अब ‘म्यान’ बेचेर ‘मनी’ कमाउने दिनको अन्त्य हुनुपर्छ, युवा सीप, ज्ञान र क्षमताको भरपुर उपयोगपछि नै देश समृद्धिको बाटोमा हिँड्नेछ
What you should know
अहिले कम विकसित मुलुकको मुख्य आयस्रोत हो– ‘म्यान’ बेचेर ‘मनी’ भित्र्याउनु । म्यान र मनीको व्यापार–प्रसंग विषयान्तर गरिहेरौं– नेपालबाट मात्रै दैनिक २५०० भन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बाहिरिइरहेका छन्– कामको खोजीमा, उच्च शिक्षाको खोजीमा, सुरक्षित भविष्यको खोजीमा... ।
जेको खोजीमा देश छाडे पनि उनीहरूको श्रम, मिहिनेत, बौद्धिकता, सीप सबै अरूले नै उपयोग गर्ने सर्तमा ती उडिरहेका छन् । बदलामा नेपालमा ‘मनी’ आएको छ– विप्रेषणका रूपमा ।
हामीले सञ्चा माध्यमबाट गर्वसाथ भनिरहेका छौं– देशमा विदेशी विनिमय सञ्चित अहिलेसम्मकै उच्च छ । आजको विश्व अर्थतन्त्रमा मुलुकहरूको संरचना जे–जसरी सिर्जित भयो, तिनीहरूको उन्नति र अवन्नति पनि फरक ढंगबाट बनिरहेको छ । विकसित राष्ट्रहरूले कम विकसित राष्ट्रलाई गर्ने व्यवहार, प्रयोग तथा सहयोग र सम्पन्न राष्ट्रहरूले विपन्न राष्ट्रलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता देखिन्छ । छिमेकी राष्ट्रले पनि सबल छिमेकी राष्ट्र र कमजोरी छिमेकी राष्ट्रलाई गर्ने व्यवहारमा भिन्नता देखिन्छ । यसबाट स्पष्ट हुन्छ, बलियाले राज गर्ने आजको विश्व परिवेशमा बलिया झन्–झन् बलिया बन्दै जान्छन् र कमजोर झन्–झन् कमजोर । राष्ट्रलाई कमजोर बनाउने वा सबल ? यो राज्यले लिने नीतिमै भर पर्छ । नीति बनाउने विषय सरकारको हो र सरकार राजनीतिको उपज । यही नीति तर्जुमा गर्ने राजनीतिले सकारात्मक गति लिन नसक्दा आज देशको अवस्था दिन–प्रतिदिन कमजोर र अस्थिर बन्दै गयो । र, देश विदेशीले खेल्ने मैदान बन्न पुग्यो । देशमा नागरिकले सुरक्षित भविष्य देख्न छोडे । तिनले पढ्न, काम गर्न, व्यापार–व्यवसाय गर्न छाडे । र, त्यसैले आजको युवा पिँढी विदेशिँदै छन्– दिनहुँ हजारौं संख्यामा । यस्तो परिवेश किन र कसरी सिर्जना भयो ? जिम्मा कसले लिने ? अब गम्भीर भएर सोच्ने बेला आइसक्यो ।
मान्छे बेचेर आएको रेमिटले छोटो समयका लागि विप्रेषणबाट देशलाई भरथेग गर्ला तर दीर्घकाललाई यो विषय राम्रो होइन । देशमा अनुकूल वातावरण भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्नुभन्दा सरोकारवाला सबैले यो विषयमा सोच्नुपर्छ ।
प्रजातन्त्रमा राजनीतिक दलबिना राज्य सञ्चालनको कल्पनासमेत गर्न सकिँदैन । बहुदलीय व्यवस्था भएका देशमा राजनीतिक दलको बाहुल्यता हुन्छ । राज्य सञ्चालनको अभिभारा देशमा रहेका ठूला राजनीतिक दलको हातमा रहन्छ । प्रजातन्त्रपछिको करिब चार दशक नजिक पुग्न लाग्दा स्पष्ट रूपमा बहुमत कुनै पनि राजनीतिक दलले पाउन नसक्नु र बहुमत भएको अवस्थामा पनि त्यसलाई सही सदुपयोग गर्न नसक्नुले देशमा अस्थिर राजनीतिक अवस्था रहिरह्यो । अस्थिर राजनीतिका कारण छोटो समयमा सरकार परिवर्तन भइरहने र सुरु गरिएका आयोजना अलपत्र अवस्थामा रहने प्रवृत्तिले देशमा उद्यम सञ्चालन हुन सकेनन् र नागरिक रोजगारीका अवसरबाट वञ्चित हुनुपर्यो ।
यही देशमा जन्मिएर, सक्षम भई देशकै लागि केही गर्ने बेला देश छाडेर जानु आफ्नो कर्तव्यबाट विमुख हुनु पनि हो । के नागरिकले आफ्नै देशका लागि केही गर्नु पर्दैन ? उसको राज्यप्रति कर्तव्य हुँदैन ? नागरिकको दायित्व वहन गर्नु पर्दैन ? नागरिकलाई आफ्नो कर्तव्यबाट भाग्न छुट छैन । नागरिक कर्तव्यबाट विमुख हुनुहुँदैन ।
शिक्षा प्रणालीमा सुधार भए मान्छे देशमै अडिन्थे । राज्यको आधारस्तम्भ त्यहाँको शिक्षा प्रणाली नै हो । भनिन्छ, कुनै पनि देशको दीर्घकालीन विकास गर्नु छ भने शिक्षामा लगानी गर । शिक्षाको विकासले नै मानिसमा देशप्रतिको जिम्मेवारी, माटोप्रतिको मोह र नागरिकको कर्तव्य बोध गराउँछ ।
देशको बागडोर सीमित राजनीतिक दल तथा व्यक्तिकै वरिपरि घुमेको छ । नेतृत्वको परीक्षण पटक–पटक भइरहँदा पनि बारम्बार तिनै नेतृत्वलाई मतदान गरी चुनेर पठाउने तथा चुनिने प्रवृत्तिले आजको अवस्था सिर्जना भएको हो । नागरिकमा पनि नेतृत्व चयन गर्ने क्षमतामा कमी देखिन्छ ।
उल्लिखित अवस्थाले आजको राज्य व्यवस्था अन्योलमा छ । देश आत्मनिर्भरताबाट परनिर्भरताको बाटोमा छ । यो प्रवृृत्तिको अन्त्य हुनु जरुरी छ ।
अब देशमा ‘म्यान’ बेचेर ‘मनी’ कमाउने दिनको अन्त्य हुनुपर्छ । र, पैसाले नै पैसा आर्जन गर्ने बाटोको खोजी हुनुपर्छ । कृषि, पर्यटन, जलविद्युत्, प्रविधि–सेवालाई नै आयआर्जनको मूल विषय बनाउनुपर्छ । युवा सीप, ज्ञान र क्षमताको भरपुर उपयोगपछि नै देश समृद्धिको बाटोमा हिँड्नेछ ।
