भ्रष्टाचार नियन्त्रणका लागि ‘ब्लकचेन’ प्रविधि

उदाहरणका लागि सार्वजनिक खरिदका मूल्यांकन मापदण्ड परिवर्तन गर्न वा बोलपत्र संशोधन गर्न खोजेमा ब्लकचेन प्रविधिले मूल जानकारीलाई सुरक्षित राख्दै परिवर्तन भएको अभिलेखलाई सार्वजनिक गर्दछ । यसमा कुन अधिकारीले कहिले, कहाँबाट उक्त बोलपत्रको प्रावधानमा संशोधन गर्‍यो भन्ने स्पष्ट जानकारी प्रदान गर्दछ ।

आश्विन २६, २०८२

दीपेश घिमिरे

Blockchain technology for corruption control

What you should know

असारको तेस्रो साता संघीय निजामती सेवा विधेयक २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा तोडमोड गरिएको तथ्य सार्वजनिक भयो । उक्त तोडमोड कसले गरेको हो भन्नेबारेमा अध्ययन गर्नका लागि असार २३ गते ७ सदस्यीय विशेष संसदीय समिति गठन भयो । उक्त समितिले करिब एक महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारी साउन १८ गते सभामुखसमक्ष पेस गर्‍यो ।

प्रतिवेदनमा उक्त विधेयकमा कसले चलखेल गरेको हो ? भन्ने स्पष्ट किटान गरिएन, बरु नैतिक जिम्मेवारी कसको हो भन्नेमा बढी केन्द्रित भयो । यद्यपि सोही प्रतिवेदनका आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडाले साउन २७ गते राजीनामा दिए । 

लोकतान्त्रिक शासन व्यवस्थामा आमनागरिकको विश्वास जित्दै शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन भ्रष्टाचार नियन्त्रण अनिवार्य पूर्वसर्त हो । तर देशको कानुन निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, परियोजना सञ्चालन, सेवा प्रवाह लगायतका कार्यहरूमा यस किसिमका भ्रष्टाचार विद्यमान छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष प्रकाशित गर्ने भ्रष्टाचार अवधारणा सूचकांकमा सन् २०२४ मा नेपाल कुल १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरी १८० देशमध्ये १०७ औं नम्बरमा रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रत्येक वर्ष उजुरीको संख्या पनि बढिरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल २५१५२ वटा उजुरी परेकामा आ.व. २०८०/८१ मा पुग्दा ३६१८९ वटा उजुरी आयोगमा दर्ता भएको थियो । यस किसिमको बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न कानुनी, नीतिगत तथा संस्थागत व्यवस्था गरिएका छन् । नेपालको संविधानले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको छ । तर भ्रष्टाचारको जोखिम घट्न सकेको छैन । 

यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणका लागि अब ब्लकचेन प्रविधिको उपयोग एक विकल्पका रूपमा रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि विश्वका कतिपय देशले अवलम्बन गरेको ब्लकचेन प्रविधिलाई नेपालले पनि अवलम्बन गर्न सक्दा नीति निर्माण तथा अन्य कार्यमा हुन सक्ने भ्रष्टाचारको नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । ब्लकचेन प्रविधिको उपयोगले शासनको पारदर्शिता, जवाफदेहिता तथा कानुनी शासनमा प्रत्यक्ष रूपमा योगदान पुर्‍याउँछ । अनि भ्रष्टाचारको प्रमाण संकलन गर्नका लागि सहज हुन्छ । 

ब्लकचेन प्रविधि के हो ? 

