चुनौतीको चाङमा चुनावी सरकार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्ना चुनौतीहरू चिन्न र चिर्न सकेन भने समयमै निर्वाचन सम्पन्न गर्ने कुरा उसका लागि ‘फलामको च्युरा’ सावित हुन सक्छ।

आश्विन ६, २०८२

राजाराम गौतम

Electoral government in the midst of challenges

नेपालको संविधान घोषणाको एक दशक पूरा भएको छ । अनेक चोटपटक खेप्दै दस वर्ष बिताएको संविधान फेरि एकचोटि ‘घायल’ छ । विज्ञहरू भन्छन्, ‘संविधान कोमामा छ तर मृत भइसकेको छैन ।’ अन्तरिम सरकार र राजनीतिक दलहरूले असोज ३ मा संविधान दिवसको औपचारिक उत्सव मनाएर कम्तीमा यो जीवितै भएको आभास दिलाएका छन् ।

विगत वर्षमा जस्तो दीपावली गरेर भव्य हिसाबले नमनाइए पनि सैनिक मञ्च टुँडिखेल, राष्ट्रपति भवन शीतल निवास, दलहरूका कार्यालयमा भएका कार्यक्रम अनि नेताहरूका विज्ञप्तिले संविधानको धुकधुकी बाँकी रहेको अनुभूति दियो । 

संविधानवेत्ताहरू भन्ने गर्छन्, ‘संविधानले आफैं काम गर्दैन, त्यसलाई काम गराउनुपर्छ ।’ सम्भवतः राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको विषम परिवेशमा विज्ञहरूले सुझाएको यही मर्म मनन गरेर संविधान ‘मर्न’ दिएनन् । 

गत भदौ २३ मा जेनेरेसन जेड (जेन–जी) ले सुरु गरेको सडक प्रदर्शनमा सरकारले गरेको नृशंस हत्या र भदौ २४ मा भएको विध्वंसपछि उत्पन्न राष्ट्रिय संकटका बेला राष्ट्रपति पौडेल चर्को दबाबमा थिए । 

देश इतिहासकै कठिन मोडमा थियो । अन्योल, आतंक, असुरक्षा अनि निराशा चुलीमा पुगेर आम आत्मविश्वास खण्डित भएको थियो । यही बेला नियोजित अस्थिरता सिर्जना गरेर त्यसको आडमा आग्रहको रोटी सेक्न उद्यत दृश्य/अदृश्य, घरेलु/बाह्य शक्ति स्वार्थहरू उद्यत थिए । 

सेनाले राजनीतिक संवादको अग्रसरता लिँदै निकासको सहजीकरण गर्दै थियो । अन्योल र आशंकाका बादलहरू मडारिँदै थिए । त्यो परिस्थितिमा राष्ट्रपतिको देखिने भूमिका ‘कालो बादलमा चाँदी घेरा’ बन्यो । उनले ६ महिनामा निर्वाचन गर्ने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे । सँगै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद् विघटन पनि गरे । 

संविधानले फेरि चोट खेप्यो । तर, मुलुक जुन चरम संकटको अवस्थामा थियो/छ, भएमध्येको उचित विकल्प भनेर सबैले चित्त बुझाएका छन् । संसद् विघटनप्रति दलहरूले प्रश्न उठाएर आफ्नो ‘पोजिसन’ राखेका छन्, यद्यपि निर्वाचनबाट पुनः संविधानलाई लिकमा फर्काउनुपर्ने कुरामा सबै एकमत देखिएका छन् ।

के त्यसो भए अब तोकिएकै समयमा निर्वाचन हुन्छ ? अनि, संविधान र मुलुकको राजनीति पुनः लिकमै सजिलै फर्किन्छ त ? यति बेला यो आम चासोको प्रश्न हो । यो प्रश्न जति सरल सुनिन्छ, समयक्रमसँगै यसको कार्यान्वयन उत्तिकै जटिल हुँदै जानेछ । यो विश्लेषण यही प्रश्न वरिपरि रहनेछ । 

पहिले सकारात्मक पाटो हेरौं । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसामु चुनावलाई लिएर अनुकूलता नै अनुकूलता देखिन्छन्, यति बेला । पहिलो कुरा त, अन्तरिम सरकारका लागि उनी सर्वस्वीकार्य पात्र बन्न पुगिन् । उनको निष्कलंक चरित्र अनि हक्की स्वभावका कारण ‘केही भइहाल्छ कि’ भनेर मान्छेहरूमा आशा पलाएको छ ।

एकाध मान्छेले छिटपुट असन्तुष्टि प्रकट गरे पनि यो संकटपूर्ण घडीमा उनको नेतृत्वलाई लिएर नागरिक वृत्तमा आशा जागेको छ । उनले प्रशस्त ‘शंकाको सुविधा’ पाएकी छन् । सरकारको नेतृत्व लिएपछि उनले आफ्नो मुख्य कार्यसूचीमा निर्वाचन राखेकी छन् । उनले भनेकी छन्, ‘६ महिनामा चुनाव सम्पन्न गराएर सत्ता हस्तान्तरण गर्न यो सरकार कटिबद्ध छ ।’

छिमेकी मुलुक तथा विश्वका अरू मैत्री राष्ट्रहरूले पनि कार्कीको नेतृत्वलाई सकारात्मक रूपमा लिएका छन् । भारतले त अधिक चासो राख्दै सहयोग र सहकार्य गर्ने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन वार्ता गरेर कार्कीलाई ढाडस दिएका छन् । प्रमुख दलहरूले संसद् विघटनको विरोध गरे पनि निर्वाचनमा भाग नलिने भनेका छैनन् । बरु, समयमै निर्वाचन हुनुपर्ने र ‘फेस’ गर्ने बताइरहेका छन् । निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । 

तर, के यी अनुकूलता निर्धारित समयमै निर्वाचन सम्पन्न हुने पर्याप्त आधारहरू हुन् ? 

सरकारसामु जति अनुकूलता छन्, त्यत्तिकै प्रतिकूलताहरू पनि छन् । खासमा कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्ना चुनौतीहरू चिन्न र चिर्न सकेन भने समयमै निर्वाचन सम्पन्न गर्ने कुरा उसका लागि ‘फलामको च्युरा’ सावित हुन सक्छ । के–के हुन सक्छन्, ती चुनौतीहरू ?

पहिलो, शान्तिसुरक्षा र कानुनी शासनको प्रत्याभूति । सरकारले आम मतदातालाई निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउन सक्ला ? यति बेला सुरक्षा प्रशासनको मनोबल खस्केर पिँधमा पुगेको छ । जेन–जी विद्रोह र त्यसपछिको विध्वंसका क्रममा प्रहरी, सशस्त्र बललगायतको सुरक्षा प्रशासनको भौतिक संरचना मात्रै नाश गरिएन, मनोबल पनि कमजोर भएको छ । 

नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको मुलुकको प्रशासनिक केन्द्र जलेर खरानी भयो । न्यायालय, राष्ट्रपति भवनदेखि देशैभरि हिंसा र आगजनीका जे–जति घटना भए, त्यसले आमनागरिकलाई भयभीत बनाएको छ । त्यो भयग्रस्त मनोविज्ञानबाट नागरिक पंक्ति बाहिर निस्कन सकेको छैन ।

केही अड्चन आइपरे उजुरी गर्न जाने गृह प्रशासन र कानुनी उपचार खोज्न जाने न्यायिक निकायहरू नै आहत छन् । प्रहरीहरू उच्च मनोबलसहित ड्युटीमा खटिन सकेका छैनन् । सुरक्षा प्रशासनको मनोबल, कानुनी शासनको प्रत्याभूति अनि आम मतदातालाई भयरहित हिसाबले मतदान केन्द्रसम्म पुर्‍याउने गरी विश्वासको वातावरण बनाउने कुरा यो सरकारको एउटा मुख्य चुनौती हुनेछ ।

दोस्रो, विश्वासको वातावरण तब बन्छ, जब सरकारले दण्डहीनताको अन्त्य गर्न सक्नेछ । उसै पनि मुलुकमा न्याय प्रणाली कमजोर भएको र न्यायिक निरूपण राजनीतिक प्रभावमुक्त भएन भनेर प्रश्नहरू उठी नै रहेका थिए । अभियोजन र अनुसन्धान प्रक्रियाका पारदर्शितामा प्रश्नहरू उठिरहेकै थिए, संक्रमणकालीन न्याय राजनीतिक नारा मात्रै बन्दा दण्डहीनता एउटा मुख्य चुनौती बन्दै थियो ।

त्यसमाथि हालै जेन–जी विद्रोहको आवरणमा देशभर फैलिएको हिंसा र आगजनीका घटनापछि दण्डहीनताले थप प्रश्रय पाएको छ । जेन–जी पुस्ताको विद्रोहका नाममा हिंसा, लुट, आगजनी गरिएका छन् । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारदेखि देशैभरका कार्यालय, निजी व्यापारिक प्रतिष्ठान र व्यक्तिका घर नष्ट गरिएका छन् । यी घटनाको छानबिन र त्यसको न्यायिक निरूपण सरकारको अर्को ठूलो जिम्मेवारीसँगै चुनौती पनि हो । दण्डहीनताको अन्त्य गर्ने कि प्रश्रय दिने ? सरकारलाई यो प्रश्नले पनि लखेट्नेछ । 

सरकारले जेन–जी आन्दोलन र त्यसपछि भएको ध्वंसको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाएको छ । केही ढिलो भएको छ । यद्यपि यो सकारात्मक छ । अब यो आयोगसामु भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य बाहिर ल्याउने गहन जिम्मेवारी आएको छ । मूलतः आयोगले भदौ २३ गते सडक प्रदर्शनमा उत्रेका जेन–जीका युवाहरू माथि अन्धाधुन्ध दमन कसरी भयो ? कसको आदेशमा भयो ? त्यसमा को–को संलग्न छन् ? खोजी हुनुपर्छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गरेका छन् । उनले अनुमानको भरमा यस्तो दाबी गरे वा त्यसमा सत्यता पनि छ ? छानबिन हुनुपर्छ । पहिलो दिनको प्रदर्शनको गहिरो अध्ययन गरी सुरक्षा प्रशासनदेखि राजनीतिक नेतृत्व जो–जो यसमा दोषी देखिन्छन्, तीमाथि कारबाही गर्न सक्नुपर्छ ।

त्यस्तै, भदौ २४ गतेको हिंसा र आगजनीका घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्छ र राष्ट्रिय धरोहरहरूको विनाश गर्ने, हिंसा, लुटपाट, आगजनी गर्ने सबैलाई न्यायको कठघरामा उभ्याउन सक्नुपर्छ । त्यो किनभने, जेन–जी प्रदर्शन, त्यसपछि भड्केको हिंसाका घटनालाई सरकारले के कसरी ‘डिल’ गर्छ भन्ने कुराले पनि विश्वासको वातावरण बन्न सघाउनेछ । 

तेस्रो, सरकारले आमजनतालाई विश्वस्त पार्न तिनका आकांक्षाको सम्बोधन पनि गर्न सक्नुपर्छ । यति बेला जेन–जी आन्दोलन अथवा आमजनताको अपेक्षा मुलुकमा सुशासन कायम होस् भन्ने हो । मुलुकमा चरम बेथिति र भ्रष्टाचार बढेकामा अहिलेको आक्रोश बढेको हो । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की स्वयंले राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेकामा यसबीच कैयौं पटक कटाक्ष गरेकी छन् । अब उनी नेतृत्वमा हुँदा यो मुद्दाले न्याय पाउनुपर्छ । 

राजनीतिक दलकै कतिपय नेताहरूले पनि २०४६ सालपछि लाभको पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नुपर्ने माग गर्दै आएका हुन् । अहिले पनि यस्तो आयोग बनाउनुपर्ने माग उठेको छ । सरकारले शक्तिशाली सम्पत्ति जाँचबुझ आयोग बनाउने भनेको पनि छ । तर, हालसम्म घोषणा गर्न सकेको छैन ।

छोटो अवधि कार्यकाल पाएको यो सरकारले जनचासोलाई सम्बोधन गर्ने यी कामहरू अघि बढाउन किन ढिलाइ गर्दै छ ? २०४६ सालपछि लाभको पदमा बसेका नेता, कर्मचारी सबैको सम्पत्तिको स्रोत र पारदर्शिताको जाँचबुझ हुनुपर्छ । यसबीच उठेका भ्रष्टाचारका प्रकरणहरू पनि छानबिन सुरु गर्न सक्नुपर्छ । अर्थात् यी मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउने चुनौती पनि सरकारसामु छ । 

चौथो, यो सरकारसामु स्वयं जेन–जी पुस्ता पनि एउटा ठूलो चुनौतीका रूपमा रहेको छ । कारण, जेन–जी पुस्ताले सडक प्रदर्शन गर्‍यो, जीवनको आहुति दियो । त्यो आहुतिको बलमा राजनीतिक सत्ता उल्टियो । तर, के यो पुस्ताको असन्तुष्टि सम्बोधन भयो त ? खासमा जेन–जी पुस्ता भनेको कुनै एक संगठन होइन, यो एउटा उमेर समूह हो ।

एउटा सिंगो पुस्ताको नेता दाबी गर्दै जे–जस्ता अनुहार चर्चामा छन्, के तिनले सम्पूर्ण रूपमा यो पुस्ताको प्रतिनिधित्व गर्छन् ? जेन–जी पुस्ता भनेर चिनिएका सीमित अनुहारहरूमा न मुद्दामा प्रस्टता छ न त यसको नेतृत्व नै छ । कतिपयका आवेगपूर्ण बोली र व्यवहार सन्दिग्ध पनि छ । 

यसबीच थरीथरी अनुहारले आफूलाई जेन–जी पुस्ताको असली प्रतिनिधि दाबी गरिरहेका छन् । तीमध्ये कोही भन्छन्, आगामी चुनाव कार्यकारी प्रमुखको हुनुपर्छ । अर्को थरी दाबी गर्छन्, होइन, जनमत संग्रहमै जाऊ । अनि, तेस्रो थरी धम्की दिन्छन्, ‘सुशीला कार्कीलाई जसरी कुर्सीमा राखियो, त्यसैगरी तानेर सडकमा ल्याइदिन्छु ।’ 

मुलुकमा जेन–जी पुस्ता भनेर महिमा मण्डन गर्ने प्रवृत्ति विकास भएको छ । तर, यथार्थमा यो पुस्ताको भनेर चिनिएका अनुहारहरूमा आवेग, आक्रोश अनि अपरिपक्वता ज्यादा छ । यही आलाकाँचा प्रवृत्तिका बीचबाट घुसपैठ हुने अनि अस्थिरता सिर्जना हुने जोखिम फेरि पनि छ । त्यसकारण जेन–जीहरूकै प्रस्तावमा बनेको यो सरकारसामु फेरि घुसपैठ नहोस् भनेर सचेत रहने, आफ्ना सीमित कार्यसूची बताउने र यसका अभियन्ताहरूलाई आधारभूत राजनीतिक/संवैधानिक मान्यताबारे सिकाउने अभिभारा र चुनौती दुवै छ । 

पाँचौं, सरकारसामु अर्को मुख्य चुनौतीका रूपमा रहनेछन्, पुराना राजनीतिक दलहरू । त्यसो त राजनीतिक दलहरू आफैं पनि चुनौतीपूर्ण अवस्थामै छन् । दलहरूभित्र पुनर्गठन र पुस्तान्तरणको मुद्दा अझ बलियो गरी उठेको छ । प्रारम्भिक संकेत हेर्दा यी दलहरू यत्रो दुर्घटनापछि पनि सुध्रने छाँटमा देखिँदैनन् ।

यी नसुध्रनुको अर्थ हो, अन्तरिम सरकारका लागि अझ बढी चुनौती थपिनु । कारण, एकातिर यी दलहरू घरेलु अन्तरविरोधमा हुनेछन् र तिनले मुखमा निर्वाचनको नारा दिए पनि भित्रभित्रै त्यसका लागि तयार नहुन सक्छन् । दलहरू निर्वाचनमा सहभागी नहुने अवस्था आएमा यसको वैधतामा प्रश्न उठ्नेछ । 

यति बेला दलहरूभित्र पार्टी पुनर्गठनभन्दा पनि संसद् पुनःस्थापनाको मुद्दा अघि सार्ने सोच हाबी हुँदै गएको देखिन्छ । अर्को कुरा, संसद् विघटनको विरोध गरिरहेका दलहरू न्यायिक/संवैधानिक परीक्षणमा पनि जान सक्छन् । अन्तरिम सरकारका लागि यो अर्को चुनौती बन्न सक्नेछ । यद्यपि, दलहरूले बुझ्नुपर्छ, तिनका लागि संसद् पुनःस्थापनाभन्दा पहिले जनविश्वासको पुनःस्थापना मुख्य कुरा हो । 

मुलुकसामु आइपरेको संवैधानिक/राजनीतिक संकट तत्कालका लागि टरेको हो, हटेको होइन । तसर्थ, नेपाली राजनीतिको आगामी गन्तव्य अहिले नै किटान गर्न सकिने अवस्था छैन । मूलतः तीन वटा बाटो छ, हाम्रोसामु । 

पहिलो, सुझबुझ र विवेकसहित राजनीतिक पुनःसंरचनाको युगमा प्रवेश गर्ने । जहाँ सत्ता सञ्चालनमा युवा पुस्ताको निर्णायक भूमिका होस् । जहाँ पारदर्शिता, सुशासन र नेतृत्व हस्तान्तरण विधि र नीतिसम्मत होस् । 

यसो गर्न नसक्दा हाम्रो अवस्था ‘बिजिनेस एज युजल’ अर्थात् जस्तो थियो, त्यस्तै हुनेछ । यो दोस्रो बाटोमा बढ्दा पुराना पार्टीहरू यथास्थितिवादमै रमाउने छन्, वैकल्पिक राजनीतिक शक्तिको नारा सारे पनि त्यो निर्णायक हुने छैन । सत्ता गठबन्धन, मिलीजुली भागबन्डा, जनतामा निराशा अनि दिक्दारी रहिरहनेछ । 

यो अवस्था लामो जाँदाको परिदृश्य भयावह हुनेछ । अर्थात् हाम्रोसामु तेस्रो बाटो हुनेछ, अव्यवस्था र अविश्वास । जहाँ द्वन्द्व, अस्थिरता, राजनीतिक प्रणालीप्रति गहिरो अविश्वास हुँदै फेरि पनि संवैधानिक संकट र राजनीतिक संकटको बाटोमा मुलुक हिँड्नेछ । 

ठूलो संकटपछि यति बेला मुलुकको अवस्था सम्हालिएको छ । यद्यपि, जोखिम टरिसकेको छैन । यो जोखिमबाट बाहिरिनका लागि राष्ट्रपति पौडलले भनेझैं जुक्तिबाट बचेको तर अधमरो संविधानलाई जोगाउनतिर लाग्नुपर्छ । त्यसका लागि एक मात्र विकल्प जसरी पनि निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्नु हो । त्यसकारण अन्तरिम सरकार चनाखो हुनुपर्छ भने राजनीतिक दललगायत सबै फक्षको साथ–सहयोग आवश्यक हुन्छ । 

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully