यादवप्रसाद पन्तको त्यो दृढ निर्णय

प्राध्यापन, प्रशासन, कूटनीति क्षेत्रमा २७ वर्ष र बााकी जीवन राजनीति अनि समाज सेवामा बिताए– पूर्वअर्थमन्त्री डा. यादवप्रसाद पन्तले 

कार्तिक १३, २०८२

भानुप्रसाद आचार्य

That firm decision of Yadav Prasad Pant

What you should know

दवप्रसाद पन्तले अर्थ राज्यमन्त्री, अर्थमन्त्री र जलस्रोतमन्त्रीको जिम्मेवारी निर्वाह गर्दा मैले निजी सचिवका रूपमा लामै समय सँगै काम गर्ने अवसर पाएँ । मन, वचन र कर्मले इमानदारितापूर्वक त्यो कर्तव्य निभाएँ । ती बहुप्रतिभाशाली बौद्धिक व्यक्तित्वको समीप रही काम गर्न पाउँदा धेरै कुरा सिकें । विषयको गहन अध्ययन, मनन र वास्तविक स्थिति पहिल्याएपछि मात्रै निर्णय गर्ने उनको बानी थियो । 

राष्ट्रसेवकका रूपमा सेवामा रहँदा र सेवा निवृत्त भइसकेपछि पनि उनको सादा जीवन, मिलनसार व्यवहार, दृढ संकल्प र राष्ट्रप्रतिको समर्पणले अझै मलाई केही काम गर्न प्रेरित गरिरहन्छ । आज उनको जन्म शताब्दीका अवसरमा श्रद्धाञ्जलीस्वरूप केही अनुभव सुनाउनुलाई मैले आफ्नो कर्तव्य सम्झेको छु । 

बहुप्रतिभाशाली व्यक्ति

सरल स्वभाव, सादा जीवन, शालीन व्यक्तित्व भएका डा. पन्तले २९ वर्षको उमेरमै विद्यावारिधि गरे । प्राध्यापन, योजना तथा विकासमा संलग्न रही ३६ वर्षको उमेरमा अर्थ तथा आर्थिक योजना मन्त्रालयको सचिव र त्यसपछि अर्थ सचिव हुँदै नेपाल राष्ट्र बैंकको गभर्नर भए । गभर्नरपछि २०३१ मा जापान, फिलिपिन्स, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डका लागि राजदूत भए ।

र, २०३६ मा आर्थिक आयोगको अध्यक्ष । संयुक्त राष्ट्रसंघअन्तर्गतको तत्कालीन संस्था इकाफे (हाल इस्क्याप) मा सरकारबाट मनोनीत भई दुई वर्ष सेवा गर्ने पहिलो नेपाली पनि उनै भए । प्राध्यापन, प्रशासन, कूटनीतिको क्षेत्रमा २००८ देखि २०३७ सम्म २७ वर्ष र बाँकी जीवन राजनीति तथा समाज सेवाका क्षेत्रमा निरन्तर काम गरे । उनको अर्थशास्त्र विषयसँग सम्बन्धित दर्जन बढी पुस्तक, ३ सयभन्दा बढी आलेख र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा शोधपत्र प्रकाशित भएका छन् ।

आर्थिक–प्रशासनिक सुधारका क्रममा मुख्यतः उद्देश्यमूलक बजेटको आधार, निर्माण तथा कार्यान्वयनमा वर्गीकरण, निकासा प्रक्रियामा सरलीकरण, केन्द्रीकृत प्रक्रियाले कार्यान्वयनमा पार्ने नकारात्मक असर घटाउन स्थलगत निरीक्षण र अनुगमनमा उनी सक्रिय थिए । उनले आर्थिक सर्वेक्षण तयार पारी व्यवस्थापिका संसद् (तत्कालीन राष्ट्रिय पञ्चायत) मा वार्षिक रूपमा पेस गर्ने प्रचलनको सुरुवात पनि गरे । 

निर्णयमा दृढ

आर्थिक वर्ष २०४०/०४१ को बजेट तर्जुमा क्रममा अर्थ सचिव, विशेष अधिकृत, सहसचिवहरू, आर्थिक सल्लाहकार र विज्ञ सम्मिलित टोलीले बजेटको स्वरूप तयार पारेको थियो । त्यसमा अर्थमन्त्री डा. पन्त नियमित रूपमा सहभागी थिए । राष्ट्रिय पञ्चायतमा अर्थमन्त्रीले बजेट पेस गर्न केही दिन मात्रै बाँकी थियो । प्रधानमन्त्री सूर्यबहादुर थापाकोर् िनर्देशनमा राजनीतिक तथा कार्यक्रमगत हिसाबले छलफल गर्न अर्थमन्त्री, पञ्चायत तथा स्थानीय विकासमन्त्री र उद्योग वाणिज्यमन्त्री सम्मिलित बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।

बजेटको नीति, स्वरूप र कार्यक्रमबारे प्रस्तुति भएपछि छलफलका क्रममा अन्य मन्त्रीले मुख्यतः राजनीति, निर्वाचन क्षेत्र र वितरणमुखी विनियोजन गर्न सुझाव दिएका थिए । अर्थमन्त्री पन्तले धैर्यपूर्वक सबै सुनिरहे । आफैं सम्मिलित भई आन्तरिक रूपमै तयार पारिएको बजेटको प्रारूप तथा विनियोजनमा परिवर्तन गर्न अर्थमन्त्री सहमत भएनन् । मुलुकको समग्र आर्थिक परिसूचक, आय–व्ययको स्थिति, आर्थिक स्थिरता र कार्यान्वयन क्षमताका आधारमा तयार भएको बजेटको प्रारूपमा परिवर्तन गर्न नसक्ने उनले स्पष्ट पारे । अरू मन्त्रीहरू अर्थमन्त्रीको जवाफले सन्तुष्ट भएनन् । तर, समग्र आर्थिक अवस्था चित्रण गरी प्रधानमन्त्रीसमक्ष अर्थमन्त्रीले पुनः बजेटको स्वरूपबारे दृढतापूर्वक बताएपछि राष्ट्रिय पञ्चायतमा त्यही बजेट पेस भयो । 

उनी थिए– व्यक्तिगत स्वार्थ नहेरी राष्ट्र हितको विषयलाई सर्वोपरि मान्ने एक व्यक्तित्व । बजेट पेस गरिसकेपछि २०४० असारमा उनी सरकारबाट बाहिरिएका थिए । 

अर्को घटना सम्झँदा

सन् १९६६ मा भारतले भारतीय रुपैयाँको ३६ प्रतिशतले अवमूल्यन गर्‍यो । पछि सोही अनुपातमा भारतीयको तुलनामा नेपाली मुद्राको पुनर्मूल्यांकन भई नेपाली रुपैयाँ १.६० बाट १.०१ कायम भयो । डा. पन्त त्यसबेला अर्थसचिव थिए । पुनर्मूल्यांकनको नकारात्मक प्रभाव न्यून पार्न पटक–पटक समायोजन गरी उनकै कार्यकालमा विनिमय दर १.४५ रुपैयाँ पुगेको थियो भने पछि नेरु १.६० कायम गरियो । त्यही विनिमय दर अझै यथावत् छ । 

राजनीतिमा वितृष्णा 

२०३७ असारमा राष्ट्रिय पञ्चायतको मनोनीत सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेका पन्त २०४३ जेठमा नवलपरासीबाट राष्ट्रिय पञ्चायत सदस्यमा भारी बहुमतले निर्वाचित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य बनेर ३ वर्ष उपाध्यक्ष र ६ वर्ष कोषाध्यक्षका रूपमा काम गरे ।

जलस्रोतमन्त्री रहँदा आयोजना कार्यान्वयन र अर्थमन्त्री रहँदा बजेट तयार गर्ने क्रममा त्यस समयको शक्ति केन्द्रको दबाब थेगेर त्यो अनुकूल निर्णय नभएपछि २०४० मा अर्थमन्त्री र २०४५ मा जलस्रोतमन्त्रीबाट उनी बिदा भए । पदबाट बाहिरिनुपर्ने पूर्वजानकारी पाएपछि पनि सधैं सामान्य मुद्रामा हाँसीखुसी रहन्थे उनी । अर्थशास्त्रका विद्वान्, आस्था तथा विश्वासमा दृढ, कुशल प्रशासक, सफल कूटनीतिज्ञ, इमानदार राजनीतिज्ञ, कर्मनिष्ठ र राष्ट्रवादी थिए– डा. पन्त । नेपाली राजनीतिको विग्रह र समाजको विचलनले राजनीतिमा करिब दुई दशक बिताएका डा. पन्तलाई पछिल्लो समय राजनीतिप्रति वितृष्णा जागेको थियो । 

पारिवारिक संस्कार

डा. पन्तको पारिवारिक संस्कार थियो– धर्म, परोपकार, समाजसेवा र अध्यात्म । राजनीतिमा प्रवेश गरेपछि पनि उनी गरिब, असहाय, दीनदुःखी र अशक्तको सेवामा समर्पित थिए । इमानदारिता, सुसंस्कार र शिक्षाबाट उनको परिवार दीक्षित थियो । 

उनी मन्त्री छँदा सरकारबाट उनले पाउने पारिश्रमिकलगायत स्वकीय सचिवालयको खर्चबापत प्राप्त हुने रकम र स्वकीय सचिवालयका कर्मचारीलाई दिनुपर्ने तलबलगायतका खर्च गरिसकेपछि बाँकी रहने उनको पारिश्रमिक आर्थिक सहयोगमा खर्च हुन्थ्यो ।

महिनाको अन्तमा खर्चको टिपोट विवरण बुझाएपछि बढी खर्च भएकामा मन्त्रीज्यूबाट सोधभर्ना प्राप्त हुने र बाँकी भएमा अर्को महिनाका लागि मौज्दात सारिन्थ्यो । मन्त्रीको पारिश्रमिकसमेत दीनदुःखी बेसहाराको सहयोगका लागि उपयोग हुन्थ्यो । मेचीदेखि महाकाली र बनारस, अयोध्या, सिलिगुडीदेखि बद्रीनाथसम्मका साधुसन्तहरू खास गरेर विभिन्न धार्मिक कार्यक्रम तथा शिवरात्रिको समयमा उपस्थित हुने साधुसन्तको बाटो खर्चका लागि यस प्रकारको सहयोग गर्ने गरिन्थ्यो ।

मेरो आफ्नै सन्दर्भ

विसं २०३२, असारमा लोक सेवा आयोगबाट निजामती सेवाको शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) मा उत्तीर्ण भएका परीक्षार्थीमध्ये वाणिज्य र गणितशास्त्र विषय अध्ययन गरेका सबै सेवा प्रवेशीलाई सरकारले निजामती सेवाको लेखा समूहमा पदस्थापन गरेको थियो । मैले पनि वाणिज्यशास्त्र अध्ययन गरेकाले पदस्थापन लेखा अधिकृतमा भयो । भौगर्भिक सर्वेक्षण विभाग (हाल खानी विभाग) र वनस्पति विभागमा चार वर्ष लेखा अधिकृतको काम गरेपछि २०३६ सालमा शाखा अधिकृत पदमा अर्थ मन्त्रालयमा सरुवा भएको थियो । अर्थ मन्त्रालयअन्तर्गत राजस्व प्रशासनको सुधार गर्ने क्रममा जिल्ला मालपोत कार्यालयहरूमा अधिकृत तहको नयाँ दरबन्दी सिर्जना भएको कारणले अन्य मन्त्रालयबाट ठूलै संख्यामा अर्थ मन्त्रालयमा सरुवा भएका मध्ये म पनि थिएँ । 

घरमा एकल वृद्ध आमाको म एक्लो छोरो भएकाले पारिवारिक कारणले उपत्यका बाहिर जान सक्ने अवस्था थिएन । मन्त्रालयमै पदस्थापनाका लागि अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग अनुरोध गरेको थिएँ । डा. पन्तसँग पूर्वजान–पहिचान थिएन । त्यसबखत प्रशासन शाखाका उपसचिव तथा मन्त्रीको निजी सचिव हेममेहर श्रेष्ठले मेरो पारिवारिक कठिनाइ महसुस गरेर उनीसँग भेट गराइदिए । मन्त्री पन्तले ध्यानपूर्वक मेरो कठिनाइ बुझेपछि मेरो अर्थ मन्त्रालयमा पदस्थापन भयो र म उनको निजी सचिवालयमा काम गर्न थालें । लामो समयसम्म उनको सानिध्यता, माया, स्नेह र विश्वासमा काम गरें । जे जस्तो गरें, इमानदारीका साथ निर्वाह गरें भन्ने लाग्छ ।

डा. पन्त अर्थ राज्यमन्त्री, अर्थमन्त्री र जलस्रोतमन्त्री हुँदा उनको निजी सचिवका रूपमा मैले काम गरेको थिएँ । बिहानैदेखि मन्त्री भेट गर्न निवास र दिउँसो कार्यालयमा घुइँचो लाग्थ्यो । कार्यालयमा समय निश्चित गरिएका स्वदेशी तथा विदेशी संस्थाका प्रतिनिधिहरू, मन्त्रीहरू, माननीय सदस्यहरू, उच्च अधिकारीहरूलगायत सर्वसाधारणसँगको छलफल र सार्वजनिक कार्यक्रममा हुने सहभागिताले समय व्यवस्थापन गर्न सजिलो थिएन । जिल्लावासीहरू र सर्वसाधारणलाई भेटेर सबैको राय, सल्लाह, सुझाव लिई जनसम्पर्क बढाउने काम उनको प्राथमिकतामा पर्थ्यो । सफल र सुखी घरपरिवारका लागि डा. पन्त र उनकी धर्मपत्नी रमादेवी पन्तको सहृदयी सम्बन्ध, समझदारी र मायाको अनुकरणीय उदाहरण उनको परिवारमा प्रस्ट देखिन्थ्यो ।

– आचार्य पूर्वमहालेखा परीक्षक हुन् ।

भानुप्रसाद आचार्य आचार्य पूर्वमहालेखापरीक्षक र पूर्वसचिव हुन्

Link copied successfully