‘दर्शनीय वस्तु’ होइनन् राउटे

राउटे समुदाय अहिले ‘कन्टेन्ट’ बनेको छ– कसैले फोटो खिच्छ, कसैले भिडियो पोस्ट गर्छ, यस्तो क्रियाले राउटेहरू असुरक्षित छन् ।

आश्विन ३१, २०८२

राधा ओली

Raute is not a 'visual object'

नेपालको अद्वितीय, मौलिक र घुमन्ते जीवनशैली अपनाएको एक जनजाति हो– राउटे समुदाय । तर विडम्बना, आज उनीहरूको अस्तित्व नै जोखिममा छ । नीतिगत संरक्षणको अभाव, सरकारी निष्क्रियता र हाम्रो असंवेदनशील व्यवहारले यो समुदाय दिनानुदिन संकटमा फस्दै छ ।

हाल सुर्खेत जिल्लामा बसोबास गर्दै आएका राउटे समुदायका सदस्यहरू बाह्य प्रभाव र सामाजिक हस्तक्षेपका कारण मौलिक जीवनशैलीबाट क्रमशः टाढिँदै छन् । वर्तमान अवस्थाको चित्र यस्तो छ– मान्छेहरू राउटे बस्ती पुग्छन्, भिडियो खिच्छन्, पैसा बाँड्छन्, खाना वितरण गर्छन् र सामाजिक सञ्जालका लागि सामग्री (कन्टेन्ट) बनाउँछन् । यस्तो क्रियाकलापले राउटेको संरक्षण होइन, पर्यावरणदेखि जीवनशैलीसम्मै बिगारिरहेको छ । 

पहिले–पहिले राउटेहरू जंगलमै श्रम गरेर बाँच्थे, आफ्नै हातले बनाएको उत्पादनमा निर्भर रहन्थे । तर, अहिले बाहिरबाट आइरहेको खाद्य सामग्री र सजिलो पैसाको पहुँचले उनीहरूको खानपान, बानी, स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । बजारको चाउचाउदेखि कृत्रिम खाद्य पदार्थसम्मले उनीहरूको शरीरमा दीर्घकालीन क्षति पुर्‍याइरहेको छ । 

सरकारले समयमै कडा नीति बनाई राउटे समुदायलाई अनावश्यक भीडभाडबाट जोगाउने, सुरक्षा प्रदान गर्ने र निश्चित नियम लागू गर्ने कदम चालेको भए आज यो समुदायको संरक्षण प्रभावकारी हुने थियो । तर दुर्भाग्य, न नीति बनेको छ, न कार्यान्वयन भएको छ ।

यो ‘लोपोन्मुख जाति’ लाई संरक्षणका नाममा अनेक व्यक्ति र समूहले भीडमा ल्याएर, तिनको भिडियो बनाएर, सामग्री बिक्री गरेर आर्थिक लाभ उठाइरहेका छन् । र, राउटे समुदाय अहिले ‘कन्टेन्ट’ बनेको छ– कसैले फोटो खिच्छ, कसैले भिडियो पोस्ट गर्छ । यस्तो क्रियाले उनीहरू झन् असुरक्षित भइरहेका छन् । हाम्रा गलत कदमहरूले राउटेको सामाजिक, सांस्कृतिक र मानसिक जीवनमा गहिरो असर पारिरहेको छ । हामी उनीहरूलाई हेर्न जान्छौं, भिडियो खिच्छौं र प्रचार गर्छौं । तर, सोच्दैनौं– त्यो भीडभाडले उनीहरूमा कस्तो दबाब र क्षति पुर्‍याइरहेको छ ?

अब राज्यले राउटे समुदायको संरक्षणका लागि स्पष्ट, व्यावहारिक र कडाइका साथ विशेष नीति ल्याउनु जरुरी छ । स्थानीय सरकार, प्रदेश र संघीय निकायबीच सहकार्य गर्दै एउटा साझा कार्यविधि तयार पार्नुपर्छ, जसले उनीहरूको गोपनीयता, संस्कृतिको सम्मान र जीवनशैलीको रक्षा गर्न सकोस् ।

हामी सबैले आत्मनिरीक्षण गर्नुपर्ने समय यही हो । हामीले नै उनीहरूलाई लोभ, दया देखाएर यो अवस्थासम्म ल्याएका हौं । हामी अनुशासित र जिम्मेवार छैनौं । हाम्रै व्यवहारले उनीहरूको मौलिकता क्रमशः हराउँदै छ । त्यसैले राउटे समुदायका लागि पृथक् संरक्षण नीति, सांस्कृतिक पुनःस्थापना कार्यक्रम र आत्मनिर्भरको योजना ल्याउनु आवश्यक छ । परम्परागत सीप र जीवनशैलीलाई ध्यान दिएर सीप विकास तालिम र रोजगारीका अवसर प्रदान गर्नुपर्छ । यसरी मात्रै उनीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ । 

राउटेलाई तिनकै वातावरणमा रमाउन दिनुपर्छ– संस्कृति, परम्परा र सीप जोगिने नीति ल्याउनुपर्छ । पर्यटनका नाममा गोपनीयता भंग गर्नु, भीडभाड बढाउनु र तिनलाई ‘दर्शनीय वस्तु’ बनाउनु एक अमानवीय कृत्य हो ।

राधा राधा कान्तिपुरमा समसामयिक बिषयमा लेख्छिन् ।

Link copied successfully