सामूहिक नेतृत्व अभ्यास, संविधानको भावनाअनुरूप चल्ने, जनउत्तरदायी, पारदर्शी र जिम्मेवार राजनीतिक नेतृत्व यति बेला नेपालको आवश्यकता हो
What you should know
जब समाज अमनचयन अनि आरामदायक अवस्थामा हुन्छ, त्यो बेला महान् नेताहरू विरलै जन्मिन्छन् । त्यसैले भन्ने गरिन्छ, नेता जन्मिने संकटकै समयमा हो । नेपाल यतिखेर चरम संकटको अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थालाई एकथरीले ‘सुपर संक्रमणकाल’ भनेका छन् ।
अर्कोथरीको टिप्पणी छ, हामी अँध्यारो सुरुङको यात्रा उन्मुख छौं । विशेषण जे दिए पनि यो बेलाको तीतो यथार्थ हो, देश गहिरो संकट र अन्योलपूर्ण अवस्थामा छ ।
यो अन्योल र संकटकै बीच राजनीतिक रंगमञ्चमा नयाँ–नयाँ अनुहार देखिन थालेका छन् । सरकारमा नयाँ अनुहार छन् । सडक विमर्शहरूमा पनि नयाँ अनुहारहरू हाबी छन् । एक हिसाबले मुलुकमा नयाँ नेतृत्व निर्माणको रस्साकसी चलिरहेको छ । नयाँ नेता जन्माउने यो रस्साकसी जेनरेसन जेड अर्थात् जेन–जीहरूको सडक प्रदर्शन र त्यसपछि उत्पन्न परिवेशले एकाएक बढाएको हो ।
भदौ २३ को सडक प्रदर्शन, त्यसक्रममा भएको नृशंस दमन, त्यो दमनपछि उत्पन्न अराजकता र विध्वंसको जगमा नेपालमा राजनीतिक कायापलट भएको छ । पहिलो कुरा त, दलीय सत्तापलट भएर नागरिक सरकार बन्यो । दोस्रो, राजनीतिक संस्थापन मानिएका पुराना दलहरूको प्रभाव कमजोर मात्रै भएन, निर्णय प्रक्रियामा जेन–जी पुस्ताका नाममा उदाएका केही नवोदित अनुहारहरूको भूमिका बढ्यो, बढ्दो छ । सडक प्रदर्शनले ‘विद्रोह’ कै रूप लिएपछि त्यसको जस लिँदै केही जेन–जी प्रतिनिधिहरूबीच नेता बन्ने होडबाजी चलेको छ ।
तेस्रो, पुराना दलहरूमा पनि नेतृत्व परिवर्तनको बहस चर्केको छ । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता शेरबहादुर देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले राजनीतिक विश्राम लिनुपर्ने भाष्य अरू बलियो भएको छ । तीमध्ये देउवाले त सक्रिय जिम्मेवारीबाट पन्छिँदै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर राजनीतिबाट ‘आंशिक विश्राम’ लिएका छन् । ओलीले महाधिवेशन फेस गर्ने तर नेतृत्व नछोड्ने अडान लिएका छन् भने प्रचण्ड पनि नेतृत्व छोड्न आनकानी गर्दै छन् । यद्यपि, जनताको मनबाट विस्थापित भइसकेका यी नेताहरू बहिर्गमनको चर्को दबाबमा छन् ।
जब मुलुक संकट र विषम परिस्थितिमा हुन्छ, राजनीतिक नेतृत्वको योग्यताको परीक्षण त्यही बेला हुने हो । त्यस्तो बेला यथास्थिति भत्किँदै मूल्य–मान्यताहरू परीक्षणको कठघरामा हुन्छन् । तिनै परिवेशबीच नेतृत्व विकासको नयाँ सम्भावनाको ढोका पनि खुल्छ । अहिले देश त्यस्तै अप्ठेरो परिवेशमा छ । राजनीतिक, संवैधानिक, आर्थिक, नैतिक सबैखाले संकटको घेराबन्दीमा छ । के यो संकटपूर्ण समयमा नयाँ नेतृत्व जन्मेला ? राजनीतिप्रति खासै चासो राख्दैन भन्ठानिएको जेन–जी पुस्ता नेतृत्वमा आउने प्रयत्नमा छ । के त्यसो भए अहिले देखिएका जेन–जी अनुहारहरू नेताका रूपमा स्थापित होलान् ? संकटबाट मुलुकलाई उभार्ने आशा तीबाट राख्न सकिएला ? कि पुरानै दलहरूभित्र आशाका किरणहरू बाँकी छन् ? पुराना दलका शीर्ष भनिएका नेताहरू नेतृत्वमा रहिरहन अनेक प्रयत्न गर्दै छन् । के तिनका प्रयत्न विफल भएर दलहरूमा आशालाग्दो नेतृत्व आउने परिस्थिति बन्ला ? यतिखेर यी आमचासोका प्रश्न हुन् । जसमाथि बहस आवश्यक छ । नेतृत्व विकाससँगै बलियो पद्धति निर्माण पनि विमर्शको अर्को महत्त्वपूर्ण विषय हो । यस पटक यो स्तम्भ यिनै विषय र प्रश्नको सेरोफेरोमा रहने छ ।
नेता बन्ने जेन–जी छटपटी
कुरा थालौं, जेन–जीहरूमा बढ्दो राजनीतिक चस्काबाट । मुलुकको राजनीतिक परिदृश्य बदलिएसँगै जेन–जी पुस्ताका केही अनुहारहरूको चर्चा र आकर्षण बढेको छ । चर्चा कतिविघ्न छ भन्ने एउटा ताजा दृष्टान्त हो, शनिबार एक जना जेन–जी अभियन्ता मिराज ढुंगानाले गरेको पत्रकार सम्मेलन । युट्युबरहरूले खचाखच भरिएको त्यो सम्मेलन देख्दा लाग्छ, मानौं उनीहरू मुलुकलाई दिशानिर्देश गर्ने कुनै ‘करिस्मेटिक’ नेताको ओजपूर्ण विचारहरू सम्प्रेषण गर्न तँछाडमछाड गर्दै छन् । तर, त्यहाँ भेटिन्छन्, अत्यधिक अन्योल र अस्पष्टताबाट गुज्रिरहेका जेन–जी नेता ढुंगाना । जो दल त खोल्न चाहन्छन्, तर चुनावका लागि होइन । उनमा तीव्र भावनात्मक उद्वेग छ, उनी प्रतिक्रियात्मक छन् तर राजनीतिक वस्तुस्थिति र गहिरो समझको सर्वथा अभाव छ । मुलुकमा विद्यमान संकटको सबैभन्दा सरल र सहज निकास चुनाव हो । तर, उनी भन्दैछन्, अहिले भनिएको चुनाव होइन, प्रत्यक्ष कार्यकारीको चुनाव । जबकि मौजुदा अवस्थामा त्यो सम्भव नै छैन । र, अन्तरिम सरकारको त्यो म्यान्डेड पनि होइन ।
जेन–जीहरूलाई लाग्छ, जबसम्म मुलुकमा प्रत्यक्ष कार्यकारी प्रमुखको प्रबन्ध हुँदैन, परिवर्तन पनि हुँदैन । तर, त्यसअघि यसको औचित्य र आवश्यकता कति छ/छैन, नेपाली सन्दर्भमा सकारात्मक/नकारात्मक प्रभाव के कति पर्न सक्छ, त्यसमा पनि गम्भीर बहसहरू आवश्यक हुन्छ भन्ने कुरा ती बुझ्नै चाहँदैनन् । प्रत्यक्ष कार्यकारीको मुद्दा नेपाली राजनीतिमा बहसको विषय बन्दै आएको थियो र अब पनि त्यो चुनावी मुद्दा बन्न सक्छ । तर, अहिले नै प्रत्यक्ष कार्यकारीको चुनावमा जानुपर्छ भन्ने हठले संकटलाई थप जटिल बनाउनेछ ।
राजनीतिको पोखरीमा जमेको फोहोर डिलमा बसेर हेर्ने कि त्यसलाई सफा गर्न आफैं ओर्लने ? यो प्रश्न नयाँ होइन । सम्भवतः सबै पुस्ताले युवावयमा यो प्रश्नसँग साक्षात्कार गरेकै हुन्छन् । उदाउँदै गरेका जेनजीहरू पनि राजनीतिलाई ‘फोहोरी खेल’ भन्ने भाष्यबाटै प्रशिक्षित भएर हुर्किएको पुस्ता हो । यद्यपि, यो पुस्ता राजनीतिमा जमेको फोहोर सफा गर्न पोखरीमा ओर्लन खोज्दै छ । जुन आफैंमा सकारात्मक कुरा हो ।
दशकौंदेखि नेपाली राजनीतिमा उही अनुहारको हालीमुहाली र वर्चस्व कायम हुँदा त्यसले आमरूपमा मान्छेहरूलाई निराश अनि दिक्दार बनायो । पुरानाहरूको दम्भी सोच, लोकतन्त्रको आवरणमा अलोकतान्त्रिक कार्यशैलीले वाक्कदिक्क भएको समाजमा जेन–जी पुस्ताले परिवर्तनको बिगुल फुकेपछि ती आकर्षण बनेका छन् । मान्छेहरूले जेन–जीका प्रतिनिधिहरूको अनुहारमा भावी नेतृत्वको झलक खोज्ने प्रयत्न गर्दै छन् । तर, दुःखद कुरा, नेतृत्व गर्छु भनेर अग्रसर जेन–जीहरू यति आलाकाँचा र अपरिपक्व छन्, तिनले आशाको सञ्चार रत्तिभर गराउन सकेका छैनन् ।
आवेग र उत्तेजनाको जगमा उदाएका जेन–जीहरू सन्दिग्ध, विवादास्पद र आपराधिक प्रवृत्तिका पनि छन् । कोही ठगीमा संलग्न भएको देखिएका छन् भने कोही मातृहत्या जस्तो जघन्य अपराधमा । जति पनि नेतृत्वदायी भूमिकामा देखिएका जेन–जी पात्रहरू छन्, ती आस गर्ने खालका छैनन । बरु तिनमा देखिएको ज्ञानबिनाको आवेग अनि अपरिपक्वता चिन्ता बढाउने खालको छ । जेन–जीहरू प्रविधिसँग घनिष्ठ छन् । यो पुस्ता सामाजिक सञ्जाल, प्रविधिसँग हुर्केको पुस्ता हो । तिनले जनमत निर्माणमा ‘डिजिटल एड्भोकेसी’ गर्न सक्ला । तर, यिनमा आधारभूत राजनीतिक/सैद्धान्तिक प्रस्टता छैन ।
संकटकै बेला नेता जन्मिने हो । तर, नेता बन्न जनतासँग एकाकार गर्न सक्नुपर्छ । नेता जनतासँगको गहिरो सम्बन्धका आधारमा जन्मिन्छ । संकटको अर्थ गहिरो गरी बुझ्छ । सत्य, न्याय र इमानमा अडिग रहन्छ अनि नयाँ बाटो देखाउन सक्ने खुबी राख्छ । नेतृत्व संघर्ष, अभ्यास र जिम्मेवारीको परीक्षणबाट परिपक्व हुन्छ । नेतृत्व जनताको सामूहिक चेतनाको परीक्षण पनि हो । थरी–थरी अवतारमा देखिएका नेता बन्ने कसरतमा लागेका जेन–जीहरू राजनीतिक चेतको परीक्षणमा पास होलान् ?
दलमा पुस्तान्तरणको सकस
राजनीतिमा जेन–जी पुस्ताको पदार्पणसँगै पुराना दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा अनिवार्य सर्त भइदिएको छ । यहाँनेर पुराना भन्नाले तीन मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी हुन् । यी तीनै दलमा यतिबेला नेतृत्व परिवर्तनको मुद्दा सर्वाधिक बहसको विषय बनेको छ । तीनवटै दलहरू नेतृत्व परिवर्तनको आन्तरिक अभ्यासमा छन् । तर, के यी दलमा नेतृत्व परिवर्तन भएर नयाँ पुस्ताको काँधमा त्यो जिम्मेवारी आउला ? निर्धक्क हुन सकिने अवस्था बनेको छैन ।
कांग्रेसकै कुरा गरौं । नेतृत्व परिवर्तनको वातावरण अरूमा भन्दा कांग्रेसमा बढी भएको विश्लेषण गरिँदै छ । सभापति शेरबहादुर देउवाले ‘आफ्नो युग समाप्त भएको’ भन्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएपछि धेरैले यसलाई नेतृत्व परिवर्तनको प्रारम्भका रूपमा विवेचना गरे । तर, यथार्थ के हो भने देउवाले अहिले लिएको आंशिक विश्राम बाध्यताको उपज हो । उनीसँग विधानतः फेरि नेतृत्व रहिरहने विकल्प छैन । अहिलको परिवेशले उनलाई नेतृत्वको कुर्सीमा बसिरहन सघाउँदैन पनि । त्यसैले उनले आफूनिकट खड्कालाई सारेका छन् । के देउवाले आफूले छोडेसँगै गुटगत राजनीति अन्त्य भएको घोषणा गरे ? देउवा गुटको वर्चस्व भएको कांग्रेसमा के अब राजनीतिक विचारको आधारमा नेतृत्व छानिने सुनिश्चित भइसकेको हो ?
अहिले कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भनेर बहस चलिराखेको छ । जबकि विधानतः विशेष महाधिवेशनको माग गर्ने सदस्य संख्या पुगिसकेको सन्दर्भमा बिना कुनै आनाकानी यो पार्टी विशेष महाधिवेशनमा होमिनुपर्थ्यो । कारण, यो विशेष परिस्थिति हो । विशेष परिस्थितिमा विशेष महाधिवेशन स्वाभाविक कुरा हो । तर, कांग्रेसभित्र नियमित महाधिवेशन भन्दै सकभर विशेष महाधिवेशन टार्ने प्रयत्न हुन थालेका छन् । खासमा नियमित महाधिवेशनमा जाने कुरा गरे पनि अहिलेको संस्थापन, जहाँ देउवा गुटकै वर्चस्व छ, तिनको प्रयत्न नेतृत्व परिवर्तनको मुद्दालाई धकेल्दै लैजाने हुनेछ । कांग्रेसमा देउवाले बाटो छोडे भनेर हौसिए पनि त्यहाँ नेतृत्व परिवर्तनको मुद्दा अरू सकसपूर्ण हुँदै जानेछ ।
एमालेमा नेतृत्व परिवर्तनको यो सकस अझ बढी छ । कारण, यो पार्टी एक जना नेताको व्यक्तिवादमा चुर्लुम्म डुबेको छ । मुलुक यतिबेला चुनाव हुन्छ कि हुँदैन ? लोकतन्त्र लिकमा नफर्केर अझै जटिलतामा फस्ला कि भन्ने चिन्तामा छ । तर, एमालेको नेतृत्व भने अहम्को बन्दी बनेको छ र मुठभेडतिर अग्रसर छ ।
जेन–जी प्रदर्शन, त्यसपछिको दमन, दमनपछिको विध्वंसपछि मुलुक जुन अवस्थामा पुग्यो, त्यसको मुख्य जिम्मेवार सत्तारूढ प्रधानमन्त्रीका नाताले केपी ओली हुन् । तर, यत्रो नरसंहार र विध्वंसपछि पनि यी पात्रमा अलिकति पनि ग्लानि र लज्जाबोध छैन । अनवरत रूपमा उनी दम्भ र अहंकार ओकलिरहेका छन् । एक समय जनमुखी पार्टीका रूपमा स्थापित एमाले आजको मितिमा करिब–करिब अवसानको डिलमा छ । तर, ओलीलाई चिन्ता छैन । एमालेमा नवीन नेतृत्व वा मुद्दाको कुरा हुँदैन । यो पार्टीको सांगठनिक संरचना बलियो भएकाले संस्थागत क्रियाशीलता देखिन्छ, यद्यपि राजनीतिक/वैचारिक रूपमा यथास्थिति र व्यक्तिपूजामा सीमित छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा केही नेताहरूले ओलीको विकल्पको कुरा उठाए तर बलियो गुटका धनी ओलीले त्यो प्रस्ताव सामसुम पारे ।
हुन त उनी एमालेका उत्तराधिकारको अभाव नभएको दाबी गर्छन् । उनले आइतबार सम्पादकहरूसँगको संवादमा पनि उत्तराधिकारी नभएर होइन, एमालेको क्याप्टेन बसिरहने आवश्यकताका कारण नेतृत्व नछोडेको दाबी गरे । खासमा उनी यस्तो अभिव्यक्ति रणनीतिक हिसाबले दिइराखेका छन् । एमाले पंक्तिको आत्मविश्वास नडगोस् भन्ने उनको अभिप्राय हुन सक्छ । तर, विगतका दृष्टान्तहरूले भन्छन्, ओली न आलोचना सुन्न सक्छन्, न त प्रतिस्पर्धा नै । उनका एकमनावादी कार्यशैलीका कारण कति नेताहरू किनाराकृत पारिए ? अनि कति जना आलोचना गरेकै कारण कारबाही र निलम्बनमा परे ? सन्दर्भहरू आलै छन् । ओलीलाई एमालेको एकमात्र ‘ब्रान्ड’ मान्ने कतिपय नेताका कारण उनका यसप्रकारका कार्यशैलीले प्रश्रय पाएको छ । सारमा, एमालेमा पुस्तान्तरणको मुद्दाको वजन निकै कम छ ।
