जब समाजमा ‘सफलता’ शंकाको विषय हुन्छ र ‘असफलता’ सहानुभूति, तब त्यहाँ न नीति टिक्छ, न नेतृत्व बन्छ ।
What you should know
काठमाडौँ — नेपालमा प्रत्येक वर्ष विकास योजना बन्छ, सुशासन घोषणा गरिन्छ । समग्रमा दर्जनौं नीति तय हुन्छन् तर नीतिबमोजिमका नतिजा भने निराशाजनक देखिन्छ ।
यो अवस्थालाई सामान्यतया संस्थागत कमजोरी, राजनीतिक अस्थिरता, स्रोत अभाव वा कार्यान्वयनको अक्षमता भनेर बुझिन्छ । तर, त्योभन्दा पनि गहिरो तहमा एउटा यथार्थ लुकेको छ, जुन विषयमा सार्वजनिक छलफलमा खासै विमर्श हुँदैन । त्यो विषय हो, हाम्रो सामाजिक मानसिकता । जस्तो उपलब्धि हासिल गर्ने र संघर्ष गर्नेलाई प्रशंसा गर्नुको साटो निन्दा गरिन्छ, प्रश्न गरिन्छ र निसाना बनाइन्छ ।
नेपालजस्तो मुलुकमा सरकारको असफलता केवल प्रणालीगत वा संरचनागत कमजोरीको उपज मात्रै होइन । यो हाम्रो सोच, प्रवृत्ति र दृष्टिकोणसँग पनि गहिरो रूपमा गाँसिएको छ । जब समाजमा ‘सफलता’ शंकाको विषय हुन्छ र ‘असफलता’ सहानुभूति, तब त्यहाँ न नीति टिक्छ, न नेतृत्व बन्छ ।
हाम्रो समाजमा एउटा मौन तर गम्भीर प्रवृत्ति छ– जो व्यक्ति सिर्जना गर्छ, संघर्षले अघि बढ्छ, ऊमाथि प्रशंसा होइन, केवल शंका गरिन्छ । उसको मिहिनेतभन्दा पहिले ‘कमाइको स्रोत’ र ‘सफलताको राज’ खोजिन्छ । सफलतासँग जोडिएको पहिलो प्रश्न– कसरी सम्भव भयो ? के यो ठगी त होइन ? ऊ पावर चलाएर आएको त होइन ? कि यो कालो धन हो ?
शंका भरिएको दृष्टिकोणले व्यक्ति मात्रै होइन, संस्था पनि कमजोर बनाउँछ । र, आम मिहिनेत गर्ने पुस्ता यस्ता क्रियाकलापबाट आजित बन्छन् । सरकारले कुनै पनि सकारात्मक नीति ल्याउँदा त्यसमा सफल भएका व्यक्तिलाई नै ‘विशेष पहुँच’ को आरोप लगाएर समाजले खलनायक बनाउँछ र बाँकी इच्छुक युवा प्रयास गर्नै डराउँछन् । उनीहरू अवसर उपयोग होइन, बाहिरिने बाटो रोज्छन् र प्रायः विदेशिन तयार हुन्छन् ।
यस्तो बेला सरकारले जति नै सक्षम नीति बनाओस्, त्यो कार्यान्वयनको चरणमा पुगेपछि सामाजिक अस्वीकारको सिकार बन्छ । किनभने जुन समाजमा उपलब्धिको सम्मान हुँदैन र सिर्जनशीलताभन्दा सस्तो आलोचना लोकप्रिय हुन्छ, त्यहाँ नीतिको आधार नै कमजोर हुन्छ । कुनै पनि नीति सफल हुन तीन तह पार गर्नुपर्छ– नीति बनाउनेको इमानदारी, कार्यान्वयन गर्ने संयन्त्रको दक्षता र समाजको समर्थन । नेपालमा धेरैजसो बहस पहिलो दुई पक्षमा केन्द्रित हुन्छ । तर, तेस्रो पक्ष अर्थात् नागरिक समाजको भूमिका प्रायः ओझेल पर्छ । यद्यपि, यही तेस्रो पक्ष नै हो– नीति सफल बनाउने कि असफल भन्ने निर्णायक शक्ति ।
समस्या के हो भने हाम्रो समाजले प्रयासभन्दा परिणामका आधारमा मूल्यांकन गर्छ । र, त्यो परिणाम सकारात्मक भए, त्यसलाई स्वीकार गर्नुको सट्टा, उल्टै विरोध गर्ने बाटो खोजिन्छ । काम गर्ने शंकामा पर्छ र जसले केही गर्दैन उसलाई सहानुभूतिपूर्ण नजरले हेरिन्छ । यस्तो प्रवृत्तिले ‘काम गर्ने’ संस्कृति होइन, ‘गुनासो गर्ने’ मनोवृत्तिलाई संस्थागत गरेको छ । नेतृत्वमाथि शंका गर्नु स्वाभाविकै हो, तर हरेक सफलताका पछाडि षड्यन्त्रको कथा बुनिनु खतरनाक हुन्छ । यसले समाजमा निराशा फैलाउँछ, ऊर्जा मार्छ र हिम्मत गर्नेहरू हतोत्साहित हुन्छन् ।
नेपालमा राजनीतिक नेतृत्वले बारम्बार असफलता भोग्नुका पछाडि तिनको असक्षमता मात्रै होइन, जनताको दृष्टिकोण पनि एक हदसम्म जिम्मेवार छ । जब हामी ‘काम गर्ने’ भन्दा ‘चर्चा हुने’ लाई महत्त्व दिन्छौं, तब सत्तामा रहेकाहरू काम गर्नुको सट्टा ‘देखिन’ मात्रै खोज्छन् । वास्तविक विकास तब सम्भव हुन्छ, जब प्रयासकर्तालाई प्रोत्साहन गरिन्छ, सिर्जनशीलता सम्मानित हुन्छ र सफलतालाई प्रेरणाका रूपमा ग्रहण गरिन्छ । हामी ‘नीति सुधार’ को कुरा गर्छौं तर अब ‘सोच सुधार’ को बहस पनि आवश्यक छ ।
