आन्दोलनका घाइतेको उपचारमा सकस किन ?

औषधि खरिदमा भुक्तानी गरिएको रकम सरकारले बिलअनुसार फिर्ता पाइने भने पनि तत्काल भुक्तानीका लागि रकमको व्यवस्थापन गर्न गाह्रो परेको अनुभव उनीहरूको छ ।

कार्तिक ११, २०८२

सम्पादकीय

Why the delay in treating the injured in the protests?

What you should know

मुलुकको राजनीतिक–आर्थिक–सामाजिक क्षेत्रमा तीव्र बदलाव ल्याउने आन्दोलनमा राज्यले दमन गर्छ, कैयौंलाई सहिद बनाउँछ, कैयौंलाई घाइते बनाउँछ । आन्दोलनको सफलतापश्चात् उपलब्धिको चर्चा हुन्छ, सबैको ध्यान परिवर्तन संस्थागत गर्नमा हुन्छ । सहिदप्रति समाज लामो समयसम्मै संवेदनशील रहने गर्छ ।

तर घाइते भने सुरुवातदेखि नै ओझेलमा पर्ने गर्छन् । शारीरिक चोटको पीडा, अस्पतालको बसाइ, परिवारका अन्य सदस्यले पाउने हैरानी, आर्थिक तथा सामाजिक प्रतिकूलतासँग एकसाथ जुध्न सरकारको राहत र सहयोगदाताको साथ अपरिहार्य बन्ने गर्छ । जेन–जी आन्दोलनका क्रममा घाइते भएका र अहिलेसम्म विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीका निम्ति पनि त्यस्तै राहत र साथको आवश्यकता छ । यद्यपि, सरकारले लिने निर्णय भने प्रशासनिक र प्रक्रियागत रूपमा झन्झटिलो हुने गर्दा घाइते र तिनका परिवारले अन्योल बेहोर्नुपरेको छ । सरकारले आफ्ना निर्णय र त्यसका कार्यान्वयन प्रक्रियालाई व्यावहारिक बनाउनुपर्छ ।

२३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो । त्यसमध्ये अस्पतालमा उपचारका क्रममा मात्रै ५० जनाको मृत्यु भएको थियो । दुई दिनमा २ हजार ५ सय ७१ जना घाइते भएका थिए । घाइतेमध्ये उपचार गरेर २ हजार ५ सय १० जना घर फर्किसकेका छन् ।

११ जना अझै अस्पतालमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, ट्रमामा ४, त्रिवि शिक्षणमा ३, केएमसीमा २, बीएन्डबीमा १ र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा १ जना उपचाररत छन् । सरकारले घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरिसकेको छ । त्यस्तै भैपरी खर्चका लागि प्रत्येक घाइतेलाई २० हजार उपलब्ध गराएको छ ।

२ हजार ३ सय जनाले २० हजार भैपरी खर्च पाएका छन् । २ सय २१ जनाले भने त्यस्तो खर्च पाएका छैनन् । सरकारले उपचार निःशुल्क भने पनि र भैपरी खर्च दिएको भए पनि विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूले झेल्नुपरेका समस्याका आयाम भने बृहत् छन् ।

सरकारले निःशुल्क उपचारको घोषणा गरेको भए पनि उपचारका क्रममा अनेकौं ठाउँमा खर्च हुने गर्छ । पहिलो त, बिरामीलाई आवश्यक पर्ने सबै औषधि अस्पतालकै फार्मेसीमा पाइँदैन । त्यसका लागि अस्पतालभन्दा बाहिरका फार्मेसीसम्म पुग्नुपर्छ । अस्पतालकै फार्मेसीमा निःशुल्क पाइने भए पनि बाहिरका फार्मेसीबाट लिनुपर्ने औषधिका लागि शुल्क तिर्नुपर्छ । उपचाररत बिरामीका लागि अहिलेको प्रमुख चुनौती यही हुन गएको छ ।

औषधि खरिदमा भुक्तानी गरिएको रकम सरकारले बिलअनुसार फिर्ता पाइने भने पनि तत्काल भुक्तानीका लागि रकमको व्यवस्थापन गर्न गाह्रो परेको अनुभव उनीहरूको छ । दोस्रो, अस्पतालले नियमित खाना दिने गरे पनि त्यो पूर्ण हुँदैन । कतिपय बिरामीलाई त अतिरिक्त ‘डाइट’ चाहिने गर्छ । जस्तो कि, केएमसीको एचसीयू वार्डमा उपचाररत काभ्रे बेथानचोकका कमल घिमिरे (२७) लाई डाक्टरले पर्याप्त ‘डाइट’ खुवाए मात्र छिटो निको हुन्छ भनेका छन् ।

तसर्थ ‘डाइट’ का लागि दिनमै ३ हजारसम्म खर्च हुने गरेको आफन्तको भनाइ छ । यसले बिरामी स्वयंका लागि हुने खर्चको दायरा बृहत् रहेको प्रस्ट्याउँछ । तेस्रो, अस्पतालमा घाइते एक्लै बस्ने होइन । उनीहरूको साथमा कुरुवा पनि हुन्छन् । कुरुवाको खाजा, खाना र अस्पताल आवतजावतको खर्च हुने गर्छ । चौथो, उपचाररत कतिपय घाइते र कुरुवाले बताएअनुसार, जो घाइते भएका छन्, उनीहरू नै सम्बन्धित परिवारको आर्थिक मेरुदण्ड थिए । उनीहरू नै अस्पतालमा बस्नुपरेपछि परिवारकै आर्थिक गतिविधि प्रभावित भएको छ । यी सबै कारणले बिरामी र उसको परिवार मानसिक दबाबमा पनि परेको हुन्छ ।

सरकारले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय लिएपछि त्यो झन्झटरहित ढंगले लागू हुनुपर्छ । अहिले सरकारले अस्पतालभन्दा बाहिरका फार्मेसीबाट खरिद गरिएका औषधिको पनि बिलअनुसार भुक्तानी गर्ने भनेको छ । तर धेरै बिरामी र उनीहरूका आफन्तले यसबारे जानकारी नै नभएको बताएका छन् । यसरी सरकारको निर्णयको प्रभावकारी सम्प्रेषण नभएको बुझिन्छ । सम्बन्धित अस्पतालले नै यसबारे बिरामीलाई सूचित गर्ने हो भने अलमल अन्त्य हुन सक्छ । वा, बाहिरबाट औषधि खरिद गर्नासाथ भुक्तानी दिइहाल्ने प्रणाली बनाउने हो भने सीमित पैसाकै भरमा पनि आवश्यकताअनुसार पटक–पटक औषधि खरिद गर्न सकिन्थ्यो ।

सबैभन्दा ध्यान दिनुपर्ने पक्षचाहिँ बिरामीका आफन्तलाई औषधि खरिदका लागि दौडाउने र त्यसका लागि ऊ स्वयंले नै आर्थिक जोहो पनि मिलाउनुपर्ने स्थिति उचित होइन । निःशुल्क उपचार गरिने बिरामीका लागि आवश्यक पर्ने औषधि सम्बन्धित अस्पताल स्वयंलाई व्यवस्थापन गर्न लगाइयो भने पनि समस्या सुल्झिन सक्छ । 

जेन–जी आन्दोलनले राजनीतिक–आर्थिक–सामाजिक क्षेत्रमा ठूलो उथलपुथल ल्याइदिएको छ । त्यसको एउटा महत्त्वपूर्ण हिस्सा हुन्, घाइतेहरू । उनीहरूको शरीरमा चोट लागे पनि मनमा चोट लाग्न दिनु हुँदैन । सरकारले उनीहरूको उपचारमा सहजीकरण गर्नु अनिवार्य छ । सरकारी घोषणाहरू परम्परागत कार्यशैली, लम्बेतान र झन्झटिलो प्रक्रिया तथा जिम्मेवार अधिकारीको असहयोगी व्यवहारका कारण बदनाम हुने गरेका विगत छन् । यस पटक त्यस्तो हुन दिनु हुँदैन । जुन आन्दोलनले नयाँ सरकार बन्ने स्थिति ल्यायो, त्यही सरकारले घाइतेहरूको संवेदनशीलता बुझ्नुपर्छ । सम्भव भएसम्म दीर्घकालीन ढंगले नै सुविधा दिनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully