मतदाता बनौं, सडकको असन्तुष्टिलाई सदनबाट संस्थागत गरौं

खासगरी जेन–जीले बुझ्नुपर्नेछ– सडकमा उत्रिएर जुन किसिमका असन्तुष्टि व्यक्त गरिएको थियो, त्यसलाई संस्थागत गर्ने काम निर्वाचनमार्फत हुन सक्छ । र, त्यस्तो काम जेन–जीको भावना बोक्ने जनप्रतिनिधिबाट मात्रै सहज रूपमा हुन सक्छ । त्यसैले जेन–जीले दुई विकल्पबारे मन्थन गर्न आवश्यक छ ।

कार्तिक ९, २०८२

सम्पादकीय

Let's become voters, let's institutionalize the dissatisfaction of the streets through the House

What you should know

आन्दोलन तथा निर्वाचन जनताको आकांक्षा अभिव्यक्त गर्ने प्रचलित बाटा हुन् । आन्दोलनका क्रममा अभिव्यक्त जनआकांक्षा तत्कालै संस्थागत नहुन सक्छ । त्यसलाई निर्वाचन, जननिर्वाचित सरकार तथा राज्यका अंगप्रत्यंगको पुनःसंरचना सँगसँगै संस्थागत गर्दै लैजानुपर्छ । भदौको जेन–जी आन्दोलनका क्रममा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सुधारको आकांक्षा व्यक्त गरिएको छ ।

त्यसलाई संस्थागत गर्न २१ फागुनमा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदै छ । विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुकलाई बृहत् सम्भावनातर्फ लैजानुपर्छ । त्यो सम्भावना त्यति बेला बलियो बन्छ, जति बेला समाजका सबै सचेत व्यक्तिले निर्वाचनमा भाग लिन्छन् । उम्मेदवारका रूपमा समाजलाई नयाँ दिशा देखाउने वा मतदाताका रूपमा योग्य प्रतिनिधि छनोट गर्ने सबै व्यक्ति फरकफरक ढंगबाट निर्वाचनका हिस्सा बन्न सक्छन् । त्यसैले मुलुकले गुणात्मक फड्को मार्नुपर्छ भन्ने चाहना राख्ने जोसुकै पनि आगामी निर्वाचनको सक्रिय सदस्य बन्नुपर्छ ।

जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । २१ फागुनमा हुने नयाँ निर्वाचनका लागि यति बेला मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम चलिरहेको छ । सामान्यतया निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन हुँदैन । तर उथलपुथलको नेतृत्व गरेका जेन–जी नै मतदान गर्नबाट वञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय उपलब्ध गराएको थियो ।

निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो । तिहारको बिदा सुरु हुने अघिल्लो दिन २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन् । आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ । विशेष अवस्थामा हुन लागेको निर्वाचनका लागि विशेष व्यवस्थाबाटै दिइएको मतदाता बन्ने अवसरलाई सदुपयोग गर्न उमेर पुगेका सबै अग्रसर हुनुपर्छ ।

मतदाता नामावलीमा नाम दर्ता भएपछि मात्रै मतदाता हुने अवसर पाइन्छ । यो सामान्य विषय होइन । संवैधानिक अधिकार हो । लोकतान्त्रिक अधिकार हो । विश्वका धेरै मानिसले यस्तो अधिकारको उपयोग गर्न पाएका हुँदैनन् । मताधिकार प्रयोग गरेर आफूले चाहे जस्तो जनप्रतिनिधि छनोट गर्न पाएका हुँदैनन् । राजनीतिक व्यवस्थाको अंग बन्न पाएका हुँदैनन् । नेपालमा भने मतदाताले 

आफ्नो मताधिकारमार्फत राजनीतिक सन्देश अभिव्यक्त गर्दै आएका छन् । यद्यपि, निर्वाचनका कतिपय सीमितताका कारण त्यस्तो सन्देश पूर्णरूपमा र तत्कालै कामयाबी नहुन सक्छन् । तर, नागरिकको विवेकले नै देशको भाग्य र भविष्य निर्धारण गर्न सक्छन् भन्ने हो भने निर्वाचन एउटा विशिष्ट, शान्तिपूर्ण र अत्यन्तै कम विवादित मार्ग हो । लोकतन्त्रको विश्वव्यापी प्रवाहमा जोडिने अवसर हो । त्यसैले पनि हरेक नागरिकका लागि निर्वाचन आफ्नो मताधिकारको सवाल मात्रै होइन, लोकतन्त्र र नागरिकमैत्री शासन व्यवस्थाको रक्षा र वकालतको दायित्वसँग पनि जोडिएको विषय हो ।

