पुराना दलका संशय र नयाा शक्तिका अन्योलको निराकरण एकैसाथ गर्नुपर्ने दायित्व चुनावी सरकारको नै हो , प्रधानमन्त्री कार्कीले निर्वाचन बिथोलिने वा दलहरूले निर्वाचनमा भाग नलिने अवस्था आउन नदिने निकै होसियारीपूर्वक आफ्ना क्रियाकलाप अघि बढाउनुपर्नेछ
What you should know
जेन–जी आन्दोलन लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउँदै मनोमानी ढंगले चलेको शासन–सत्ता र त्यसको नेतृत्वका विरुद्ध मात्र लक्षित थिएन । त्यो नेपाली जनमानसमा उठेको तीव्र आक्रोशको कडा अभिव्यक्ति थियो । यो ‘शान्तिपूर्ण’ आन्दोलनको खाका देशका सबैभन्दा तन्नेरी पुस्ताले मिलेर तयार पारेका थिए । यसका उद्देश्यहरू स्पष्ट र सफा थिए ।
त्यही उद्देश्य प्राप्तिका लागि आन्दोलन सुरु भयो । तर, एकै रातमा आन्दोलनको स्वरूप बदलियो । अवाञ्छित र असामाजिक समूहले जेन–जी आन्दोलनलाई अपहरण गरेर आफ्नो कब्जामा लिए । त्यसपछि काठमाडौं सहर बन्यो– ‘कुरुक्षेत्र ।’ सहरमा गोलीका कर्कश आवाज सुनिन थाले । नेपाल सरकारको सचिवालयका रूपमा रहेको सिंहदरबार, न्यायको सर्वोच्च प्रतीकका रूपमा रहेको सर्वोच्च अदालत र संघीय गणतन्त्रको धरोहरका रूपमा रहेको संसद् भवनलाई आगोको लप्काले समेट्न थाल्यो । ती भवनमा रहेका सरकारी दस्ताबेजहरू खरानी भए ।
विनाश भवनहरूको मात्र भएन । क्षति सरकारको मात्र भएन । ठूला होटलहरू, ठूला बजार, जनताको व्यक्तिगत सम्पत्तिमा आगोका लप्का फैलिन थाल्यो । हेर्दाहेर्दै देशको ‘केन्द्रीय’ सहरको ठूलो हिस्साको विनाश भयो । त्यतिले नपुगेर, सहर छेउछाउका बस्तीहरूसमेत रक्तरञ्जित बने ।
परापूर्वकालदेखि नै एउटा सुन्दर र रोचक सहरका रूपमा रहेको काठमाडौं सहरले विनाशका धेरै दुर्घटना बेहोरेको छ । लिच्छविकालदेखि अहिलेको समयसम्म, पटक–पटक राजनीतिक षड्यन्त्रका कहालीलाग्दा दृश्यहरू दोहोरिएका छन् । नेपालको इतिहासमा यस्ता घटनाहरूको स्पष्ट उल्लेख गरिएको छ । तर, २००७ सालपछिका समयमा देशको राजनीतिक र सार्वजनिक जीवनमा यति ठूलो हिसाबको विनाशलीला देखिएको थिएन । जनताले लगभग स्वच्छन्दताको हदैसम्म पुगेर मौलिक अधिकारको उपभोग गर्न पाएको समयमा पनि यति बाक्लो हिंसात्मक आन्दोलनको मार खेप्नपर्नु अत्यन्त कारुणिक अवस्था हो । यो अवस्थाको विवेचना गर्नु त्यति सहज छैन ।
जेन–जी आन्दोलनका आयोजकहरूले जनताको सर्वोपरि कल्याणप्रति सरकारमा देखिएको चरम उदासीनताका विरुद्ध खुला सडकमा निस्किने निर्णय गरेका थिए । सरकारमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरू बसेका थिए । तर, त्यो ‘निर्वाचित’ सरकार जनतालाई ‘वाद’ गरेर सत्ताको झूटो अहंकारमा मस्त थियो । सरकारका नेताहरूप्रति जनताको बढ्दो अविश्वासको उसलाई पत्तै थिएन । रोम जलिरहेको थियो तर, राजा निरो बाँसुरी बजाउँदै थिए ।
सरकार हरेक क्षेत्रमा अलमलिएको थियो । उसका निर्णयहरू विवेकसम्मत थिएनन् । आफ्नो देशमा काम गर्ने अवसर नपाएर छटपटिएका तन्नेरीहरूको समस्या समाधानमा सरकार निष्प्रभावी थियो । मन्त्रालयहरू मन्त्रीका बिर्ता बनेका थिए । सरकार चलाउने मुख्य दुईवटा पार्टीका प्रमुख नेताहरू आफ्नै स्वार्थमा अल्झिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र ‘प्रतीक्षारत’ प्रधानमन्त्री शेरबहादुर देउवा देशका समस्याप्रति निस्पृह रहे । उनीहरूले जनतालाई पन्छाएर शासन गर्न खोजे । अहिले दुवै नेता जनताको नजरबाट गिरेका छन् ।
अहिले प्रतिकूल अवस्थाबाट देशलाई बाहिर ल्याउन आन्दोलनको संयोजन गर्ने जेन–जी आन्दोलनका सारथिहरू पनि छक्क परेका होलान्– उनीहरूको आन्दोलनलाई अन्य कसैले अपहरण गर्नेछ र जेन–जी सारथिहरू यसप्रकारको डरलाग्दो हिंसात्मक मोडमा आइपुग्नेछन् । देशमा शान्ति स्थापनाका लागि नेपाली सेनाले हस्तक्षेप गर्नुपर्नेछ । राष्ट्रपति संविधानले नचिनेको, प्रतिनिधिसभाभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न बाध्य हुनेछन् । जनताको मतले चुनिएको सार्वभौम संसद् विघटनमा पर्नेछ । फागुन २१ गते नयाँ चुनाव हुनेछ, संसद्का लागि । यी सबै कुरा पुतलीको खेलजस्तो देखिएका छन् ।
सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका लागि नयाँ चुनाव सम्पन्न गराउनु त्यति सजिलो देखिँदैन । प्रधानमन्त्री नियुक्त भएपछि उहाँले राष्ट्रका नाममा दुई पटक भिडियो सन्देश जारी गर्नुभएको छ । आफ्ना सम्बोधनमा उहाँले जेन–जीले उठाएका मागहरूको सम्बोधन र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न आफू दृढतापूर्वक कटिबद्ध रहेको दोहोर्याउनुभएको छ । तर, जेन–जीका मागहरूको सम्बोधन गर्नु त्यति सजिलो छैन ।
प्रधानमन्त्री कार्की अहिले जटिल परिस्थितिमा जेलिनुभएको छ । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एकसाथ खरानी भएका छन् । उहाँलाई आफूले सम्पादन गर्नुपर्ने कामको स्पष्ट जानकारी छ । तर, निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउने सम्बन्धमा उहाँ अलिकति अलमल र अलिकति द्विविधामा रहनुभएको देखिन्छ । सबैभन्दा बढी, उहाँमा विभिन्न दलका नेताहरूप्रति वितृष्णाको भाव देखिन्छ । सर्वोच्च न्यायपालिकाका प्रमुख रहिसक्नुभएकी कार्कीले मानव अधिकारको क्षेत्रमा विशिष्टता हासिल गर्नुभएको छ । यसमा कुनै शंका छैन । तर, मानव अधिकारका दृष्टिले पनि फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचन पक्कै पनि सहज हुनेछैन ।
सबैभन्दा महत्त्वपूर्ण प्रधानमन्त्री कार्कीले विभिन्न दलका प्रतिनिधिहरूसँग आगामी निर्वाचनका लागि छलफल त सुरु गरिसक्नुभएको छ । तर, त्यो छलफल निकै ‘लो–प्रोफाइल’ रहेको देखिन्छ । प्रधानमन्त्री कार्कीमा दलका नेताहरूसँग वार्ता गर्ने जाँगर खासै चलेको देखिएको छैन । उता विभिन्न दलका नेताहरूमा पनि निर्वाचनमा जाने जाँगर चलेको देखिँदैन । निर्वाचन जस्तो महत्त्वपूर्ण विषयमा देशको प्रमुख कार्यकारी र दलका शीर्षस्थ नेताहरूबीच सहमति जुट्न नसकेको अवस्थामा घोषित मितिमा निर्वाचन हुन सक्ने कुराको टुंगो लाग्न सक्दैन ।
निर्वाचनलाई लोकतन्त्रको मुख्य आधारस्तम्भ मानिन्छ । नागरिकको सर्वाधिक सहभागिता र सरोकार रहने बृहत् राजनीतिक गतिविधि निर्वाचन नै हो । निर्वाचन गराउने निकाय ‘रेफ्री’ को भूमिकामा रहेको हुन्छ भने सरकार समग्र प्रक्रियाको सहयोगीका रूपमा । सिधा अर्थमा निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगको हो । तर, निर्वाचनका सरोकारवाला पक्षहरू मैदानमा नउत्रिँदासम्म आयोग तातेर मात्र निर्वाचन सम्पन्न हुन सक्दैन । ‘रेफ्री’ ले एकोहोरो सिट्ठी फुक्दैमा खेल सुरु हुँदैन । त्यसका लागि खेलाडी नै उपस्थित हुनुपर्दछ ।
निर्वाचनका गतिविधिमा अगुवाइ गर्नुपर्ने राजनीतिक दल र तिनका समर्थकहरू हुन् । राजनीतिक दल, लाखौं मतदाता, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक, अनुगमनकर्ता, सञ्चारकर्मीलगायत आम नागरिक एकसाथ दृढतापूर्वक निर्वाचनका पक्षमा उत्रिएपछि मात्र निर्वाचन सम्पन्न गर्न सकिन्छ ।
लोकतान्त्रिक आन्दोलनमा दशकौं बिताएका दलहरूलाई निर्वाचनको महत्त्वका बारेमा बताउनु नपर्ला । उनीहरू निर्वाचनमा भाग लिएर खारिएका राजनीतिक शक्ति हुन् । तर, फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका बारे स्थापित राजनीतिक दलहरूमा संशय बढ्दै गएको छ । जेन–जी विद्रोहपछि, निर्वाचनमा होमिन्छौं भन्ने शक्तिहरूका बीचमा रहेको अन्योलले निर्वाचन बिथोलिने सम्भावना देखिन्छ । पुराना दलका संशय र नयाँ शक्तिका अन्योलको निराकरण एकैसाथ गर्नुपर्ने दायित्व चुनावी सरकारको नै हो । सरकारले यो काम सुरु गरेको देखिँदैन ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका मुख्य ‘स्टेकहोल्डर’ राजनीतिक दलसँग जतिसक्दो छिटो संवाद सुरु गर्नुपर्छ । प्रधानमन्त्री कार्कीको अग्रसरतामा हुनुपर्ने काम निर्वाचन आयोग र राष्ट्रपतितिर पन्छाउन खोजेर हुँदैन । जेन–जी प्रतिनिधिहरूले पुराना दल तथा तिनका नेताहरूलाई बाहिर निस्कनै दिँदैनौं, निर्वाचनमा उठ्नै दिँदैनौं भनेर ‘उरेन्ठेउलो हठ’ गरिरहेको यो समयमा प्रधानमन्त्री कार्की गम्भीर हुनुपर्छ । उहाँले ‘स्थापित ठूला राजनीतिक दलहरूले भाग लिएनन् भने निर्वाचन हुन सक्दैन भन्ने मैले बुझेकी छु’ भन्दै यथार्थ बोध गर्नुभएको छ । तर, व्यवहारमा चुनावी माहोल बनाउने काम गर्न सक्नु भएको छैन वा चाहनु भएको छैन । प्रधानमन्त्री कार्कीले निर्वाचन बिथोलिने वा दलहरूले निर्वाचनमा भाग नलिने अवस्था आउन नदिने निकै होसियारीपूर्वक आफ्ना क्रियाकलाप अघि बढाउनुपर्ने छ । निर्वाचन ढिलो हुँदा सिर्जना हुने परिस्थितिको आकलन प्रधानमन्त्री कार्कीले गर्नुभएको होला ।
प्रधानमन्त्री कार्कीले यतिबेला इगो र प्रतिशोध लिएर अगाडि बढ्ने सोच्नु पनि हुँदैन । भदौ २३ र २४ गतेका घटना छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा उहाँ विद्रोहमार्फत आफूलाई सत्ताको कुर्सीमा पुर्याउने जेन–जीहरूले ‘उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने’ अवस्थाबाट बाहिर निस्कनुपर्छ । विद्रोहले ल्याएको परिवर्तनलाई संस्थागत गर्न निर्वाचनबाट प्रकट हुने जनमतको तागत चाहिन्छ भन्ने शाश्वत तथ्य युवाहरूलाई बुझाउन सक्नुपर्छ ।
यतिखेर, जेन–जीका नाममा आफूलाई राजनीतिमा स्थापित गराउन चाहने व्यक्तिहरूको जगजगी बढेको बढेकै छ । ती सबैलाई आफू सत्तामा जानेबित्तिकै देशका विविध समस्याहरू चुट्की बजाएकै भरमा समाधान हुने भ्रम रहेको छ । त्यस्ता व्यक्तिहरू विभिन्न सामाजिक र अन्तर्राष्ट्रिय संस्था र व्यक्तिहरूसँग जोडिएका छन् । यो निकै संवेदनशील विषय हो । यो विषयमा प्रधानमन्त्री कार्की पनि पक्कै संवेदनशील हुनुहुन्छ । तर, संवेदनशीलता र व्यावहारिकता फरक विषय हुन् ।
बलियो र भरपर्दो सुरक्षा प्रबन्ध नभएसम्म स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन सक्दैन । सरकारले उपलब्ध गराएको जानकारी अनुसार, भदौ २४ को हिंसात्मक प्रदर्शनका कारण प्रहरीको मनोबल खस्केको छ । पाँच सयको हाराहारीमा प्रहरी इकाइहरू ध्वस्त पारिएका छन् । प्रहरीका बन्दोबस्तीका सामान जलेर खरानी भएका छन् । १ हजार २ सय ७६ थान राइफल तथा पिस्तोल लुटिएका छन । ९८ हजार ४ सय ९१ थान गोली गायब भएका छन् । कारागारबाट फरार भएका १५ हजार ५ सय २४ कैदीमध्ये ६ हजार ५ सय १६ अझै भेटिएका छैनन् ।
विगतमा निर्वाचनको अनुभव बटुलिसकेका एक प्रहरी अधिकृतका अनुसार, सुरक्षाअन्तर्गत मतदाता, राजनीतिक दलका नेता तथा प्रतिनिधि, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, निर्वाचन प्रचारप्रसारका लागि आयोजित सभा, जुलुस, निर्वाचन सामग्री, निर्वाचन कार्यालय र निर्वाचनमा संलग्न कर्मचारी निर्वाचन सुरक्षाका मुख्य कडी हुन् । निर्वाचन घोषणा भएलगत्तै निर्वाचनलाई सुरक्षित, भयरहित, शान्तिपूर्ण एवं निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगसँगको परामर्शमा सरकारले आवश्यक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरूको सुरक्षाका हिसाबले वर्गीकरण गरी तीन तहको सुरक्षा व्यवस्था गर्नुपर्छ । भदौ २३ र २४ गतेको घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीच समन्वय र सहयोग थिएन । यी दुई संगठनका बीच अविश्वासको वातावरण अहिलेसम्म यथावत् रहेको देखिन्छ । निर्वाचनका क्रममा यी दुई संगठनबीच कसरी समन्वय गराउने ? यो अहिलेको सरकारका लागि अहम् प्रश्न हो । नाजुक अवस्थामा रहेको नेपाल प्रहरीको मनोबल नउठाएसम्म निष्पक्ष चुनाव सम्भव हुँदैन ।
कार्की नेतृत्वको सरकारले लुटिएका हतियार फिर्ता गराउन र भागेका कैदीलाई जेल भित्र्याउन नसके यसबाट सिर्जना हुने अराजकताको चर्को मूल्य बेहोर्नुपर्ने छ, देशले । प्रहरीको हतियार खोसेर फरार भएकाहरूलाई हतियारसहित पक्रिएर ल्याउँदा ल्याउँदै बाटोबाटै छोड्न निर्देशन दिने गृहमन्त्रीले उनीहरूको मनोबल कसरी उकास्ने हुन् ?
संविधानले प्रत्येक नागरिकलाई समान रूपमा राजनीतिक निर्णय प्रक्रियामा भाग लिन पाउने ग्यारेन्टी गरेको छ । विदेशमा रहेका आफ्ना देशका नागरिकहरूले मतदान गर्न पाउने व्यवस्था विश्वका धेरै देशले लागू गरेका छन् । सर्वोच्च अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनका लागि आवश्यक पर्ने कानुन तीन महिनाभित्र निर्माण गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । अदालतको त्यो निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने अवसर प्रदान गर्नु सरकारको दायित्व हो । तर, फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदातालाई मताधिकार दिलाउनु तत्कालका लागि असम्भव जस्तै छ । आशा छ– प्रधानमन्त्री कार्कीले देशलाई संवेदनशील र संकटपूर्ण अवस्थाबाट पार लगाउन सफलता पाउनुहुनेछ ।