भ्रष्टाचार नियन्त्रणमा उपयोग हुने ब्लकचेन प्रविधि एक विकेन्द्रीकृत डिजिटल प्रणाली हो, जसले सबै कारोबार तथा तथ्यांकहरूलाई सुरक्षित खण्डहरूमा क्रमबद्ध गरेर राखेको हुन्छ । यस्ता तथ्यांक तथा सूचना र कारोबारमा कुनै परिवर्तन गर्न नमिल्ने हुन्छ । यसले कुनै पनि तथ्य तथ्यांक परिवर्तन गर्न नमिल्ने र हरेक गतिविधिको ट्र्याकिङ गरेर भ्रष्टाचारको सम्भावना घटाउँछ ।

यस प्रविधिको उपयोगबाट सम्पूर्ण लेनदेन तथा कारोबारलाई तत्काल सार्वजनिक गर्ने तर कहिल्यै परिवर्तन गर्न नमिल्ने गरी सुरक्षित गर्दछ । यसले नक्कली लेनदेन, दस्ताबेज सच्याउने तथा मिलाउने कार्यलाई पूर्ण रूपमा रोक्छ । विभिन्न सरोकारवाला निकायहरूको बीचमा तथ्यांक तथा विवरण सार्वजनिक गरेर कुनै एक पक्षको नियन्त्रणलाई अन्त्य गरी सम्भावित दुरुपयोगलाई रोक्छ । 

विद्वान् म्याथ्यु भान निकेर्कको ५ जुलाई २०२१ मा ‘सरकारी सेवाहरूमा भ्रष्टाचार हटाउन ब्लकचेनले कसरी मद्दत गर्न सक्छ ?’ शीर्षकको एक लेख वल्ड इकोनोमिक फोरमको वेबसाइटमा प्रकाशित भएको छ । उक्त लेखमा निकेर्कले ब्लकचेन प्रविधिले सरकारी प्रणालीलाई निष्पक्ष तथा सक्षम बनाउन र भ्रष्टाचारका सम्भावित जोखिमलाई कम गर्न सक्छ भन्ने तर्क गरेका छन् । सरकारी बजेटको ठूलो हिस्सा सार्वजनिक खरिदमा विनियोजन भएको हुन्छ र त्यसमा भ्रष्टाचार हुने सम्भावना धेरै हुन्छ ।

उक्त लेखका अनुसार आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को एक अध्ययनले कुल सार्वजनिक खरिदको १० देखि ३० प्रतिशतसम्म भ्रष्टाचार हुने देखाएको छ । भ्रष्टाचारको उच्च जोखिममा रहेको सार्वजनिक खरिद प्रक्रिया लगायतका क्षेत्रमा ब्लकचेन प्रविधिले पारदर्शिता अभिवृद्धि गर्दै भ्रष्टाचारको जोखिमलाई घटाउँछ । ब्लकचेन प्रविधिले खरिद प्रक्रियामा आमनागरिक तथा सञ्चारमाध्यमलाई सहज रूपमा सूचना उपलब्ध गराउँछ । यसैगरी जग्गा र सम्पत्ति दर्ता प्रणालीलाई व्यवस्थित बनाउँछ । जसले गर्दा त्यस्ता विवरणको बिक्रीमा हुन सक्ने कुनै पनि गैरकानुनी कारोबारलाई सहजै रोक्छ । 

यस कुरालाई आत्मसात् गर्दै संसारका कतिपय देशहरूले भ्रष्टाचार नियन्त्रणका लागि ब्लकचेन प्रविधिको उपयोग गरिरहेका छन् । जर्जियाले सन् २०१६ मा आफ्नो राष्ट्रिय सार्वजनिक अभिलेख विभागमार्फत ब्लकचेन प्रविधि प्रयोग गरी भूमि दर्ता प्रणाली सुरु गरेको छ । जसबाट भूमिसम्बन्धी सम्पूर्ण अभिलेखहरू ब्लकचेनमा डिजिटल रूपमा सुरक्षित गरिएका छन् । जसलाई हेरफेर गर्न मिल्दैन । यसले दर्ता प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भ्रष्टाचाररहित बनाएको छ ।

यसैगरी इस्टोनियाले ब्लकचेन प्रविधिको प्रयोग गरेर ९९ प्रतिशत सार्वजनिक सेवा डिजिटलाइज्ड गरिसकेको छ । यसले कर प्रणाली, स्वास्थ्य सेवा र मतदान सेवा लगायतका महत्त्वपूर्ण सरकारी कामहरूलाई पारदर्शी र सुरक्षित बनाएको छ । इस्टोनियाले आफ्नै ब्लकचेन प्रविधि विकास गरी सूचना सुरक्षा तथा तथ्यांकलाई सुरक्षित बनाएको छ । 

छिमेकी देश भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाले सात लाखभन्दा बढी भूमि अभिलेखहरू ब्लकचेनमा सुरक्षित गरिसकेको छ । यसबाट भविष्यमा हुन सक्ने सम्भावित भ्रष्टाचारको जोखिमलाई कम गरेको छ । सियरा लियोनले सन् २०१८ मा ब्लकचेन आधारित निर्वाचन प्रणाली प्रयोग गरी मतदान प्रक्रिया पारदर्शी र विश्वसनीय बनाएको छ । यसले मतदानको सम्पूर्ण अभिलेखलाई अनुमति प्राप्त व्यक्तिहरूले मात्र प्रमाणीकरण गर्न सक्ने तर सबैले अवलोकन गर्न सक्ने गरी ब्लकचेनमा सुरक्षित गरेको छ । जसबाट निर्वाचनमा हुन सक्ने सम्भावित भ्रष्टाचार तथा धाँधलीको न्यूनीकरण गरेको छ । यी उदाहरणहरूले ब्लकचेन प्रविधि सार्वजनिक प्रशासनमा लागू गर्दा भ्रष्टाचार कम गर्न सकिन्छ भन्ने देखाउँछन् । 

विभिन्न अध्ययनले ब्लकचेन प्रविधिले सार्वजनिक खरिद प्रक्रियाका सम्पूर्ण चरणमा हुन सक्ने भ्रष्टाचारको सम्भावित जोखिमबाट बचाउने देखाएका छन् । उदाहरणका लागि सार्वजनिक खरिदका मूल्यांकन मापदण्ड परिवर्तन गर्न वा बोलपत्र संशोधन गर्न खोजेमा ब्लकचेन प्रविधिले मूल जानकारीलाई सुरक्षित राख्दै परिवर्तन भएको अभिलेखलाई सार्वजनिक गर्दछ । यसमा कुन अधिकारीले कहिले, कहाँबाट उक्त बोलपत्रको प्रावधानमा संशोधन गर्‍यो भन्ने स्पष्ट जानकारी प्रदान गर्दछ ।

अहिलेको सार्वजनिक खरिद प्रक्रियामा मूलतः सरकारी कर्मचारी र व्यवसायी मात्र संलग्न भइरहेका छन् । जसले भ्रष्टाचार तथा अनियमितता बढाइरहेको देखिन्छ । तर ब्लकचेनले खरिद प्रक्रियामा व्यापक सरोकारवाला निकायहरू जस्तै निगरानी गर्ने निकायहरू, सञ्चारमाध्यमहरू, सरकारी अधिकारी तथा आमनागरिकलाई पनि सहभागी हुन प्रोत्साहित गर्दछ । यस प्रविधिले हरेक सूचना तत्कालै सम्पूर्ण सरोकारवालालाई सहज र सरल रूपमा उपलब्ध गराउँछ । 

यसैगरी ब्लकचेन प्रविधिले घरजग्गा तथा सम्पत्ति दर्तामा पनि महत्त्वपूर्ण योगदान गर्न सक्छ । घरजग्गा दर्ता प्रणालीले स्वामित्वको प्रमाणित गर्दछ । यसरी कुनै पनि व्यक्तिले घरजग्गा खरिद गर्दा लिने औपचारिक ऋण, लगायतका सवाललाई यसले व्यवस्थित रूपमा सुरक्षित राख्छ । ब्लकचेन प्रविधिले घरजग्गा खरिद बिक्रीको चरणलाई छुट्याउन सक्छ । मालपोत कार्यालयमा हुन सक्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, जग्गाधनीको अनुमतिबिना नै बिक्री गरिदिने, घूस लेनदेन जस्ता कार्यलाई पनि यसले अन्त्य गर्न सक्छ । 

यसरी हेर्दा ब्लकचेन प्रविधि एउटा विकेन्द्रीकृत, सार्वजनिक रूपमा साझा गरिने डिजिटल लेजर प्रविधि हो जसमा शृंखलाबद्ध ‘ब्लक’ हरूमा तथ्यांक सुरक्षित गरिन्छ । त्यस्ता ब्लकहरू अपरिवर्तनशील गरी सञ्जालमा जडान गरिएको हुन्छ । ब्लकचेनले सम्पूर्ण विवरणलाई अकेन्द्रीकृत गरिदिन्छ । जसले गर्दा कुनै एकल निकाय वा अधिकारीमा मात्र निर्भर नभई लेनदेनको सम्पूर्ण तथ्यांक सम्पूर्ण सञ्जालमा वितरण गरिदिन्छ । ब्लकचेनमा रहेको तथ्य, तथ्यांक, सूचना तथा विवरण अपरिवर्तनशील हुन्छ ।

एक पटक कुनै तथ्यांक ब्लकमा लेखिएपछि परिवर्तन गर्न सकिँदैन । यसले तथ्य तथ्यांकको हेरफेर गर्न वा मेट्नबाट रोक्छ । साथै ब्लकचेन सञ्जालमा नयाँ प्रविष्टिहरू सबै सहभागीले सहजै हेर्न र देख्न सकिने हुन्छ । यसले एकातर्फ पारदर्शिता अभिवृद्धि गर्दछ भने अर्कोतर्फ तथ्यांकको सुरक्षालाई पनि प्रवर्द्धन गर्दछ । यस प्रविधिले तथ्यांक सुरक्षित गर्नका लागि उच्चस्तरीय डिजिटल हस्ताक्षरहरूको प्रयोग गर्दछ । यसैगरी तथ्यांक पारदर्शिता, सत्यता र एकात्मकतालाई सुरक्षित गरिन्छ । यस प्रविधिमा प्रयोगकर्ताहरूको वास्तविक नाम देखिँदैन यद्यपि त्यहाँ भएका सम्पूर्ण कार्यको ट्र्याकिङ गर्न मिल्ने व्यवस्था हुन्छ । 

ब्लकचेन प्रविधि र भ्रष्टाचार नियन्त्रण 

ब्लकचेन प्रविधिले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्न सक्छ । ब्लकचेन प्रविधिले तथ्यांक अवरोध र मेटाउने क्रमको रोकथाम गर्दछ । ब्लकचेनमा प्रविष्ट गराइएका तथ्यांक कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । जसले गर्दा भ्रष्टाचारजन्य क्रियाकपालको सम्भावित प्रमाण कसैले पनि मेटाउन सक्दैन । यसले शक्तिशालीको दबाबमा तथ्यांक तथा विवरण परिवर्तन हुनबाट रोक्छ ।

यसले बजेट अनुमोदन, अनुदान वितरण, सरकारी ठेक्का प्रक्रिया, खरिद प्रक्रिया लगायतका क्षेत्रमा हुन सक्ने मानवीय हस्तक्षेप घटाउँछ र प्रक्रियागत भ्रष्टाचारको अन्त्य गर्न योगदान गर्दछ । ब्लकचेन प्रविधिको प्रयोगमार्फत तथ्यांक अपरिवर्तनशील भएका कारण ठेक्का, खर्च वा निर्णयहरूमा संलग्न सबै व्यक्तिको सजिलै ट्र्याकिङ गर्न सकिन्छ र त्यस्ता अधिकारीहरूको जवाफदेहितालाई सुनिश्चित गर्दछ । यसैगरी ब्लकचेनले प्रक्रियागत समय छोट्याउन, कारोबारको लागत घटाउन, भ्रष्ट रणनीतिहरू पत्ता लगाउन, अनुचित चलखेल पत्ता लगाउन सहयोग गर्ने प्रविधिगत आधार तयार पार्दछ । 

नेपालमा विवरण सच्याउने, कागजात बदलिदिने, एकले अर्कालाई दोष लगाउने जस्ता कारणले भ्रष्टाचार बढिरहेको छ । जवाफदेहिता र जिम्मेवारीपनको अभावको कारण झाँगिँदै गएको भ्रष्टाचारजन्य क्रियाकलापलाई अन्त्य गर्नका लागि ब्लकचेन प्रविधि अत्यन्तै उपयोगी र प्रभावकारी हुने देखिन्छ । सरकारका सबै बजेट र व्यय विवरणलाई ब्लकचेनमा राख्दा आमनागरिकले वास्तविक समयमा खर्चको सजिलै ट्र्याकिङ गर्न सक्छन् । यसैगरी राजनीतिक तथा कर्मचारीतन्त्रलगायत सम्पूर्ण पदाधिकारीको सम्पत्ति विवरण ब्लकचेनमा सुरक्षित गरी सार्वजनिक गर्ने प्रणाली बनाउँदा सम्पत्ति लुकाउने वा गलत विवरण दिने सम्भावना अन्त्य हुन्छ ।

सार्वजनिक क्षेत्रका ठेक्कापट्टा प्रक्रियामा यो प्रविधिको प्रयोग गर्दा मानव हस्तक्षेप कम हुन्छ । जसले कमिसनखोरी, सेटिङबाट अनुचित प्रभावमा पार्ने सम्भावना सकिन्छ । यसैगरी सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरू जस्तै जमिन दर्ता, नागरिकता, पासपोर्ट, कर प्रणाली, सामाजिक सुरक्षा वितरण लगायतका क्षेत्रमा ब्लकचेन प्रयोग गर्दा अनावश्यक ढिलाइ तथा अनियमितताको अन्त्य हुन्छ । अहिले यस्ता सेवा प्रदायक निकायमा भइरहेको भ्रष्टाचारलाई अन्त्य गर्न सकिन्छ । यसैगरी लेखा परीक्षण गर्ने निकायहरू, अनुसन्धान गर्ने निकायहरू लगायतले ब्लकचेन प्रयोग गर्दा प्रमाण लुकाउने वा मेट्ने सम्भावना हटेर जान्छ । 

यद्यपि नेपालले ब्लकचेन प्रविधिलाई आत्मसात् गर्ने सन्दर्भमा केही चुनौती रहेका छन् । जसमा पहिलो, कानुनी रूपमा बाधा रहेको छ । ब्लकचेनबारे नेपालमा अझै स्पष्ट कानुनी व्यवस्था तथा संरचना छैन । दोस्रो, प्रविधिगत क्षमता र यसका लागि आवश्यक पर्ने पूर्वाधारको अभाव छ । तेस्रो, ब्लकचेन प्रविधिका बारेमा नीति निर्मातादेखि आमनागरिकसम्म जानकारी छैन ।

यसमा शिक्षा र जनचेतनाको अभाव छ । यस्ता चुनौतीको बाबजुत पनि आधुनिक प्रविधिलाई भ्रष्टाचार नियन्त्रणमा प्रयोग गर्नका लागि आधार तयार गर्नैपर्छ । ब्लकचेन प्रविधिको व्यावहारिक उपयोगका लागि तत्काल आवश्यक अध्ययन, कानुनी सुधार र नियामक स्पष्टता र प्राविधिक पूर्वाधार, शिक्षा र जनचेतना अभिवृद्धिका लागि पनि काम गर्नु आवश्यक छ । त्यसैले भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनको जगमा गठन भएको सरकारले यसबारेमा ठोस कार्यको सुरुवात गर्नुपर्छ ।

दीपेश दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully