कार्यमूलक लोकतन्त्र, लोकतन्त्रको संस्थागत सबलीकरण, शक्ति पृथकीकरण, विधिको शासन, सुशासन, जवाफदेहिता, मानवअधिकारलगायतका सूचकांकको दृष्टिले राष्ट्रपतीय प्रणालीभन्दा संसदीय प्रणाली श्रेष्ठ देखिन्छ
What you should know
जेन–जी आन्दोलन सफल भई अन्तरिम सरकार बनेपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको ज्वलन्त बहस पुनः सुरु भएको छ । प्रारम्भमा आन्दोलन घोषणा गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको माग कुनै पनि जेन–जी समूहको थिएन । तर काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र केही जेन–जी अगुवाहरूले यस्तो माग गरेपछि नेपाली राजनीतिमा शक्तिशाली तरंग सिर्जना भएको छ ।
मेयर शाह र केही जेन–जी अगुवाहरूले मात्रै होइन, माओवादीका संयोजक पुष्पकमल दाहाल र एक दशकअगाडि माओवादी परित्याग गरी वैकल्पिक राजनीतिको वकालत गर्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको मुद्दा पुनः उठाएका छन् । पहिलो र दोस्रो संविधानसभामा राष्ट्रपतीय प्रणालीबारे व्यापक छलफल, बहस र विवाद भएको थियो । तर राष्ट्रपतीय प्रणालीमा दलहरूबीच सहमति हुन नसकेपछि अन्ततः सुधारिएको संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीमा सम्झौता भएको थियो ।
के संसदीय प्रणाली असफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसरण गर्ने अवस्था सिर्जना भएकै हो ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीका सकारात्मक र नकारात्मक पक्ष के के हुन् ? के प्रत्यक्ष कार्यकारी निर्वाचित हुने प्रणालीमा राजनीतिक स्थायित्व हुन्छ ? यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हो भने त्यो प्रधानमन्त्रीय प्रणाली हो कि राष्ट्रपतीय प्रणाली ?
विद्यमान राजनीतिक अस्थिरताको एक मात्र समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी हो ? भन्नेजस्ता अनुत्तरित र जटिल प्रश्नहरू पनि बहस सँगसँगै उठेका छन् । यी केवल भावनात्मक र प्रतिक्रियात्मक प्रश्न मात्रै होइनन्, शासकीय स्वरूप जस्तो महत्त्वपूर्ण मुद्दा भएकाले यसका सैद्धान्तिक पक्ष र अभ्यासका क्रममा देखिएका परिणामको वस्तुनिष्ठ अध्ययन गरी ठोस निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी किन ?
विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीले बहुमत हासिल गरी स्थिर सरकार बन्ने सम्भावना छैन । संसद्बाट प्रधानमन्त्री निर्वाचित हुने संसदीय प्रणाली नै राजनीतिक अस्थिरता र संकटको प्रमुख स्रोत हो । यस्तो असफल र अस्थिर प्रणालीको सट्टा राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अंगीकार गर्नु आवश्यक छ । नेपाली राजनीतिको विद्यमान संकटको एक मात्र समाधान यही हो र यस्तो निर्णय गर्ने उपयुक्त घडी पनि अहिले नै हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्रै जनभावनाअनुसार जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गर्छ र विकास, सुशासन र डेलिभरीको पनि प्रत्याभूति गर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली पक्षधर पार्टी, समूह र व्यक्तिका तर्क, बहस र पैरवी यिनै हुन् ।
एकातिर विशेष अवस्थाबाहेक एकल बहुमत आउने सम्भावना क्षीण भएको वास्तविकता विगतका दुइटा निर्वाचनले प्रमाणित गरिसकेका छन् । अर्कोतिर एकल बहुमत हुँदा पनि राजनीतिक स्थायित्व हुन नसकेको इतिहास साक्षी छ । २०४८ र २०५६ मा कांग्रेसले स्पष्ट बहुमत हासिल गरेको थियो । तर स्थिर सरकारको प्रत्याभूति गर्न नसकेको मात्रै होइन, दुवै पटक मध्यावधि निर्वाचन घोषणा गरेपछि अस्थिरताको खेल सुरु भएको थियो ।
यसैगरी २०७४ मा एमाले र माओवादीको एकीकरणपछि बनेको तत्कालीन नेकपाको प्रचण्ड बहुमत थियो । तर पार्टीको आन्तरिक विवाद र शक्ति संघर्षको कारणले एकातिर दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरिएको थियो भने अर्कोतिर नेकपा नै विभाजित भयो । त्यसैले कांग्रेस र कम्युनिस्ट दुवैको बहुमतको सरकार बने पनि स्थिरता कायम गर्न असफल भए । संसदीय लोकतन्त्रवादीहरूका लागि जतिसुकै अप्रिय र कटु भए पनि राजनीतिक यथार्थता यही हो ।
यस्तो परिदृश्यमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावप्रति सकारात्मक बहस हुनु अस्वाभाविक भएन । उक्त प्रस्ताव केवल तर्कपूर्ण र कर्णप्रिय मात्रै छैन, आंशिक रूपमा सत्य पनि छ । सत्ताको घृणित खेलले राजनीतिक अस्थिरताको चक्रव्यूह र प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री उत्पादनको दुश्चक्र चलिरहेको घडीमा यस्तो प्रस्ताव थप सान्दर्भिक भएको देखिन्छ । सत्ता र शक्तिका लागि पार्टीहरूको यस्तो अश्लील दृश्य र राजनीतिक अस्थिरताका कारणले जनतामा वितृष्णा सिर्जना भएपछि केवल शासकीय स्वरूपका बारेमा मात्रै होइन, लोकतन्त्र र संविधानमाथि समेत प्रश्नहरू उठेका छन् । त्यसैले केवल राजनीतिक स्थिरताका दृष्टिले मात्रै होइन, लोकतन्त्र र संविधानको भविष्यको दृष्टिले समेत शासकीय स्वरूप सम्बन्धमा उपयुक्त निष्कर्षमा पुग्नु अपरिहार्य देखिएको छ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कि राष्ट्रपति ?
प्रारम्भदेखि नै माओवादी र उपेन्द्र यादव नेतृत्वको जसपा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली पक्षधर हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनमत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा वकालत गर्दै आइरहेका छन् । संसदीय लोकतन्त्रको पक्षधर कांग्रेस, एमालेले शासकीय स्वरूपको नयाँ बहसबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् र नयाँ दृष्टिकोण सार्वजनिक पनि गरेका छैनन् ।
केही जेन–जी अगुवाहरूले फागुन २१ मा नै प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने माग गर्दै आएका छन् । तर वास्तविकता के हो भने यो प्रतिनिधिसभाको निर्वाचन हो, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन होइन । उनीहरूले आत्मसात् गर्नुपर्ने यथार्थता के हो भने संसद्बिना संविधान संशोधन सम्भव छैन र संविधान संशोधनबिना शासकीय स्वरूप परिवर्तन हुने सम्भावना छैन । यदि शासकीय स्वरूप परिवर्तन गर्ने हो भने यसका पक्षधरहरूले उक्त एजेन्डा लिएर आसन्न निर्वाचनमा जनतामा जानुपर्यो र आगामी संसद्बाट संविधान संशोधन गर्नुपर्यो । होइन भने राजनीतिक बालहठको कुनै औचित्य छैन ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको अन्तर्राष्ट्रिय अभ्यास र परिणाम हेरौं । यस्तो प्रणाली अभ्यास गर्ने एक मात्र देश इजरायल हो । सन् १९४८ मा स्वतन्त्र र सार्वभौम राष्ट्र भएको मितिदेखि नै इजरायलले संसदीय प्रणाली अनुसरण गर्दै आएको छ । सन् १९९६ देखि २००१ सम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली अंगीकार गरेको थियो । सन् १९९६ देखि २००१ सम्मको ६ वर्षको अवधिमा तीन पटक प्रधानमन्त्रीको निर्वाचन भयो
