उदाहरणका लागि सार्वजनिक खरिदका मूल्यांकन मापदण्ड परिवर्तन गर्न वा बोलपत्र संशोधन गर्न खोजेमा ब्लकचेन प्रविधिले मूल जानकारीलाई सुरक्षित राख्दै परिवर्तन भएको अभिलेखलाई सार्वजनिक गर्दछ । यसमा कुन अधिकारीले कहिले, कहाँबाट उक्त बोलपत्रको प्रावधानमा संशोधन गर्यो भन्ने स्पष्ट जानकारी प्रदान गर्दछ ।
What you should know
असारको तेस्रो साता संघीय निजामती सेवा विधेयक २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा तोडमोड गरिएको तथ्य सार्वजनिक भयो । उक्त तोडमोड कसले गरेको हो भन्नेबारेमा अध्ययन गर्नका लागि असार २३ गते ७ सदस्यीय विशेष संसदीय समिति गठन भयो । उक्त समितिले करिब एक महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारी साउन १८ गते सभामुखसमक्ष पेस गर्यो ।
प्रतिवेदनमा उक्त विधेयकमा कसले चलखेल गरेको हो ? भन्ने स्पष्ट किटान गरिएन, बरु नैतिक जिम्मेवारी कसको हो भन्नेमा बढी केन्द्रित भयो । यद्यपि सोही प्रतिवेदनका आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडाले साउन २७ गते राजीनामा दिए ।
लोकतान्त्रिक शासन व्यवस्थामा आमनागरिकको विश्वास जित्दै शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन भ्रष्टाचार नियन्त्रण अनिवार्य पूर्वसर्त हो । तर देशको कानुन निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, परियोजना सञ्चालन, सेवा प्रवाह लगायतका कार्यहरूमा यस किसिमका भ्रष्टाचार विद्यमान छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष प्रकाशित गर्ने भ्रष्टाचार अवधारणा सूचकांकमा सन् २०२४ मा नेपाल कुल १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरी १८० देशमध्ये १०७ औं नम्बरमा रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रत्येक वर्ष उजुरीको संख्या पनि बढिरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल २५१५२ वटा उजुरी परेकामा आ.व. २०८०/८१ मा पुग्दा ३६१८९ वटा उजुरी आयोगमा दर्ता भएको थियो । यस किसिमको बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था गरिएका छन् । नेपालको संविधानले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको छ । तर भ्रष्टाचारको जोखिम घट्न सकेको छैन ।
यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणका लागि अब ब्लकचेन प्रविधिको उपयोग एक विकल्पका रूपमा रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि विश्वका कतिपय देशले अवलम्बन गरेको ब्लकचेन प्रविधिलाई नेपालले पनि अवलम्बन गर्न सक्दा नीति निर्माण तथा अन्य कार्यमा हुन सक्ने भ्रष्टाचारको नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । ब्लकचेन प्रविधिको उपयोगले शासनको पारदर्शिता, जवाफदेहिता तथा कानुनी शासनमा प्रत्यक्ष रूपमा योगदान पुर्याउँछ । अनि भ्रष्टाचारको प्रमाण संकलन गर्नका लागि सहज हुन्छ ।
ब्लकचेन प्रविधि के हो ?
भ्रष्टाचार नियन्त्रणमा उपयोग हुने ब्लकचेन प्रविधि एक विकेन्द्रीकृत डिजिटल प्रणाली हो, जसले सबै कारोबार तथा तथ्यांकहरूलाई सुरक्षित खण्डहरूमा क्रमबद्ध गरेर राखेको हुन्छ । यस्ता तथ्यांक तथा सूचना र कारोबारमा कुनै परिवर्तन गर्न नमिल्ने हुन्छ । यसले कुनै पनि तथ्य तथ्यांक परिवर्तन गर्न नमिल्ने र हरेक गतिविधिको ट्र्याकिङ गरेर भ्रष्टाचारको सम्भावना घटाउँछ ।
यस प्रविधिको उपयोगबाट सम्पूर्ण लेनदेन तथा कारोबारलाई तत्काल सार्वजनिक गर्ने तर कहिल्यै परिवर्तन गर्न नमिल्ने गरी सुरक्षित गर्दछ । यसले नक्कली लेनदेन, दस्ताबेज सच्याउने तथा मिलाउने कार्यलाई पूर्ण रूपमा रोक्छ । विभिन्न सरोकारवाला निकायहरूको बीचमा तथ्यांक तथा विवरण सार्वजनिक गरेर कुनै एक पक्षको नियन्त्रणलाई अन्त्य गरी सम्भावित दुरुपयोगलाई रोक्छ ।
विद्वान् म्याथ्यु भान निकेर्कको ५ जुलाई २०२१ मा ‘सरकारी सेवाहरूमा भ्रष्टाचार हटाउन ब्लकचेनले कसरी मद्दत गर्न सक्छ ?’ शीर्षकको एक लेख वल्ड इकोनोमिक फोरमको वेबसाइटमा प्रकाशित भएको छ । उक्त लेखमा निकेर्कले ब्लकचेन प्रविधिले सरकारी प्रणालीलाई निष्पक्ष तथा सक्षम बनाउन र भ्रष्टाचारका सम्भावित जोखिमलाई कम गर्न सक्छ भन्ने तर्क गरेका छन् । सरकारी बजेटको ठूलो हिस्सा सार्वजनिक खरिदमा विनियोजन भएको हुन्छ र त्यसमा भ्रष्टाचार हुने सम्भावना धेरै हुन्छ ।
उक्त लेखका अनुसार आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को एक अध्ययनले कुल सार्वजनिक खरिदको १० देखि ३० प्रतिशतसम्म भ्रष्टाचार हुने देखाएको छ । भ्रष्टाचारको उच्च जोखिममा रहेको सार्वजनिक खरिद प्रक्रिया लगायतका क्षेत्रमा ब्लकचेन प्रविधिले पारदर्शिता अभिवृद्धि गर्दै भ्रष्टाचारको जोखिमलाई घटाउँछ । ब्लकचेन प्रविधिले खरिद प्रक्रियामा आमनागरिक तथा सञ्चारमाध्यमलाई सहज रूपमा सूचना उपलब्ध गराउँछ । यसैगरी जग्गा र सम्पत्ति दर्ता प्रणालीलाई व्यवस्थित बनाउँछ । जसले गर्दा त्यस्ता विवरणको बिक्रीमा हुन सक्ने कुनै पनि गैरकानुनी कारोबारलाई सहजै रोक्छ ।
यस कुरालाई आत्मसात् गर्दै संसारका कतिपय देशहरूले भ्रष्टाचार नियन्त्रणका लागि ब्लकचेन प्रविधिको उपयोग गरिरहेका छन् । जर्जियाले सन् २०१६ मा आफ्नो राष्ट्रिय सार्वजनिक अभिलेख विभागमार्फत ब्लकचेन प्रविधि प्रयोग गरी भूमि दर्ता प्रणाली सुरु गरेको छ । जसबाट भूमिसम्बन्धी सम्पूर्ण अभिलेखहरू ब्लकचेनमा डिजिटल रूपमा सुरक्षित गरिएका छन् । जसलाई हेरफेर गर्न मिल्दैन । यसले दर्ता प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भ्रष्टाचाररहित बनाएको छ ।
यसैगरी इस्टोनियाले ब्लकचेन प्रविधिको प्रयोग गरेर ९९ प्रतिशत सार्वजनिक सेवा डिजिटलाइज्ड गरिसकेको छ । यसले कर प्रणाली, स्वास्थ्य सेवा र मतदान सेवा लगायतका महत्त्वपूर्ण सरकारी कामहरूलाई पारदर्शी र सुरक्षित बनाएको छ । इस्टोनियाले आफ्नै ब्लकचेन प्रविधि विकास गरी सूचना सुरक्षा तथा तथ्यांकलाई सुरक्षित बनाएको छ ।
छिमेकी देश भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाले सात लाखभन्दा बढी भूमि अभिलेखहरू ब्लकचेनमा सुरक्षित गरिसकेको छ । यसबाट भविष्यमा हुन सक्ने सम्भावित भ्रष्टाचारको जोखिमलाई कम गरेको छ । सियरा लियोनले सन् २०१८ मा ब्लकचेन आधारित निर्वाचन प्रणाली प्रयोग गरी मतदान प्रक्रिया पारदर्शी र विश्वसनीय बनाएको छ । यसले मतदानको सम्पूर्ण अभिलेखलाई अनुमति प्राप्त व्यक्तिहरूले मात्र प्रमाणीकरण गर्न सक्ने तर सबैले अवलोकन गर्न सक्ने गरी ब्लकचेनमा सुरक्षित गरेको छ । जसबाट निर्वाचनमा हुन सक्ने सम्भावित भ्रष्टाचार तथा धाँधलीको न्यूनीकरण गरेको छ । यी उदाहरणहरूले ब्लकचेन प्रविधि सार्वजनिक प्रशासनमा लागू गर्दा भ्रष्टाचार कम गर्न सकिन्छ भन्ने देखाउँछन् ।
विभिन्न अध्ययनले ब्लकचेन प्रविधिले सार्वजनिक खरिद प्रक्रियाका सम्पूर्ण चरणमा हुन सक्ने भ्रष्टाचारको सम्भावित जोखिमबाट बचाउने देखाएका छन् । उदाहरणका लागि सार्वजनिक खरिदका मूल्यांकन मापदण्ड परिवर्तन गर्न वा बोलपत्र संशोधन गर्न खोजेमा ब्लकचेन प्रविधिले मूल जानकारीलाई सुरक्षित राख्दै परिवर्तन भएको अभिलेखलाई सार्वजनिक गर्दछ । यसमा कुन अधिकारीले कहिले, कहाँबाट उक्त बोलपत्रको प्रावधानमा संशोधन गर्यो भन्ने स्पष्ट जानकारी प्रदान गर्दछ ।
अहिलेको सार्वजनिक खरिद प्रक्रियामा मूलतः सरकारी कर्मचारी र व्यवसायी मात्र संलग्न भइरहेका छन् । जसले भ्रष्टाचार तथा अनियमितता बढाइरहेको देखिन्छ । तर ब्लकचेनले खरिद प्रक्रियामा व्यापक सरोकारवाला निकायहरू जस्तै निगरानी गर्ने निकायहरू, सञ्चारमाध्यमहरू, सरकारी अधिकारी तथा आमनागरिकलाई पनि सहभागी हुन प्रोत्साहित गर्दछ । यस प्रविधिले हरेक सूचना तत्कालै सम्पूर्ण सरोकारवालालाई सहज र सरल रूपमा उपलब्ध गराउँछ ।
यसैगरी ब्लकचेन प्रविधिले घरजग्गा तथा सम्पत्ति दर्तामा पनि महत्त्वपूर्ण योगदान गर्न सक्छ । घरजग्गा दर्ता प्रणालीले स्वामित्वको प्रमाणित गर्दछ । यसरी कुनै पनि व्यक्तिले घरजग्गा खरिद गर्दा लिने औपचारिक ऋण, लगायतका सवाललाई यसले व्यवस्थित रूपमा सुरक्षित राख्छ । ब्लकचेन प्रविधिले घरजग्गा खरिद बिक्रीको चरणलाई छुट्याउन सक्छ । मालपोत कार्यालयमा हुन सक्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, जग्गाधनीको अनुमतिबिना नै बिक्री गरिदिने, घूस लेनदेन जस्ता कार्यलाई पनि यसले अन्त्य गर्न सक्छ ।
यसरी हेर्दा ब्लकचेन प्रविधि एउटा विकेन्द्रीकृत, सार्वजनिक रूपमा साझा गरिने डिजिटल लेजर प्रविधि हो जसमा शृंखलाबद्ध ‘ब्लक’ हरूमा तथ्यांक सुरक्षित गरिन्छ । त्यस्ता ब्लकहरू अपरिवर्तनशील गरी सञ्जालमा जडान गरिएको हुन्छ । ब्लकचेनले सम्पूर्ण विवरणलाई अकेन्द्रीकृत गरिदिन्छ । जसले गर्दा कुनै एकल निकाय वा अधिकारीमा मात्र निर्भर नभई लेनदेनको सम्पूर्ण तथ्यांक सम्पूर्ण सञ्जालमा वितरण गरिदिन्छ । ब्लकचेनमा रहेको तथ्य, तथ्यांक, सूचना तथा विवरण अपरिवर्तनशील हुन्छ ।
एक पटक कुनै तथ्यांक ब्लकमा लेखिएपछि परिवर्तन गर्न सकिँदैन । यसले तथ्य तथ्यांकको हेरफेर गर्न वा मेट्नबाट रोक्छ । साथै ब्लकचेन सञ्जालमा नयाँ प्रविष्टिहरू सबै सहभागीले सहजै हेर्न र देख्न सकिने हुन्छ । यसले एकातर्फ पारदर्शिता अभिवृद्धि गर्दछ भने अर्कोतर्फ तथ्यांकको सुरक्षालाई पनि प्रवर्द्धन गर्दछ । यस प्रविधिले तथ्यांक सुरक्षित गर्नका लागि उच्चस्तरीय डिजिटल हस्ताक्षरहरूको प्रयोग गर्दछ । यसैगरी तथ्यांक पारदर्शिता, सत्यता र एकात्मकतालाई सुरक्षित गरिन्छ । यस प्रविधिमा प्रयोगकर्ताहरूको वास्तविक नाम देखिँदैन यद्यपि त्यहाँ भएका सम्पूर्ण कार्यको ट्र्याकिङ गर्न मिल्ने व्यवस्था हुन्छ ।
ब्लकचेन प्रविधि र भ्रष्टाचार नियन्त्रण
ब्लकचेन प्रविधिले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्न सक्छ । ब्लकचेन प्रविधिले तथ्यांक अवरोध र मेटाउने क्रमको रोकथाम गर्दछ । ब्लकचेनमा प्रविष्ट गराइएका तथ्यांक कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । जसले गर्दा भ्रष्टाचारजन्य क्रियाकपालको सम्भावित प्रमाण कसैले पनि मेटाउन सक्दैन । यसले शक्तिशालीको दबाबमा तथ्यांक तथा विवरण परिवर्तन हुनबाट रोक्छ ।
यसले बजेट अनुमोदन, अनुदान वितरण, सरकारी ठेक्का प्रक्रिया, खरिद प्रक्रिया लगायतका क्षेत्रमा हुन सक्ने मानवीय हस्तक्षेप घटाउँछ र प्रक्रियागत भ्रष्टाचारको अन्त्य गर्न योगदान गर्दछ । ब्लकचेन प्रविधिको प्रयोगमार्फत तथ्यांक अपरिवर्तनशील भएका कारण ठेक्का, खर्च वा निर्णयहरूमा संलग्न सबै व्यक्तिको सजिलै ट्र्याकिङ गर्न सकिन्छ र त्यस्ता अधिकारीहरूको जवाफदेहितालाई सुनिश्चित गर्दछ । यसैगरी ब्लकचेनले प्रक्रियागत समय छोट्याउन, कारोबारको लागत घटाउन, भ्रष्ट रणनीतिहरू पत्ता लगाउन, अनुचित चलखेल पत्ता लगाउन सहयोग गर्ने प्रविधिगत आधार तयार पार्दछ ।
नेपालमा विवरण सच्याउने, कागजात बदलिदिने, एकले अर्कालाई दोष लगाउने जस्ता कारणले भ्रष्टाचार बढिरहेको छ । जवाफदेहिता र जिम्मेवारीपनको अभावको कारण झाँगिँदै गएको भ्रष्टाचारजन्य क्रियाकलापलाई अन्त्य गर्नका लागि ब्लकचेन प्रविधि अत्यन्तै उपयोगी र प्रभावकारी हुने देखिन्छ । सरकारका सबै बजेट र व्यय विवरणलाई ब्लकचेनमा राख्दा आमनागरिकले वास्तविक समयमा खर्चको सजिलै ट्र्याकिङ गर्न सक्छन् । यसैगरी राजनीतिक तथा कर्मचारीतन्त्रलगायत सम्पूर्ण पदाधिकारीको सम्पत्ति विवरण ब्लकचेनमा सुरक्षित गरी सार्वजनिक गर्ने प्रणाली बनाउँदा सम्पत्ति लुकाउने वा गलत विवरण दिने सम्भावना अन्त्य हुन्छ ।
सार्वजनिक क्षेत्रका ठेक्कापट्टा प्रक्रियामा यो प्रविधिको प्रयोग गर्दा मानव हस्तक्षेप कम हुन्छ । जसले कमिसनखोरी, सेटिङबाट अनुचित प्रभावमा पार्ने सम्भावना सकिन्छ । यसैगरी सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरू जस्तै जमिन दर्ता, नागरिकता, पासपोर्ट, कर प्रणाली, सामाजिक सुरक्षा वितरण लगायतका क्षेत्रमा ब्लकचेन प्रयोग गर्दा अनावश्यक ढिलाइ तथा अनियमितताको अन्त्य हुन्छ । अहिले यस्ता सेवा प्रदायक निकायमा भइरहेको भ्रष्टाचारलाई अन्त्य गर्न सकिन्छ । यसैगरी लेखा परीक्षण गर्ने निकायहरू, अनुसन्धान गर्ने निकायहरू लगायतले ब्लकचेन प्रयोग गर्दा प्रमाण लुकाउने वा मेट्ने सम्भावना हटेर जान्छ ।
यद्यपि नेपालले ब्लकचेन प्रविधिलाई आत्मसात् गर्ने सन्दर्भमा केही चुनौती रहेका छन् । जसमा पहिलो, कानुनी रूपमा बाधा रहेको छ । ब्लकचेनबारे नेपालमा अझै स्पष्ट कानुनी व्यवस्था तथा संरचना छैन । दोस्रो, प्रविधिगत क्षमता र यसका लागि आवश्यक पर्ने पूर्वाधारको अभाव छ । तेस्रो, ब्लकचेन प्रविधिका बारेमा नीति निर्मातादेखि आमनागरिकसम्म जानकारी छैन ।
यसमा शिक्षा र जनचेतनाको अभाव छ । यस्ता चुनौतीको बाबजुत पनि आधुनिक प्रविधिलाई भ्रष्टाचार नियन्त्रणमा प्रयोग गर्नका लागि आधार तयार गर्नैपर्छ । ब्लकचेन प्रविधिको व्यावहारिक उपयोगका लागि तत्काल आवश्यक अध्ययन, कानुनी सुधार र नियामक स्पष्टता र प्राविधिक पूर्वाधार, शिक्षा र जनचेतना अभिवृद्धिका लागि पनि काम गर्नु आवश्यक छ । त्यसैले भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनको जगमा गठन भएको सरकारले यसबारेमा ठोस कार्यको सुरुवात गर्नुपर्छ ।
