देशको सम्पत्ति जलिरहँदा र आमाहरूको काख रित्तिरहँदा नेपाली जनताहरू भय–पीडाले सुत्न सकेनन् । जेन–जीअघिका जेन–एक्स, जेन–वाइको मनमा त पहिरो गइरहेको थियो भने साना बालबालिको मनस्थिति कस्तो थियो होला ? कल्पना पनि गर्न सकिँदैन ।
What you should know
भदौ २३ को जेन–जी आन्दोलनमा स्कुले पोसाकमै सडकमा पुगेका प्लस–टु पढ्ने युवाहरूले अनाहकमा ज्यान गुमाए । यो घटनाले स्कुल बन्द भई घरै बसिरहेका अन्य विद्यार्थी र बालबालिका पनि डराए । सुरुमा ‘भ्रष्टाचारीका घरहरू जले’ भन्दै खुसी भएका जनताहरू पछि सिंहदरबार, सर्वोच्च अदालत, पुलिस बिट जस्ता देशका अमूल्य सम्पत्ति जलिरहँदा आत्तिए ।
देशको सम्पत्ति जलिरहँदा र आमाहरूको काख रित्तिरहँदा नेपाली जनताहरू भय–पीडाले सुत्न सकेनन् । जेन–जीअघिका जेन–एक्स, जेन–वाइको मनमा त पहिरो गइरहेको थियो भने साना बालबालिको मनस्थिति कस्तो थियो होला ? कल्पना पनि गर्न सकिँदैन । त्यतिखेर आमा–बुबाले ठूलो साहस र हिम्मतका साथ आफ्ना नानीबाबुलाई ढाडस दिए र सामान्य स्थितिमा रहन मद्दत गरे । देश जलिरहेको देख्न नसकेर स्वास्थ्यमा समस्या आई कतिपय अभिभावकलाई अस्पताल नै पुर्याउनुपर्यो ।
भदौ २९ गते शिक्षक, कर्मचारी स्कुल पुगेर वातावरण चेक–जाँच गरेपछि मात्रै ३० गते सोमबारदेखि देशका सबै स्कुल खुले । शिक्षक–कर्मचारीलाई कौतूहल भइरह्यो– विद्यार्थीहरू कस्ता भएर स्कुल फर्किए ? प्रदर्शनले उनीहरूमा परिवर्तन त ल्याएन ?
म पनि शिक्षक हुँ, काठमाडौं बौद्धको अरुणिमा सेकेन्डरी स्कुल पढाउँछु । स्कुलको पहिलो दिन विद्यार्थीहरू डराएजस्ता थिए । उनीहरूका मनमा थुप्रै कौतूहल थिए । केहीले बोलेर र केहिले लेखेर आफ्ना भावना व्यक्त गरे । उनीहरूले भने–लेखेअनुसार घरहरू जलिरहँदा, प्रहरीसँग सम्पर्क गर्न मिल्दैन भनेको सुन्दा अनि विद्यार्थीले नै ज्यान गुमाएकाले ती निकै नै डराएका थिए । त्यो दिन विद्यार्थीलाई रमाइला खेलहरू खेलाएर, प्रेरणा दिने कथाहरू भन्न लगाएर, भिडियोहरू देखाएर, अडियोहरू सुनाएर तिनका मनबाट डर हटाउन मद्दत गरेका थिए शिक्षकले । अर्को दिनदेखि मात्रै स्कुमा पढाइ सुरु गरिएको थियो ।
...
