जेन-जी आन्दोलन : नसुन्ने संस्कारको नतिजा 

शक्ति भएकाले शक्ति नभएका व्यक्तिका कुरा नसुन्दा विद्रोह जन्मिन्छ । परिवार वा सानो समूहमा त्यो त्यति प्रबल हुँदैन, जति सामूहिक रूपमा हुन्छ । शक्तिहीन कहिल्यै शक्तिशून्य हुँदैन, कति असन्तुष्ट शक्ति सञ्चय हुन्छ भन्ने मात्रै हो ।

आश्विन २९, २०८२

टीका भट्टराई

The Zen-Gi Movement: The Consequences of the Ritual of Not Listening

What you should know

पञ्चायतकालमा शासक बढी सुन्थे, सहन सक्दैनथे । र, आवाज बन्द गर्न भरपूर कोसिस गर्थे । बहुदलपछि जित्ने नेताहरूले मतबाट नसुन्ने अनुमति लिए । मत अभिव्यक्त गर्ने प्राविधिक उपाय मात्रै थियो– चुनाव । जनताको मौनताको संस्कृति केही हदसम्म तोडियो, तर सुन्ने संस्कृति बनेन । बरु त्यो मौनताको संस्कृति दलका कार्यकर्ताको दासत्वमा बदलियो । जेन–जीले उठाएको आन्दोलन एक नसुन्ने संस्कारको परिणाम हो । 

एमाले अध्यक्ष केपी ओलीलाई बफादारीसाथ नै ‘बा’ भन्नेहरू पनि छन्, तर उनको हठको हालिमुहाली धेरैलाई मनपरेको छैन । उनको प्रवृत्तिविरुद्ध न दल बोल्यो, न सांसद । यद्यपि फाटफुट झिना स्वर नउम्केका होइनन् । नसुनाई पछि विद्रोहबाहेक विकल्प बचेकै थिएन । विस्फोटका लागि बाटो चाहिएको मात्रै थियो ।

धार्मिक शब्दावलीमा भनौं– पापको घडा भरिनु थियो, भरियो । ‘सामाजिक सञ्जाल बन्द गर्नुपर्ने’ एउटा सकारात्मक व्याख्या थियो, तर यथार्थमा भ्रष्टतन्त्रको आवाज चर्केर शासकको कान फुट्न लागेको थिएछ । त्यो शासकको श्रवणहीनताको उत्कर्षै रहेछ । त्यसपछि सडकमा पोखिएको थियो– बन्द कोठाभित्र उकुसमुकुस भएको ऊर्जा । 

भन्छन्– विचार निस्किसकेपछि मर्दैन, मरेन । पहिले र अहिलेमा अलि फरक के भयो भने राज्यकै मूल्यमा भए पनि फुर्सदवर्गको एउटा पुस्ता बनेको थियो । यो पुस्ताले राज्य संयन्त्रबाट कसरी कसैले आफूभन्दा बढी पाइरहेछ भन्ने देख्यो । अनि पोखियो सडकमा । यसमा अलिकति ईर्ष्या मिसिएको थिएन पनि भन्न सकिन्न, तर उसले यो कुरा पहिल्यैदेखि बताइरहेको थियो । यो पुस्ताले फरक खुराक पाएको थियो– विद्यालयमा शुल्क तिर्न बा–आमाले रगत, पसिना ओकलिरहेको अनि निजी अस्पतालमा लास बन्धक बनिरहेको र त्यसका लागि उनीहरूले जे–जे पनि गर्नु परिरहेको ! त्यसमाथि थपिएको थियो– उपभोक्तावाद ।

जीवनको अभीष्ट नै अनवरत र असीमित उपभोगलाई आदर्श बनाएर विश्वतन्त्रमा हालिमुहाली गरिरहेका देशको चैन यो पुस्ताले देखेकै थियो । विश्वका स्रोतको असीमित दोहनलाई आफ्नो शस्त्रास्त्रको शक्तिमा कायम राख्ने सीमित देशहरूले तयार गरेको मानसिकता हो, यो । उनीहरू किन हाम्रो देशमा बिनालगाम आउन र जान सक्छन् ? किन हामी तीनपुस्ते देखाएर सिरिखुरी राख्दा पनि जान पाइन्न ? यो पुस्ताले बरु देख्यो– आफ्नै देशका समवयी, तर भाग्यशालीहरूको चैन । 

हाम्रा नेताहरूलाई अझै भनक छैन यो जेन–जी आन्दोलन उनीहरूकै विरुद्ध भएको ‘क्रान्ति’ हो, ‘विद्रोह’ हो । उनीहरू जनताले जे मन पर्दैन भन्यो, त्यही गर्ने ! जो मनपरेको छैन, उसैलाई नियुक्ति गर्ने ! यो श्रवणविहीनताविरुद्धको आन्दोलन हो । तिनले ज्ञानको कमीले कुनै निर्णय गर्न सकेनन् होला, तर यथास्थिति कायम गर्न देश दासपूर्ण बनिरहेको तिनलाई हेक्का भएन । सबै दास हुन तयार थिएनन् या भाग पुग्ने थिएन । जनताले सिर्फ जवाफ मागेका थिए । यसो भनेर सबै दोष नेतालाई छाडेर अरू उम्कन पनि हुँदैन । समाजमा शक्तिहीनहरूको कुरा सुन्ने चलन नै छैन । के भन्यो भन्दा कसले भन्यो भन्ने महत्त्वपूर्ण मानिन्छ । सम्भवतः यसमा सञ्चार जगत् सबैभन्दा अगाडि छ । 

नयाँ सरकार, शक्तिधारीहरूले सिकौं– सत्ता राज्यमा मात्र होइन, घरमा पनि छ । नमरिन्ज्याल तागाधारी बूढापाका जनै साँचोमै राख्छन् । त्यो लालपुर्जाको बाकसको होस् या भण्डार कोठाको ढोकाको । दलमा पनि त्यही हुँदै गरेको हो । अहिलेको द्वन्द्व चर्किएको किन पनि हो भने सरकारी खर्चमा उपचार गर्न पाउने भएपछि नेताहरूको जीवन झन् लम्बियो ।

तन्नेरी पुस्ताले सूचनाको पहुँचले बूढापाकालाई ज्ञान र शक्तिको स्रोत मानिरहनुपर्ने भएन । वृद्ध स्याहारको प्रत्याभूति राज्यले नगर्ने भएकाले बाउआमाको सन्तानप्रतिको निर्भरताको भरणस्वरूप पनि बाउआमा सम्पत्ति जम्मा गरिराख्ने भए । साँचो आफैंसँग भएपछि त सत्ता नछाडिने नै भयो । यस्तो वृद्ध शासन (जेरोन्टोर्क्यासी) सम्पत्ति नहुनेभन्दा हुने परिवारहरूमा बढी छ । नहुने परिवारमा माया मात्र हो । सक्ने जति गर्छन्, त्यति लोलोपोतो पनि गर्दैनन् । एउटा अप्ठ्यारो अवधारणा के छ भने हिन्दु व्यवहार अनुसार सन्तानले यहाँ दान, धर्म गरेर बाउआमाको स्वर्गवासको अवधि लम्ब्याउन सक्छन् । त्यसैले पनि सन्तानका लागि सम्पत्ति जोगाइदिने मानवजन्य स्वभावको एक कारण हुन सक्छ, जसले भ्रष्टाचार बढाएको छ । 

उहिले पनि, अहिले पनि परिवारमा होस् वा देशमा खासगरी शक्ति भएकाले शक्ति नभएका व्यक्तिका कुरा नसुन्दा विद्रोह जन्मिन्छ । परिवार वा सानो समूहमा त्यो त्यति प्रबल हुँदैन, जति सामूहिक रूपमा हुन्छ । शक्तिहीन कहिल्यै शक्तिशून्य हुँदैन, कति असन्तुष्ट शक्ति सञ्चय हुन्छ भन्ने मात्रै हो । अब बन्ने सरकारले पनि जनताका कुरा सुनोस्, पुराना दलले पनि सुनून् । सबै कुरा सबैले भनेजस्तो हुँदैन, तर जनतालाई जवाफ चाहिन्छ । 

अहिले मन्त्री हुनेहरूमा पनि आरोप लाग्ने गर्छन् । सम्भवतः केही दोष नभएको मानिस कोही छैन होला । त्यसको प्रतिवाद नगरियोस् । गल्ती स्वीकार्न हुन्छ, आइन्दा हुनेछैन भन्न सकिन्छ । अहिले मन्त्रिमण्डलमा जेन–जीको प्रतिनिधित्व भएन या पूर्णतः समावेशी भएन भन्ने आवाज उठिरहेको छ । सरकारले त्यसको जवाफ दिनुपर्छ । कुरा बाहिर भन्न नसक्ने अनि जनता रिसाउँछन् भनेर लिनुपर्ने दृढ निर्णयहरू नलिने ? 

जनताले पुराना दललाई ‘तपाईंहरूले गर्ने जति गर्नुभयो, अब पुग्यो’ भनेका हुन् । पुराना–नयाँ दुवै सत्ताले सुनून् । ‘सुन्नु’ भनेको एउटा कानले सुनेर अर्काले उडाउनु होइन, कुरा ग्रहण गर्नु हो– कानले सुन्नु र मनले गुन्नु भनौं न । सम्बन्धित सबैले जेन–जी विद्रोह ग्रहण गर्नुपर्छ कि यो ज्वालामुखीको पहिलो फुङ्कार मात्रै हो । 

ज्वालामुखीका गर्भमा ऊर्जा जम्मा नभई लाभा बाहिर निस्कँदैन । यो आन्दोलन नेताप्रति मात्रै लक्षित छ भन्ने पनि होइन । जनता त राज्यकोषबाट तलब खाने जंगी, निजामती सबैसँग रुष्ट छन् । कक्षामा पढाउन नजाने शिक्षक हुन् वा दान थापेर काम नगर्ने गैरसरकारी संस्था या नेता र कर्मचारीसँग साँठगाँठ गरी मनपरी गर्ने व्यापारी, सबैसँग रुष्ट छन् । 

अब यो विद्रोहलाई राम्रोसँग सुनौं– यसको पृष्ठभूमि के हो ? तत्कालको कारण के हो ? कसरी आन्दोलन हिंसात्मक भयो ?

टीका भट्टराई

Link copied successfully