स्कुल पढ्दै गरेका कलिला नानीबाबु जो भविष्यका कर्णधार थिए, ती पनि यस पटक सहिद भए । कलिलै उमेरका उनीहरूलाई यसरी सडक आन्दोलनमा आउँदैमा ज्यान गुमाउनुपर्ला भन्ने के थाहा थियो होला र ?
मन रुनलाई आफैं घाइते भइराख्नुपर्ने होइन रहेछ । कहिलेकाहीं देश घाइते हुँदा पनि बेस्सरी दुख्दो रहेछ । नेपाली इतिहासमा अमीट छाप रहने गरी २०८२ भदौ २३ र २४ गते दुई दिन काठमाडौंमा ठूलो आन्दोलन भयो ।
त्यसको बाछिटा देशैभरि पर्यो र सानो–ठूलो आन्दोलन काठमाडौंबाहेक अन्यत्र पनि भए । यो हदसम्मको आन्दोलन न यसअघि भएको थियो, न त अब कल्पनै गर्न सकिन्छ । मुलुकले यतिका धेरै क्षति व्यहोरेको सायद पहिलो हुनुपर्छ । अब यसबाट उठ्न धेरै समय पनि लाग्ला ।
पछिल्लो पटक भएको जेन–जी पुस्ताको आन्दोलन, यस क्रममा अनाहकमै मृत्युवरण गरेका कलिला युवापुस्ता र देशलाई पुगेको क्षतिले साँच्चै यतिबेला सबै नेपालीलाई स्तब्ध बनाएको छ । मनहरू बेस्सरी रोएका छन् । शून्य र सन्नाटाले केही दिन काम गर्न सकिएन । हातमा काम आएन । किबोर्डमा औंला गएनन् । समाचार हेर्यो, सामाजिक सञ्जाल हेर्यो । अब के होला भन्यो । जताततै दुःखद् मात्रै समाचार र घटनाका अपडेट आइराख्दा मन त्यसै त्यसै विक्षिप्त भइराख्यो ।
सायद नेपाली आकाशमा अझै पनि खरानीको धूलो उडिरहेका होलान् । धूवाँको मुस्लो उडिरहेका होलान् । आन्दोलन जेन–जीको थियो तर पर्दापछाडि खेल्नेहरूका कारण ठूलो विध्वंस भयो । मुलुकलाई अतुलनीय क्षति भयो । यो कुरा पक्कै जेन–जीले भोलिका दिनमा बुझ्लान्, एउटा आन्दोलनले कति धेरै क्षति पुर्याउँदो रहेछ भनेर । यो त अब एउटा दुःखद् इतिहास बनेर पक्कै अभिलेखित हुनेछ ।
सारा गरिब नेपाली जनताले दुःख–सुखले तिरेको करबाट निर्मित सयौं संरचनामा दनदनी आगो बल्दा कसको मन नरोला र ? यति ठूलो भयानक दृश्यले सबैको मन रुन्छ । लाग्छ, अब फेरि यी संरचना सहजै बन्ने छैनन् । बनाउनुपरे अनगिन्ती धनराशि खर्च हुनेछ । उसै त चुर्लुम्मै ऋणमा डुबिरहेको हाम्रो अर्थतन्त्र, झन् अब कसरी उकास्ने होला ? कसरी सकुशल उठ्लान् यी संरचना फेरि ?
आन्दोलन भयो, सकियो । आन्दोलनपछिको असर धेरै ठूलो परेको छ । यो आन्दोलनले नराम्रो छाप पनि छाडेको छ । आइतबारसम्म ७२ जनाको मृत्यु भइसकेको रिपोर्ट आइरहेका छन् । यो संख्या अझै बढ्ने अनुमान छ । तर, ती अनाहकमा ज्यान गुमाउनेहरूको जीवन अब फर्केर आउने छैन ।
उनीहरूलाई सदासदाका लागि गुमाइसक्यौं । उनीहरू अब सहिद भइसके । तर, साथीभाइ, आफन्तजनलाई उनीहरूको सम्झनाले भने सधैं सताइरहनेछ । पोलिराख्नेछ । ती निर्दोष थिए । सयौंको संख्यामा घाइतेहरू अझै अस्पतालको शय्यामा छट्पटाइरहेका छन् । धेरैले शरीरका अङ्ग गुमाएका छन् । उनीहरूलाई अब बाँच्न धेरै कठिन होला । धेरै दुख्छ होला । जीवन कति सहज बित्ला ? सम्झँदा पनि मन भारी हुन्छ ! कहाली लागेर आउँछ ।
दुःखद् पक्ष के भने स्कुल पढ्दै गरेका कलिला नानीबाबु जो भविष्यका कर्णधार थिए, ती पनि यस पटक सहिद भए । कलिलै उमेरका उनीहरूलाई यसरी सडक आन्दोलनमा आउँदैमा ज्यान गुमाउनुपर्ला भन्ने के थाहा थियो होला र ? ती कलिला मुना निमोठ्नेहरूमाथि भोलि छानबिन होला, दोषी कोही देखिएला । कारबाही पनि होला । तर, के अल्पायुमै हत्या गरिएका उनीहरू फर्केर आउन सम्भव छ ?
युवा उमेरमा घाइते भई अंगभंग भएकाहरूको बाँकी जीवन कसरी बित्ला ? भन्नेहरूले त भन्लान्, परिवर्तनका लागि दुई–चार जना सहिद हुनु सामान्य हो । तर, जीवन त हरेकको उत्तिकै महत्त्वपूर्ण हो नि ! उसका आफन्त, परिवारजन र साथीभाइका लागि पनि त ऊ उत्तिकै महत्त्वपूर्ण थियो नि !
दुईदिने आन्दोलनका क्रममा कल्पनै गर्न नसकिने भौतिक र आर्थिक क्षति भयो । राज्यको तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका संरचना ध्वस्त भएका छन् । महत्त्वपूर्ण कागजात, ऐतिहासिक दस्ताबेज खरानी भएका छन्, के ती अब फेरि ब्युँत्याउन सम्भव छ ?
आन्दोलनले मुलुकको कार्यकारी सरकार नै ढल्यो । देशको शासन सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री, मन्त्री, सांसदहरू, ठूला नेता सबै अलप छन् । स्तब्ध छन् । संसद् छैन । एक हिसाबले भन्ने हो भने देश नै शून्यताको स्थितिमा पुगेको छ । अबको सरकार अन्तरिम हो, जसले अब चुनाव मात्रै गराउनेछ । कस्तो विडम्बना ! दुई दिन पहिलेको आन्दोलनले सरकारी संरचना सबै सखाप भयो, दुई दिनपछि नयाँ प्रधानमन्त्रीको नियुक्ति भएपछि बस्ने ठाउँसमेत भएन । पदभार ग्रहण गर्नै समस्या भयो । यस्तो समस्या अब के केमा पो देखिने हो !
लामो समयदेखि शासन सत्ता सञ्चालन गर्दै आएका सबै दल यतिबेला जेन–जी युवापुस्ताका सामु निरीह भएका छन्, अनसिन (लुकिबसेका) छन् । उनीहरू एक हिसाबले भन्ने हो भने किनारामा पुगेझैँ भएका छन् । सायद सोच्दै होलान्, हामीले साँच्चै विकास र समृद्धिका लागि काम गरेको भए जनता यसरी आन्दोलनमा आउने थिएनन् होला । हामीले भ्रष्टाचार समयमै निर्मूल पार्न सकेको भए आज यो दुःखद् दिन देख्नुपर्ने थिएन ।
मानिसहरूमा आक्रोश बढ्ने थिएन । सत्ता र नेतृत्व क्रमशः पुस्तान्तरण गर्दै लान सकेको भए आज सबै एकै पटक किनारामा पुग्नुपर्ने थिएन । ती युवालाई अर्थोपार्जनमा जोड्दै रोजगारी सिर्जना गर्न सकेको भए यसरी आन्दोलनमा आउने थिएनन् र मुलुकले यतिका धेरै क्षति व्यहोर्नुपर्ने थिएन । केहीको अहंकार, केहीको सत्ता मोह, केहीको पदासीन भइराख्ने चाह, कतिपयको आफ्नो नेतृत्वप्रति विद्रोह गर्न नसक्ने लाक्षीपनका कारण नै आजको दिन देख्न र सहन परेको हो ।
देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आन्दोलनकारीले आगो लगाई खरानी बनाएको दृश्यले कसको पो मन पोलेको छैन होला र ! त्यो एउटा पुरानो इतिहास थियो । राज्यको प्रमुख आकर्षणको केन्द्र थियो । एउटा शक्ति केन्द्र पनि थियो । उता न्यायिक प्रक्रियाको सर्वोच्च निकाय सर्वोच्च अदालत नै जल्यो । राष्ट्रपति भवन जल्यो । प्रधानमन्त्री कार्यालय र निवास सबै जले । पूर्वप्रधानमन्त्रीहरू, मन्त्री, उच्च पदस्थ, व्यापारी, नेताहरूको समेत निजी घरहरू खोजी खोजी आन्दोलनकारीले जलाई खरानी बनाए । निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय सखाप भएका छन् । खरानी भएका छन् । यसबाट एकै पटक हजारौं मानिसको रोजगार गुम्न पुगेको छ ।
अर्कोतर्फ धेरै प्रहरी कार्यालय जलाइएको छ । प्रहरीको बन्दुक र सुरक्षाका सामग्री लुटिएको छ । प्रहरीहरू देशको सुरक्षाको पहिलो जिम्मेवार अंग हुन् । आज उनीहरूकै हालत निरीह देख्दा कसको मन रुँदैन र !
जेन–जीको आन्दोलनको माग भ्रष्टाचार निर्मूल गर्नुपर्ने भन्ने थियो । दिक्क लाग्दो सरकार परिवर्तनको खेल अन्त्य गरौं, पूरा अवधि टिक्ने गरी सरकार बनाऔं भन्ने थियो । स्थिर सरकार सबैको चाहना हो । स्थिरताले नै विकास गर्छ भन्ने विश्वास सबैमा छ । अर्कोतर्फ सरकारले सामाजिक सञ्जाल बन्द गर्यो, युवाहरूले खोलिदिन माग राखे ।
सरकारले सुनेन । जेन–जी पुस्तामात्रै होइन, सबै पुस्ताका मानिसका लागि सामाजिक सञ्जाल एक अभिन्न अंग बनिसकेको भेउ सरकारले पाएन । सामाजिक सञ्जाल बन्दको सबैभन्दा ठूलो असर जेन–जी पुस्तालाई नै पर्यो । जो अहिलेको भर्चुअल दुनियाँमा रमाइरहेका थिए । उनीहरू त्यसैमा जोडिएका थिए । कतिपयले अनलाइन व्यापार गरिरहेका थिए । कतिपयले अनलाइनबाटै जागिर गरिरहेका थिए ।
कतिपयले विभिन्न सामाजिक सञ्जालमार्फत अध्ययन र अध्यापन पनि गरिरहेका थिए । यस्तो महत्त्वपूर्ण माध्यम अर्को विकल्प नदिई एकै पटक बन्द गरिदिएपछि युवाहरूमा आक्रोश एकाएक बढ्यो । युवाहरू आन्दोलनमै आइसक्दा पनि सरकारले हल्का रूपमा लियो । उनीहरूको आक्रोशलाई बुझ्न सकेन । सरकारले यसलाई पनि विगतका अरू आन्दोलनजस्तै ठान्यो । दुई–चार दिन गर्छन् अनि फर्किन्छन् भन्ने ढंगले सोच्यो । यो भर्चुअल दुनियाँको ‘फास्ट फर्वाड’ जेन–जीले ती सबै एकै दिन कायापलट गरिदिए । धैर्य गर्नै सकेनन् ।
सरकार र नेतृत्वमा बस्नेले पछिल्लो पुस्ताको माग, आवश्यकता र चाहना बुझ्न नसकेको तर पछिल्ला पुस्ताका युवाहरूमा पुरानो पुस्ताको जस्तो धैर्य नभएको पछिल्ला घटनाक्रमले प्रस्ट पारेको छ ।
युवाहरूले उठाएको अर्को सवाल रहेछ– ‘नेपो बेबी’ । राज्यका सुविधा पाएका, उच्च पदमा पुगेका/बसेका नेता, मन्त्री, कर्मचारी आदिका छोराछोरीको पहिरन, लवाइ–खवाइ, भड्किलो प्रचार र खर्च शैली । यो देखेर जेन–जी दिक्क भएको बताइरहेका छन् । उनीहरूको भनाइ छ, यस्तो भड्किलो खर्चको स्रोत के हो ? जनताको कर । उनीहरूको भनाइ छ, उच्च पदस्थहरूले राज्यको करबाट भ्रष्टाचार गरी कमाएका हुन् । यी कार्यले गरिब र निम्न वर्गका युवामा एक किसिमको विद्रोह भाव जन्माएको देखिन्छ ।
अहिले जेन–जीले आन्दोलन गर्नुपर्नाका कारण थुप्र्रै होलान् तर आन्दोलनका नाममा जेजति मानवीय, आर्थिक र भौतिक क्षति भयो, त्यो बिलकुलै राम्रो भएन । जेजति क्षति भयो हाम्रै भयो । नेपालीकै भयो । गुमेका युवा साथी अब हामीले फर्काउन सक्दैनौं । जलेको धनसम्पत्ति फर्काउन सक्दैनौं । घाइतेलाई पुरानै स्थितिमा लान सक्दैनौं । स्थिति यस्तो भएको छ कि राज्यले अब शून्यताबाट यात्रा सुरु गर्नुपर्ने भएको छ । एक दिनअघि जलाइएका प्रहरी चौकी अहिले स्थानीय जनताकै सक्रियतामा पुनःस्थापना/पुनर्निर्माण हुन थालेका छन् । सुरक्षा चाहियो भन्न थालेका छन् । अत्यावश्यक र नभई नहुने संरचना यसरी किन जलाइयो होला ?
जेन–जी आन्दोलनको मागबमोजिम नै अहिले नयाँ सरकार बनेको छ । नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । यो अन्तरिम सरकार हो, जसको मुख्य म्यान्डेट अर्को चुनाव गराउनु हो । नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भइसकेको छ । यसको यतिबेला चौतर्फी विरोध सुरु भएको छ । दलहरूले सामूहिक विरोध गर्न थालिसकेका छन् ।
जननिर्वाचित संस्था विघटन गर्नु संविधानविपरीत भयो भन्ने आवाज उठिरहेको छ । उनीहरूले जेन–जी आन्दोलनका मागहरू वर्तमान संविधान, जननिर्वाचित निकाय र सरकारबाट नै गर्नुपर्ने सुझावहरू पनि दिइरहेका छन् । यद्यपि समय अघि बढिसकेको छ । अब फेरि यस्तै खाले आन्दोलन नहोस् भन्ने हामी सबैको कामना छ । फेरि हामीले अरू नेपाली गुमाउनु नपरोस् भन्ने हो । फेरि हामीले थप भौतिक र आर्थिक क्षति व्यहोर्नु नपरोस् भन्ने हो ।