। सन् १९९६ मा पहिलो पटक भएको प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनमा हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु निर्वाचित भए । तर संसद्सँग द्वन्द्व भई सरकारले आवश्यक कानुनसमेत निर्माण गर्न नसकेपछि पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित भएको भए पनि तीन वर्षमा नै अर्को निर्वाचन गर्नुपरेको थियो । सन् १९९९ मा भएको दोस्रो निर्वाचनमा एहुद बाराक निर्वाचित भए । तर बाराक सरकारको नियति पनि पूर्ववर्ती नेतान्याहुको जस्तै भएपछि दुई वर्ष पनि नपुग्दै पुनः सन् २००१ मा भएको अर्को निर्वाचनबाट एरियल स्यारोन निर्वाचित भए ।
तर स्यारोन सरकारले पनि समस्याको समाधान गर्न नसकेपछि अन्ततः सन् २००१ मा संविधान संशोधन गरी इजरायल पुनः संसदीय प्रणालीमा फर्किएको थियो । यसरी राजनीतिक स्थिरताका लागि अंगीकार गरिएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली नै राजनीतिक अस्थिरताको अर्को स्रोत भएपछि योभन्दा अर्को श्रेष्ठ विकल्प थिएन । त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली सैद्धान्तिक र प्रयोगात्मक दुवै दृष्टिले पूर्ण असफल पुष्टि भइसकेको छ । यदि नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै अंगीकार गर्ने हो भने राष्ट्रपतीय प्रणाली अंगीकार गर्नुपर्छ, प्रधानमन्त्रीय प्रणाली होइन । त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली पक्षधरहरूले आफ्नो प्रस्ताव नै पुनर्विचार गर्नु आवश्यक छ ।
कुन देशमा, कस्तो प्रणाली ?
सन् १९४१ देखि लोकतन्त्र, स्वतन्त्रता, विधिको शासन र मानवअधिकारका बारेमा अध्ययन–अनुसन्धान गर्दै आएको वासिङ्टनस्थित थिंकट्यांक फ्रिडम हाउसका अनुसार १०० भन्दा बढी देशले लोकतान्त्रिक प्रणाली अनुसरण गरेका छन् । बेलायत, भारत, जापान, क्यानडा, अस्ट्रेलिया, जर्मनी, इटाली, बेल्जियम, स्पेन, इजरायल, पाकिस्तान, बंगलादेशलगायत ६० भन्दा बढी देशले संसदीय प्रणाली अनुसरण गरेका छन् । यो कुल लोकतान्त्रिक देशको संख्याको ६० प्रतिशतभन्दा बढी हो । अमेरिका, ब्राजिल, मेक्सिको, नाइजेरिया, केन्या, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण कोरिया, कोलम्बिया, पेरु, चिली, अर्जेन्टिना, घाना, इजिप्ट, ताइवानलगायत करिब २५ भन्दा बढी देशले राष्ट्रपतीय प्रणाली अनुसरण गरेका छन् । यो कुल संख्याको २५ प्रतिशतभन्दा बढी हो । यसैगरी फ्रान्स, पोर्चुगल, युक्रेन, श्रीलंका, फिनल्यान्ड, रोमानियालगायतका देशले अर्धराष्ट्रपतीय प्रणाली अनुसरण गरेका छन् ।
राष्ट्रपतीय प्रणालीका दृष्टिले अमेरिका, संसदीय लोकतन्त्रका दृष्टिले बेलायत र अर्धराष्ट्रपतीय प्रणालीका दृष्टिले फ्रान्स उदाहरणीय र सफल देश मानिन्छन् । तर ती सबै युरोप र अमेरिकाका समुन्नत देश हुन् । अमेरिकाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुन्छन् भन्ने बुझाइ नेपालमा रहेको पाइन्छ । तर प्रत्यक्ष निर्वाचनमार्फत होइन, निर्वाचक मण्डल (इलेक्टोरल कलेज) मार्फत निर्वाचित हुन्छन् । ५० राज्यमा ५३८ निर्वाचक मण्डल हुन्छन्, जसमध्ये २७० निर्वाचक मण्डलको मत हासिल गरेपछि राष्ट्रपति निर्वाचित हुन्छन् । सन् २०१६ को निर्वाचनमा डोनाल्ड ट्रम्पले भन्दा हिलारी क्लिन्टनले २८ लाखभन्दा बढी लोकप्रिय मत पाएकी थिइन् । तर ३०४ निर्वाचक मण्डलमा विजय हासिल गरेकाले ट्रम्प निर्वाचित भएका थिए । अमेरिकाको प्रतिनिधिसभा र सिनेटको चुनाव भने प्रत्यक्ष प्रणालीमार्फत हुन्छ । त्यसैले अमेरिकी निर्वाचन प्रणालीबारे अमेरिकामा नै गम्भीर प्रश्नहरू उठेका छन् ।
बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । बेलायतको वेस्टमिनिस्टरमा संसद् भवन भएको कारणले संसदीय लोकतन्त्रलाई वेस्टमिनिस्टर प्रणाली पनि भनिन्छ । संसदीय प्रणाली अप्रत्यक्ष लोकतन्त्र र प्रतिनिधिमूलक प्रणाली हो भने राष्ट्रपतीय प्रणाली प्रत्यक्ष र सहभागितामूलक प्रणाली हो । संसदीय प्रणालीमा जनताले सांसद निर्वाचित गर्छन् र संसद्ले प्रधानमन्त्री निर्वाचित गर्छ । संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्मार्फत जनताप्रति उत्तरदायी हुन्छ । संसदीय सर्वोच्चताको मूल्य र मान्यतालाई आत्मसात् गरिने यो प्रणालीमा मात्रै संसद् वास्तविक रूपमा सार्वभौम हुन्छ । फ्रान्सका राष्ट्रपति प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । सन् १९६२ देखि फ्रान्सले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अनुसरण गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र निरुत्साहित परिणाम
राजनीतिक स्थायित्वका लागि अनुसरण गरिएको भनिएका देशमा राष्ट्रपतीय प्रणाली क्रमिक रूपमा सर्वसत्तावादी र अधिनायकवादी प्रणालीमा रूपान्तरित हुँदै गए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिहरू राजनीतिक स्थायित्वको भन्दा पनि सर्वसत्तावाद र अधिनायकवादको बिम्ब बन्दै गएका छन् । दोस्रो विश्वयुद्धपछि उपनिवेशबाट स्वतन्त्रता हासिल गरेका १७ ल्याटिन अमेरिकी देशमा राष्ट्रपतीय प्रणाली अनुसरण गरिएको थियो ।
तर उरुग्वे र कोस्टारिकाबाहेक १५ देशमा एकपछि अर्को गरी अन्ततः लोकतन्त्र संकटमा पर्दै गए । ती देशमा कि निर्वाचित राष्ट्रपतिहरू सर्वसत्तावादी र अधिनायकवादी भए कि निर्वाचित राष्ट्रपतिलाई सैन्य कु गरी अपदस्थ गरियो । कि सेनाको समर्थन लिएर राष्ट्रपति आफैंले लोकतान्त्रिक प्रणालीविरुद्ध कु गरे कि सडकबाटै सरकार विस्थापित गर्ने गैरलोकतान्त्रिक अभ्यास गरियो । तर कुनै पनि देशमा स्वतन्त्र निर्वाचन, स्वस्थ लोकतान्त्रिक अभ्यास र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण भएन ।
अन्तर्राष्ट्रिय अभ्यासका दृष्टिले राष्ट्रपति प्रत्यक्ष निर्वाचित भए पनि अपवादबाहेक राष्ट्रपतिको दलले संसद्मा बहुमत हासिल गरेको पाइँदैन । संसद्मा बहुमत नभएपछि बजेटदेखि कानुन निर्माणसम्म सरकार अल्पमतमा हुन्छ । न समयमा बजेट पारित हुन्छ, न राष्ट्रपतिले चाहेको कानुन पारित हुन्छ । त्यसैले राष्ट्रपति र संसदबीच द्वन्द्व चर्किएर अन्ततः राष्ट्रपति र संसद् दुवै असफल हुँदै आएको अन्तर्राष्ट्रिय अभ्यासले पुष्टि भएको छ ।
आर्थिक विकास र सुशासनका दृष्टिले विश्लेषण गर्दा विश्वका १० धनी देशमध्ये सिंगापुर, लक्जमबर्ग, नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, आइसल्यान्ड गरी ७ देशमा संसदीय प्रणाली छ । बाँकी ३ मध्ये अमेरिका र गुयनामा राष्ट्रपतीय प्रणाली र ताइवानमा अर्धराष्ट्रपतीय प्रणाली छ । यसैगरी विश्वका १० सबैभन्दा गरिबमध्ये दक्षिण सुडान, बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, मोजाम्बिक, मलावी, कंगो, लाइबेरिया, माडागास्कर, नाइजर गरी ९ देशमा प्रत्यक्ष वा अर्धप्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली छ ।
पाकिस्तान, जर्जिया, लेबनान, अर्मेनिया, आइसल्यान्डलगायतका देशले राष्ट्रपतीय प्रणाली त्यागेर संसदीय प्रणाली अनुसरण गरेका हुन् ।
कार्यमूलक लोकतन्त्र, लोकतन्त्रको संस्थागत सबलीकरण, शक्ति पृथकीकरण, विधिको शासन, सुशासन, जवाफदेहिता, मानवअधिकारलगायतका सूचकांकको दृष्टिले राष्ट्रपतीय प्रणालीभन्दा संसदीय प्रणाली श्रेष्ठ देखिन्छ । राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र डेलिभरीका लागि अंगीकार गरिएको भनिएको राष्ट्रपतीय प्रणालीले न राजनीतिक स्थायित्व कायम गर्न सक्यो, न आर्थिक विकास, सुशासन र डेलिभरी नै प्रत्याभूति गर्न सक्यो । संसदीय र राष्ट्रपतीय प्रणालीबारे लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका यल विश्वविद्यालयका प्राध्यापक जुवान लिन्ज र रोबर्ट डाहल, स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक ल्यारी डायमन्ड, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक स्टेफन अल्फ्रेडलगायतका राजनीतिशास्त्रीहरूले यही निष्कर्ष निकालेका छन् ।
नेपालका लागि उपयुक्त मोडेल
यदि नेपालमा पनि राष्ट्रपतीय प्रणाली अनुसरण गरियो भने माथि उल्लेख गरिएका देशमा जस्तै सर्वसत्तावादी र अधिनायकवादी सत्तामा रूपान्तरित हुने जोखिम उच्च छ । किनभने संसद्मार्फत बनेका प्रधानमन्त्री त सर्वसत्तावादी र अधिनायकवादी हुने धृष्टता गर्दै आएका छन् भने जनताबाट प्रत्यक्ष निर्वाचित भएपछि त्यस्तो प्रवृत्ति कति हाबी होला ? राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिरता सुनिश्चित गर्नु आवश्यक छ । तर स्थिरताका नाममा अधिनायकवादी वा सर्वसत्तावादी प्रणाली अनुसरण गर्नु अर्को गल्ती हुनेछ । बरु अधिनायकवाद वा सर्वसत्तावादभन्दा कम हानिकारक अस्थिर सरकार हुनेछ । त्यसैले उक्त वास्तविकताबाट शिक्षा लिनु लोकतन्त्रको भविष्यका लागि लाभदायक हुनेछ ।
मानौँ, राष्ट्रपतीय प्रणाली अनुसरण गरियो । के राष्ट्रपतिको दलले संसद्मा पनि बहुमत हासिल गर्ला ? जुन सम्भावना क्षीण देखिन्छ । विगत निर्वाचनमा एमालेले २६ प्रतिशत, कांग्रेसले २५ प्रतिशत, माओवादीले १२ प्रतिशत र रास्वपाले ११ प्रतिशत मत हासिल गरेका थिए । त्यसैले दुई वा दुईभन्दा बढी दलबीच सहमति वा सहकार्य नगरीकन संसद्बाट कानुनसमेत पारित हुन सक्दैन । नेपालमा पनि राष्ट्रपतीय प्रणाली असफल भएका देशमा जस्तै कि सडकबाट सरकार विस्थापित गर्ने कि सैन्य कु मार्फत अपदस्थ गर्ने गैरलोकतान्त्रिक प्रक्रिया प्रारम्भ हुनेछ । लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ?
उपरोक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयोग र परिणामका आधारमा विश्लेषण गर्दा नेपालका लागि संसदीय प्रणाली नै उपयुक्त हो । संसदीय प्रणालीका विद्यमान समस्या, विकृति र विसंगतिको संविधान संशोधन र निर्वाचन प्रणाली परिमार्जन गरी समाधान गर्नुपर्छ र यही प्रणालीलाई नै थप उन्नत, उत्तरदायी र प्रभावकारी बनाउनुपर्छ । राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुक्तिका लागि राजनीतिक स्थिरताका नाममा अर्को अधिनायकवादी तथा सर्वसत्तावादी प्रणाली अपनाउनु भनेको ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्ने’ नेपाली उखानजस्तै हो । त्यसैले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनपछि बन्ने संसद्बाट संविधान संशोधन गरी राजनीतिक स्थायित्वका साथै जनताप्रति थप उत्तरदायी बनाउनका लागि निम्नलिखित सुझावलाई आत्मसात् गर्नु स्वयं दलहरूकै राजनीतिक स्वार्थ र भविष्यका दृष्टिले स्वस्थवर्द्धक हुनेछ ।
एक, हरेक दलले निर्वाचनमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नुपर्छ । जुन दलले बहुमत हासिल गर्छ, सोही उम्मेदवार नै प्रधानमन्त्री हुनुपर्छ । यदि यस्तो अभ्यास अनुसरण गरियो भने दलभित्र प्रधानमन्त्री हुनका लागि हुने अस्वस्थ अभ्यासको अन्त्य हुनेछ भने प्रधानमन्त्रीलाई जनताप्रति थप उत्तरदायी बनाउनेछ ।
दुई, जुन दलले बहुमत हासिल गर्छ, उक्त दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने स्वाभाविक संवैधानिक प्रक्रिया भयो । यो बहस र विवादको विषय नै भएन । यदि कुनै पनि दलले बहुमत हासिल गरेन भने संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । प्रधानमन्त्रीका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न नपाउने प्रावधानलाई निरन्तरता दिनुपर्छ ।
तीन, यदि सबैभन्दा ठूलो दलको नेतृत्वमा बनेको सरकारले संसद्को विश्वास गुमायो वा सरकार असफल भयो भने तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । यदि उक्त सरकार पनि असफल भयो भने ताजा जनादेशका लागि जनतामा जानुभन्दा अर्को श्रेष्ठ विकल्प रहने छैन ।
चार, स्वतन्त्र न्यायालय, संवैधानिक तथा प्राज्ञिक संस्था, सुरक्षा निकायलगायत राज्यका सबै निकायलाई दलीयकरण गरी सरकार र दलहरूले अवाञ्छित राजनीतिक लाभ लिने गर्ने प्रवृत्तिको अविलम्ब अन्त्य गरी स्वस्थ लोकतान्त्रिक अभ्यासको प्रत्याभूति गरिनु अपरिहार्य छ ।