निर्वाचनमा सही ढंगले नागरिकको मतादेश त्यति बेला मात्रै अभिव्यक्त हुन सक्छ, जति बेला विवेकशील मानिसको सहभागिता सुनिश्चित हुन्छ । त्यस्तो सहभागिता त्यति बेला सम्भव हुन्छ, जति बेला ऊ स्वयं मतदाता बन्छ । जेन–जी विद्रोहले परम्परागत ढंगले चलिरहेको राज्यको दैनिकीप्रति असन्तुष्टि व्यक्त गरेको छ । राज्य सञ्चालनको जिम्मेवारी लिएका राजनीतिक दलका ढाँचाप्रति असन्तुष्टि व्यक्त गरेको छ । राज्यका स्थापित संस्थाहरूको कार्यशैली र छविप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।

राज्यका सबै जसो अंगमा व्यापक पुनःसंरचनाको वकालत गरेको छ । अर्थात् मुलुकलाई नयाँ एजेन्डा सुम्पिएको छ । तर, जेन–जी आन्दोलनका एजेन्डालाई संस्थागत गर्न निर्वाचनलाई पर्खिनैपर्ने हुन्छ । त्यसैले पनि यति बेला सबैको आँखा निर्वाचनतर्फ केन्द्रित भएको छ । त्यसैले निर्वाचन परिणामले जेन–जी आन्दोलनको लय समातोस् भन्ने चाहने हो भने आन्दोलनमा संलग्नदेखि त्यसप्रति सकारात्मक धारणा राख्ने सबै त्यसको अंग बन्नुपर्छ ।

खासगरी जेन–जीले बुझ्नुपर्नेछ– सडकमा उत्रिएर जुन किसिमका असन्तुष्टि व्यक्त गरिएको थियो, त्यसलाई संस्थागत गर्ने काम निर्वाचनमार्फत हुन सक्छ । र, त्यस्तो काम जेन–जीको भावना बोक्ने जनप्रतिनिधिबाट मात्रै सहज रूपमा हुन सक्छ । त्यसैले जेन–जीले दुई विकल्पबारे मन्थन गर्न आवश्यक छ ।

पहिलो, संविधान र कानुनअनुसार योग्यता पुगेका व्यक्ति स्वयं निर्वाचनको उम्मेदवार बन्ने । व्यक्तिगत वा पार्टीगत रूपमा उम्मेदवार बन्न सकिन्छ । आफू नै जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने हो भने स्थापित विधि र प्रक्रियामार्फत आफूले चाहेजस्तो कानुन बनाउन सकिन्छ । संख्या पुगे राजनीतिक व्यवस्था नै परिवर्तन गर्न सकिन्छ । कानुन पनि आफूले चाहेअनुसारकै बनाउन सकिन्छ । दोस्रो, उम्मेदवार नबन्ने हो पनि जिम्मेवार र विवेकी मतदाताका रूपमा आफू र आफ्नो समूहको भावनाको प्रतिनिधित्व गर्न सक्ने जनप्रतिनिधि चयन गर्न सकिन्छ ।

र, त्यसमार्फत आफ्ना एजेन्डा कार्यान्वयन गर्न सकिन्छ । परिवर्तनका आकांक्षालाई संस्थागत गर्न सकिन्छ । त्यसैले मतदाता नामावलीमा नाम दर्ता गर्ने, योग्यता पुगेका सबैलाई दर्ता गराउनका लागि पहलकदमी लिने, आफ्ना एजेन्डाबारे बहस चलाउने र त्यसका पक्षधर पार्टी तथा उम्मेदवारको पहिचान गर्दै जान सकियो भने २१ फागुनको निर्वाचन कर्मकाण्डी हुनबाट जोगिन सक्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully