दसैंका २० लाख यात्रु, अग्रिम टिकट नखुल्दा अन्योल

यसरी सडकको अवस्था चुस्त–दुरुस्त नभएकाले काठमाडौंबाट बाहिरिने सवारीसाधनले गन्तव्यमा यात्रु पुर्‍याएर फर्किने समय अनिश्चित हुन्छ । जसले गर्दा यहाँबाट पुनः यात्रु लैजाने समय पनि अनिश्चित हुन्छ । यस्तो परिस्थितिमा अग्रिम टिकट काट्ने हो भने पनि तोकिएको समयमै सवारीसाधन उपलब्ध गराउन कठिन हुने यातायात व्यवसायीको भनाइ छ ।

आश्विन ५, २०८२

सम्पादकीय

2 million passengers on Dasain, confusion due to non-opening of advance tickets

दसैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई लक्षित गरेर खुलाइने गरिएको अग्रिम टिकट बुकिङ यस पटक नखुलाइने भएपछि यात्रामा अन्योल र अप्ठ्यारो निम्तिएको छ । अग्रिम टिकट लिँदा भाडा, गाडी र यात्रा गर्ने दिन सुनिश्चित हुन्थ्यो र यात्रु ढुक्क हुन पाउँथे । त्यसो नहुँदा गाडी पाउने वा अनुकूल समयमा पाउने भर हुँदैन ।

अब, यात्रुले गाडी नपाएमा कोही प्रत्यक्ष जिम्मेवार पनि हुनु नपर्ने भयो । यो एक–दुई यात्रुसँग मात्रै जोडिएको विषय होइन, झन्डै २० लाख मानिससँग जोडिएको विषय हो । त्यसैले पनि यातायात व्यवसायीदेखि सरकारसम्मको ध्यान पुग्नुपर्छ । खासगरी यात्रुले आफ्नो अनुकूल समयमा सहज र सुरक्षित यात्रा गर्न सक्ने प्रबन्ध गरिनुपर्छ ।

हरेक वर्ष दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अधिक हुने गर्छ । अरू बेला दैनिक आठ/दस हजार यात्रु बाहिरिने गरे पनि दसैंमा हरेक दिन औसतमै एक लाखभन्दा बढी यात्रु बाहिरिन्छन् । यसरी दसैंका केही दिनमै २० लाख यात्रु बाहिरिँदा झन्डै ८० प्रतिशतले सार्वजनिक सवारीसाधन प्रयोग गर्छन् ।

हरेक दिन नै सार्वजनिक सवारीसाधनको संख्या पनि बढ्ने गर्छ । दैनिक ६/७ हजार सवारीसाधनले यात्रु ओसार्छन् । लाखौं यात्रु र हजारौं सवारीसाधन प्रत्यक्ष जोडिएकाले पनि समग्र प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ । अग्रिम टिकट बुकिङले धेरै हदसम्म व्यवस्थित गर्दै आएको थियो ।

अग्रिम टिकट नखुलाइनुमा यातायात व्यवसायीले दुई कारण दिएका छन्– मुलुकको विषम परिस्थिति र सडकको अवस्था । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि मुलुकका धेरै क्षेत्रले लय गुमाएका छन् । नयाँ सरकार आएको छ, तर त्यसले स्वयंमा गति लिइसकेको र मातहतका निकायलाई गति दिइसकेको छैन । कैयौं शिक्षण संस्था बन्द भएकाले विद्यार्थीहरू काठमाडौंबाट बाहिरिएका छन् । दसैं आइनसक्दै काठमाडौंबाट बाहिरिने यात्रुको चाप अधिक रहेको र गोंगबु बसपार्कबाट मात्रै ५० हजारभन्दा बढी बाहिरिइसकेका छन् । समग्रमा एक लाख जति बाहिरिएको आकलन छ ।

अर्कोतर्फ सडकको अवस्थामा यस वर्ष पनि उल्लेखनीय सुधार छैन । वर्षा जारी रहेकाले कुनै पनि सडक खण्डमा जुनसुकै बेला अवरोध निम्तिने सम्भावना छ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरोले सडक ढाक्दा सवारी अवरोध हुन पुग्यो । नारायणगढ–बुटवल सडकको दाउन्नेमा पनि पानी परेसँगै आवागमन अवरोध हुने गरेको छ ।

यसरी सडकको अवस्था चुस्त–दुरुस्त नभएकाले काठमाडौंबाट बाहिरिने सवारीसाधनले गन्तव्यमा यात्रु पुर्‍याएर फर्किने समय अनिश्चित हुन्छ । जसले गर्दा यहाँबाट पुनः यात्रु लैजाने समय पनि अनिश्चित हुन्छ । यस्तो परिस्थितिमा अग्रिम टिकट काट्ने हो भने पनि तोकिएको समयमै सवारीसाधन उपलब्ध गराउन कठिन हुने यातायात व्यवसायीको भनाइ छ ।

घटस्थापनादेखि असोज २२ सम्म देशभर चल्ने सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय भएको छ । यसले यात्रुमा राहत पुग्छ । यद्यपि, नियमित समयमा भन्दा यात्रुको संख्या अत्यधिक हुने तर सवारीसाधन तुलनात्मक रूपमा कम हुने भएपछि सवारीसाधनको मनोमानी पनि बढ्छ । अग्रिम टिकट बुकिङ खुलाइएको समयमा पनि त्यससँग नजोडिएका सवारीसाधनले मनपरी भाडा लिने गर्थे । यस पटक त्यस्तो जोखिम झनै बढी हुन्छ ।

त्यसैले पनि सरकारको उपस्थिति र हस्तक्षेप अनिवार्य छ । हुन त १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ, जहाँ यातायात व्यवस्था विभागका कर्मचारी तथा प्रहरी हुन्छन् । यद्यपि, विगतमा पनि स्थापना गर्ने गरिएको यस्तो सहायता कक्ष खासै प्रभावकारी भएका थिएनन् । यात्रा गर्नैपर्ने बाध्यताका कारण ठगीमा परे पनि यात्रु उजुरी गर्न वा अन्य झमेलामा फस्न चाहँदैनन् । त्यसैले जोसुकै यात्रु पनि नठगिने प्रणाली बनाउनुपर्छ । खासगरी टिकट काट्ने प्रक्रियामा चुस्त अनुगमन गर्न सकियो भने ठगिने सम्भावना कम रहन्छ ।

दसैंका बेलामा सवारीसाधनको चाप बढी हुन्छ नै, तिनले क्षमताभन्दा बढी यात्रु पनि राख्छन् । काठमाडौं फर्किएर पुनः यात्रु बोक्ने चाहनाले गर्दा सवारीसाधन तीव्र गतिमा कुदाउँछन् । यसले दुर्घटना बढाउँछ । अर्कोतर्फ, रुट परमिट खुला गरिएकाले धेरै सवारीसाधनले आफूखुसी गन्तव्य तय गर्छन् ।

तीमध्ये धेरै सवारीसाधनका लागि आफू गुडिरहेको सडक नयाँ हुन्छ । यसले पनि दुर्घटना निम्तिन सक्छ । त्यसैले ट्राफिक प्रहरीको निगरानी चुस्त हुनुपर्छ । यातायात व्यवसायीहरूसमेत गम्भीर हुन आवश्यक छ, यात्रुको सुरक्षालाई उनीहरूले पहिलो प्राथमिकतामा राख्नुपर्छ । लामो दूरीमा अनिवार्य वैकल्पिक चालक राख्ने गर्नुपर्छ । 

सडकको अवस्था सकेसम्म चुस्त राख्ने काम प्राथमिकतामा पर्नुपर्छ । यो नियमित रूपमै गर्नुपर्ने काम भए पनि सवारीसाधनको आवागमन बढी हुने समयलाई ख्याल गरेर अनिवार्य गरिनुपर्छ । कालोपत्र गर्न सम्भव नभए पनि खाल्डाखुल्डी पुर्ने लगायतका काम गर्न सकिन्छ ।

पहिरो खसेमा तुरुन्तै हटाउने व्यवस्था मिलाउनुपर्छ । सडकको अवस्थाबारे निरन्तर समन्वय गर्न सूचना प्रणालीलाई बलियो बनाउनुपर्छ । आफ्नो सुरक्षाबारे यात्रु स्वयं पनि सचेत हुनुपर्छ । क्षमताभन्दा बढी यात्रु बोकिरहेको गाडीमा चढ्नु हुँदैन । झुन्डिएर वा छतमा बसेर यात्रा गर्नु हुँदैन । सडकको अवस्थाको जानकारी लिएर मात्रै यात्रामा निस्किनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully