क्रिकेटको मैदानमा उर्लिएको खुसी

नेपाली राष्ट्रिय क्रिकेट टिमले प्राप्त गर्ने सफलताले विषम परिस्थितिमा पनि मनैदेखि हाँस्ने ठोस कारण मिल्नेछ । क्रिकेटको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय मञ्चमा सान र मान दुवै बढ्नेछ । नेपालले कडा मिहिनेत गर्ने हो, त्यसैअनुसार योजना र अवसर बनाउने तथा लगानी गर्ने हो भने क्रिकेटमा जस्तै सफलता हरेक क्षेत्रमा हात लाग्नेछ ।

आश्विन २९, २०८२

सम्पादकीय

The joy that overflows on the cricket field

What you should know

नेपाल सन् २०२६ को ट्वान्टी–२० विश्वकपमा छनोटको संघारमा छ । गणितीय सम्भावनाबाहेक नेपाललाई भारत र श्रीलंकामा हुने आगामी विश्वकपमा छनोट हुनबाट कसैले रोक्न सक्ने अवस्था छैन । पछिल्लो समय नेपाल प्राकृतिक प्रकोपदेखि राजनीतिक उतारचढावबाट गुज्रेको छ । मानिसमा अन्योल छ । यस्तो पृष्ठभूमिमा नेपालीलाई खुसीका स–साना झिल्काहरू चाहिएको छ । त्यसको पूर्ति क्रिकेटले गरिरहेको छ । नेपाली क्रिकेट टोलीले पाइरहेको सफलता साँच्चै नै प्रशंसनीय छ । सफलतालाई स्थायी चरित्रको बनाउन भने थप पहल आवश्यक छ ।

अहिले ओमानमा ‘ट्वान्टी–२०’ विश्वकप एसिया र इस्ट एसिया प्यासिफिकको छनोट चलिरहेको छ । लिग चरणको समाप्तिपछि अहिले सुपर सिक्सका खेल चलिरहेका छन् । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ । नेपाली टिम आफ्नो सुरुआती दुवै खेल जितेर समूह ‘बी’ विजेता बनेर ‘सुपर सिक्स’ पुगेको थियो । यसमा पनि नेपाल आफूले खेलेका दुवै खेलमा विजयी भएको छ । यस क्रममा नेपालले जापानलाई ५ विकेट, यूएईलाई १ रन र कतारलाई ५ रनले पराजित गरेको छ । अब ओमान र सामाओसँगका खेल बाँकी छन् ।

नेपालको विश्वकप छनोटको औपचारिकता पूरा हुन एकै जित पर्याप्त हुनेछ । अझ त्यो पनि नपर्न सक्छ । नेपालले खेल्न बाँकी रहेको ओमान आफैं पनि तीन खेलबाट ६ अंकसहित ‘सुपर सिक्स’ को शीर्ष स्थानमा छ । यस्तोमा अबको केही दिन नेपाली क्रिकेटका लागि असाध्यै महत्त्वपूर्ण हुनेछन् ।

जारी प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शन पनि धेरै अर्थमा परिपक्व देखिएको छ । विशेषतः ‘सुपर सिक्स’ मा यूएई र कतारमाथि प्राप्त जित निकै साँघुरो रहे । दुवै जित अन्तिम बलमा मात्र सम्भव भएको थियो । त्यसैले यी सबै नाटकीय र सनसनीपूर्ण रहे । यहाँनिर सबैले के बुझ्नुपर्छ भने यस्तो जितले नेपाली टिमलाई अझ बलियो बनाउनेछ । अनि यस्तो जितमा भाग्य मात्र होइन, टिमको अनुभव र जित्ने मनसायले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । बलियो आत्मबलले नै प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ भनेर यी खेलले पुनः पुष्टि गरेको छ ।

नेपालमा क्रिकेटको इतिहास धेरै पुरानो छ र त्यसका लागि हामी राणा कालसम्म फर्किनुपर्ने हुन्छ । तर अन्तर्राष्ट्रिय सहभागिताको इतिहासले भने तीन दशक मात्र छुने क्रममा छ । नेपालले सन् १९९६ मा पहिलो पटक एसीसी ट्रफी खेलेको थियो । त्यसयता नेपालको प्रदर्शनले धेरै उतारचढाव बेहोरेको छ । तर एउटा तथ्य के सिद्ध भएको छ भने अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको एक खास खेलका सबैभन्दा बढी सम्भावना छ भने त्यो क्रिकेट नै हो । अब राष्ट्रिय खेल नीतिको केन्द्रमा यही खेललाई राख्न आवश्यक छ । जसले नेपाली टिमलाई अझै बलियो र अझै सफलताको हकदार बनाउनेछ ।

नेपालले यसअघि दुई पटक ‘ट्वान्टी–२०’ विश्वकप खेलिसकेको छ । नेपालले पहिलो पटक सन् २०१४ मा खेलेको थियो । त्यसपछि नेपालले छनोटका लागि लगातार संघर्ष गर्‍यो । दस वर्षपछि नेपाल सन् २०२४ को विश्वकपमा छनोट भएको थियो । अब भने नेपालसामु पहिलो पटक लगातार छनोट हुने अवसर सिर्जना भएको छ । त्यसैले पनि यो छनोट आफैंमा ठूलो महत्त्व र प्रतीक्षित बनेको छ । यसले विश्वकपमा नेपाली सहभागितालाई आकस्मिक होइन, नियमित बनाउँदै लैजानेछ । कुनै दिन नेपाली टोली ‘वान डे’ विश्वकप पनि खेलिरहेको हुनेछ ।

अहिले नेपाल परिवर्तनको प्रक्रियामा रहेको छ र यो सामाजिक, राजनीतिक तथा आर्थिक सबै हुन सक्छन् । खेलकुद नै यसका लागि सक्षम र सबैभन्दा राम्रो विकल्प हो । क्रिकेट नेपालमा एउटा परिवर्तनको वाहक र प्रतीक हुन सक्षम छ । मूलतः यसले नेपालीबीचको एकतालाई अझै बलियो बनाउन, भावनात्मक गाँठोलाई कसिलो बनाउन, खुसीका साझा आधार प्रदान गर्नेछ । मिहिनेत गरियो भने सफलता प्राप्त हुन सक्छ भन्ने आत्मविश्वास प्रदान गर्न पनि यो खेलको महत्त्व छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले प्राप्त गर्ने सफलताले विषम परिस्थितिमा पनि मनैदेखि हाँस्ने ठोस कारण मिल्नेछ । क्रिकेटको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय मञ्चमा सान र मान दुवै बढ्नेछ । नेपालले कडा मिहिनेत गर्ने हो, त्यसैअनुसार योजना र अवसर बनाउने तथा लगानी गर्ने हो भने क्रिकेटमा जस्तै सफलता हरेक क्षेत्रमा हात लाग्नेछ । देशलाई नेपाली क्रिकेटले लगाउन लागेको यो एउटा गुणका लागि हामी सबै कृतज्ञ हुनै पर्छ । साथै, देशले पनि क्रिकेटमा लगानी बढाउन र यसको विकासका लागि सबै पक्षले साझा एजेन्डा बोक्ने प्रण गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully