेरका मानिसभन्दा युवा नै म बढी अनुदार वा परम्परावादी पाउँछु । हिन्दुस्तानमा त यस्तो स्थिति अझ नाजुक छ र नेपालमा पनि यस्तो नभएको होइन । त्यसैले मैले कसरी मान्ने कि ४० भन्दा माथिका कामै लाग्दैनन् र युवा मात्र परिवर्तनका वाहक र सबै थोक हुन् भनेर ? 

नयाँ विचारका सम्बन्धमा मस्तिष्कलाई यथावत् नराखीकन त सोच्छु, त्यसै कारण ती युवकहरूभन्दा म आफू पछि परेजस्तो लाग्दैन । शारीरिक सामर्थ्य भए पनि यदि कुनै युवक मानसिक रूपले कमजोर छ र कुनै नयाँ विचार दिन सक्दैन भने उसको युवा उमेरको सार्थकता कहाँ रह्यो र ? तर, एउटा बूढोमा भने शरीर अशक्त रहे पनि मस्तिष्कचाहिँ चनाखो छ, आफ्नो आदर्शका प्रति निष्ठावान् छ, हर कष्ट सहन तयार छ, जवाफदेही वहन गर्न तयार छ र नयाँ–नयाँ विचार दिन र ग्रहण गर्न तयार छ, हठधर्मी छैन भने त्यसलाई बूढो, अर्को जमानाको मान्छे भनेर कसरी पन्छाउन सकिन्छ ?

हाम्रा केही नवयुवक विद्यार्थीको मसित कुरा हुँदा केही समय पहिले भनें, तपाईंहरू र हाम्रोबीच पिँढी पृथकता छ । मैले भनें, संसारमा घटेका घटनाहरूले, हाल पोल्यान्डको घटनाले मलाई बढ्ता प्रभावित पार्छ । तर, तिमीहरू भने शीर्षक मात्र हेरेर हिँड्छौ । नयाँ–नयाँ कविता, नयाँ–नयाँ चित्रकला, पढ्छु–हेर्छु र दिलचस्पी राख्छु, नयाँ विचार कसले कहाँ के भनेको छ, त्यसबाट म बढी सजग रहन्छु । जेनेरेसन ग्याप छ भने तिमीहरूदेखि पछि त पर्‍या रहेनछु म ? धेरैजसो नवयुवकहरूभन्दा म आफू पछि परे जस्तो लाग्दैन । बरु हाम्रा नवयुवकहरू नै कुनै पनि विषयमा आफ्नो धारणा, दृष्टिकोण वा मनोभावना ठीकसँग विकसित गरिरहेका म पाउँदिनँ । 

म चाहन्छु– नवयुवकहरूले उन्नति गरून्, धैर्यवान् र सहनशील होऊन्, प्रजातान्त्रिक भावना र आचरण बढाऊन्, ज्यादा जिम्मेवार होऊन् र आफूले आफैंलाई अब हाम्रो काँधमा जवाफदेही आयो भनून्, नेपालका युवाले एउटा दृष्टान्त दिने आदर्श प्रस्तुत गरून्, युरोपेली मुलुकहरूमा भन्दा यहाँ ज्यादा संवेदनशील, ज्यादा ग्रहणशील, ज्यादा प्रतिबद्ध र ज्यादा योग्य युवकहरू छन् भन्ने दृष्टान्त दिऊन् । 

म यो पनि भन्छु– युवकहरू समस्याको भयावहताभन्दा निदानपट्टि सोचून् कि तिनको जवाफदेही छ, प्रजातन्त्रप्रति पनि– अहिले त प्रजातन्त्रको जवाफदेही मैले बोकेको छु भनेर नवयुवकहरू कसैले पनि त्यो जवाफदेही बोकेका छैनन् । उनीहरू भन्छन्– हामीसित त केवल जोस मात्र छ, जवाफदेही वहन गरिरहनुपर्ने आवश्यकता नै परेको छैन र हामीले सोच्नु पनि परेको छैन । उनीहरू किन सोच्दैनन् ? बूढाबूढीहरूले अरू नसोचे पनि हुन्छ । तर, युवाहरूले त झन् सोच्नुपर्छ । अब जुवा हाम्रै काँधमा पर्न आएको छ भन्ने बुझ्नेबित्तिकै उनीहरू सबै कुरा बुझ्न थाल्नेछन् । यस्तो सोचाइ र जवाफदेहीप्रतिको चेतनाले युवकहरूलाई उग्रवादको आकर्षणबाट वास्तविक धरातलमा ओरालिदिन्छ । मलाई बारबार मानिसहरू भन्छन्– तपाईंका युवाहरू बुझ्दै बुझ्दैनन् । नबुझी, नसोची उनीहरू के काम गर्न सक्छन् ? म चाहन्छु– उनीहरू सोचून्, बुझून् र काम गरून् । म भन्छु– उनीहरू आफ्नो मनोभावना बदलून्, जिम्मेवारीको भावना बढाऊन् र चुनौती सामना गर्न बढी समर्थ हुन् । 

हो, यहाँ मात्र होइन, हिन्दुस्तानमा पनि कति उद्दण्ड वामपन्थी भएर आएका छन्– खातापिता परिवारबाट, सुविधाभोगी वर्गबाट, जसका बाबुआमाले मरीमरीकन कुटो, कोदालो गरेर पढाउँछन्, तिनीहरू त्यसमा आएका छैनन् । जसलाई यो थाहा छ, मैले पढेर मेरा बाबुआमालाई पाल्नुपर्छ भन्ने– तिनीहरू आएका छैनन् । केवल विशेष सुविधा सम्पन्न वर्गबाट मात्र ‘रेडिकल्स’ आएका छन् । भारतमा करोडपतिका छोराहरू आएका छन् भने हाम्रो यहाँ पनि त्यस्तै पुँजीपति र सुविधाभोगीका छोराहरू मात्रै आएका छन् ।

अनि आज समयसँगै एउटा विकृति आइरहेछ, विकृत संस्कृति आइरहेछ, हिप्पी कल्चरजस्तो, किसिम–किसिमको । अर्कै सांस्कृतिक अतिक्रमण भइरहेछ । संगीत पनि त्यस्तै थर्काउने किसिमको अनि हल्लालाई नै संगीत भनिदिया छ । साहित्य पनि त्यस्तै, कुनै गम्भीर किसिमको होइन । यसरी पश्चिमी विकृत पक्षले समग्र रूपमा सुविधासम्पन्न वर्गका युवालाई प्रभावित गरिरहेछ । आज कला, विज्ञान तथा साहित्यमा यत्रो विकास भइरहेछ, तर यस्ता युवकहरूको ध्यान त्यतापट्टि होइन, तल्लोस्तरको साधारण कुराहरूपट्टि आकृष्ट भएको छ । अनि यस्तै ‘प्रिभिलेज क्लास’ बाट आएका युवाहरू नै विदेशी शक्तिहरूबाट सञ्चालित भएका छन् । यहाँ पनि यस्तै वर्गबाट आएका युवकहरू नै सबैभन्दा गैरजिम्मेवार कार्यमा संलग्न छन् । 

तर, अर्को पक्ष पनि छ– प्रजातान्त्रिक आन्दोलनमा धेरै युवकहरू मध्यम वर्ग, निम्न मध्यम वर्ग र अधिकांशचाहिँ अहिलेको व्यवस्थाले उपेक्षा गरेको उपेक्षित वर्गबाटै आएका छन् । मलाई लाग्छ, यी प्रजातन्त्रवादीहरूले ती दस या पन्ध्र प्रतिशत रेडिकल्स (उग्रवादीहरू), जसले संरक्षण पनि पाएका छन्, सित मुकाबिला गर्न सक्छन् । तर, उनीहरूले सिद्धान्तप्रति निष्ठावान् र प्रतिबद्ध हुनुपर्छ । लैलैमा लागेर हुँदैन । युवकहरूले ‘तातै खाऊँ जल्दै मरौं’ पनि गर्नु हुन्न । त्यसो गरे भने ती प्रजातन्त्रवादी युवा भएनन् । अनि युवकहरूले सोच्ने प्रक्रियालाई बन्द गरे भने जहिले पनि उनीहरू गल्ती काम गर्न पुग्छन् । 

यसैले जड कुरा हो, युवकहरूले आफ्नो जीवनमा प्रजातान्त्रिक भावना वा मनोवृत्ति निर्माण गर्नुपर्दछ । राजनीतिमा मात्र होइन, खेती–नोकरी इत्यादि जुनसुकै क्षेत्रमा रहेर, जे काम गरे तापनि प्रजातान्त्रिक भावना आवश्यक पर्दछ । भन्ठान्या छ, प्रजातन्त्र भनेको एउटा राजनीतिक व्यवस्था मात्रै हो । त्यसो होइन । प्रजातन्त्र भनेको त मनोभावना वा धारणा हो । जीवनप्रतिको भावना, समाजप्रतिको भावना, कुनै पनि प्रश्नमाथिको दृष्टिकोण नै प्रजातन्त्र हो । यो प्रजातान्त्रिक भावना आफैंप्रति, अरूप्रति, परिवारप्रति पगपगमा अवलम्बन गर्नुपर्दछ ।

बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी नेपाली साहित्यमा पनि लाेकप्रिय छन् ।

Link copied successfully