शिक्षा क्षेत्रमा झुल्किएको आशा

शैक्षिक शुल्कका अतिरिक्त किताब, कापी, झोला, पोसाक, जुत्ता र मोजामा समेत अचाक्ली रकम र कमिसन कुम्ल्याएर विद्यार्थीलाई आर्थिक बोझ थोपर्ने निजी विद्यालयलाई शैक्षिक नीति नियम कडाइका साथ लागू गरी अनुगमन, नियमन र नियन्त्रण गर्न सरकार किन सक्दैन ?

आश्विन २६, २०८२

पविता मुडभरी पुडासैनी

A hope in the field of education

What you should know

अमेरिकाबाट विज्ञान विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरी राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत अवस्थामै शिक्षामन्त्री बन्ने अवसर पाएका महावीर पुनलाई आर्थिक विकास र राष्ट्रिय समृद्धिका लागि प्रथमतः प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउनु आवश्यक छ भन्ने राम्रै हेक्का छ । हाम्रोजस्तो आर्थिक तथा सामाजिक विपन्नता भएको मुलुकमा प्राविधिक शिक्षाको विस्तार र जनस्तरमा सहज पहुँच विस्तारमा उनको ध्यान खिचिनु स्वाभाविक हो । 

प्राविधिक शिक्षाले देशको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने यथार्थ बुझेर नै उनले सबै सरकारी माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षाको व्यवस्था गर्ने अभिव्यक्ति दिएका छन् । अमेरिकाजस्तो विकसित मुलुकमा माध्यमिक शिक्षा पूरा गरेकामध्ये झन्डै ८० प्रतिशत विद्यार्थीले प्राविधिक शिक्षा हासिल गर्ने तथ्य उनलाई थाहै छ । नेपालमा यो संख्या २० प्रतिशतको हाराहारीमा पनि छैन । 

विगतदेखि नै नेपाली विद्यार्थी प्राविधिक शिक्षा हासिल गरी सहजै आय आर्जनतर्फ उन्मुख हुन चाहे पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर चासो र चिन्तन देखिएको थिएन । ‘सीप हातमा, रोजगारी साथमा’ भन्ने मूल मन्त्रका साथ प्राविधिक शिक्षालाई विद्यालय तहदेखि नै क्रमशः लागू गर्दै विश्वविद्यालय तहमा व्यापक विस्तार गर्ने कार्ययोजना शिक्षामन्त्रीले अगाडि बढाउनुपर्छ । देशको माटो र समाज सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने रणनीतिमा शिक्षामन्त्रीको ध्यान जाओस् । 

राजनीतिक अस्थिरता र संक्रमणले देशको शिक्षा क्षेत्रलाई नै अकर्मण्य बनाइरहेको अवस्थामा जनसमर्थन प्राप्त सरकारका शिक्षामन्त्रीले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेप र अन्योलबाट मुक्त गराउने रणनीति पनि अघि सार्नुपर्छ्र । राष्ट्रिय हित र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर वर्तमान शिक्षालाई प्रविधिसँग समन्वय गरी देश/विदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्ययोजना ल्याउन पनि अब ढिला गर्नु हुँदैन । 

राज्यको कमजोर लगानी, स्पष्ट नीति तथा कार्यान्वयनको अभाव र चरम राजनीतीकरण तथा दलीयकरणले हाम्रा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्कँदो छ । परिणामतः १२ कक्षा उत्तीर्ण भएलगत्तै अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेसिन्छन् । विश्वविद्यालयका हरेक प्राध्यापक दलीय कार्यकर्ता बन्ने र योग्यता, दक्षता र अनुभवबिना नै विश्वविद्यालयका विभिन्न पद हत्याउने प्रवृत्तिले विश्वविद्यालयको शैक्षिक गुणस्तर निकम्मा भएको छ । विश्वविद्यालयमा दलीय भागबन्डाले शैक्षिक वातावरण नै डामाडोल छ । 

हाल विश्वविद्यालयहरूमा परीक्षा नै समयमा नहुने, परीक्षा भइहाले पनि परीक्षाफल समयमै प्रकाशित नहुने र शैक्षिक सत्र अवधिभर राम्रोसँग पढाइ सञ्चालन नहुने बेथितिले विश्वविद्यालय विद्यार्थीको अभावमा खाली हुँदै गएका छन् । शैक्षिक सत्रको सुरुमै विश्वविद्यालयमा बडो जोस र जाँगरका साथ उच्च शिक्षा हासिल गर्न भर्ना भएका कैयौं विद्यार्थी नियमित पढाइ नहुने समस्याले बीचमै पढाइ छाडेर गाउँ/सहरमा भौतारिने वा विदेसिने प्रवृत्ति उत्तिकै बढ्दो छ ।

विद्यालय शिक्षा विधेयक २०८० ले नेपालको शिक्षालाई कस्तो बाटोमा हिँडाउला भन्ने चासो र चिन्तन बढिरहेकै अवस्थामा केही समयअघि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयक कार्यान्वयनमा भाँजो हाले । उनीहरूको ध्यान राष्ट्रिय शिक्षा सुधारभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित रह्यो । 

विद्यालयका मेरुदण्ड मानिने शिक्षक छनोट प्रक्रिया राजनीतीकरण र दलीय भागबन्डाले आक्रान्त छ । शैक्षिक रूपान्तरणका लागि शैक्षिक नीति नियम तथा योजनाको प्रभावकारी कार्यान्वयनका साथै योग्य र दक्ष शिक्षकको नियुक्ति उत्तिकै आवश्यक हुन्छ । विद्यालय शिक्षालाई मानवाधिकारका रूपमा लिई निजी विद्यालयलाई गैरनाफामूलक बनाउन अब राज्य सक्षम हुनैपर्छ । 

हाल सञ्चालित सरकारी, निजी वा विदेशी जुनसुकै लगानीका विद्यालयमा पनि बढिरहेका शैक्षिक अराजकता र मनोमानी हटाउन सरकारको चुस्त दुरुस्त नियमन र अनुगमन आवश्यक छ । विद्यालय शिक्षा विधेयकले विद्यालय तहमा शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेवारी प्रधानाध्यापकलाई दिएसँगै प्रधानाध्यापकले आफ्नै तजबिजमा अस्थायी लगायतका राहत कोटामा राम्राभन्दा हाम्रा तथा आसेपासे र कुरौटे भरौटेलाई शिक्षकका रूपमा नियुक्त गर्ने प्रवृत्तिले विद्यालय तहको शैक्षिक गुणस्तर झन् खस्कने त होइन ? वर्तमान शिक्षामन्त्रीको यता पनि गम्भीर ध्यानाकर्षण जरुरी छ । 

विगतका सरकारहरू त झन् विद्यार्थी संख्या कम भए विद्यालय मर्ज गरौंला भनेर हाइसन्चो मानेर बसेको देखिन्छ । यही अवसर छोप्दै राजधानी र सहर बजारको बीचैमा निजी विद्यालय खोलेकाहरूले शैक्षिक शुल्कका नाममा अनगिन्ती शीर्षकमा मासिक लाखौं रकम कुम्ल्याइरहेका छन् । यसको अनुगमन, निरीक्षण र नियन्त्रण खोइ त ? 

शैक्षिक शुल्कका अतिरिक्त किताब, कापी, झोला, पोसाक, जुत्ता र मोजामा समेत अचाक्ली रकम र कमिसन कुम्ल्याएर विद्यार्थीलाई आर्थिक बोझ थोपर्ने निजी विद्यालयलाई शैक्षिक नीति नियम कडाइका साथ लागू गरी अनुगमन, नियमन र नियन्त्रण गर्न सरकार किन सक्दैन ? आमअभिभावकलाई आकर्षण गर्ने गरी सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जमर्को किन गर्दैन ? सरकारी विद्यालयमा योग्य र दक्ष शिक्षक व्यवस्थापनको समस्या विगतदेखि नै व्यापक छ ।

निजी विद्यालयसमेत नयाँ शैक्षिक सत्रसँगै पठनपाठन सुरु गरिसक्दा पनि योग्य र दक्ष शिक्षक व्यवस्थापन गर्न नसकी शिक्षक मागको विज्ञापन गरिरहेका भेटिन्छन् । यो त विडम्बना नै हो । यसको अन्त्य कहिले हुने ? निजी विद्यालयहरूमा पनि बारम्बार शिक्षक फेरिइरहने र लामै समय योग्य र दक्ष शिक्षक नियुक्ति गर्न नसक्दा पठनपाठनमा गम्भीर असर पर्ने गरेको छ । हाम्रो विद्यालय शिक्षाका यी अनगिन्ती समस्या र अराजक शैक्षिक वातावरणप्रति आँखा चिम्लिएर विद्यार्थीको वार्षिक परीक्षाको उत्तरपुस्तिकामा मात्र शैक्षिक गुणस्तर खोतल्ने प्रवृत्तिविरुद्ध वर्तमान शिक्षामन्त्री पुनको गम्भीर ध्यानाकर्षण होओस् ।

पविता

Link copied successfully