नेतृत्वको लय : युवा उर्फ जेन–जी

सरकारमा भिजिबिलिटीको कमी भयो अनि अस्तित्व स्वीकार्य भएन जनमानस, युवा तथा जेन–जीलाई । भिजनबिनाको सरकारको अस्तित्व विश्वमा कतै पनि स्वीकार्य छैन र कालान्तरमा पनि हुने छैन 

भाद्र ३०, २०८२

सादेशमणि पोखरेल

सन् २०११ मा चिलीमा भएको विद्यार्थी विद्रोहको नेतृत्व गरेकी थिइन्, २३ वर्षीया क्यामिला भालेजोले । अहिलेका जेन–जीहरू जुन उमेर समूहमा पर्छन्, त्यतिबेला उनको उमेर पनि त्यही थियो । क्यामिला ‘चिली विद्यार्थी आन्दोलन’ मार्फत विश्वभर चर्चित भइन्, जसको गुन आजसम्म पनि चिलीले पाइरहेको छ, शैक्षिक उन्नयनका हिसाबबाट ।

सत्ता परिवर्तन विद्यार्थी आन्दोलनको जनादेश थिएन, तैपनि दबाबस्वरूप निकै नीतिगत तथा शैक्षिक परिवर्तन सम्भव भए । ती सुधारका अवयव अहिले पनि विद्यमान छन् ।

चलायमानताको संकेत युवा बन्नु राम्रो शोभा हो, जसबाट नेतृत्व मोडेलहरूको विश्वव्यापी अभ्यास भएका इतिहास छन् । यही हुँदै छ वर्तमान नेपालमा । मोफसलका बेचैनीको हदवृद्धिमा कसले सम्बोधन गर्न सक्ला र भन्ने प्रश्न नेपाली जनमानसमा उब्जिएको धेरै भएको थियो । वर्तमानमा नेतावर्गको अकर्मण्यताले निम्तिएको यस्ता प्रश्नको जवाफ लगभग नेपाली जनताले अब पाए कि भन्ने छ । यो अर्धचेतलाई पूर्णचेतमा परिवर्तन गर्न सक्ने क्षमता विकासमा जेन–जी अभ्यस्त बन्न सक्ला त ? 

उत्तर निरुत्तरित छ । मेसो अपूर्ण छ । समाज परिवर्तनमा लागेका युवा शक्ति पर्सियन कवि रुमीले भनेजस्तै आफैं परिवर्तन हुने मेसोमा लागेको भान हुँदै छ । के यो स्वपरिवर्तन र कायान्तरण दिगो छ र ? यस्तै बेचैनीका क्रम र उपक्रम विश्वका करिब हरेक मुलुकले बेहोरेको पाइन्छ । यस्तो क्रम छिमेकी मुलुक भारतमा पनि कायम रह्यो । उन्नाइसौं शताब्दीको अन्तिम र बीसौं शताब्दीको सुरुवाततिर । यस्ता क्रम र उपक्रमहरूबाट कति मुलुकले गतिलै फड्को मारेको पाइन्छ भने कति यथास्थितिमै रहेका इतिहास छन् । 

धरातलमै युवा 

युवा धरातलको अर्थ भन्नाले राजनीतिक चेतसहितको ज्ञान र स्वरूपमा आएको विकास हो । यसकै आधारबारे प्रस्ट बन्नु युवा वा जेन–जीको उत्तम विकल्प हो । एकातर्फ मुलुकको आर्थिक धार बदलिँदो हिसाबमा चलिरहेको वर्तमान अवस्थामा परिवर्तनका संवाहक युवा वर्ग बन्नु राज्यकै लागि राम्रो हो । तर, राज्यप्रति प्रतिकूल आशयले सामाजिक सञ्जाल कोर्नुले युवा निर्देशित दिशा अनियन्त्रित हुन सक्छ । यस्ता बेला आर्थिक, सामाजिक, राजनीतिक विकासको परिकल्पना जे भए क्षीण बन्न सक्ने कुरामा दुईमत छैन । पछिल्लो समयको विश्वव्यापीकरण र उत्तरआधुनिकताको उपल्लो कोण पार गरिसकेको अवस्थामा यस्ता कुरामा उल्झन हुनु उत्तम मानिन्न । 

अन्तर्राष्ट्रिय श्रम संगठन, जेनेभाले हालसालै प्रकाशित गरेको ‘युवा रोजगारीका संकट ः द्रुत कार्यान्वयनको बाटो’ प्रकाशनमा अतिकम विकसित मुलुकका उपेक्षित वर्गका युवामा यो इरेसनल डिरेलको क्रम डरलाग्दो रहेको देखाइएको छ । भनिएको छ, युवाको भौतिक र मानसिक विकासमा प्रथमतः आयस्रोत वा रोजगारीले प्राथमिक रूपमा प्रभाव पार्दछ ।’ अर्को कारक तत्त्वका रूपमा आर्थिक तथा राजनीतिक अस्थिरता उल्लेख छ । भन्नैपर्दा मुलुकको निर्देशक शक्ति राजनीति भएकाले यसलाई युवावर्गको माध्यमबाट थप सुुसज्जित गर्न सक्दा समग्र शासकीय स्वरूप नै सुधार हुन्छ । 

समाज केवल युवा वर्गका लागि उपाय जन्माउने थलो मात्र पनि होइन । उपलब्धिमूलक समाज विकासका लागि आधारशिला खडा गर्ने स्पेससमेत हो । यस्ता स्पेसको जगेर्ना गर्नकै लागि जेन–जी याने कि बौद्धिक युवावर्ग गतिशील र प्रायोगिक भएका हुन्, जसबाट ती युवा वर्गले गतिशील समाजको परिकल्पनासमेत गरेको आभास हुन्छ । प्रायोगिकको मतलब यहाँ व्यावहारिकता भनिएको हो । तर यहाँ समाज विकासका आधारका रूपमा अगस्टे कोम्टे र कार्ल मार्क्सले गरेको विभाजनलाई ध्यान भने दिइएको छैन । 

परिवर्तन अन्तर्मुखीभन्दा पनि बढी बहिर्मुखी छ । यसका लागि रियल टाइम ट्रिगर (वास्तविक समयमुखी) र सोलिड एनालाइसिस (खास देखिने विश्लेषण वा कार्य) को आवश्यकता पर्छ, जसलाई नेपाली लिडरसिपले पोइन्ट आउट गर्न (देखाउन वा देख्न) सकेन । यथास्थितिमै रहिरह्यो । अनि निम्तियो प्रतिकूलता । कोसिस थियो भने देख्न सहजै सक्थ्यो । सरकारमा भिजिबिलिटीको कमी भयो अनि अस्तित्व स्वीकार्य भएन जनमानस, युवा तथा जेन–जीलाई । भिजनबिनाको सरकारको अस्तित्व विश्वमा कतै पनि स्वीकार्य छैन र कालान्तरमा पनि हुने छैन । 

जेन एक्स र जेन वाई पनि थियो र छ पनि । तर यो पुस्ता दिन्छ अनि खाउँलाको मनस्थितिमा रहिरह्यो । दबाब सहिरह्यो तर प्रभाविलो जेन–जी विद्रोहका निम्ति अघि बढिहाल्यो । त्यो पनि शून्य समय वा एकदमै सानो अवधिको समयमा । त्यो पनि साइलेन्ट र बेबी व्रुमर्सले गरेका भ्रष्टाचारका विरुद्धमा । लाग्छ, जेन एक्स र वाई एक हिसाबले यता न उताका वर्गमा परेका छन् । 

जेन–जीले गरेका विश्वव्यापी आन्दोलन यति मात्र काफी छैनन् । विश्वको इतिहासमा यस्ता आन्दोलन धर्म, संस्कृति, राजनीति, जलवायु तथा विश्वव्यापीकरणको शुद्धीकरणका लागि भएका छन् । उदाहरणका लागि ग्रेटा थन्वर्गको फ्राइडेज फर फ्युचर जसले पर्यावरण जोगाउनका लागि खेलेको भूमिका, लैंगिक हिंसाविरुद्धको मीटु अभियान, सामाजिक न्याय र समानताका लागि चलाइएको ब्ल्याक्स लिभ्स म्याटर जस्ता अभियान तथा आन्दोलन जेन–जीका सुधारात्मक आधारशिला बन्दै छन् । 

अर्थ र मुलुक 

विश्वको नवराजनीतिमा चेतना लक्ष्यको द्योतक हो । यस्ता लक्ष्य नेपाली युवाको सात्विक लक्ष्यका रूपमा विकास हुन थालेको अवस्थामा नेपाली विकासले फड्को मार्न समय लाग्ने छैन । अर्थात् अर्थतन्त्र र विकासतन्त्र जुरुक्कै उठ्ने मेलोमा पुग्ने लगभग पक्का हो । प्रजातान्त्रिक आयाम भएका तथा हिमाल, पहाड र तराई तीनै प्रदेशमा स्रोतको प्रचुरता भएका नेपालजस्ता अल्पविकसित बनाइएका मुलुकका लागि विकासे मेलो धेरै पर रहेको छैन । 

अर्कातर्फ बढ्दै गएको बेरोजगारीसमेत यस्ता अभियानका उत्प्रेरक हुन् । विश्वमा रहेका हरेक विकसित मुलुकमा विकासे मेलो समात्ने आधारशिलाका रूपमा कृषि क्षेत्र नै हो । नेपालले समेत विसं २०१५–१६ सम्ममा दक्षिण एसियाका बंगलादेश तथा अन्य मुलुकमा धान निर्यात गरेको इतिहास छ । तर बिस्तारै यो क्रम पातलिँदै गयो । फलस्वरूप मुलुक पछिल्लो समय आयातमुखी अर्थतन्त्रबाट आक्रान्त हुँदै गुज्रन पुग्यो । यस सांकेतिक उदाहरणले धेरै कुरा प्रस्ट पार्दछ तर यसकै व्यावहारिक प्रारूप लगभग शून्य र प्रभावहीन छ । खोइ त नेतृत्वको लगाम ? 

अन्य मुलुकको अर्थव्यवस्था कृषि हुँदै औद्योगिकतातर्फ अघि बढेको उदाहरण छ तर नेपालको अर्थव्यवस्था कृषि हुँदै विप्रेषणमुखी बन्दै छ र थप हुनेवाला छ । अर्थात् एक्सपोर्ट वेस्ड इकोनोमी (निर्यातमुखी अर्थव्यवस्था), रेमिट वेस्ड (विप्रेषणमुखी) हुँदै बिस्तारै बिस्तारै इम्पोर्ट वेस्ड (आयातमुखी) बन्दै छ । यो अवस्था मुलुकमा कालान्तरमा एकदम घातक सिद्ध हुने लगभग पक्का छ र भइसकेको पनि छ ।

अघिल्लो १५ महिनामा मात्र लगातार खर्बभन्दा बढी रेमिट्यान्स मुलुकमा भित्रिएको सुन्न पाइएको छ । के दीर्घकालीन हिसाबमा विप्रेषण मुलुकका लागि दिगो विकासको आधारशिला खडा होला र ? हो यस्तै प्रश्नको जवाफ वर्तमानमा नेपाली युवा वर्गले पाउने लगभग आशा छ । अनुसन्धान र शोधहरूबाट यो कुरा सिद्ध भएको छ कि दीर्घकालमा विप्रेषणको असर मुलुकमा दक्खल प्रकृतिको हुन्छ । लाग्छ यस्ता आन्दोलन तथा अभियानको जगमा मुलुकमा उद्यमशीलताको विकास भई समग्र कार्यप्रणालीमा सबल प्रभाव पार्नेछ । 

युवा मुभ 

विश्वको परिवेशमा युवाको वर्गीकरण फरक–फरक छ । युवाको वर्गीकरण कार्यसिद्धता कार्यहस्तताको आधारमा गणना गरिनु गज्जब हो जस्तो लाग्छ । नेपालको परिवेशमा यसको मेसो जेन वाई, जेन जेड (जी) समकालीन पुस्ता हुन् भन्दा फरक नपर्न सक्छ ।

राष्ट्रिय युवा नीति, २०७२ अनुसार युवा भन्नाले १६–४० वर्ष उमेर समूह भन्ने जनाउँथ्यो तर वर्तमान राष्ट्रिय युवा नीति, २०८२ अनुसार यस वर्गमा १८–३५ वर्ष उमेर समूहका व्यक्तिलाई जनाएको छ । यो भनेको करिब–करिब समानान्तर वा समकालीन पुस्ता हो । यसै कारण अर्धडिजिटल र डिजिटल उमेर समूहमा धेरै फराकिलो सोचको अन्तर पाइन्न । अर्थात् जेन–जीसँग समानान्तर र समकालीन पुस्ता भन्नाले जेन वाई र जेन अल्फा हुन सक्छन् । 

जेन–जी आन्दोलन तथा अभियान स्वतः चल्नुका विविध कारणमा प्रवल कारणमध्ये एक ‘पुस फ्याक्टर’ (ठेल्ने तत्त्व) पर्छ, जसअन्तर्गत धेरै भौतिक तथा भावनात्मक तत्त्व पर्दछन् । सूचना र प्रविधि तथा अवसरको अभाव, बेरोजगारी, शिक्षा तथा सचेतनाको आभाव, न्यूनतम आवश्यकता परिपूर्तिमा कमी, सामाजिक पहिचान तथा मर्यादाजस्ता मूलभूत तत्त्व हुन सक्छन् । यसमा जातीय, वर्गीय, धार्मिक, डिजिटल प्लेटफर्म, असमान आर्थिक दूरीजस्ता विषयवस्तु पर्छन् । 

यी जेन–जी वा युवा केन्द्रित आन्दोलनका उदाहरणका रूपमा भारतीय स्वतन्त्रता संग्राममा युवाको संलग्नता जस्तै चन्द्रशेखर तथा भगत सिंह, फ्रान्स र अमेरिकी विद्यार्थी आन्दोलन जसमा शिक्षा सुधार तथा जातीयताको चरम आलोचना भएको टम हेडेन, मारियो साभियो, डेनियल कोहोन, सन् २०१० अरव स्प्रिङ जसमा सामाजिक न्याय तथा प्रजातन्त्रका निमित्त युवा जमात स्वतःस्फूर्त रूपमा निस्किएका थिए । यी आन्दोलनका वाहक पनि युवा शक्ति नै थिए । 

 

नेपाली प्रारूप 

नेपाली जेन–जी आन्दोलनको ध्येय विद्यमान भ्रष्टाचारको जालोको विरुद्ध मात्र थियो । यसको शून्य समयको यूटर्नको जिम्मेवार निकाय सरकार नै हुन पुग्यो । यसको नैतिक हिसाब निवर्तमान सत्ता घटक नेकपा (एमाले) र नेपाली कांग्रेस नै हुन् । विकसित तथा संस्थागत हुँदै गरेको भ्रष्टाचार, दण्डहीनता, असक्षमता, कानुनी राज्यको उपहासजस्ता दर्जनौं प्रतिकूल अवस्थाका परिणामस्वरूप यस्ता जेन–जी जस्ता उपज देखा परेका हुन् । 

वर्तमान समय सूचना प्रविधिमा आधारित कृत्रिम बौद्धिकताको आडमा रही नवप्रवर्तन र अनुसन्धानमा रमाउने समय हो । यसकै मूल मन्त्रमा रही वर्तमानमा रहेका जेन–जीहरूले नेपालमै रही कन्टेन्ट क्रिएसन (आवश्यक विषयवस्तु सिर्जना), सफ्टवेयर तथा एप निर्माण तथा बिक्री, फ्रिल्यान्सिङ (स्वछन्द लेखन) गरी करोडौंको व्यापार र व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्दै आएका छन् । घरमै बसीबसी प्रविधिको माध्यमबाट मासिक लाखौंको कारोवार तथा जागिर गर्दै आएका युवा वर्ग साञ्जालिक हिसाबले विच्छेद हुनु भनेको वास्तवमै रोजीरोटीसमेत गुम्नु हो । अर्को हिसाबमा यस जेन–जी आन्दोलनमा दर्ज भएको सम्भवतः यो दोस्रो विषयवस्तु हो । तर जेन–जीहरूको प्राथमिक माग भने यो थिएन ।  

करिब तीन दशकसम्म सत्तामा रहेको कांग्रेस, विभिन्न नाममा लगभग डेढ दशक सत्तामा रहेको एमाले तथा करिब एक दशकसम्म सत्तामा रहेको नेकपा (माओवादी) का कारण निम्तिएको यस परिस्थितिले विश्वले नेपाललाई हेर्ने तथा महसुस गर्ने दृष्टिसमेत फरक भएको छ । नेपालको पासपोर्ट फितलो बन्नु, नेपाल ग्रे लिस्टमा पर्नुजस्ता सामरिक महत्त्वका विषयवस्तुले नेपालको कूटनीतिक मर्यादाको साखसमेत गिर्दो छ । 

निराशामा आशा  

शासकीय स्वरूप परिवर्तनका लागि विगतमा नेपालले ठूलो गृहकार्य गरिसकेको छ । लाग्छ यसबारे नयाँ पुस्ताले पुनः एक पटक सोच्नेछ । देखाउनका लागि परिवर्तनभन्दा पनि गर्नका लागि परिवर्तनको ठूलो महत्त्व हुनेछ । यसका लागि राज्य प्रणालीका मूलभूत विशेषतामा ध्यान दिनुपर्ने आवश्यकता छ । यो भन्नाले शक्तिको विनियोजन, विधिको शासन, निर्णय निर्माण प्रक्रिया, जवाफदेहिता, नियन्त्रण र सन्तुलनजस्ता आधारभूत विषयवस्तु पर्दछन् । 

विविध संकटबाट मुलुकलाई सिफ्ट गराउनका लागि एक त नेतृत्व तह नै विवेकशील बन्नु आवश्यक छ भने अर्कातर्फ प्रापक शक्ति या युवा वर्गको तीव्र इच्छाशक्तियुक्त बन्नु आवश्यक छ । संकट सिफ्टका लागि समग्र शिक्षा तथा सचेतनाजस्ता आधारभूत कुरामा फोकस गर्नुपर्ने देखिन्छ । सीपमूलक शिक्षाको गुणोत्तर विकासमा ध्यान दिन सकिएको खण्डमा आर्थिक उपार्जनमुखी समाजको विकासमा टेवा पुग्न सक्छ । 

आशातीत धार 

देशमा विद्यमान राजनीतिक संक्रमण, असुरक्षा, दण्डहीनता, कमसल अर्थव्यवस्थामाथि प्रश्नचिह्न खडा गर्दै मुलुक विकासका लागि हरेक तह र तप्कामा पैरवी गर्दै युवा सहभागितामा यथोचित ध्यान दिनु तत्कालीन आवश्यकता हो । राजनीतिक एवं आर्थिक सुधारका क्रमका स्रोतका लागि मुलुकका यिनै युवा शक्ति नै संवाहक बन्न सक्छन् । यसका लागि यस्ता मौसमी बेचैनीलाई कम गर्नु नै आजको खास आवश्यकता हो । 

विगतमा नेपाली राजनीतिक दलबाट बारम्बार भएका गलत कर्मका दुष्परिणामस्वरूप निम्तिएको यस्ता क्रियाकलाप अबका दिनमा देख्न नसकिने लगभग निश्चित छ । यसबाट गतिलो सिकाइसमेत भएको छ, दलहरूलाई । अबको जेन–जीमय नव नेपालमा राज्यका अंगहरू व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको बीचमा उचित सन्तुलन गरी प्रभावकारी सार्वजनिक सेवा प्रवाहमा ध्यान दिनुपर्ने आवश्यकता छ । यसका लागि ठूलो धनराशि होइन, कर्मचारीतन्त्रको मोडेलमा रिफर्मेसन (उचित सुधार) गरे मात्र पनि पुग्छ ।

सादेशमणि पोखरेल लेखक त्रिभुवन विश्वविद्यालय, सिन्धुली वहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन् ।

Link copied successfully