जबसम्म निर्वाचनका सरोकारवाला पक्षहरू मैदानमा उत्रिँदैनन्, तबसम्म आयोग तातेर मात्रै निर्वाचन सम्पन्न हुन सक्दैन ‘रेफ्री’ ले जति सिटी फुके पनि बिनाखेलाडी खेल सुरु हुन सम्भव हुँदैन, समयसीमाका हिसाबले फागुन २१ को निर्वाचन गर्न सरकार असारे चटारोमा देखिनुपर्ने हो, तर मन्त्रीहरू मन्त्रालय मातहतका निकायको ‘भिजिट’ एवं शाखा/महाशाखाका ‘ब्रिफिङ’ सुन्दै खादा र माला पहिरिएर दिन कटाउन थालिसकेका छन्
What you should know
भदौ २३ को ‘जेन–जी विप्लव’ र त्यसको भोलिपल्ट मच्चिएको विध्वंसपछि भदौ २७ गते सत्तारोहणको अवसर प्राप्त गरेकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपत्रमै ‘६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन’ गर्ने उल्लेख छ । आगामी फागुन २१ गते संघीय संसद्को निर्वाचन मिति पनि तोकिएको छ ।
६ महिनाका लागि ‘म्यादी प्रधानमन्त्री’ नियुक्त भएकी कार्कीसँग सरकारका दैनन्दिन कार्यसञ्चालनसँगै आफ्नो ‘अर्जुनदृष्टि’ निर्वाचनबाहेक अन्यत्रमा लगाउने सुविधा उपलब्ध छैन ।
सामान्य अवस्थामा आवधिक निर्वाचनका लागि निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउन न्यूनतम १ सय २० दिन अर्थात् चार महिना समय लाग्ने गर्छ । प्रधानमन्त्री कार्कीले एक महिना गुजारिसकेकी छन् । अब उनीसँग पाँच महिना मात्रै बाँकी छ । चार महिना त आयोगले निर्वाचन कार्यतालिका एवं कार्यक्रमअनुसार सहज ढंगले काम गर्न पाउँदा मात्रै फागुन २१ गते मतदान गराउन सक्ने परिस्थिति बन्छ ।
जेन–जी युवाहरूले ‘डिस्कर्ड’– जहाँ उनीहरू आफ्ना एजेन्डामाथि छलफल चलाउँछन्– त्यही ‘प्लेटफर्म’ मा ‘भर्चुअल भोटिङ’ गरेर प्रस्तावित नामहरूमध्येबाट कार्कीलाई प्रधानमन्त्रीमा छनोट गरेका थिए । उनी अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी नै निर्वाचन गर्न हो, भनिएको छ । जेन–जी युवाले विद्रोहमार्फत उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कार्यारम्भ गर्नुपर्ने दायित्व पनि उनमा छ ।
प्रधानमन्त्री नियुक्त भएपछि उनले राष्ट्रका नाममा दुई पटक भिडियो सन्देश जारी गरिसकेकी छन् । पहिलो सम्बोधन असोज ९ गते गरेकी थिइन् भने दोस्रो चाहिँ जेन–जी विद्रोह भएको एक महिना पुगेको अवसरमा । दुवै सम्बोधनमा उनले जेन–जीले उठाएका मागहरूको सम्बोधन र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न आफू दृढतापूर्वक कटिबद्ध रहेको दोहोर्याएकी छन् ।
प्रधानमन्त्री कार्कीलाई राज्यका तीन वटै अंग— व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका— भौतिक रूपमा एकसाथ खरानी भएपछि सत्ताको तातो कुर्सीमा विराजमान हुनुपरेको यथार्थबोध नहुने कुरै भएन । आफ्नो सम्बोधनमा उनले आफ्ना सीमा र आफूले सम्पादन गर्नुपर्ने कार्यभार स्मरण गरेको सुनिन्छ पनि ।
तर, मुख्य ‘म्यान्डेट’ निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन उनमा चाहिने कार्य तीव्रता एवं कौशल भने कताकता अपुग भएको प्रतीत हुन्छ । समयसीमाका हिसाबले फागुन २१ को निर्वाचन गर्न सरकार असारे चटारोमा देखिनुपर्ने हो, तर सरकारका मन्त्रीहरू मन्त्रालय मातहतका निकायको ‘भिजिट’ एवं शाखा/महाशाखाका ‘ब्रिफिङ’ सुन्दै खादा र माला पहिरिएर दिन कटाउन थालिसकेका छन् ।
निर्वाचनका राजनीतिक चुनौती
निर्वाचनलाई लोकतान्त्रिक व्यवस्थाको मुख्य आधारस्तम्भ मानिन्छ । निर्वाचन नागरिकको सर्वाधिक सहभागिता र सरोकार रहने बृहत् राजनीतिक गतिविधि हो । यो सरकारले मिति तोक्ने वा निर्वाचन व्यवस्थापन गर्ने निकायले मतदानको प्रबन्ध मिलाउने व्यवस्थापकीय कार्यमा मात्र खुम्चिनु हुँदैन ।
निर्वाचनका लागि निर्वाचन गराउने निकाय निर्वाचन आयोग ‘रेफ्री’ को भूमिकामा रहेको हुन्छ भने सरकार समग्र प्रक्रियाको सहयोगीका रूपमा । सिधा अर्थमा निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगको हो । तर, जबसम्म निर्वाचनका सरोकारवाला पक्षहरू मैदानमा उत्रिँदैनन्, तबसम्म आयोग तातेर मात्रै निर्वाचन सम्पन्न हुन सक्दैन । ‘रेफ्री’ ले जति सिटी फुके पनि बिनाखेलाडी खेल सुरु हुन सम्भव हुँदैन ।
निर्वाचनका गतिविधिमा अगुवाइ गर्ने भनेका राजनीतिक दल र तिनका समर्थक हुन् । राजनीतिक दल, लाखौं मतदाता, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक, अनुगमनकर्ता, सञ्चारकर्मीलगायत आम नागरिक एकसाथ दृढतापूर्वक निर्वाचनका पक्षमा उत्रिएपछि मात्रै निर्वाचनरूपी अनुष्ठान सम्पन्न गर्न सकिन्छ ।
लोकतान्त्रिक आन्दोलनमा दशकौं बिताएका दलहरूलाई निर्वाचनको महत्त्व सायदै हेक्का दिलाउनुपर्छ । उनीहरू निर्वाचनमा भाग लिएर खारिएका राजनीतिक शक्ति हुन् । तर, फागुन २१ का लागि तोकिएको निर्वाचनलाई लिएर पुराना राजनीतिक दलहरूमा बढ्दै गएको संशयलाई निराकरण गर्नुपर्ने दायित्व भने चुनावी सरकारकै हो । विद्रोहपछि सत्ताच्युत भएका दल र तिनका नेतालाई जनमतमार्फत उनीहरूको वास्तविक हैसियत र औकात देखाउने अवस्था बनेन भने हिंसा र विग्रहको अर्को शृंखला सुरु हुने निश्चित छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका मुख्य ‘स्टेकहोल्डर’ राजनीतिक दलसँग जतिसक्दो छिटो संवाद सुरु गर्नुपर्छ । उनी आफूले पहल गर्नुपर्ने विषयलाई निर्वाचन आयोग र राष्ट्रपतितिर पन्छाएर यो विषम परिस्थित पार लगाउन सक्दिनन् । जेन–जी प्रतिनिधिहरूले पुराना दल तथा तिनका नेतालाई ‘बाहिर निस्कनै दिँदैनौं, निर्वाचनमा उठ्नै दिँदैनौं’ भनेर ‘उरन्ठेउलो हठ’ गरिरहेको प्रति पनि प्रधानमन्त्री कार्की गम्भीर हुनुपर्छ ।
उनले ‘स्थापित ठूला राजनीतिक दलहरूले भाग लिएनन् भने निर्वाचन हुन सक्दैन भन्ने मैले बुझेकी छु’ भन्दै यथार्थबोध गरे पनि व्यवहारमा चुनावी पर्यावरण बनाउने काम गर्न सकेकी छैनन् । उनले निर्वाचन बिथोलिने वा दलहरूले निर्वाचनमा भाग नलिने अवस्था आउन नदिन निकै होसियारीपूर्वक आफ्ना क्रियाकलाप अघि बढाउनुपर्ने छ । निर्वाचन विलम्ब हुँदा सिर्जना हुने परिस्थितिको आकलन उनले पक्कै पनि गरेकी हुनुपर्छ ।
प्रधानमन्त्री कार्कीले यतिबेला ‘इगो’ र प्रतिशोध लिएर अगाडि बढ्ने कुचेष्टा गर्नै हुँदैन । भदौ २३ र २४ का घटना छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा उनी विद्रोहमार्फत आफूलाई सत्ताको कुर्सीमा पुर्याउने जेन–जीहरूले ‘उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने’ अवस्थाबाट बाहिर निस्कनुपर्छ । उनले विद्रोहले ल्याएको परिवर्तनलाई संस्थागत गर्न निर्वाचनबाट प्रकट हुने जनमतको तागत चाहिन्छ भन्ने शाश्वत सत्य जेन–जी युवालाई बुझाउन सक्नुपर्छ ।
सुरक्षा चुनौती
बलियो र विश्वासिलो सुरक्षा प्रबन्धबिना स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन सक्दैन । निर्वाचन सुरक्षाको पहिलो घेरामा रहनुपर्ने नेपाल प्रहरीको मनोबल भदौ २४ को हिंसात्मक प्रदर्शनका कारण यसरी खस्केको छ, उनीहरू आठ/दस जनाको सानो समूह देख्दै भयभीत हुने अवस्था छन् । बर्दी उतारिएको, निर्घात कुटपिट गरिएको, हतियार र सञ्चार सेट खोसिएपश्चात्को परिस्थितिले प्रहरी हतास मनोदशामा हुनु उति अस्वाभाविक लाग्दैन ।
४ सय ८६ भन्दा बढी प्रहरी इकाईहरू आगजनी गरेर ध्वस्त पारिएका छन् । उनीहरूका पोसाक, सञ्चार सेट एवं बन्दोबस्तीका सामग्री जलेर खरानी भएका छन् । प्रहरीका १ हजार २ सय ७६ थान राइफल तथा पिस्टोल लुटिएका छन् भने ९८ हजार ४ सय ९१ थान गोली अभिलेखबाट गायब छन् । कारागारबाट फरार भएका १५ हजार ५ सय २४ कैदीबन्दीमध्ये ६ हजार ५ सय १६ अझै बाहिरै छन् । लुटिएकामध्ये अहिलेसम्म ३ सय हतियार मात्रै बरामद भएका छन् ।
निर्वाचन सुरक्षाअन्तर्गत मतदाता, राजनीतिक दलका नेता तथा प्रतिनिधि, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, निर्वाचन प्रचारप्रसारसम्बन्धी सभा–जुलुस, निर्वाचन सामग्री, निर्वाचन कार्यालय र निर्वाचनमा संलग्न कर्मचारी एवं निर्वाचनका अन्य सरोकारवालाहरूको सुरक्षा पर्छ । निर्वाचन घोषणा भएलगत्तै निर्वाचनलाई सुरक्षित, भयरहित, शन्तिपूर्ण एवं निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगसँगको परामर्शमा सरकारले आवश्यक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । निर्वाचन क्षेत्र तथा मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील वर्गीकरण गरी तीन तहको सुरक्षा व्यवस्था गर्नुपर्छ ।
निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने गरेको छ । पहिलो घेरामा नेपाल प्रहरी एवं म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना हुन्छन् । भदौ २३ र २४ को घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच हुन नसकेको सुरक्षा ‘कोअर्डिनेसन’ का कारण यी दुई संगठनबीच अविश्वासको वातावरण सिर्जना भएको छ । फिल्डमा खटिएका नेपाल प्रहरीले सँगै उभिएका सशस्त्र प्रहरी बलको निरपेक्ष व्यवहार देखे/भोगेका थिए । निर्वाचनका क्रममा यी दुई संगठनबीच कसरी समन्वय गराउने भन्ने प्रश्न अहिले खडा भएको छ । नेपाल प्रहरीको नाजुक अवस्थामा रहेको मनोबल र ‘सपोर्टिभ फोर्स’ ले साथ नदेला कि भन्ने आशंकाबीच प्रहरीले निर्वाचन पहिलो घेराको सुरक्षा व्यवस्था कसरी गर्न सक्ला ? यो प्रश्नको हल सरकारले तत्कालै गर्नुपर्छ ।
प्रहरीको ध्वस्त भएका संरचना अहिले समुदायस्तरबाट स्वतःस्फूर्त उठेको सहयोगले थोरबहुत मर्मत र रङरोगन भइरहेको छ । सरकारले तत्कालै प्रहरीका आवश्यकता पूरा गर्नेतिर ध्यान दिनुपर्छ । ध्वस्त भएका इकाई पुनर्निर्माण, बर्दी एवं हातहतियार, सवारी साधन उपलब्ध गराएर प्रहरीको मनोबल बढाउन सकिएन भने उनीहरू कसरी शान्ति–सुरक्षामा खटिन सक्छन् ?
सरकारले लुटिएका हतियार फिर्ता गराउन र भागेका कैदीबन्दीलाई पुनः जेलभित्र पुर्याउन सकेन भने यसबाट सिर्जना हुने अराजकताको मूल्य निकै महँगो पर्न जाने छ । प्रहरीको हतियार खोसेर फरार भएकाहरूलाई हतियारसहित पक्रिएर ल्याउँदा–ल्याउँदै बाटोबाटै छोड्न निर्देशन दिने गृहमन्त्रीले उनीहरूको मनोबल कसरी उकास्ने हुन् ? सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गर्ने र परिस्थितिको गम्भीर विश्लेषण गरेर पर्याप्त तयारी नगर्ने हो भने मतदानको दिन हिंसात्मक मुठभेडमा परिणत हुने अवस्था आउन सक्छ । ‘लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य छ’ भन्ने प्रचलित मन्त्र जप्दैमा आफ्नो जीउधनको असुरक्षाबीच को होमिन सक्छ निर्वाचनमा ?
विदेशमा मताधिकार
संविधानले प्रत्येक नागरिकलाई समान रूपमा राजनीतिक निर्णय प्रक्रियामा भाग लिने पाउने सुनिश्चितता गरेको छ । विदेशमा रहेका आफ्ना देशका नागरिकहरूले मतदान गर्न पाउने व्यवस्था विश्वका धेरै देशले गरेका छन् । सर्वोच्च अदालतले वि.सं. २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनका लागि आवश्यक पर्ने कानुन तीन महिनाभित्र निर्माण गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । तर, अदालतको निर्देशन अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने अवसर प्रदान गर्नु सरकारको अनिवार्य दायित्व हो । तर, अहिले फागुन २१ को निर्वाचनमा विदेशमा रहेका मतदातालाई मताधिकार दिलाउने विषय करिब–करिब असम्भव जस्तै छ । सरकार यस पटक नै पाइलटका रूपमा भए पनि विदेशमा मतदानको व्यवस्था गराउन आयोगलाई आग्रह गरिरहेको छ । यस विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञहरूसमेत निर्वाचनका लागि पाँच महिनाको अवधिमा विदेशमा मतदानको व्यवस्था गराउन असम्भव रहेको बताइरहेका छन् ।
जेन–जीहरूले अघि सारिरहेका मागमध्ये विदेशमा रहेकाले मतदान गर्न पाउनुपर्ने पनि मुख्य माग हो । सरकार जेन–जीको यही माग पूरा गर्नुपर्ने बाध्यता रहेको भन्दै आयोगलाई तयारी थाल्न भनिरहेको छ । विदेशमा मतदानको व्यवस्था गर्न निर्वाचनसम्बन्धी कम्तीमा चार वटा कानुन संशोधन गर्नुपर्ने देखिन्छ ।
नेपालको कूटनीतिक नियोग रहेका ४० वटा देशमा मतदानको व्यवस्था गर्दा अर्बौं खर्च लाग्छ । ‘जेन–जीले मान्दैनन्’ भनेर पर्याप्त तयारी एवं स्रोतको सुनिश्चितता नभइकन कूटनीतिक नियोगमा मतपेटिका थाप्दैमा निर्वाचनको निष्ठा कायम हुने अवस्था छैन । संविधानले सबै मतदातालाई मताधिकार ग्यारेन्टी गरेकाले पाइलटका रूपमा केही देशमा मतदान गराउँदा त्यसले संवैधानिक जटिलता ल्याउने स्थिति बन्न सक्छ ।
थरीथरी जेन–जी, थरीथरी माग
अहिले सरकारसँग जेन–जीका विभिन्न समूहले संवाद गर्न थालेका छन् । प्रधानमन्त्री कार्कीले नै ‘जेन–जीको मुख्य नेता को हो, मैले पनि चिनेको छैन’ भन्ने प्रतिक्रिया दिएकी छन् । विभिन्न समूह र एजेन्डा लिएर छरिएका जेन–जी अनि तिनका मागलाई एकरूपता दिन सकिएन भने यसले निर्वाचनमा अवरोध पुर्याउन सक्ने देखिन्छ । कोही संविधानमा भएका व्यवस्थाबारे नै अस्पष्ट, कोही प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन नै आफ्नो बटमलाइन हो भन्ने, कोही राजतन्त्र पुनःस्थापन हुनुपर्ने, कोही संघीयता खारेज हुनुपर्ने माग लिएकाहरू सरकारसँग संवादमा छन् ।
सरकारले उनीहरूलाई स्पष्टसँग अहिले २०७२ को संविधान अनुसार संघीय संसद्को निर्वाचन हुन लागेको बताउनुपर्छ । आ–आफ्ना एजेन्डासहित निर्वाचनमा गएर जनताबाट म्यान्डेट पाएपछि संविधान संशोधनमार्फत आफूले उठाएका मागहरू पूरा हुन सक्छन् भन्ने जेन–जीहरूले बुझ्नुपर्छ । संविधान संशोधनका लागि आवश्यक पर्ने सिट संख्या पुर्याउन उनीहरू आजैदेखि निर्वाचनको मैदानमा होमिनुको विकल्प छैन । जेन–जीहरूले विद्रोहमार्फत आर्जन गरेको शक्तिलाई ‘ब्यालेट’ बाट अनुमोदन र पुष्टि नगर्दासम्म उनीहरूको शक्ति दिनानुदिन क्षयीकरण हुँदै जानेछ भन्ने तथ्य आत्मसात् गर्नु जरुरी छ ।
