नेपाली जनताको बढ्दो गरिबी र बेरोजगारीले ध्वस्त पार्दै लगेको आर्थिक र सामाजिक संरचनामा विभिन्न ‘कल्याणकारी’ सेवाको नाममा घुसपैठ गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाको निर्देशनमा चल्ने तìवहरूको संलग्नता शंकास्पद रहादै आएको छ।
जेन–जी (जेन–जेड) पुस्ताको नाममा भएको आन्दोलन नेपालमा अहिलेसम्म भएका आन्दोलनमध्ये सबभन्दा विनाशक सावित भयो । सिंहदरबार, शीतल निवास र सर्वोच्च अदालत जस्ता ऐतिहासिक महत्त्वका भवनहरू आन्दोलनको तारो बने । राजनीतिको नेतृत्व तहमा बसेका व्यक्तित्वहरूको हुर्मत लिने काम भयो ।
आन्दोलन सुरक्षा नियन्त्रणको घेराबाट बाहिरियो । देशका प्रायः सबै सहर बजारमा फैलिएको यो आन्दोलनको तापले जनजीवन अस्तव्यस्त र आतंकित भयो । जेन–जी आन्दोलनको आवरणमा लुकेका विभिन्न समूह लोकतान्त्रिक व्यवस्थालाई पंगु बनाउन उद्यत भए । जनतासँग बाझेर, जिस्केर, हाँसेर, रिसाएर नेपाली नागरिकको सुरक्षा व्यवस्थामा निरन्तर जुट्ने प्रहरी जवानहरू निरीह भावले विनाशका ती घटनालाई टुलुटुलु हेर्न बाध्य भए । उनीहरूसँग रहेका आन्दोलनको प्रतिकार गर्ने हतियार चुस्त थिएनन् ।
आन्दोलनका नाममा राष्ट्रका धरोहर मानिने ऐतिहासिक भवनसँगै त्यहाँ रहेका देशका महत्त्वपूर्ण कागजपत्रहरू जलिरहे । रहस्यमय ढंगले गोली चलिरहे । जनताका छोरा–छोरी मरिरहे । गोली कसले चलाएको थियो ? प्रहरीसँग त्यति घातक हतियार नै थिएन । राष्ट्रिय सुरक्षाका लागि लड्ने हाम्रो ‘गौरवशाली’ सेनाका जवानलाई ‘हेडक्वार्टर’ को आन्दोलनमा हस्तक्षेप गर्ने आदेश नै थिएन । सैनिक जवानहरू घटनास्थलमा तमासेका रूपमा मात्र देखिएका थिए ।
अनि, विध्वंसले सबै सम्पदा खरानी पारिसकेपछि, नेपाली सेनाका प्रमुख ‘देशलाई संकटबाट बचाउन’ राष्ट्रपतिको राजीनामा माग्न ध्वस्त भइसकेको शीतल निवास पुगे । नेपाली सेनाका परमाधिपतिका रूपमा रहेका राष्ट्रपतिसँग राजीनामा माग्ने हैसियत हुँदैन सेनापतिको । तर, चरम संकटको त्यो अवस्थामा सेनापतिको दबाबमा राष्ट्रपति राजीनामा दिन तयार हुने सोच नै गलत थियो । लोकतान्त्रिक आन्दोलनको रापतापले खारिएका, नेपाली राजनीतिका नैतिक र निष्ठावान् व्यक्तित्व राष्ट्रपतिले सेनाले ‘सम्मानपूर्वक’ दिएको आदेश मान्ने कुरै थिएन । त्यसपछि जे भयो, त्यो त खुला किताब जस्तै छ ।
समस्याको तत्काल समाधानका लागि प्रधानमन्त्रीका रूपमा मानव अधिकारकर्मी तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमत हुनुभयो, राष्ट्रपति । उहाँ प्रतिनिधिसभा विघटनको पक्षमा हुनुहुन्थेन । तर, सुशीला कार्की र सेना प्रमुखको ढिपीमा २०८२ फागुन २१ गते प्रतिनिधिसभाको ताजा चुनाव गराउने दायित्वका साथ कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् । संकटको पहिलो चरण सकियो । संकट समाधानका लागि दोस्रो चरण सुरु भएकै छैन ।
यो तथ्य त अब स्पष्ट भइसकेको छः केही घण्टामा नै जेन–जीको आन्दोलन अराजक तत्त्वहरूले खोसेका थिए । जेन–जी आन्दोलनलाई हत्याउनेमा भ्रष्ट नेताहरू, चिनिएका ठगहरू, दलाल व्यवसायीहरू र आफूलाई समाज सुधारकका रूपमा प्रस्तुत गर्ने पाखण्डी नेताहरू, राजावादीहरू र अराजक समूह बनाएर उद्योगी, व्यवसायी, बैंक र अन्य आर्थिक प्रतिष्ठानलाई लुट्ने तत्त्व थिए । कार्की नेतृत्वको सरकारले बिनापूर्वाग्रह आन्दोलनमा भएका घटनाहरूको गम्भीर र निष्पक्ष छानबिन गराउने हो भने धेरै गम्भीर षड्यन्त्रहरूको पर्दाफास हुनेछ । ६ महिनामा संसद्को चुनाव गराउने सर्तका साथ प्रधानमन्त्री बनेकी सुशीला कार्कीले नेपालको राजनीतिक परिदृश्यमा फैलिँदै गएको अराजक तत्त्वको जालो तोड्नु त कठिन छ । तर, त्यसलाई उजागर गर्न कठिन छैन ।
सन् १९९७ देखि २०१२ का बीच जन्मिएको युवा जमात जेन–जीका नामले चिनिन्छ । प्रविधिको विकास सँगसँगै हुर्किएको यो पुस्ताको अधिकांश समय इन्टरनेटमा खुला तवरमा नदेखिने वास्तविक घटनाहरू केलाउनमा नै बित्दछ । यो पुस्ताको मुख्य चासो ‘ग्लोबल वार्मिङ’, जलवायु परिवर्तन, युद्धका प्रभाव र दुष्प्रभावहरू, मानवअधिकार, ‘आइडेन्टिटी’ को संकट जस्ता कुरामा रहेको हुन्छ । यी विषय स्थानीय र राष्ट्रिय महत्त्वका मात्र नभएर अन्तर्राष्ट्रिय महत्त्व र चासोका विषयका रूपमा स्थापित भइसकेका छन् । आजको दुनियाँमा एकातिर प्रविधिले सूचनामा मानिसको पहुँच सहज बनाएको छ भने अर्कोतिर प्रतिस्पर्धा पनि उत्तिकै बढाएको छ । जेन–जी पुस्ताले अहिले यही समस्याको सामना गरिरहेको छ ।
तर हाम्रो देशमा भएको विध्वंसक आन्दोलनको ‘जेन–जी’ भावनासँग तात्त्विक सम्बन्ध रहेको देखिँदैन । खास गरेर, हाम्रो संघीय राजधानी सहरका तन्नेरी पुस्ताहरू यो वा त्यो काम भनेर हेर्दैनन् । स्नातक तह उत्तीर्ण एउटा तन्नेरी देशमा रोजगारी नपाएपछि विदेश जाने क्रममा काठमाडौं आउँछ । भिसा नआउन्जेल ठीकठीकैको कुनै क्याफे वा रेस्टुराँमा पूरै दस घण्टा काम गर्दछ । भिसा कहिले आउँछ ? त्यसको ठेगान हुँदैन । खेल–तमासा र मनोरञ्जनमा रमाए पनि नेपालका जेन–जीहरू आफ्ना आमाबाबु र परिवारप्रति संवेदनशील रहन्छ ।
यस्तो स्वभावका नेपालका जेन–जी पुस्ताको नाममा विध्वंसक आन्दोलनको रोटी सेक्ने काम कसले गर्यो ? अहिलेको परिवेशमा सबभन्दा बढी केलाउनुपर्ने यो निकै महत्त्वपूर्ण र संवेदनशील पक्ष हो । विभिन्न पार्टीका नेतृत्व गर्ने नेताहरूको अतिशय ठस्सा, अहंकारी स्वभाव, जनतासँग गर्ने कपटपूर्ण व्यवहार र द्रव्यलोलुप चरित्र मात्रै यो विध्वंसक आन्दोलनको कारक हुन सक्दैन । जनआक्रोश बढाउन सत्तासीन व्यक्तिहरूको अराजनीतिक र असंवेदनशील चरित्रले पक्कै मद्दत गरेको छ ।
तर, आन्दोलनलाई विध्वंसक बनाउन यहाँका टाठाबाठा परजीवी समूहको स्वार्थले सबभन्दा बढी काम गरेको छ । नेपाली जनताको बढ्दो गरिबी र बेरोजगारीले ध्वस्त पार्दै लगेको आर्थिक र सामाजिक संरचनामा विभिन्न ‘कल्याणकारी’ सेवाको नाममा घुसपैठ गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाको निर्देशनमा चल्ने तत्त्वहरूको संलग्नता शंकास्पद रहँदै आएको छ । ती संस्थाका ‘प्रतिनिधि’ सरकारका विभिन्न अंगमा सक्रिय रहेका छन् । ती भलाद्मीहरूको प्रभावमा राजनीतिक दलका धेरै नेताहरू परेका छन् । राजनीतिक दलका नेताहरूले यो संवेदनशील विषयमा ध्यान दिन सकेका छैनन् । यो दुर्भाग्यपूर्ण अवस्था हो ।
राजनीतिक दलका शीर्ष नेतृत्वमा रहेका व्यक्तित्वहरू देशका समस्याप्रति गम्भीर देखिँदैनन् । दोस्रो दिनको विध्वंसात्मक प्रदर्शनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरामी अवस्थामा अस्पतालमा छन् भने एमालेका अध्यक्ष किंकर्तव्यविमूढ अवस्थामा छन् । देउवाका उत्तराधिकारीहरू समस्या केलाउनभन्दा बढाउन उद्यत देखिएका छन् । एमालेका नेताहरूको मनस्थिति पनि स्थिर देखिएको छैन । अर्कोतिर, माओवादीका अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्रका प्रणेतामध्येका एक पुष्पकमल दाहाल प्रचण्ड त्यो विध्वंसात्मक आन्दोलनको जस लिन तन्मयतापूर्वक लागेका देखिन्छन् ।
टिकटक र अन्य सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको उनको सन्देशमा प्रचण्डले आफ्नो नेतृत्वको माओवादी पार्टीको युवा संगठन ‘योङ कम्युनिस्ट लिग’ लाई सक्रिय गराएको बताएका छन् । मानिसको भीड देख्नेबित्तिकै उत्तेजित हुने स्वभावका प्रचण्डको यो बयान भाइरल बनेको छ । यो बयान ‘आर्टिफिसियल इन्टिलिजेन्स’ को कमाल नभएर साँचो हो भने, देशका साना–ठूला सबै दलका नेताहरू सजग रहनुपर्छ ।
देश कोलाहलमय अवस्थामा रहेको ‘संकटकालीन’ समयमा प्रधानमन्त्रीको दायित्व लिएकी सुशीला कार्की यतिखेर महत्त्वपूर्ण विषयहरूमा भन्दा सानातिना कुरामा अल्झिएको आभास हुन्छ । देशमा विद्यमान आर्थिक, राजनीतिक र सामाजिक परिस्थितिमा उनका लागि एउटै चुनौती चुनाव हो । प्रधानमन्त्री कार्कीले राखेको संसद् विघटनको प्रस्ताव र त्यसमा राष्ट्रपतिको सहमतिलाई कांग्रेसले स्वीकार गरेको छैन । यसबारे अर्को ठूलो पार्टी एमालेको आधिकारिक भनाइ नआए पनि संसद् विघटन गर्ने निर्णयलाई स्वीकार नगर्ने नै देखिन्छ ।
चुनावबारे मधेशी दलहरूको धारणा स्पष्ट रूपले बाहिर आएको छैन । मधेश नेपालका लागि अत्यन्त संवेदनशील भूभाग हो । मधेशका धारणाहरू स्पष्ट नबुझेसम्म फागुन २१ गतेका लागि घोषित संसदीय चुनाव द्विविधामा नै रहन्छ । प्रधानमन्त्री कार्कीले मधेशका राजनीतिक दलका नेताहरूसँग विचार विमर्श गर्न ढिलो गर्नु हुँदैन ।
प्रधानमन्त्री कार्कीबाट नेपाली जनताले चाहेको एक मात्र कुरा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिलाई लिकमा ल्याउनु हो । संकटको यो समयमा देशको सर्वोच्च कार्यकारी पदमा पुगेकी कार्कीबाट योभन्दा बढी आशा राख्ने अवस्था अहिले छैन । अहिलेको परिस्थितिमा सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउने कुराभन्दा पनि जबर्जस्ती लिकबाट ओरालिएको राजनीतिक व्यवस्थालाई गतिशील बनाउनु यो सरकारको दायित्व हो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई नेपालको अभिशप्त राजनीतिक इतिहासको सम्झना गराइराख्नु पर्दैन । स्वयं लोकतान्त्रिक आन्दोलनसँग जोडिएको व्यक्तित्व भएकाले प्रधानमन्त्री कार्की आफ्नो देश र सहयात्री जनताप्रति संवेदनशील छिन् ।
आर्थिक रूपले जराजीर्ण अवस्थामा रहेको देशको एक मात्र भरपर्दो आयस्रोत बनेको वैदेशिक रोजगारी राष्ट्रिय आम्दानीको एक मात्र स्रोत रहेको स्थितिमा चुनाव गराउनु सहज पक्कै हुँदैन । प्रधानमन्त्रीका सहयोगी मन्त्रीहरूलाई यो सत्यको राम्रो ज्ञान होला । यसअघिको चुनावमा आठ अर्बभन्दा बढी खर्च भएको थियो भने यो चुनावमा लगभग बाह्र अर्ब खर्च हुने अनुमान गर्न थालेका छन्, अर्थशास्त्रीहरू । तर, आक्रामक आन्दोलनको परिणामका रूपमा हुन थालेको यो चुनावको सफलताले नै देशको भविष्य सुनिश्चित गर्नेछ ।
यो पटक प्रधानमन्त्री कार्कीका ‘सहयोगी’ मन्त्रीहरूले उनलाई कति सकारात्मक हिसावले सघाउनेछन् ? यो अहिले नै भन्न सकिँदैन । राजनीतिक संस्कार र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको यो देशमा त्यसको पुनःस्थापना गर्ने काम निकै कठिन हुन्छ ।
