देवीको छवि

समाजमा कुनै पनि कुराको छवि निर्माणका अनेकौँ उपकरणहरू हुन्छन् र तीमध्येका प्रमुख हुन् कथा । हाम्रा मनमा देवीदेवताको छवि ध्यानमुद्रा, स्तोत्र मन्त्र र पूरा कथा-पुराण, लोककथा, प्रतीक, प्रतिमाहरूबाट मात्र होइन, व्यापारिक प्रयोजनले बनाइएका तस्बिर, मूर्ति र सञ्चारमाध्यमहरूले कोरिदिएका हुन्छन्।

आश्विन १३, २०८२

केदार शर्मा

An image of a goddess

देवीका अनेक रूप छन्– ‘व्यापिनी विविधाकारां विद्याविद्या–स्वरूपिणी...’ (ललिता सहस्रनाम) हाम्रा शास्त्रहरूले नै देवीहरूका अनेकानेक रूप र स्वभावहरूको वर्णन गरेका छन् । अनि भूगोल, समाज, संस्कृति, प्रचलन र परम्पराहरूले तिनमा अझ विविधता थपिदिएका छन् ।

त्यसैले एउटै धर्म त के, एउटै सम्प्रदायकै अनुयायी भए पनि हामी सबैका मनमा देवीको प्राथमिक छवि अलग–अलग हुन सक्छ । केलाउन थाल्यो भने ती छविहरूको निर्माण र विनिर्माणका आफ्नै कथा प्रसंगहरू फेला पर्छन् ।

सबैजसो नेपाली गाउँहरू कुनै न कुनै ग्रामदेवीका छत्रछायामा रहेका हुन्छन् । यहाँ ‘आफ्नै देवीथान’ नभएका गाउँ मात्र होइन, टोलसमेत भेट्न गाह्रो पर्छ । नेपालका प्रायः सबै जिल्लामा टाढा–टाढासम्म प्रसिद्धि पाएका देवीका मन्दिर वा शक्तिपीठ छन् ।

हामी देवीहरूबाट परिवेष्ठित, आच्छादित, पालित, पोषित र रक्षित छौं । ढुंगामा सिन्दूर लगाएर र धजा टाँगेर, पाठ गरेर वा कोही कामेर–बकेर, कसैले सपनामा देखेर, कसैले जोखाना हेरेर, कुनै कथा–प्रसंगसित जोडेर, थाल वा ढ्यांग्रो ठोकेर, दूध चढाएर वा बलि दिएर उब्जे–उब्जाइएका, थपना वा निर्माण गरिएका देवीथान नेपाली समाजमा गोठदेखि कोटसम्म अवस्थित छन् । देवीथानहरू हाम्रो समाजमा सबभन्दा धेरै भेटिने शिर झुकाउने ठाउँ र सामाजिक रक्षाकवचहरू हुन् ।

देवीप्रतिको हाम्रो प्रेम र आस्था अवर्णनीय छ । अलि अग्ला थुम्काहरू नेपाली देवीहरूका सर्वप्रिय बासस्थान हुन् । तर उनीहरू पहरा, दोभान, देउराली, अनौठा ढुंगा, ठूला वा बांगा रूख, कुवा, सिम, भूमि, वन, नदीनाला सबैतिर उत्तिकै रमाएर बस्छन् ।

हाम्रा देवीहरूलाई शास्त्रमा भन्दा आस्थामा विश्वास छ, त्यसैले उनीहरू साक्षात् हुनका लागि प्राणप्रतिष्ठाको विधि पर्खिंदैनन्, भक्तहरूले नै उनीहरूलाई ‘छ्यातछ्यात्’ बनाइदिन सक्छन् । हाम्रा देवीहरू हिन्दु शास्त्रहरूले चिन्दै नचिनेका धामीझाँक्रीसित दोहोरो कुरा गर्छन् र कहिलेकाहीँ त तिनकै मुखबाट हामीसित बोल्छन् पनि । मानिससित बोल्ने उनीहरूको भाषा पनि आआफ्नै खालको हुन्छ, विचित्रको हुन्छ ।

शास्त्रले नचिन्ने लोकदेवी ‘महारानी’ ठावैंपिच्छे फरक रूप–स्वभावका हुन्छन् । जस्तो– इलामका कुनै पनि परम्परागत देवीथानमा (अहिले थपिएका बाहेक) मूर्ति छैनन् र देवीलाई आकाशको पानीबाट ओताउने छाना मन पर्दैन । पाल्पाकी सत्यवती बज्यै राम्ररी कान सुन्दिनन् र भक्तहरूलाई कराएर वर माग्न लगाउँछिन् । केही दशकयता मिथिला–मधेशकी ‘छठी माई’ पहाडमा निकै माथिसम्म उक्लिइसकेकी छन् ।

‘कुमारी’ अब उपत्यकाकी देवी मात्र रहिनन्, देशभर नै उनीप्रतिको आदर बढेको देखिन्छ । पूर्वका मान्छे त्रिपुरासुन्दरीको दर्शन गर्न बैतडी पुगिरहेका हुन्छन् र बडीमालिकाको दर्शन गर्न बाजुराका लेक चढिरहेका हुन्छन् र पश्चिमकाहरू पाथीभरा उक्लिरहेका हुन्छन् । सञ्चार र यातायातका कारण कैयन् स्थानीय इष्टदेवीहरूसमेत बिनाप्रश्न सबैका भइरहेका छन् ।

म सानो छँदा हाम्री वनदेवी ‘वनस्खण्डी’ कदाचित् असन्तुष्ट भइन् भने राति–राति चोप आउने रूखबाट कोइलीको स्वरमा कराएर सन्देश दिने गर्थिन् । हजुरबा–हजुरआमालाई अगाध विश्वास भएको त्यो ध्वनि अहिले नसुनेको धेरै भयो तर त्यसको सम्झना मात्रले पनि मलाई देउतीमाता रिसाएको डरसहितको बाल्यकालमा फर्काउँछ । हाम्रा लोकदेवीहरू त आफ्नै भइहाले, २०३३ सालको बम्बैया फिल्म ‘जय सन्तोषी माता’ बाट चिनिएकी सन्तोषी माता अझसम्म पनि केही नेपालीहरूलाई शुक्रबार–शुक्रबार गुड चना खुवाइरहेकी छन् ।

छविको निर्माण

हाम्रो मनमा एउटा एक्लो शब्दले बनाएको छविमध्ये सबभन्दा विविधतायुक्त छवि ‘देवी’ कै हो कि जस्तो लाग्छ । हामी आफ्ना आमा, श्रीमती र छोरीहरूमा देवीका विभिन्न रूप भेट्न र हेर्न अभ्यस्त छौं । असल गुरुआमा वा मेधाशील र शालीन महिला स्रष्टा हामीलाई सरस्वतीजस्ता लाग्छन् ।

आक्रोशित महिलामा हामी रणचण्डी देख्छौं । थोरै स्रोत साधनबाट राम्रोसित घर वा भान्सा चलाउने महिलालाई अन्नपूर्णा भन्न हामीलाई सोचिरहनै पर्दैन । दसैं वा अरू अवसरमा देवीको आराधना भएका बेला कन्या पूजा गरिएका गाउँभरिका छोरीहरूलाई त्यो प्रसंग पुरानो नहुन्जेलसम्म ‘देवी’ नै भनिएको पनि देखिन्छ ।

कवि भूपि शेरचनले भनेजस्तो, ‘यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता, यी दुवै थरीको निवास छ ।’ सोही कवितामा कविले भनेजस्तो ‘मेरो चोकका मानिसमा उदासी पनि व्याप्त छ’ तर कविले भनेजस्तो हाम्रा देवीदेवता भने उदास छैनन् । गएका दशकहरूमा देशका विभिन्न ठाउँमा जीर्णोद्धार गरिएका, सजाइएका र थपिएका मन्दिर र तिनको चमकदमक र चहलपहल रोचक छ । अहिले भए कवि लेख्दा हुन्, ‘यो मेरो चोकमा देवता मानिससित दंग छन् र मान्छे देवतासित मक्ख छन् ।’

समाजमा कुनै पनि कुराको छवि निर्माणका अनेकौं उपकरणहरू हुन्छन् र तीमध्येका प्रमुख हुन् कथा । हाम्रा मनमा देवीदेवताको छवि ध्यानमुद्रा, स्तोत्र मन्त्र र पूरा कथा–पुराण, लोककथा, प्रतीक, प्रतिमाहरूबाट मात्र होइन, व्यापारिक प्रयोजनले बनाइएका तस्बिर, मूर्ति र सञ्चारमाध्यमहरूले कोरिदिएका हुन्छन् ।

ती छविहरू पनि जस्ताको तस्तै ट्याक्क, फोटोजसरी बसेका हुँदैनन्, अर्धअमूर्त बिम्बहरूमा उत्कीर्ण हुन्छन् । देउता वा देवी भनेर बाल्यावस्थामा चिनाइएका छवि र प्रतीकहरूसित पढेर मान्छेका मनबाट सितिमिति मेटिँदैनन् ।

हजुरआमाका स्वरले मनमा बनाइदिएका देवीका रूपाकृतिमा अशोक वाटिकामा थुनिएकी ‘भोकी मैली निन्याउरी न त कपाल कोरेकी’ सीताको विवशतादेखि वसुदेवले बालकृष्णका ठाउँमा राखिदिएकी र कंसले भुइँमा पछारेर मार्न खोज्दा आकाशमा पुगेर भविष्यवाणी गर्ने योगमायाको हुंकारसम्म छन् ।

पछि किताब र सञ्चारमाध्यमहरूका कारण मेरा मनमा महासरस्वती प्रज्ञाका रूपमा, महालक्ष्मी ऐश्वर्यको रङमा र महादुर्गा आक्रामकताको छविमा विराजमान छन् तर तिनको पनि मूर्तता सीमित छ । मेरा मनमा उनीहरू क्रमशः सेतो, सुनौलो र रातो रङका प्राधान्य भएका अर्धअमूर्त आकारमा विराजमान छन्, जो तपाईंका मनमा एकदमै फरक रूपाकृतिमा बसेका हुन सक्छन् ।

दसैंकी देवी

दसैं महादुर्गा भगवतीको आराधनाको पर्व हो । मार्कण्डेय पुराणको अंश मानिने दुर्गा सप्तशतीमा वर्णित भगवती दसैंकी देवी हुन् । सम्भवतः नेपाली समाजमा दुर्गा सप्तशती सम्भवतः भगवदगीता र स्वस्थानीपछिको सबभन्दा धेरै घरमा राखिने र पढिने धार्मिक पुस्तक हो ।

दुर्गा सप्तशतीमा पहिले देवीबाट मधु र कैटभ, त्यसपछि महिषासुर र अन्त्यमा रक्तबीजलगायतका महाबलिहरूका साथै दैत्यराज शुम्भ र निशुम्भ मारिएको वर्णन छ । दुर्गा सप्तशती मूलतः शक्तिका लागि गरिने आराधना र अरिदमनको कथा हो र यसकी नायिका हुन्, विभिन्न रूपमा प्रकट हुने महादुर्गा–महाकाली भगवती ।

सप्तशतीमा देवीका अनेक रूप वर्णित छन् । जस्तो पहिलो अध्यायमा भगवती योगनिद्राको वर्णन यसरी गरिएको छ,

सौम्या सौम्यतराशेष–सौम्येभ्यस्त्वतिसुन्दरी ।

परापराणां परमा त्वमेव परमेश्वरी ।।

(पहिलो अध्याय)

त्यो भनेको के त ? माधव घिमिरेले विसं २००२ मा अनुवाद गरेको र २०५८ सालमा पुस्तकाकारमा निस्केको पुस्तक ‘दुर्गा सप्तशती’ मा माथिका हरफहरूको अनुवाद यस्तो छ

राम्री र अझ राम्रीमा झन् राम्री अतिसुन्दरी ।

परापर दुवैभन्दा परकी परमेश्वरी ।।

तर के भगवती राम्री मात्र छन् त ? दोस्रो र तेस्रो अध्यायमा सिंहवाहिनी, महिषासुरमर्दिनी भगवतीको वर्णन यस्तो छ :

स ददर्श ततो देवीं व्याप्तलोकत्रयां त्विषा ।

पादाक्रान्त्या नतभुवं किरीटोल्लिखिताम्बराम्। ।

क्षोभिताशेषपातालां धनुर्ज्यानिःस्वनेन ताम् ।

दिशो भुजसहस्रेण समन्ताद्वयाप्य संस्थिताम ।

त्यही कुरा कविवर घिमिरेकृत नेपालीमा ः

देख्यो त्यल्ले त्यहाँ देवी जगतै जगमगाउँदी

कोल्ट्याई पाउले पृथ्वी स्वर्ग श्रीपेचले छुँदी ।।

झन्कारी धनुको ताँदो पातालै खलबल्याउँदी

हजारौं हात फैलाई दिगन्त उजिल्याउँदी ।।

अनि,

ततः क्रुद्धा जगन्माता चण्डिका पानमुत्तमम् ।

पपौ पुनः पुनश्चैव जहासारुणलोचना ।।

सा च तान् प्रहितांस्तेन चूर्णयन्ती शरोत्करैः ।

उवाच तं मदोद्धूतमुखरागाकुलाक्षरम ।

सोही श्लोक, माधव घिमिरेका शब्दमा ः

रणचण्डी रिसाएर आँखा लाल गरीगरी ।

मदिरा भीरमौरीको प्युँदै हाँसिन् घरीघरी ।।

वाणले सब चट्टान चूर्ण चूर्ण गराउँदै ।

बोलिन् शराबले बोली लर्बरी थुहुराउँदै ।।

सप्तशतीको सातौं अध्यायमा त शुम्भ निशुम्भको वधका लागि तयार भएकी भगवती अम्बिकाको रूप यस्तो छ  :

भ्रुकुटीकुटिलात्तस्या ललाटफलकाद् द्रुतम् ।

काली करालवदना विनिष्क्रान्तासिपाशिनी ।।

विचित्रखट्वाङ्गधरा नरमालाविभूषणा ।

द्वीपिचर्मपरीधाना शुष्कमांसातिभैरवा ।।

अतिविस्तारवदना जिह्वाललनभीषणा ।

निमग्नारक्तनयना नादापूरितदिङ्मुखा ।।

नेपालीमाः

आँखीभौं टेढिँदो चौडा ललाटैबाट पट्ट भै ।

काली करालवदना निस्किन् पासो खुँडासँगै ।।

लिँदी विचित्र खट्वाङ्ग धर्दी रागे बगम्बर । 

लाउँदी मुण्डको माला, मासुसुक्ति भयंकर ।।

जिब्रो ल्याम्ल्याम् चलाएर हाम्ग्राडे मुख बाउँदी । 

आँखा राता गडी कोप्री, चर्को डाँको फिजाउँदी ।।

तर हामीमध्ये धेरैले संस्कृत वा नेपालीमा यी हरफहरू पटक–पटक पढे पनि देवीलाई यो भयंकर रूपमा मनमा राखेका हुँदैनौं । हाम्रा मनमा दुर्गा भगवती, अर्थात् दसैंकी देवीको छवि, चाहे त्यो शिवकाशीतिरबाट छापिएर आउने क्यालेन्डर र पटहरूमा होस् वा रेडियो नेपालका नाटकहरूमा वा हिन्दी सिनेमामा यस्तै वर्णनहरूबाट बनेको छ र त्यसमा कलाकारले धेरै लालित्य र लावण्य भरिसकेका छन् । 

तर देवी साकार मात्र छैनन्, मूर्त मात्र छैनन् । दुर्गा सप्तशतीको श्लोकमालामा “या देवी सर्वभूतेषु...” (अध्याय ५) का अट्ठाइस वटा श्लोकमा ‘विष्णुमाया’ देखि चित्त वा चेतनासम्मका अमूर्त रूपहरूको आराधना छ, जसको पाठ गर्दा वा ध्यानपूर्वक श्रवण गर्दा मात्र पनि देवीका अलग–अलग अमूर्त छविहरू मनमा आइरहेका हुन्छन् । त्यसको सार हो– हामीभित्र सदैव उपस्थित रहेर हाम्रा देख्ने, सुन्ने, बुझ्ने, बोल्ने, चाख्ने, गन्ध लिने र तृप्त हुनेलगायतका संवेदनालाई सामर्थ्य प्रदान गर्ने, इन्द्रियहरूकी अधिष्ठातृ देवीलाई म बारम्बार नमन गर्छु ।

कलकत्ताकी सौम्या

भारत पनि नेपालजस्तै हो । त्यहाँ ठाउँ–ठाउँमा देवीका सयौं यस्ता नाम, रूप र मन्दिरहरू छन् जो अर्को ठाउँको भारतीयका लागि सर्वथा नौला हुन्छन् । त्यो नौलोपनमा प्रतिवर्ष थप नूतनता थप्ने कलकत्ता देवीको रूपाकृतिका हिसाबले कलकत्ता ती सबैभन्दा पनि फरक छ र विशिष्ट छ ।

कलकत्तामा कालीका दुई वटा प्रसिद्ध मन्दिर छन् । कालीघाटको काली मन्दिर सतीदेवीको दायाँ पाउ पतन भएको मानिने प्रसिद्ध शक्तिपीठ हो भने दक्षिणेश्वर काली मन्दिर रामकृष्ण परमहंसको साधना र शिक्षासित सम्बन्धित छ । यी दुवै मन्दिरमा कालीका परम्परागत मूर्ति छन्, यी तिनैका लागि प्रसिद्ध छन् ।

हरेक वर्ष दसैंका बेला सिंगै कलकत्ता देवीका मन्दिरहरूको नगर बन्न पुग्छ । त्यहाँ अध्यात्म, धर्म, संस्कृति, कलाकारिता, प्रयोगधर्मिता, कलात्मक स्वतन्त्रताको प्रयोगजस्ता अनेक कुरा आफ्नाबीचमा सीमारेखाहरूको मतलब नराखी एकाकार भइरहेको देख्न पाइन्छ ।

दुर्गा पूजाका पन्डालहरूमा देखिने आजको असीम विविधता, कलात्मक स्वतन्त्रता र विचारको प्रयोग एक शताब्दीभन्दा लामो क्रमिक विकासको प्रतिफल हो । इतिहास खोतल्दा सन् १६०० को आसपासदेखि नै कलकत्तामा नवरात्रिका बेला दुर्गा पूजाको आयोजना हुने गरेका प्रसंगहरू भेटिन्छन् ।

सुरुमा दुर्गा पूजा त्यहाँका राजघराना र धनीमानीहरूको घरभित्र सीमित हुन्थे र तिनमा सार्वजनिक सहभागिता वा रूप–भिन्नताको ठाउँ थिएन । तर अठारौं शताब्दीको अन्त्यतिर (सन् १७८० तिर) सुरु भएको बारोवारी (बाह्र जना साथीहरूले सुरु गरेको) सामूहिक दुर्गा पूजाले सम्भ्रान्तहरूको त्यो एकाधिकार तोड्यो । पूजालाई दरबारबाट सडक–चोक तयार गरिने पन्डालहरूमा ल्याइदियो ।

इस्ट इन्डिया कम्पनीको प्रशासकीय राजधानीका रूपमा रहेको कलकत्ता यसै पनि विविधतायुक्त थियो र त्यसको प्रभावस्वरूप पूजास्थलको सजावट र पूजामा पनि क्रमशः सामूहिकताका प्रतिस्पर्धी रङहरू भरिन थाले । त्यसपछि टोलटोलमा अस्थायी मन्दिरहरू तयार हुन थाले । हिन्दीमा पन्डाल र बंगाली लवजमा ‘प्यान्डल’ भनिने तिनको विविधता र कलात्मकता नै कलकत्ताको दसैंको प्रमुख आकर्षण हुन थाल्यो ।

उन्नाइसौं शताब्दीको अन्त्यदेखिका केही दशकसम्म भारतको सबभन्दा गतिशील व्यापारिक नगरीका रूपमा रहेको कलकत्तामा प्रतिस्पर्धी सजावट र विषयवस्तु (थिम) को खोज सुरु भयो । अनि स्थानीय कला, मिथक र समाजका कथा पन्डालभित्र पस्न थाले । १९७०–८० को दशकदेखि त यसले अझ नयाँ मोड लियो– गरिबी, स्वास्थ्य, न्याय, साहित्यदेखि क्रान्तिसम्मका विषयलाई पन्डालले स्विकार्न थाल्यो र ‘कन्टेम्पोररी आर्ट’ मा जस्तो स्वतन्त्र प्रयोगका ढोका खुल्न थाले ।

१९९० पछि यो प्रयोगशील धारा अझ चौडा भयो– पन्डालहरू केवल धार्मिक स्थल नभई स्वतन्त्र कला प्रदर्शनी, राजनीतिक टिप्पणी, विश्वकला शैली र वातावरणीय चेतना देखाउने मञ्च बने । त्यसैले, आज हामी देख्ने पन्डाल केवल दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने ठाउँ मात्र होइनन्, बरु सामाजिक संवाद, कलात्मक प्रयोग र सांस्कृतिक पहिचानका विशाल ‘इन्स्टलेसन’ आर्ट हुन्, जहाँ बंगालको सामाजिक–राजनीतिक चेतना प्रतिविम्बित भइरहेको देख्न सकिन्छ ।

परार साल हामी दुर्गा पूजा र पन्डालहरू हेर्नै भनेर कलकत्ता गएका थियौं र त्यहाँ चिताएको भन्दा बढी पाएर फर्क्यौं । त्यहाँका कुनै अज्ञात कलाकारले विनिर्माण गरेकी निःशस्त्र दुर्गाले परार सालदेखि नै मेरा मनमा राज गरेकी छन् । मेरा मनमा रहेका देवीका सयौं छविमध्ये मैले ‘न मन्त्रं नो यन्त्रं’ आराधना गर्ने देवी यिनै भएकी छन् ।

निःशस्त्र दुर्गा, जसका हातहरू खाली छन् । उनले भएको एउटै मात्र शस्त्र त्रिशूलको पनि कपाल अड्याउने हेयरपिनका रूपमा प्रयोग गरेकी छन् । उनी न सिंहमा चढेकी छन्, न उनी कुनै असुरसित लडिरहेकी छन् । (फोटो– १)

उनका पाउ पनि जमिनमा छैनन्, मानौं, उनलाई कतै अडिनु पनि छैन ।

कलकत्ताकी निःशस्त्र दुर्गालाई देखेर दसैंमा देवीको छविमा शत्रुप्रतिको आक्रोश र विजयको उन्माद देख्दै आएका हामी छक्क पर्‍यौं । चण्डीको पाठमा ‘ततः क्रुद्धा जगन्माता चण्डिका पानमुत्तमम्’ जस्ता श्लोक सुन्दै आएका र रेडियो नेपालका नाटकले सधैं देवीको अट्टहास सुनाउँदै आएका हामी ती ‘विनिर्मितेश्वरी’ देखेर मक्ख पर्‍यौं ।

एक पटक हेरेर चित्त बुझेन, भोलिपल्ट फेरि त्यहाँ गयौं । दुर्गाको त्यो शालीनता कसैलाई साह्रै बिझाएछ क्यारे, भुइँमा दुर्गाको एउटा ‘शास्त्रीय’ प्रतिमा थपिएको रहेछ । (फोटो– २)

जे थपिएको भए पनि उनका आँखा उस्तै करुणाले भरिएका थिए र उनका हात उसरी नै खाली थिए । महिषासुर थिएन र थिएन एक थोपो पनि रगत ।

फर्केपछि मेरो साथी प्रकाशकुमार सुवेदीले फेसबुकमा लेख्यो, ‘... न त देवीका पोसाक र गरगहना राजकीय थिए न त देवी संहारक रूपमा देखिन्थिन् । देवीका हातमा हतियार अथवा त्यस्तै अन्य प्रतीकात्मक वस्तु पनि थिएनन्, रित्ता हातहरू फैलाइएका थिए । देवीका साथमा रहेको एक मात्र हतियार– त्रिशूल पनि कपाल सम्हाल्न काँटाका रूपमा प्रयोग गरिएको थियो । तर दुर्गा सारभूत रूपमा बंगाली देखिन्छिन् ।

पोसाक र समग्र पन्डालमा प्रयोग गरिएका वस्त्र मात्र स्थानीय नभई देवीका आँखा पनि सौन्दर्यका बंगाली उपमा ‘पोतोल चेरा चोख’ अर्थात् ‘परवलका चिराजस्ता नयन’ का रूपमा देखिन्छन् । मेरो अगाडि एक स्थानीय युवक पनि सो प्रतिमाको फोटो खिच्दै थिए । त्यही बेला उनका मित्र पछाडिबाट आए र आश्चर्य र विनोद मिश्रित भावमा भन्न थाले, ‘ओसुर मिसिङ’ अर्थात् ‘राक्षस नै छैन ∕’ मलाई देवीको यो अपरम्परागत प्रतिमालाई उनले सहज र सटीक नामकरण गरिदिएजस्तो लाग्यो ।’

साथीले परार सालै लेख्यो । लेखक भइखाएको म किन हो, यति लेख्न पनि पर्खिइरहेको थिएँ । अहिले लाग्यो, ती सौम्यलाई सम्झिने र अरूलाई पनि तिनका बारेमा भन्ने सही समय अहिले हो ।

हाम्रा मनमा देवीका सयौं छवि छन् र ती सबैका आआफ्नै कथा, सन्दर्भ, अर्थ र महत्त्व छन् । अहिले हामी २०८२ सालको दसैंमा आइपुगेका छौं । निर्माण–विनिर्माण–निर्माणको अनपेक्षित गतिमा घुमिरहेको चक्रले हामीलाई हल्लाउनुसम्म हल्लाएको छ । मेरो मनको केन्द्रमा (यदि मनको पनि केन्द्र हुन्छ भने) यिनै निःशस्त्र दुर्गा विराजमान छन् ।

अन्तिममा, सन् २००० मा एउटा पन्डालमा स्थापित देवीको अर्को एउटा विनिर्मित मूर्ति जसमा उनलाई ‘आप्रवासी आमा’ का रूपमा चित्रण गरिएको छ । (फोटो– ३)

केदार

Link copied successfully