जेन–जी आन्दोलनको आवरणमा जो आपराधिक गतिविधिमा संलग्न थियो, उनीहरूलाई कारबाही हुनुहुँदैन भनेर जसले वकालत गर्छन्, उनीहरूमाथि पनि शंका गरिनुपर्छ । जेन–जीले नै त्यसको प्रतिवाद गर्नुपर्छ । नत्र भने सानदार जेन–जी आन्दोलन छोटै समयमा भ्रष्टीकरण हुन सक्छ ।
What you should know
जेन–जी आन्दोलनको मौका छोपेर आपराधिक गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेसँगै कानुनी शासनको आशा बढेको छ । २४ भदौका प्रदर्शनकारी आगजनी, लुटपाट, कुटपिटजस्ता आपराधिक गतिविधिमा संलग्न भए पनि कारबाहीमा पर्लान् वा नपर्लान् भन्नेमा अन्योल उत्पन्न भएकै बेलामा प्रहरीको सक्रियताले सकारात्मक सन्देश दिएको छ ।
यसले २३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनलाई अलग्याएर हेर्नुपर्ने आवश्यकतालाई बलियो बनाउनेछ । साथै, आपराधिक गतिविधि कुनै पनि समयमा कानुनी कारबाहीको दायराभित्र पर्छन् भन्ने स्थापित पनि गर्छ । २३ र २४ भदौको घटनाको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग पनि गठन भएको छ । त्यसले दुवै दिनका घटनाको विश्लेषण र दोषीको पहिचान गर्ने नै छ । अहिलेलाई भने उपलब्ध प्रमाणअनुसार आपराधिक गतिविधिमा संलग्नलाई कारबाही अघि बढाउनु मनासिब छ ।
जेन–जीद्वारा आह्वान गरिएको २३ भदौको आन्दोलनमा सरकारद्वारा क्रूर दमन भएको थियो । त्यसै दिन १९ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । सरकारको दमनको प्रतिरोधमा २४ भदौमा पनि जेन–जी सडकमा उत्रिएका थिए । तर स्वाभाविक प्रतिरोधलाई आपराधिक मनोवृत्तिका व्यक्ति तथा समूहले कब्जा गरेको अनेकौं प्रमाण उपलब्ध भइसकेका छन् ।
यस्ता व्यक्ति तथा समूह सरकारी संरचना, व्यापारिक/व्यावसायिक भवन, निजी घर, सरकारी तथा निजी सवारीसाधन आगजनी तथा तोडफोडमा केन्द्रित भएका थिए । प्रहरीका हातहतियार लुटपाटसमेत गरेका थिए । कतिपय त लुटिएका हतियार बोकेर भाग्दै गरेका वा प्रदर्शनमा संलग्न भएका भिडियो तथा फोटो पनि सार्वजनिक भएको छ ।
कोही प्रहरीमाथि नै कुटपिट र हत्यामा समेत संलग्न भएका छन् । यसरी योजनाबद्ध देखिने आगजनीदेखि कुटपिटमा संलग्नहरू कारबाहीमा पर्नुपर्छ । जेन–जी आन्दोलनको शुद्धीकरणका लागि र समाजको दीर्घकालीन शान्तिसुरक्षाका लागि पनि त्यसो गरिन आवश्यक छ ।
हालै प्रहरीले सम्राट भनिने राजु परियारलाई समातेको छ, जो २४ भदौमा सिंहदरबार अगाडि प्रहरीको एसएलआर हतियार ताक्दै गरेको देखिएका थिए । सामाजिक सञ्जालमा उनको तस्बिर भाइरल भएपछि खोजी गर्दा परियार पटके अपराधी भएको खुलेको छ । प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि पनि कुटपिट गरिएको थियो । बर्दी खोल्न बाध्य पारिएको थियो । लखेटिएको थियो । प्रहरी वृत्त, महाराजगन्जमा असइ मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।
प्रहरीलाई कुटपिटपछि हत्यामा संलग्न रहेको आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङविरुद्ध बुधबार अदालतमा मुद्दा पनि दर्ता भएको छ । २४ भदौमा मात्रै होइन, त्यसयता पनि विभिन्न आपराधिक मनोवृत्तिका व्यक्तिले जेन–जी आन्दोलनलाई बदनाम गर्ने गरी सरकारी पदाधिकारीलाई धम्क्याउने गरेका विवरण सार्वजनिक भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार जेन–जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई समेत पक्राउ गरेको छ ।
आपराधिक क्रियाकलापमा संलग्न भएका जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्ने कानुनी राज्यको सामान्य चरित्र हो । त्यसैले गैरकानुनी गतिविधिमा संलग्न जोसुकैमाथि प्रहरी निगरानी बढ्नु आवश्यक छ । अर्कोतर्फ, २४ भदौमा देशभरका जेलबाट धेरै अपराधी भागेका छन् । सुरक्षा निकायका हतियार लुटिएका छन् ।
प्रहरी कार्यालयबाट लुटिएका कम्तीमा २ हजार ५ सय हतियार अझै फेला परेका छैनन् । अहिले अनुसन्धान र कारबाहीमा हेलचक्य्राइँ गर्ने वा उदासीन हुने हो भने उनीहरूको मनोबल बढ्नेछ । समाज असुरक्षित हुनेछ । समाज नै अपराधीहरूको कब्जामा पुग्नेछ । त्यसैले पनि सकेसम्म छिटो जेलबाट भागेकादेखि २४ भदौको विध्वंसमा संलग्न भएकालाई राज्यले नियन्त्रणमा लिनुपर्छ ।
२३ भदौको आन्दोलन आह्वान गरेका जेन–जीले आगजनी, तोडफोड वा लुटपाट आफूहरूको योजना पनि नभएको र त्यस किसिमको गतिविधिमा आफूहरूले विश्वास पनि नगर्ने बताइरहेका छन् । उनीहरूले पनि घटनाको छानबिन गरिनुपर्ने बताइरहेका छन् । त्यसैले प्रहरीको सक्रियतालाई उनीहरूले पनि साथ दिनुपर्छ । किनकि, देशमा कानुनी राज स्थापना भएन भनेर उनीहरू आन्दोलनमा उत्रिएका थिए । त्यसैले जेन–जी आन्दोलनको आवरणमा भएका आपराधिक घटनाका दोषीलाई कारबाही गर्ने सन्दर्भमा बलियो सरोकारवाला उनीहरू नै हुन् ।
उनीहरू प्रस्ट हुनुपर्छ– आपराधिक गतिविधिमा संलग्न कारबाहीमा परे भने मात्रै आफ्नो आन्दोलनले शुद्धीकरण हुने मौका पाउँछ । आफूहरूले खोजेको जस्तै कानुनी राज स्थापनामा योगदान पुग्छ । जेन–जी आन्दोलनको आवरणमा जो आपराधिक गतिविधिमा संलग्न थियो, उनीहरूलाई कारबाही हुनुहुँदैन भनेर जसले वकालत गर्छन्, उनीहरूमाथि पनि शंका गरिनुपर्छ । जेन–जीले नै त्यसको प्रतिवाद गर्नुपर्छ । नत्र भने सानदार जेन–जी आन्दोलन छोटै समयमा भ्रष्टीकरण हुन सक्छ ।
२४ भदौ राज्यविहीन भएपछि सुरक्षा निकाय पनि प्रदर्शनकारीको तारोमा परे । प्रहरी कार्यालय नै जलाइए । कुटपिट र हत्या गरियो । यसले खासगरी प्रहरीको मनोबल हच्किएको छ । यस्तो स्थिति लामो समय रहिरह्यो भने समाजको शान्तिसुरक्षामै असर पार्न सक्छ । मनोबल बढाउने एउटा उपाय भनेको जेन–जी आन्दोलनको आवरणमा अपराधमा संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउनु पनि हो ।
अर्कोतर्फ, वर्तमान सरकारको मुख्य जिम्मेवारी २१ फागुनमा निर्वाचन गर्नु पनि छ । त्यसका लागि समाजलाई आपराधिक मानसिकता भएका व्यक्तिको दबदबाबाट मुक्त गर्न जरुरी छ । त्रासका बीच निर्वाचन सम्पन्न हुन कठिन छ । भइहालेमा पनि नतिजा प्रभावित हुन सक्छ । त्यसैले शान्त र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि पनि अपराधीहरू पक्राउ पर्न आवश्यक छ ।