यो डिजिटलको समय हो । मान्छेका हात–हातमा ग्याजेट छन् । आमा–बुबा देशबाहिर वा आफूभन्दा टाढा हुने बालबालिकासँग मोबाइल छ । हाम्रो देशमा आमाबुबाभन्दा टाढा रहेर पढ्ने पनि थुप्रै विद्यार्थी छन् । देशमा हुने आन्दोलन, प्रदर्शन, बन्द, हड्तालदेखि बाढीपहिरो, आगजनी, भुइँचालोजस्ता प्राकृतिक प्रकोपसम्ममा सबैभन्दा बढी प्रभावित हुने साना बालबालिका र विद्यार्थी नै हुन् ।
यस्तोमा तिनलाई परिवार, समाज र स्कुलको दह्रो साथ हुनु जरुरी हुन्छ । जे देख्यो त्योसँग छिट्टै जोडिने र त्यसलाई साँच्चै ठान्ने बालबालिकाको उमेर हुन्छ । ती भूतका फिल्म र भिडियो हेर्दा डराउँछन् । त्यसको प्रभाव हुन्छ– राति बाथरुमसम्म जान नसक्ने, अँध्यारो देख्दा डराउने, एक्लै बस्न नसक्ने । यस्ता डरलाग्दा घटनाहरू हुँदा बालबालिकालाई एक्लै छाड्नुहुन्न । उनीहरूको मनमा लामो समयसम्म डर बस्न सक्छ । र, मानसिक समस्या पनि आउन सक्छ ।
चाडपर्वहरूमा प्रायः विद्यार्थी आफन्तसँगै घरमै हुन्छन् । कोह सहरबाहिर गाउँ–घर पुगिसकेका छन् । गाउँघर पुगेका बालबालिका त गाउँको परिवेशमै रमाउाछन् । तर, सहरमै बस्ने बालबालिका के गर्छन् ? यहाँ घरबाहिर पनि खासै खेल्ने ठाउँ हुँदैन । कसैका खेल्ने साथी हुँदैनन् । त्यसैले लामो बिदामा आमाबुबा, अभिभावकमा तनाव थपिएको छ– बालबालिकालाई कसरी ग्याजेटबाट टाढा राख्ने ? सामान्यतया दिनमा केही समय मोबाइल चलाउनु, चाहेको कुरा सिक्नु–पढ्नु ठिकै हो । तर, आजभोलि बालबालिकाले बिहान उठेदेखि बेलुकी नसुतेसम्मै मोबाइल चलाएको गुनासा अभिभावकबाट सुनिन्छन् ।
अहिले साइबर क्राइमका घटना बढ्दै गएका छन् । स्कुले बालबालिका यसको सिकार भएका ‘केस’ प्रहरी कार्यालयमा थुप्रिएका छन् । प्रहरीसम्म नपुगेका, तर स्कुल र अभिभावक मिलेर सुल्झाएका घटना त्योभन्दा धेरै छन् । त्यसैले यो समय प्रत्येक आमा–बुबा, बालगृह (जसले बालबालिकाको अभिभावकत्व लिएका छन्) सँग थुप्रै चुनौती छन् ।
एकातिर देशमा भइरहने विभिन्न क्रियाकलापले बालबालिकालाई तनावमा राखेको हुन्छ, अर्कोतिर लामो समय स्कुलबाट टाढा हुँदा र मोबाइलमा व्यस्त रहँदा तीमाथि नराम्रो असर पारिरहेको छ । अहिले बालबालिका पढाइबाट टाढा भाग्दै छन्, तिनमा रचनात्मक विषय सोच्ने र काम गर्ने शैली हराउँदै गएको छ ।
दसैं–तिहारदेखि छठसम्मैका लामा बिदाहरूमा बालबालिकाले सिक्न सक्ने काम थुप्रै छन् । उनीहरूलाई घरायसी काम सिकाउन सकिन्छ । जस्तो तरकारी काट्न, खाना पकाउन, भााडा माझ्न, कपडा धुन, घरदेखि शौचालयसम्मको सरसफाइ गर्न सिकाउने आदि । यस्ता काम जीवनोपयोगी सीप हुन्, जुन सबै बालबालिकाले सिक्नुपर्छ । उनीहरूलाई किताब, सिनेमा, खेल, गीत–संगीतमा व्यस्त बनाउन सकिन्छ, रमाइला ठाउँमा घुमाउन सकिन्छ ।
अभिभावकले बालबालिकालाई कस्तो बनाउने ? त्यसैअनुसार तीमाथि व्यवहार गर्नुपर्छ, चिन्ता लिनुपर्छ । बालबालिका काँचो माटो हुन्, तिनको भविष्य अभिभावक, परिवार, समाज र स्कुलकै भूमिकामा निर्भर छ ।
