स्विट्जरल्यान्डको संघीयताबाट सिक्नुपर्ने पाठ

स्विट्जरल्यान्डमा संविधानमा नलेखिएको काम (अवशिष्ट अधिकार) प्रदेशको हुन्छ, जनतासँग नजिक भएका कारण स्विस नागरिकहरूले संघीय सरकारभन्दा प्रदेश सरकारलाई नै बढी मन पराउँछन्।

आश्विन ५, २०८२

खिमलाल देवकोटा

Lessons to be learned from Swiss federalism

संविधान जारी भएको १० वर्ष पुग्यो । तर, यसको विधिवत् कार्यान्वयन २०७४ को निर्वाचनबाट भएको हो । निर्वाचनले संघ, प्रदेश र स्थानीय तह अस्तित्वमा आए । सिंहदरबारमा मात्र केन्द्रित राज्यका अधिकारहरूको प्रयोग दूरदराजबाट पनि हुन थाल्यो । सानोतिनो कामका लागि केन्द्रमा धाउनुपर्ने परिस्थितिको अन्त्य भयो । आधाभन्दा बढी कर्मचारीहरू प्रदेश र स्थानीय तहमा गए ।

 ठूलो वित्तीय स्रोत र साधन तल गयो । महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगतालगायत पछाडि परेका/पारिएका वर्ग र समुदाय राज्यको मूलप्रवाहमा आए । मुस्किलले १५/२० लाख बजेट बनाउने पालिकाहरू औसतमा ८० करोडसम्म बजेट परिचालन गर्न सक्ने स्थितिमा पुगे ।

२० वर्षसम्म चुनाव हुन नसकेको स्थानीय सरकारमा लोकतन्त्रको रक्तसञ्चार सुरु भयो । माओवादी आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनलगायतका कारण विस्थापितहरू थातथलो फर्कन थाले । द्वन्द्व, अन्योलतालगायतबाट थलित नेपालीहरूमा शान्तिको पुनर्बहालीका कारण खुसी छायो । यी उपलब्धिलाई नजरअन्दाज गर्न सकिँदैन । यसको पछाडिको मूल कारण नै २०७२ को संविधान हो ।

संघीयता, समानुपातिक समावेशिता, गणतन्त्र, विधिको शासन संविधानका आधारभूत स्तम्भ हुन् । यिनको सबलीकरण गर्दै संविधानको स्थायित्वमा लाग्नु नै अहिलेको प्रमुख आवश्यकता हो । संविधानको मूलभूत उद्देश्य स्थायी शान्ति, विकास, समृद्धि र सुशासन हो । तर, नागरिकको अपेक्षा र संविधानको भावनाअनुसार काम हुन नसक्दा नागरिकमा वितृष्णा थियो/छ ।

दलहरूको सत्तामोहका कारण सरकार परिवर्तन भइरहने, विभिन्न भ्रष्टाचारका काण्डहरूमा राजनीतिक दलका नेताहरू जोडिनुलगायतका कारण युवाहरूमा आक्रोश थियो/छ । त्यही आक्रोशको प्रतिबिम्ब नै जेन–जी आन्दोलन हो । जेन–जी आन्दोलनको प्रमुख माग नै सरकारको स्थायित्व र सुशासन अभिवृद्धि हो । 

नेताहरूले नेपाललाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउँछौं भनेर पटक–पटक सत्तामा पुगे । तर, तत्परता देखाएनन् । स्विट्जरल्यान्डको जनसंख्या ९० लाख र भौगोलिक क्षेत्रफल जम्मा ४१ हजार वर्गकिमि छ । यो नेपालको जनसंख्या र भूगोल दुवैको तुलनामा ३.६ गुणाले कमी हो । भूगोलमा नेपालको कर्णाली प्रदेशभन्दा अलिकति ठूलो छ ।

अर्थशास्त्रको सिद्धान्तअनुसार, ठूलो भूगोल र धेरै जनसंख्या हुने देशको जीडीपी थोरै जनसंख्या र सानो भूगोल हुने देशभन्दा धेरै हुन्छ । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषको आउटलुक डेटाबेस २०२५ अनुसार, नेपालको जीडीपीभन्दा स्विट्जरल्यान्डको जीडीपी २१ गुणाले धेरै छ । नेपालको जीडीपी ४८ अर्ब अमेरिकी डलर छ भने स्विट्जरल्यान्डको एक हजार अर्ब अमेरिकी डलर छ । प्रतिव्यक्ति आम्दानीको कुरा गर्ने हो भने नेपालको भन्दा ७५ गुणाले बढी स्विट्जरल्यान्डको छ ।

नेपालको १४८६ अमेरिकी डलर छ भने स्विट्जरल्यान्डको १ लाख ११ हजार ७१६ डलर छ । सामाजिक, आर्थिक, पूर्वाधार, मानव विकास, सुशासनलगायतका हरेक क्षेत्रमा स्विट्जरल्यान्डको लोभलाग्दो प्रगति छ । भ्रष्टाचारमा शून्य सहनशीलता छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार भ्रष्टाचार कम हुने पाँचवटा मुलुकहरूमा स्विट्जरल्यान्ड पनि पर्दछ । जबकि नेपाल सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको श्रेणीमा पर्दछ । जनसंख्या र भूगोलमा सानो देशले जीडीपीलगायतमा गरेको फड्कोका बारेमा हाम्रा नेताहरूले कहिल्यै विचारविर्मश गरेनन् । आफूलाई बदलेनन् । 

भूगोलमा कर्णाली प्रदेशभन्दा अलिकति मात्र ठूलो स्विट्जरल्यान्डमा २६ वटा प्रदेश ( क्यान्टोन) छन् । यसै सन्दर्भमा स्विट्जरल्यान्डको संघीयताका विविध पक्षमा स्थलगत अनुभवका लागि भदौ महिनाको दोस्रो साता मसहित तीनै तहको राज्यसंरचनामा काम गर्ने केही पदाधिकारीहरूलगायत साथीहरू स्विट्जरल्यान्डको भ्रमणमा थियौं । आलेख स्विट्जरल्यान्डको संघीयताको केही आयामका बारेमा छ । जेन–जी आन्दोलका कारण शासकीय सुधारलगायतका विषयमा बहस भइरहेकाले स्विट्जरल्यान्डको सफलताको चर्चा गर्नु सान्दर्भिक हुन सक्छ । 

सन् १८४८ सेप्टेम्बर १२ मा स्विट्जरल्यान्डको संविधान जारी भएको हो । संविधान जारीसँगै संघीयता सुरु भएको हो । स्विट्जरल्यान्डको संविधान र संघीयता १७७ वर्षदेखि जीवित छ । उनीहरूले संविधानलाई नागरिकहरूको भावनाअनुसार परिष्कृत गर्दै लगे । संविधान जारी गर्दा दुई तहको राज्यसंरचना बनाए । स्थानीय सरकारलाई प्रदेशको मातहतमा राखे । प्रदेशको मातहतमा भए तापनि स्विट्जरल्यान्डका स्थानीय सरकार पूर्ण स्वायत्त छन् ।

संघीय सरकार र प्रदेशले उनीहरूको स्वायत्ततामा हस्तक्षेप गर्दैनन् । सन्निकटताको सिद्धान्तको प्रयोग पूर्ण रूपमा छ । प्रदेशको मातहतमा भए तापनि स्थानीय पूर्वाधार विकास र सेवा प्रवाहका सबै कामहरू स्थानीय सरकारले नै गर्छन् । नेपालमा स्थानीय सरकारको अधिकार संविधानमा छ । तर, संघीय सरकारले स्थानीय सरकारका हरेक कामहरूमा हस्तक्षेप गर्ने गरेको छ । काम गर्ने कर्मचारी चाहियो भन्दै सिंहदरबारको चाकरीमा धाउनुपर्दछ । 

स्विट्जरल्यान्डमा नेपालकै जस्तो दुई सदनात्मक संसद् छ । प्रतिनिधिसभा (नेसनलन काउन्सिल) र राष्ट्रिय सभा (काउन्सिल अफ स्टेट) । दुवै संसद्को अधिकार बराबरी छ (धारा १४८) । राष्ट्रिय सभामा प्रदेश कानुनअनुसार निर्वाचित भएर आउँछन् ।

प्रदेशका सवालहरू राख्छन् । सांसदहरूलाई तलबसुविधा दिने व्यवस्था स्विट्जरल्यान्डमा छैन । बैठक भएको समयमा मात्र खास सुविधा पाउँछन् । राजनीतिलाई उनीहरूले पार्टटाइम जस्तो बनाएका छन् । संसद्को बैठकको समयमा जान्छन् । आफ्नो कुरा राख्छन् । अन्य समय आफ्नै पेसा व्यवसायमा रमाउँछन् । नेपालमा पनि सांसदहरूलाई यस्तै भूमिकामा राख्ने हो भने सांसदको गरिमा बढ्छ । 

कानुनहरूको तर्जुमाको अतिरिक्त, स्विस संसद्ले राष्ट्रपति र मन्त्रीहरूको नियुक्ति, न्यायाधीशहरूको नियुक्ति, मुख्यसचिवको नियुक्ति, सेनाप्रमुखको नियुक्ति (युद्धको समयमा) आदि कामहरू गर्छ । सरकार र अदालतले गरेका कामहरूको अनुगमन गर्ने अधिकार संसद्को छ (धारा १६९) ।

अदालतका गतिविधिहरूको पनि अनुगमन गर्ने अधिकार शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत भएन र ? भनेर सोधिएको प्रश्नमा संवैधानिक कानुनका ज्ञाता तथा फ्रिवुर्ग विश्वविद्यालयका कानुनका प्राध्यापक बर्नहाड बाल्डमानले जवाफ दिए– हामीकहाँ अदालतभन्दा माथि संसद् र संसद्भन्दा माथि नागरिक छन् । संसद्, सरकार, अदालत आदि सबै जनताको प्रत्यक्ष लोकतन्त्र (डाइरेक्ट डेमोक्रेसी) मा आधारित छन् । आफ्नो सीमाभन्दा बाहिर जाने साहस कसैले पनि नगर्ने उनको भनाइ थियो ।

स्विस संघीयताबाट सिक्नुपर्ने विषयहरू धेरै छन् । त्यहाँ मन्त्रीहरूको संख्या राष्ट्रपतिसहित जम्मा ७ जना हुने व्यवस्था संविधानमा छ (धारा १७५) । उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ । उनीहरूको नियुक्ति दुवै सदनले गर्छ । गैरसांसद मात्र राष्ट्रपति र मन्त्री हुन पाउने व्यवस्था छ । राष्ट्रपतिको कार्यकाल एक वर्षको हुन्छ । एक वर्षपछि ऊ मन्त्री बन्छ । आफ्नै मन्त्री राष्ट्रपति हुन्छ । हामीकहाँ ‘म उपप्रधानमन्त्री भइसकेको, अब किन मन्त्री बन्ने ?’ भनेर दम्भ राख्छन् ।

एक पटक राष्ट्रपति भएपछि दोहोरिन नपाउने व्यवस्था स्विट्जरल्यान्डमा छ । नेपालमा यो बहसको विषय छ । गैरसांसद मात्र मन्त्री हुने र कार्यकारी प्रमुखको कार्यकाल स्विट्जरल्यान्डको जस्तो एक वर्षभन्दा पनि एक कार्यकाल (५ वर्ष) बनाउँदा वेश होला । राष्ट्रपतिको जस्तै दुई कार्यकाल बनाए पनि हुन्छ । तर, अहिलेको समस्या जति पटक प्रधानमन्त्री हुन पाउने व्यवस्थामा पनि छ ।

स्विट्जरल्यान्डमा राष्ट्रपति र मन्त्री भएकाहरूको समाजमा घुलमिल सहज छ । आ–आफ्नो पेसा व्यवसाय गरेर उनीहरू बस्छन् । सार्वजनिक यातायात प्रयोग गर्छन् । हामीकहाँ राष्ट्रपति, प्रधानमन्त्री भइसकेकालाई पालिरहनुपर्ने व्यवस्था छ । खास समयसम्म न्यूनतम सुविधा दिएर राख्ने, त्यसपछि सुविधा हटाउनेतर्फ लाग्नुपर्दछ । 

सरकारले कुनै विषयमा कानुन बनाउनुपरेमा वा कुनै नयाँ परियोजनाहरू ल्याउनुपरेमा क्यान्टोन (प्रदेश) र सरोकारवालाहरूसँग परामर्श गर्छ । क्यान्टोनका अधिकारहरू संस्थागत गर्न क्यान्टोन–क्यान्टोन मिलेर संगठन बनाउन पाउने अधिकार संविधानले दिएको छ । क्यान्टोनहरू ‘कन्फरेन्स अफ क्यान्टोनल गभर्मेन्ट्स’ का रूपमा संगठित छन् । यसमा संघीय सरकार र संघीय संसद्मा उठाउनुपर्ने तथा क्यान्टोन–क्यान्टोनका बीच सहकार्य गर्नेलगायत विषयमा छलफल हुन्छ । 

नेपालमा संघीय सरकार मात्र होइन, राजनीतिक दललगायतले प्रदेशका अधिकारहरू संकुचित गर्ने गरेका छन् । एकल अधिकारमा भएर पनि अहिलेसम्म प्रदेशलाई प्रहरीको अधिकार प्रयोग गर्न दिइएका छैनन् । यदि प्रदेशको प्रहरी संरचनाले स्वरूप लिइसकेको हुन्थ्यो भने जेन–जी आन्दोलनका बेलामा सायद प्रदेशका संरचनाहरू त्यति धेरै क्षति हुँदैनथ्यो होला ।

प्रदेशका प्रहरीहरूले आफ्ना केही संरचनाहरू जोगाउँथे/बचाउँथे । स्विट्जरल्यान्डको प्रदेशलाई प्रहरी मात्र हैन, अदालतको अधिकार पनि छ । संविधानमा संघ र प्रदेशले के काम गर्ने, संघ र प्रदेशको वित्तीय स्रोत के हुने भन्ने कुरा स्पष्टसँग लेखिएको छ । संविधानमा नलेखिएको काम (अवशिष्ट अधिकार) प्रदेशको हुन्छ । जनतासँग नजिक भएका कारण स्विस नागरिकहरूले संघीय सरकारभन्दा प्रदेश सरकारलाई नै बढी मन पराउँछन् । 

धनी प्रदेशले कमजोर प्रदेशलाई राजस्व बाँडफाँट गर्ने प्रलचन पनि उल्लेखनीय छ । समानीकरण अनुदान बाँडफाँटका लागि एक कोष रहने व्यवस्था छ । यस कोषमा संघीय सरकारको दुई तिहाइ हुन्छ भने धनी प्रदेशको एक तिहाइ । जस्तो, सन् २०२५ मा यस कोषमा स्विस रकम ६.२ अर्ब रकम जम्मा गरी यसको २ अर्ब आठ वटा प्रदेशले सहयोग गरेको त्यहाँको अर्थ मन्त्रालयद्वारा प्रकाशित विवरणमा छ । यस्तो विधि कतिपय नगरपालिकाहरूमा पनि छ ।

धनी नगरपालिकाहरूले कमजोर नगरपालिकाहरूलाई वित्तीय सहयोग गर्छन् । नेपालमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान वितरण गर्छ । यसैगरी मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट संकलित रकम राजस्व बाँडफाँटका रूपमा प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्छ । स्विट्जरल्यान्डको जस्तै धनी प्रदेशले कमजोर प्रदेश र धनी पालिकाले गरिब पालिकालाई वित्तीय सहयोग गरेजस्तै नेपालमा पनि यस्तै विधि बसाल्नुपर्छ ।

संविधानतः नेपालको प्रदेशको वित्तीय आधार कमजोर छ । तर पनि बागमती प्रदेशले टोकनका रूपमा भए पनि कर्णाली वा सुदूरपश्चिम प्रदेशलाई केही सहयोग गर्न सक्छ । यसैगरी काठमाडौं महानगरपालिकालगायतका धनी पालिकाहरूले दूरदराजका कमजोर पालिकाहरूलाई सहयोग गर्ने परिपाटी बसाल्नुपर्दछ । तर, यसका लागि कानुनी आधार बनाउन भने आवश्यक छ । 

स्विट्जरल्यान्डलाई विश्वकै सबैभन्दा सफल लोकतान्त्रिक राष्ट्रहरूमध्ये एक मानिन्छ । यसको मुख्य आधार भनेको प्रत्यक्ष लोकतन्त्र (डाइरेक्ट डेमोक्रेसी) हो । त्यहाँका नागरिक केवल चार वर्षमा एक पटक मतदान गर्ने मतदाता मात्र होइनन्, कानुन र संविधानका सहनिर्माता (कोलेजिस्लेचर) पनि हुन् । स्विस संविधानको धारा १३८ देखि १४२ ले नागरिकलाई यस्तो अधिकार दिएको छ ।

जुन विश्वको कुनै पनि मुलुकमा छैन । संसदीय अभ्यासमा संसद्को मूल काम कानुन बनाउने हो । संविधान संशोधन वा पुनर्लेखन गर्ने पनि हो । तर, संसद्ले गरेको काम चित्त नबुझेमा नागरिकले सिधै हस्तक्षेप गरेर सुधार गर्ने अधिकार संविधानमा छ । संसद्ले बनाएका दर्जनौं कानुनहरू नागरिकले उल्ट्याइदिएका छन् । सुधार गरेका छन् । 

संसद्भन्दा पनि माथि नागरिक छन् । संसद्ले कुनै पनि कानुन बनाउँदा नागरिकहरूसँग पर्याप्त छलफल गर्छ । एक लाख नागरिकले हस्ताक्षर गरेर संविधान संशोधनको प्रस्ताव गर्न सक्छन् । कुनै कानुन वा सन्धिको सम्बन्धमा ५० हजार नागरिक वा ८ वटा प्रदेशले माग गर्न सक्ने व्यवस्था संविधानमा छ । यी विषयलार्ई जनमतसंग्रहमा लग्नुपर्दछ ।

जनमतसंग्रह स्विट्जरल्यान्डमा सामान्य जस्तै छ । नागरिकले आफ्नो विचार हुलाकमार्फत पठाउँछन् । संविधान संशोधन गर्दा होस् वा कानुनलगायतका महत्त्वपूर्ण विषयमा निर्णय लिँदा होस्, नागरिक र प्रदेश दुवैको सहमति चाहिन्छ । यसलाई ‘डबल मेजेरेटी’ पनि भनिन्छ । यसले संघीय संरचना र नागरिकको आवाजलाई सन्तुलनमा राखेको धारणा फ्रिवुर्ग विश्वविद्यालयका कानुनका अर्का प्राध्यापक डा. इभा मारियाको छ । संसद्ले बनाएका कैयौं कानुनहरू प्रत्यक्ष लोकतन्त्रको विधिमार्फत खारेज भएको उदाहरणहरू उनले दिइन् । 

स्विट्जरल्यान्डको संविधान हालसम्म करिब २ सय पटक संशोधन भइसकेको छ । समय, समाज र जनताका मागअनुसार निरन्तर परिमार्जन हुँदै आएको छ । नेतृत्वले जनताको आवाजअनुसार काम नगरेमा नागरिकहरूले नै सही ट्र्याकमा ल्याउने धारणासमेत मारियाको छ । सन् १८४८ (१७७ वर्षअगाडि) मा जारी संविधान जनताको आवाजअनुसार २ पटक (सन् १८७४ र सन् १९९९) पूरै पुनर्लेखन गरिएको धारणासमेत उनको थियो ।

नेपालमा कांग्रेस र एमालेले गत वर्ष सरकार बनाउँदा गरेको सहमतिमा संविधान संशोधन र कानुन निर्माणलाई तीव्रता दिने उल्लेख थियो । तर, संविधान संशोधनको सवालमा एक वर्षसम्म सिन्को पनि भाँचेनन् । वास्तवमा, जेन–जीहरूको आक्रोश त्यसै भएको हैन । सरकार बनाउने समयमा संविधान संशोधन पहिलो प्राथमिकता भन्ने, तर सत्तामा गएपछि सिन्को नभाँच्नेलगायतका प्रवृत्ति नै अहिलेको मूल समस्या हो ।

२०४७ को संविधान पनि उत्कृष्ट नै थियो । तर, एक पटक पनि संशोधन नभई अन्त्य भयो । २०७२ को संविधान अहिलेसम्मका संविधानभन्दा उत्कृष्ट छ । जेनतेन राष्ट्रपतिको सुझबुझका कारण संविधान बचेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता आदि सबै ट्र्याकमा नै छ । तर पनि स्थायित्वमा शंका छ । राजनीतिक दलहरू सुध्रेनन् र जेन–जीलगायतको आवाजको कुनै सुनुवाइ भएन भने ढिलोचाँडो यो संविधानको पनि अन्त्य हुन्छ । 

सिंहदरबारको अधिकार प्रदेश र पालिकामा भए तापनि संघीय सरकारले अधिकार कार्यान्वयनमा व्यवधान सिर्जना गर्ने गरेको छ । राजनीतिक दलहरू केन्द्रीकृत भए, मन्त्रीहरूले मन्त्रालय आफ्नो बपौती ठाने, पारदर्शिता भएन, राज्यसंरचनामा जताततै दलाल र बिचौलियाहरूको बिगबिगी भयो । भ्रष्टाचार मौलायो । सीमित व्यक्तिका लागि पटक–पटक सत्ता परिवर्तन भइरह्यो ।

राजनीतिक नियुक्तिमा आसेपासेहरूले प्राथमिकता पाए । यीलगायतका कारण युवापुस्तामा निराशा बढ्दै गएको थियो/छ । जेन–जी आन्दोलन यही निराशाको विस्फोट हो । उनीहरूले केवल रोजगारी वा आर्थिक अवसरका लागि आन्दोलन गरेका होइनन् । सुशासन अभिवृद्धि, शासनमा पारदर्शिता र जवाफदेहिताको माग गरेका हुन् । सरकारको स्थायित्व खोजेका हुन् । 

संविधानप्रदत प्रदेश र स्थानीय तहको अधिकारको सहज कार्यान्वयन, योजना तथा बजेट र कानुन तर्जुमामा नागरिक र प्रदेश तथा स्थानीय तहको सहभागिता, शासन सञ्चालनमा पारदर्शिता, लोकतन्त्र र विधिमा आधारित सरकार र पार्टीहरूको सञ्चालन अहिलेको प्रमुख सवाल हो । यसैगरी नेताहरूको जीवनशैली सरल हुन पनि त्यत्तिकै जरुरी छ । यसो हुन सकेमा मात्र शासन व्यवस्थामा स्थिरता रहन्छ । नेताहरूप्रति नागरिकहरूमा विश्वास बढ्छ । 

स्विट्जरल्यान्डले नागरिक र प्रदेशका बीच समानता, सहभागिता र विश्वास कायम गरेर संघीयता र लोकतन्त्रलाई दिगो बनाएको छ । संविधान स्थिर होइन, निरन्तर सुधारमार्फत जीवन्त हुन्छ भन्ने सन्देश दिएको छ । नेपालले पनि आफ्नो संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु जरुरी छ ।

खिमलाल राष्ट्रिय सभाका पूर्वसांसद समेत रहेका खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन् । उनी संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक समेत थिए ।

Link copied successfully