माओवादी पनि एमालेभन्दा भिन्न अवस्थामा छैन । यो पार्टीमा पनि प्रचण्डको उत्तराधिकारी अभाव छ । सशस्त्र विद्रोहको जगमा उभिएर शान्तिपूर्ण रूपान्तरण हुँदै आएको यो पार्टीले खुला राजनीतिमा सत्तालाई सबैथोक मान्दा यसको राजनीतिक/वैचारिक अवसान भएको छ । सत्तामा पुगेर जनहितमा काम गर्न सकेको भए सायद परिस्थिति बेग्लै हुन्थ्यो । तर, सत्ता सुख, व्यक्तिगत स्वार्थ, कुलीनतन्त्र र बिचौलियातन्त्रमा आफूलाई समाहित गर्दा यो पार्टीको जनविश्वास धूलिसात भएको छ ।
अध्यक्ष प्रचण्ड आफूलाई अरू शीर्ष नेताभन्दा फरक देखाउन भरमग्दुर प्रयासरत छन् । उनी जेन–जीलाई नेतृत्वमा ल्याउने कुरा पनि गर्छन् । सबैभन्दा पहिले कमिटी विघटन गरेर महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने कुरा पनि उनले गरे । तर, यी देखावटी सुधारका प्रयत्न र प्रतिबद्धताहरू गरे पनि प्रचण्डको सत्तामोहको धीत मरेको छैन । जसले गर्दा यो पार्टीमा पनि पुस्तान्तरण र नेतृत्व परिवर्तनको मुद्दा सोचेजति सहज हुने छैन ।
नेता कि प्रणाली ?
खासमा यतिबेला मुलुकमा यथास्थितिवाद र परिवर्तनकामीहरूबीच शक्तिसंघर्ष चलिरहेको छ । चाहे त्यो दलहरूभित्रको घरेलु संघर्षको सन्दर्भमा होस् अथवा समग्र राजनीतिक वृत्तमै । विभिन्न क्षेत्रका व्यावसायिक मानिसहरू राजनीतिक दलहरू स्थापना गर्दै राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् । जेड पुस्ताका नवयुवाहरू पनि संस्थागत रूपमा राजनीतिमा ओर्लने सुरमा देखिन्छन् । प्रमुख दलहरूभित्र पनि नेतृत्व परिवर्तनका प्रयत्न र बहसहरू छन् । यी बहस चलिरहँदा छुटाउनै नमिल्ने प्रश्न हो, विधिको ।
हुन त नेपालमा नेतृत्व पुज्ने प्रवृत्ति हाबी छ । हामी हरदम ‘नायक’ को खोजीमा हुन्छौं । त्यो ‘नायक’ क्षणभरमै ‘देवता’ हुन्छ र अर्को एक निमेषमै ‘दानव’ पनि बनिसक्छ । तर, हामीलाई न ‘देवता’ चाहिएको हो, न ‘दानव’ । हाम्रो खाँचो हो, संस्थागत प्रणालीमा आधारित नेतृत्व । नेता/नेतृत्वका केही आधारभूत विशेषता हुन्छन् । जस्तो कि, नेता भनाइ र गराइमा एकरूपता भएको नैतिक र निष्ठावान हुनुपर्छ । नेता सोच र दृष्टिकोणसहित निर्णय क्षमता भएको हुनुपर्छ र परिणामको दायित्व बोक्न सक्ने खालको हुनुपर्छ । यस्ता नेताका लागि विधि र पद्धति प्रधान प्राथमिकताका विषय बन्छन्, बन्नुपर्छ । उसले बुझेको हुन्छ, नेता भनेको प्रणाली वा पद्धति निर्माणको उत्प्रेरक हो, सर्वशक्तिमान होइन । सारमा, सामूहिक नेतृत्व अभ्यास, संविधानको भावना अनुरूप चल्ने, जनउत्तरदायी, पारदर्शी र जिम्मेवार राजनीतिक नेतृत्व यतिबेला नेफालको आवश्यकता हो ।
