धैर्यको बाँध टुटिसकेका आयोजनाले खोजेको निर्णय

अहिलेको ठेक्का तोडिने तर त्यसपछि अर्को ठेक्कामा पनि उसैगरी ढिलाइ हुनु उचित हुँदैन । वर्तमान अन्तरिम सरकारको आयु केही महिना मात्रै भएकाले पनि योजनाहरू झन् अलपत्र हुने हुन् कि भन्ने आशंका छ ।

कार्तिक १३, २०८२

सम्पादकीय

The decision sought by the project, whose patience has been shattered

What you should know

अंग्रेजीमा एउटा भनाइ छ– ‘इन्डिङ इज बेटर देन पेन्डिङ ।’ अर्थात्, अनिश्चिततामा रहनुभन्दा टुंगिनु धेरै राम्रो हुन्छ । त्यस्तो स्थितिले नयाँ प्रयत्न र सम्भावनाको ढोका खोल्छ ।

उल्लेखनीय प्रगति हुन नसकेका देशभरका सडक, सिँचाइ र पुलका आयोजनाहरूको ठेक्का सम्झौता तोड्ने प्रक्रियालाई अनिश्चितताको अन्त्य र नयाँ थालनी गर्ने अवसरका रूपमा अर्थ्याउन सकिन्छ । वर्षौंअघि ठेक्का लागेका, निर्माण सम्पन्न हुने अवधि उहिल्यै बितिसकेका तर म्याद थपिएको थपियै गरिएका विकास निर्माणका योजना खासमा भ्रष्ट र गैरजिम्मेवार शासनशैलीका बिम्ब बनेर बसेका छन् ।

त्यस्ता आयोजनाले जनतालाई उत्साह होइन, दिग्दारी वितरण गरिरहेका छन् । ती आयोजना पूरा होला र लाभ लिउँला भन्ने धैर्यको बाँध पनि टुटिसकेका छन् । त्यसैले पहिल्यै ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गरिसक्नुपर्ने थियो । ढिलै भए पनि सरकार त्यसतर्फ अघि बढेको छ । यो सकारात्मक छ ।

यतिबेला ठेक्का सम्झौता तोड्ने प्रयोजनका लागि सम्बन्धित कार्यालयहरूले ‘ठेक्का किन नतोड्ने ?’ भन्दै सम्बन्धित निर्माण कम्पनीका नाममा धमाधम १५ दिने सार्वजनिक सूचना निकालिरहेका छन् । सडकतर्फ १ सय ९५, सिँचाइअन्तर्गत ६, झोलुंगे पुलका ६ र पक्की पुलका दुई गरी २०९ ठेक्का सम्झौता तोड्ने सूचना निकालिएको हो । तोड्न लागिएका ठेक्काहरू केही लाखदेखि करोडसम्मका छन् ।

यीमध्ये कैयौं योजनाहरूको निर्माण कार्य वर्षौंअघि नै सकिनुपर्ने थियो । जस्तो कि, नयाँयुग निर्माण सेवाले ३ लाख रुपैयाँमा सक्ने गरी १६ फागुन २०६७ मा ठेक्का लिएको गोठाटार सडक खण्ड निर्माण तथा सुधारमा समेत ४८ प्रतिशत मात्र प्रगति छ । ठेक्का सम्झौताअनुसार ३० जेठ २०६८ मा यसको काम सकिनुपर्थ्यो । यस्तै प्रवृत्ति देशका प्रायः आयोजनामा देखिन्छ ।

सानादेखि ठूला विकास निर्माणका आयोजनाहरू समयै नसकिनु सामान्य बनेको छ । साना ठेकेदारदेखि ठूला विदेशी कम्पनीले ठेक्का लिएकासम्म, स्थानीय तहका योजनादेखि राष्ट्रिय गौरवका आयोजनासम्मको हालत उस्तै छ । निर्माण सम्पन्न हुनुपर्ने मितिमा विरलै काम सकिन्छन् । बरु वर्षौंसम्म म्याद थपिएको थपियै गरिएको पाइन्छ ।

यसले लागत बढाउने त छँदै छ, समयमै निर्माण सम्पन्न हुँदा लिन सकिने लाभ लिनबाट सम्बन्धित पक्षसमेत वञ्चित हुन्छन् । कतिपय आयोजनासँग जोडिने पेसागत तथा व्यावसायिक र रोजगारीका सम्भावनासमेत धकेलिन्छ । मानिसमा हैरानी थपिन्छ । उदाहरणका रूपमा नारायणगढ–बुटवल सडक खण्ड स्तरोन्नतिको योजनालाई लिन सकिन्छ ।

२०७५ चैत ८ मा ठेक्का लागेको यो योजनाको काम २०७९ साउन २२ भित्र सकिनुपर्थ्यो । तर नसकिँदा पटक–पटक म्याद थप्नुपरेको छ । नागरिकले पनि सास्ती खेप्नुपरेको छ । कतिपय खण्डमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोले यात्रा कष्टकर हुने गरेको छ । जामले यात्रा अवधि लम्बिने गरेको छ ।

सबै कमजोरी निर्माण व्यवसायीको मात्रै नहुन सक्छ । साइट क्लियरेन्स तथा भुक्तानीमा सरकारी पक्षको पनि कमजोरी भएको हुन सक्छ । स्थानीयले पनि अनावश्यक दबाब दिएर ठेकेदारलाई काम अघि बढाउनै नसक्ने स्थिति निर्माण गरेको पनि पाइन्छ । सरकारले ठेक्का तोड्नुअघि यस्ता पक्ष पनि विचार गर्नुपर्छ नै । तर ठेकेदारहरू स्वयं राजनीतिकर्मी हुने वा राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्न सक्ने व्यक्ति हुने, त्यसकै आधारमा ठेक्का प्राप्त गर्ने, त्यही शक्तिका आडमा समयमै निर्माण पूरा नगर्ने प्रवृत्ति पनि छ ।

काठमाडौंमा बढी ठेक्का अधुरै राख्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीका रूपमा चिनिएका शरदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन पर्छ । यस्तो आँट उनलाई राजनीतिक पहुँचले नै दिलाएको सहजै बुझ्न सकिन्छ । संघ र प्रदेशका सांसद तथा मन्त्रीहरू नै ठेकेदार पनि हुने गरेका छन् । उनीहरूले समेत समयमै काम सकेर उदाहरण बन्न सकेका छैनन् । यसरी विकास निर्माणका आयोजनाको आयोजना बेथितिको केन्द्र भइसकेको छ । त्यसैले सन्तोजनक प्रगति हुन नसकेका ठेक्का तोड्न आवश्यक थियो । वर्तमान सरकारले त्यसका लागि पहलकदमी लिएर नयाँ आशा सिर्जना गरेको छ ।

सरकारले ठेक्का तोड्नुलाई नै आफ्नो सफलता ठान्नु भने हुँदैन । सन्तोषजनक प्रगति हुन नसकेका र म्याद पनि थपिएको थपियै गर्नुपरेका योजनाको ठेक्का सम्झौता तोडिनु आवश्यक त छ, त्यस्ता ठेकेदारलाई कानुनसम्मत ढंगले दण्डित गर्न पनि आवश्यक छ । तर त्यसभन्दा महत्त्वपूर्णचाहिँ निर्माणको सुनिश्चितता गर्नुपर्छ ।

अहिलेको ठेक्का तोडिने तर त्यसपछि अर्को ठेक्कामा पनि उसैगरी ढिलाइ हुनु उचित हुँदैन । वर्तमान अन्तरिम सरकारको आयु केही महिना मात्रै भएकाले पनि योजनाहरू झन् अलपत्र हुने हुन् कि भन्ने आशंका छ । त्यसैले ठेक्का तोड्दै गर्दा अब छिट्टै निर्माण कार्य सम्पन्न हुनेछ भनेर विश्वास दिलाउने काम सरकारको हो । त्यस्तो विश्वास मौखिक होइन, कानुन र विधिबाट हुनुपर्छ । 

समयमै योजना सम्पन्न नहुनुको अतिरिक्त तोकिएको गुणस्तर पनि पूरा भएको पाइँदैन । असार अन्तिमतिर गरिएका कालोपत्र केही हप्तामै उप्किएको दृश्य हरेक वर्ष देखिन्छ । कतिपय पुल पनि बन्दाबन्दै भत्किएको वा निर्माण कार्य सम्पन्न भएपछि पनि प्रयोग गर्न नमिल्ने गुणस्तरको हुने गरेको छ । यस्तो कार्यले बजेटको दुरुपयोग हुन्छ, पुनर्निर्माणमा पनि खर्च गर्नुपर्ने भएकाले लागत बढाउँछ । पटक–पटक एउटै योजनाका लागि बजेट व्यवस्थापन गर्नुपर्दा अन्यत्रको अवसर कटौती हुन पुग्छ । गुणस्तरहीन निर्माणले मानिसको ज्यानसमेत जोखिममा पार्छ । त्यसैले समयमै योजना सम्पन्न हुने र गुणस्तर सुनिश्चित हुने बलियो प्रणाली अपरिहार्य छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully