प्राध्यापन, प्रशासन, कूटनीति क्षेत्रमा २७ वर्ष र बााकी जीवन राजनीति अनि समाज सेवामा बिताए– पूर्वअर्थमन्त्री डा. यादवप्रसाद पन्तले
What you should know
दवप्रसाद पन्तले अर्थ राज्यमन्त्री, अर्थमन्त्री र जलस्रोतमन्त्रीको जिम्मेवारी निर्वाह गर्दा मैले निजी सचिवका रूपमा लामै समय सँगै काम गर्ने अवसर पाएँ । मन, वचन र कर्मले इमानदारितापूर्वक त्यो कर्तव्य निभाएँ । ती बहुप्रतिभाशाली बौद्धिक व्यक्तित्वको समीप रही काम गर्न पाउँदा धेरै कुरा सिकें । विषयको गहन अध्ययन, मनन र वास्तविक स्थिति पहिल्याएपछि मात्रै निर्णय गर्ने उनको बानी थियो ।
राष्ट्रसेवकका रूपमा सेवामा रहँदा र सेवा निवृत्त भइसकेपछि पनि उनको सादा जीवन, मिलनसार व्यवहार, दृढ संकल्प र राष्ट्रप्रतिको समर्पणले अझै मलाई केही काम गर्न प्रेरित गरिरहन्छ । आज उनको जन्म शताब्दीका अवसरमा श्रद्धाञ्जलीस्वरूप केही अनुभव सुनाउनुलाई मैले आफ्नो कर्तव्य सम्झेको छु ।
बहुप्रतिभाशाली व्यक्ति
सरल स्वभाव, सादा जीवन, शालीन व्यक्तित्व भएका डा. पन्तले २९ वर्षको उमेरमै विद्यावारिधि गरे । प्राध्यापन, योजना तथा विकासमा संलग्न रही ३६ वर्षको उमेरमा अर्थ तथा आर्थिक योजना मन्त्रालयको सचिव र त्यसपछि अर्थ सचिव हुँदै नेपाल राष्ट्र बैंकको गभर्नर भए । गभर्नरपछि २०३१ मा जापान, फिलिपिन्स, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डका लागि राजदूत भए ।
र, २०३६ मा आर्थिक आयोगको अध्यक्ष । संयुक्त राष्ट्रसंघअन्तर्गतको तत्कालीन संस्था इकाफे (हाल इस्क्याप) मा सरकारबाट मनोनीत भई दुई वर्ष सेवा गर्ने पहिलो नेपाली पनि उनै भए । प्राध्यापन, प्रशासन, कूटनीतिको क्षेत्रमा २००८ देखि २०३७ सम्म २७ वर्ष र बाँकी जीवन राजनीति तथा समाज सेवाका क्षेत्रमा निरन्तर काम गरे । उनको अर्थशास्त्र विषयसँग सम्बन्धित दर्जन बढी पुस्तक, ३ सयभन्दा बढी आलेख र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा शोधपत्र प्रकाशित भएका छन् ।
आर्थिक–प्रशासनिक सुधारका क्रममा मुख्यतः उद्देश्यमूलक बजेटको आधार, निर्माण तथा कार्यान्वयनमा वर्गीकरण, निकासा प्रक्रियामा सरलीकरण, केन्द्रीकृत प्रक्रियाले कार्यान्वयनमा पार्ने नकारात्मक असर घटाउन स्थलगत निरीक्षण र अनुगमनमा उनी सक्रिय थिए । उनले आर्थिक सर्वेक्षण तयार पारी व्यवस्थापिका संसद् (तत्कालीन राष्ट्रिय पञ्चायत) मा वार्षिक रूपमा पेस गर्ने प्रचलनको सुरुवात पनि गरे ।
निर्णयमा दृढ
आर्थिक वर्ष २०४०/०४१ को बजेट तर्जुमा क्रममा अर्थ सचिव, विशेष अधिकृत, सहसचिवहरू, आर्थिक सल्लाहकार र विज्ञ सम्मिलित टोलीले बजेटको स्वरूप तयार पारेको थियो । त्यसमा अर्थमन्त्री डा. पन्त नियमित रूपमा सहभागी थिए । राष्ट्रिय पञ्चायतमा अर्थमन्त्रीले बजेट पेस गर्न केही दिन मात्रै बाँकी थियो । प्रधानमन्त्री सूर्यबहादुर थापाकोर् िनर्देशनमा राजनीतिक तथा कार्यक्रमगत हिसाबले छलफल गर्न अर्थमन्त्री, पञ्चायत तथा स्थानीय विकासमन्त्री र उद्योग वाणिज्यमन्त्री सम्मिलित बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।
बजेटको नीति, स्वरूप र कार्यक्रमबारे प्रस्तुति भएपछि छलफलका क्रममा अन्य मन्त्रीले मुख्यतः राजनीति, निर्वाचन क्षेत्र र वितरणमुखी विनियोजन गर्न सुझाव दिएका थिए । अर्थमन्त्री पन्तले धैर्यपूर्वक सबै सुनिरहे । आफैं सम्मिलित भई आन्तरिक रूपमै तयार पारिएको बजेटको प्रारूप तथा विनियोजनमा परिवर्तन गर्न अर्थमन्त्री सहमत भएनन् । मुलुकको समग्र आर्थिक परिसूचक, आय–व्ययको स्थिति, आर्थिक स्थिरता र कार्यान्वयन क्षमताका आधारमा तयार भएको बजेटको प्रारूपमा परिवर्तन गर्न नसक्ने उनले स्पष्ट पारे । अरू मन्त्रीहरू अर्थमन्त्रीको जवाफले सन्तुष्ट भएनन् । तर, समग्र आर्थिक अवस्था चित्रण गरी प्रधानमन्त्रीसमक्ष अर्थमन्त्रीले पुनः बजेटको स्वरूपबारे दृढतापूर्वक बताएपछि राष्ट्रिय पञ्चायतमा त्यही बजेट पेस भयो ।
उनी थिए– व्यक्तिगत स्वार्थ नहेरी राष्ट्र हितको विषयलाई सर्वोपरि मान्ने एक व्यक्तित्व । बजेट पेस गरिसकेपछि २०४० असारमा उनी सरकारबाट बाहिरिएका थिए ।
अर्को घटना सम्झँदा
सन् १९६६ मा भारतले भारतीय रुपैयाँको ३६ प्रतिशतले अवमूल्यन गर्यो । पछि सोही अनुपातमा भारतीयको तुलनामा नेपाली मुद्राको पुनर्मूल्यांकन भई नेपाली रुपैयाँ १.६० बाट १.०१ कायम भयो । डा. पन्त त्यसबेला अर्थसचिव थिए । पुनर्मूल्यांकनको नकारात्मक प्रभाव न्यून पार्न पटक–पटक समायोजन गरी उनकै कार्यकालमा विनिमय दर १.४५ रुपैयाँ पुगेको थियो भने पछि नेरु १.६० कायम गरियो । त्यही विनिमय दर अझै यथावत् छ ।
राजनीतिमा वितृष्णा
२०३७ असारमा राष्ट्रिय पञ्चायतको मनोनीत सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेका पन्त २०४३ जेठमा नवलपरासीबाट राष्ट्रिय पञ्चायत सदस्यमा भारी बहुमतले निर्वाचित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य बनेर ३ वर्ष उपाध्यक्ष र ६ वर्ष कोषाध्यक्षका रूपमा काम गरे ।
जलस्रोतमन्त्री रहँदा आयोजना कार्यान्वयन र अर्थमन्त्री रहँदा बजेट तयार गर्ने क्रममा त्यस समयको शक्ति केन्द्रको दबाब थेगेर त्यो अनुकूल निर्णय नभएपछि २०४० मा अर्थमन्त्री र २०४५ मा जलस्रोतमन्त्रीबाट उनी बिदा भए । पदबाट बाहिरिनुपर्ने पूर्वजानकारी पाएपछि पनि सधैं सामान्य मुद्रामा हाँसीखुसी रहन्थे उनी । अर्थशास्त्रका विद्वान्, आस्था तथा विश्वासमा दृढ, कुशल प्रशासक, सफल कूटनीतिज्ञ, इमानदार राजनीतिज्ञ, कर्मनिष्ठ र राष्ट्रवादी थिए– डा. पन्त । नेपाली राजनीतिको विग्रह र समाजको विचलनले राजनीतिमा करिब दुई दशक बिताएका डा. पन्तलाई पछिल्लो समय राजनीतिप्रति वितृष्णा जागेको थियो ।
पारिवारिक संस्कार
डा. पन्तको पारिवारिक संस्कार थियो– धर्म, परोपकार, समाजसेवा र अध्यात्म । राजनीतिमा प्रवेश गरेपछि पनि उनी गरिब, असहाय, दीनदुःखी र अशक्तको सेवामा समर्पित थिए । इमानदारिता, सुसंस्कार र शिक्षाबाट उनको परिवार दीक्षित थियो ।
उनी मन्त्री छँदा सरकारबाट उनले पाउने पारिश्रमिकलगायत स्वकीय सचिवालयको खर्चबापत प्राप्त हुने रकम र स्वकीय सचिवालयका कर्मचारीलाई दिनुपर्ने तलबलगायतका खर्च गरिसकेपछि बाँकी रहने उनको पारिश्रमिक आर्थिक सहयोगमा खर्च हुन्थ्यो ।
महिनाको अन्तमा खर्चको टिपोट विवरण बुझाएपछि बढी खर्च भएकामा मन्त्रीज्यूबाट सोधभर्ना प्राप्त हुने र बाँकी भएमा अर्को महिनाका लागि मौज्दात सारिन्थ्यो । मन्त्रीको पारिश्रमिकसमेत दीनदुःखी बेसहाराको सहयोगका लागि उपयोग हुन्थ्यो । मेचीदेखि महाकाली र बनारस, अयोध्या, सिलिगुडीदेखि बद्रीनाथसम्मका साधुसन्तहरू खास गरेर विभिन्न धार्मिक कार्यक्रम तथा शिवरात्रिको समयमा उपस्थित हुने साधुसन्तको बाटो खर्चका लागि यस प्रकारको सहयोग गर्ने गरिन्थ्यो ।
मेरो आफ्नै सन्दर्भ
विसं २०३२, असारमा लोक सेवा आयोगबाट निजामती सेवाको शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) मा उत्तीर्ण भएका परीक्षार्थीमध्ये वाणिज्य र गणितशास्त्र विषय अध्ययन गरेका सबै सेवा प्रवेशीलाई सरकारले निजामती सेवाको लेखा समूहमा पदस्थापन गरेको थियो । मैले पनि वाणिज्यशास्त्र अध्ययन गरेकाले पदस्थापन लेखा अधिकृतमा भयो । भौगर्भिक सर्वेक्षण विभाग (हाल खानी विभाग) र वनस्पति विभागमा चार वर्ष लेखा अधिकृतको काम गरेपछि २०३६ सालमा शाखा अधिकृत पदमा अर्थ मन्त्रालयमा सरुवा भएको थियो । अर्थ मन्त्रालयअन्तर्गत राजस्व प्रशासनको सुधार गर्ने क्रममा जिल्ला मालपोत कार्यालयहरूमा अधिकृत तहको नयाँ दरबन्दी सिर्जना भएको कारणले अन्य मन्त्रालयबाट ठूलै संख्यामा अर्थ मन्त्रालयमा सरुवा भएका मध्ये म पनि थिएँ ।
घरमा एकल वृद्ध आमाको म एक्लो छोरो भएकाले पारिवारिक कारणले उपत्यका बाहिर जान सक्ने अवस्था थिएन । मन्त्रालयमै पदस्थापनाका लागि अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग अनुरोध गरेको थिएँ । डा. पन्तसँग पूर्वजान–पहिचान थिएन । त्यसबखत प्रशासन शाखाका उपसचिव तथा मन्त्रीको निजी सचिव हेममेहर श्रेष्ठले मेरो पारिवारिक कठिनाइ महसुस गरेर उनीसँग भेट गराइदिए । मन्त्री पन्तले ध्यानपूर्वक मेरो कठिनाइ बुझेपछि मेरो अर्थ मन्त्रालयमा पदस्थापन भयो र म उनको निजी सचिवालयमा काम गर्न थालें । लामो समयसम्म उनको सानिध्यता, माया, स्नेह र विश्वासमा काम गरें । जे जस्तो गरें, इमानदारीका साथ निर्वाह गरें भन्ने लाग्छ ।
डा. पन्त अर्थ राज्यमन्त्री, अर्थमन्त्री र जलस्रोतमन्त्री हुँदा उनको निजी सचिवका रूपमा मैले काम गरेको थिएँ । बिहानैदेखि मन्त्री भेट गर्न निवास र दिउँसो कार्यालयमा घुइँचो लाग्थ्यो । कार्यालयमा समय निश्चित गरिएका स्वदेशी तथा विदेशी संस्थाका प्रतिनिधिहरू, मन्त्रीहरू, माननीय सदस्यहरू, उच्च अधिकारीहरूलगायत सर्वसाधारणसँगको छलफल र सार्वजनिक कार्यक्रममा हुने सहभागिताले समय व्यवस्थापन गर्न सजिलो थिएन । जिल्लावासीहरू र सर्वसाधारणलाई भेटेर सबैको राय, सल्लाह, सुझाव लिई जनसम्पर्क बढाउने काम उनको प्राथमिकतामा पर्थ्यो । सफल र सुखी घरपरिवारका लागि डा. पन्त र उनकी धर्मपत्नी रमादेवी पन्तको सहृदयी सम्बन्ध, समझदारी र मायाको अनुकरणीय उदाहरण उनको परिवारमा प्रस्ट देखिन्थ्यो ।
– आचार्य पूर्वमहालेखा परीक्षक हुन् ।
