लुट र निष्क्रिटताको ताज पहिरेका नरसंहारकारीहरूलाई न्यायिक कठघरामा नउभ्याई यो बगावतको सौर्यले आत्मसमर्पण गर्ने छैन भन्ने विश्वास गरौं ।
हरेक पुस्ताले सत्ता व्यवस्थालाई हाँक दिएर जीवनको न्यौछाबर गर्ने र बलिदानले धर्ती भिजाउने सिलसिला १९९७ सालदेखि देशमा निरन्तर जारी छ । आफ्नो सत्ता स्वार्थको रक्षार्थ नागरिकहरूको अनमोल जीवनको भोग खाने सत्ताधारीहरूको नागरिक भक्षणको सिलसिला पनि जारी छ । तर सहरी नागरिक विद्रोहमा यति कहालीलाग्दो नरसंहार यसअघिका कुनै पनि कालखण्डको सत्ताले गरेको थिएन ।
पलभरमा एकै स्थानमा एउटा उमेर समूहका दुई दर्जनभन्दा बढी देशका अनमोल रत्नहरूको ज्यान लिने र ५ सय हाराहारीलाई घायल बनाउने बीभत्स नरसंहार भीमसेन थापाले मच्चाएको रणमुक्तेश्वर पर्व र जंगबहादुरले मच्चाएको कोतपर्वपछि सम्भवतः देशले धेरैपछि मात्रै बेहोर्यो ।
एकतन्त्रीय राणाशासनदेखि निरंकुश पञ्चायतमा समेत सहरी विद्रोहमा खुलेआम यो पैमानामा सत्ताले नागरिकको हत्या गरेको सार्वजनिक जानकारी प्राप्त छैन । देशभर मारिएका पचास बढी नागरिकको यो बीभत्स हत्यामा संलग्न नरसंहारकारीमाथि छानबिन गर्दै न्यायिक कठघरामा नउभ्याए देश सत्ता आयोजित दण्डहीनता र अपराधको नयाँ सिलसिलामा प्रवेश गर्नेछ ।
विद्रोहको बलमा सुशीला कार्कीलाई प्रधानमन्त्री पद प्राप्त भएको छ । विद्रोह भएकैले कार्कीको सत्तागमनमा मौजुद संवैधानिक धाराहरूको निरन्तरता छैन । आन्दोलन, विद्रोह भनेकै त्यही हो, यसले कतिपय पुराना आधारहरू भत्काउँछ र पुरानो निरन्तरतामा क्रमभंग गर्दै नयाँ सिलसिलाको आरम्भ गर्छ । विद्रोह उठिसकेपछि त्यसको परिणामलाई संविधानको धारामा मात्रै बाँध्न सकिन्न । त्यसले धारा उखेल्छ नै । बाँध्न सकिने भए, विद्रोह उठ्ने नै थिएन । कतिपय सन्दर्भमा पुरानो व्यवस्था नै ढलाइदिन्छ । राणातन्त्र, पञ्चायत र राजतन्त्र तिनै सिलसिलामा इतिहासको मूलपृष्ठबाट फुटनोटमा सारिएका थिए ।
पुस्तैपिच्छेको आन्दोलनको शृंखलाहरूको उत्कर्षमा ०६२/०६३ को आन्दोलनले नागरिकको टाउकोबाट ‘शासक’ फालेर लोकतन्त्र स्थापित गरेकाले यसपटक संविधानका धाराहरूको टुटी मात्रै उखेलिने हो कि लोकतान्त्रिक व्यवस्था नै फौजी, पुनरुत्थानवादी हत्याईमा पर्ने हो भन्ने संशय थियो । संशयहरूलाई कम्तीमा तत्काललाई दरकिनार गर्दै जे–जस्तो भए पनि नागरिक सरकारकै बाटोमा देश अग्रसर भएको छ । यो बाटो हिँड्दै कहाँ पुग्छ ? जसरी आन्दोलन जेड पुस्ताले दिएको आन्दोलन घोषणा गर्दाको रोडम्यापभन्दा अकल्पनीय स्थानमा आइपुगेको छ, विश्वास गरौं, देखाउने र लुकाउने भिन्नाभिन्नै रोडम्याप छैन ।
लोकतन्त्रले प्रतिनिधि र सेवक बन्न पठाएको भुलेर ‘शासक’ बन्ने अहमता प्रदर्शन गरेकाहरूलाई जेन–जी भनिने नवतरुणहरूको पुस्ताको बलिदानीपूर्ण विद्रोहले दरकिनार गरिदिएको छ । देशबाट राजा फालेर लोकतन्त्र स्थापित गरेका जनताहरूको शिरमा अहमताको बुट बजारेर नवराजा बनेकाहरू दुईदिने विद्रोहबाट बढारिएका छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र तिनलाई सुमेरु मानेर घुम्ने सिंगो राजनीतिक पेसेवरहरूको कृत्य नागरिक कठघरामा पुगेको छ ।
पार्टीभित्रै विकल्पको सवाल उठाउनेलाई यी तीन मुख्य खलनायकको पक्ष लिएर खुइल्याउने र सिध्याउने अभियानमा लागेकाहरूले आजको दिनमा पार्टी बदल्ने र बदलिने स्याईंहुइयाँ नेपाली समाजलाई फेरि ठग्ने नयाँ चालबाजीका रूपमा मच्चाइरहेको बुझ्न गाह्रो छैन । नागरिकलाई हमेसा स्वार्थपूर्तिको साधन ठान्ने पार्टी कोटरीको मति सुध्रिएको छैन । नागरिकलाई हेप्ने र शोषण गर्ने यही सिलसिलाले हरेक दुई दशक जसोमा नेपाली नागरिक विद्रोहको आयोजना गर्न अभिशप्त हुँदै आइरहेका छन् । तर पनि इतिहासबाट सिकेर शासकहरू सुध्रिने मतिमा लाग्न चाहेनन् ।
०००
nनागरिकको जीवनलाई नारकीय बनाएर राष्ट्रिय ढुकुटीमा तर मार्दै ऐयासी जीवन बाँचेको भनेर पञ्चायतको विरोधका लागि हाम्रा बाहरूको पुस्ताले ‘पम्फादेवी’ बिम्ब बनायो र आन्दोलित भयो । जसै सत्ता हातमा आयो, बितेको साढे तीन दशकमा पञ्चायती ‘पम्फादेवी’ को बिम्बलाई कठै भन्नुपर्ने गरी तरमारा गिरोहमा आफूलाई बदले राजनीतिक पेसेवरहरूले ।
आफू र आफ्ना सन्तानको सात पुस्तालाई सुकिल्याउने गरी राजनीतिको आवरणमा सत्ताशक्तिको दुरुपयोग गरेर देश र जनता लुटेका ठग, भ्रष्ट, अकर्मण्य र दिशाहीन जत्थालाई हामीले नेता र राजनेताको पगरी गुथायौं र देशको शिरमा विराजमान गरायौं । परिणाममा तिनले हाम्रा छोराछोरी पुस्ताका कलिला रत्नहरूमाथि इजरायलले गाजामाथि गरेको आततायी कत्लेआमलाई बिर्साउने गरी नरसंहार गरे र आफ्नो लुटको सत्तालाई अबोध नागरिकको रगतले अभिषेक गरे । निश्चय नै यो बर्बरता त्यसै बिर्सिएर जाने छैन । यो रक्तपात कुनै एकझर पानीले बगाइलाने छैन । लुट र निकृष्टताको ताज पहिरेका नरसंहारकारीहरूलाई न्यायिक कठघरामा नउभ्याई यो बगावतको सौर्यले आत्मसमर्पण गर्नेछैन भन्ने विश्वास गरौं ।
०००
अब प्रश्न, नालायक र भ्रष्ट राजनीतिक पेसेवरहरूतिर मात्रै उठ्दैन– हामीतिर पनि उठ्छ । हाम्रो पुस्तामाथि पनि उठ्छ । आफैंले लडार्इं, संघर्ष, विद्रोह गरेर देशको शिरमा ठड्याएका खलनायकहरूलाई बेलैमा चेताउन सकेको भए जेड पुस्ताले यत्रो अकल्पनीय बलिदान दिनैपर्ने थिएन । लोकतन्त्रको गजुर बनाएर राखिएका राजनीतिक कोटरीको लुटलाई हामीले दलीय आराधनाको विषय बनायौं ।
यो सर्बथा गलत हो भन्न नसकी बरु त्यसमा हैसियत अनुसारको हिस्सेदारी खोज्यो हाम्रो पुस्ताले । कतिसम्म भने पुस्तकमा ज्ञानचक्षुको गफ बेचेर दुच्छर शासकको पिए बन्न जाने बौद्धिकहरूसमेत हाम्रै पुस्ताले बेहोर्यो । व्यक्तिगत रूपमा हामीले सत्ताको हाटबजारमा आफ्नो मोल लगायौं लगाएनौं त्यो बेग्लै कुरा हो, तर समग्रमा कसैलाई दोष दिनुभन्दा पनि हाम्रो सिंगो पुस्ताले राजनीतिको आडमा मच्चिएको लुटतन्त्रलाई रोक्न सकेनौं ।
त्यसले समाजमा असन्तोषको आधार संरचना बनाउँदै गयो । गाउँको खानेपानी समितिदेखि विद्यालय व्यवस्थापन समितिसम्म राजनीतिक दलको झोला बोक्ने र नबोक्नेलाई भिन्न व्यवहार गरियो । कतिसम्म भने, स्थानीय सरकारबाट पाउने कृषि, मलखादको अनुदानसमेत दलको झोला बोकेकाले पाउने, तिनको आलोचना गर्नेले नपाउने भयो । विश्वविद्यालयदेखि मन्दिर व्यवस्थापन समितिसम्म ब्रिफकेस बुझाउनेहरूले नियुक्ति पाउने भए । प्रहरीको इन्सपेक्टरदेखि कर्मचारीको सुब्बाको सरुवासम्म ‘नयाँ पम्फादेवी’ हरूलाई फिरौती बुझाए रोजेको पोस्टिङ पाउने अवस्था भयो । त्योभन्दा माथिको त कुरै नगरौं ।
देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने काममा बहालवाला गृहमन्त्री र प्रधानमन्त्रीको परिवार लाग्ने कुरा कसैले कल्पना गर्न सक्छ ? तर, भयो त्यही । तिनै भ्रष्टमाथि कारबाहीको सुई घुम्नासाथ सत्ताका पत्ताहरू फेरबदल भए रातारात । सर्वसाधारण जनतालाई दलका दासहरूले मान्छे नै नगन्ने अवस्था आयो । जेब्राक्रसबाट सडक पार गर्ने बालबच्चालाई गाडीले लतार्दै हिँड्ने ‘हिट एन्ड रन’ का अपराधीहरूलाई प्रधानमन्त्री पदमा बसेको एउटा पाखण्डी मानिसले सार्वजनिक रूपमा बचाउ गर्न उत्रियो र त्यसलाई एउटा सिंगो पार्टीले मौनता र थपडीले अनुमोदन गर्यो । योभन्दा संगठित दण्डहीनता अरू केही हुनसक्छ ?
बलात्कारको आरोप लागेका आफ्ना कार्यकर्ता सत्ताको संरक्षणमा जोगाइए । महामारीको दिनमा औषधि खरिदमा समेत खुलेआम भ्रष्टाचार गरियो । उच्च पदस्थ प्रहरी र कर्मचारीहरूको बढुवा र सरुवामा ब्रिफकेसको मोलमोलाई सार्वजनिक भयो । गाउँगाउँसम्म विस्तारित कार्यकर्ता पोस्न भ्युटावर र डोजर क्रान्तिको नाममा राज्यकोषको ब्रह्मलुट मच्चाइयो । पहुँच नहुने जनसाधारणले चाडबाडमा पैसा तिरेर घरजाने टिकटसमेत नपाउने अवस्था आयो । सत्ता र भत्ताका लागि विचार, सिद्धान्त सब बेचेर सिद्धान्तहीन गठन्धन गर्ने र सेटिङमा जनमत अपहरण गर्ने काम भयो । नियुक्ति, सरुवा, बढुवा, लाइसेन्स, फाइल सदर, कर छुट जस्ता कुकृत्य मच्चाउँदै धनकुवेर बनेर जनतालाई हियाउने काम भयो । यसले सिंगो समाजमा राजनीतिक पेसेवरहरूको कृत्यप्रति चरम आक्रोशको प्रारूप निर्माण गर्यो ।
हरेक समाजमा, देशमा हरबखत समाजको असन्तोषलाई सल्काएर आफ्नो सत्ता स्वार्थको रोटी सेकाउने ताक कुरेर बसेका तत्त्वको कहिल्यै कमी हुँदैन । सत्ता व्यवस्थाप्रति आक्रोशले भरिएको दिमागमा केही बर्षदेखि निरन्तर राज्यसंस्था र सार्वजनिक संस्थाहरूप्रति समानान्तर रूपमा घृणाको विष बिस्तार गर्ने काम निरन्तर जारी थियो । समाजले आइडल मानेर पछ्याएका मानिसहरूले सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्यको पेट्रोल मानिसको दिमागमा भरिरहेका थिए । आर्दशहरूले सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्य वितरण गरेपछि मानिसहरूको दिमागमा सिंहदरबार भनेको त जलाउनुपर्ने चिज हो भन्ने पर्ने नै भयो । असहमतहरूलाई टुकुचामा गाड्नुपर्छ भन्ने घृणाको आगो मानिसको दिमागमा फैलाइरहेकै थिए ।
आफ्नो कृत्यको भन्डाफेर गरेबापत नामै तोकेर फलानो मिडिया हाउस भनेर मानिसको दिमागमा विष वितरण गरिएको थियो । उद्यम गरेका मानिसहरूलाई संस्थागत संरचना परिचालन गरेर सार्वजनिक रूपमा लाञ्छित गरिएको थियो । निश्चित शिक्षालयहरूविरुद्ध घृणाको आगो फैलाउने काम पनि तिनैले गरिरहेका थिए । आफ्नो ठगीलाई अदालतले ठगी नै हो भनेकै कारण अदालतविरुद्ध संस्थागत अभियान चलाइएको थियो ।
संसद् भवनअगाडि ओली र गृहमन्त्री लेखकको परिचालनमा अघिल्लो दिन बीभत्स नरसंहार मच्चाएपछि सत्ताधारीहरूविरुद्ध आक्रोशित मानिसहरू सडकमा ओर्लिए । मौकाको ताक कुरेर बसेको घृणाको विष विस्तारकहरूले आफ्ना बफादारहरू परिचालन गरेर देशभर वितण्डा मच्चाए । उनीहरूको समूह ‘आइकन’ हरूले विस्तार गरेको भाष्यको आगो बोकेर सिंहदरबार पुग्यो । सर्वोच्च अदालत पुग्यो ।
राष्ट्रपति भवन पुग्यो । राज्यका तमाम संस्थाहरूको कार्यालय पुग्यो । उनीहरूको दिमागमा यस्ता संरचनामा आगो लगाउने हो भन्ने भाष्यको आगो बाँडिएको थियो । त्यही आगो उनीहरूले भवनमा झोसिदिए । भाष्यकारहरूले वितरण गरेको आगो यर्थाथमा सल्कियो र राष्ट्रिय धरोहरहरू खरानी बनाइयो । मिडिया हाउसहरूमा छानीछानी आगो लगाइयो । घृणाको आगोको निसाना बनाइएका उद्यमहरूमा छानीछानी आगो लगाइयो । देशभर यो आगो फैलियो र निमेशभरमा सार्वजनिक सम्पत्ति खरानी भयो । ‘कन्टेन्ट क्रियटर’ हरूले तयार गरेको ‘स्क्रिप्ट’ यथार्थमा बदलियो ।
अघिल्लो दिन नरसंहारले वि≈वल समाज दोस्रो दिनको वितण्डाले त्राहिमाम भयो । अघिल्लो दिनको विद्रोह दोस्रो दिन आतंकमा परिणत गरियो र जेन–जीको बलिदानीपूर्ण विद्रोहको समेत विद्रूपीकरण गर्दै आन्दोलनको अपहरण गरियो । अघिल्लो दिनसम्म नदेखिएको आन्दोलनको आयोजक भन्दै नयाँ–नयाँ मानिसहरूलाई धमाधम सतहमा उतारियो । प्रधानमन्त्री पदका लागि जंगीअड्डामा भर्ती खोलियो । अघिल्लो दिनसम्म यो आन्दोलन मेरो होइन, म आउन मिल्दैन भनेर लेखिरहेका सिंहदरबारमा आगो झोस्ने भाष्यको बितरकहरू जलिरहेको सिंहदरबार र सर्वोच्चमा एक ट्याङ्कर पानीसम्म नखन्याई एकाएक सत्ताको स्केच लिएर सार्वजनिक भए । त्यसपछि यो वितण्डाको खुल्नुपर्ने रहस्य केही बाँकी रहेन ।
nत्यसपछि जे भयो, परिणाममा सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको छ ।
परिस्थिति बदलिएको छ । तर इमानदार मानिसहरूको प्रतिवद्धतालाई सत्ताको सम्भावनाले बदल्न सक्थेन । अवसरवाद त्यस्तो रोग हो, जसले जतिसुकै खास्टो ओढाएर बाहिर इमानदारको छवि देखाइए पनि सत्ताको चास्नी पाउने बेला इमानको मजेत्रो फालेर खास असलियतमा प्रकट हुन्छ । संविधानको रक्षाको सपथ लिएर प्रधानन्यायाधीश भइसकेको मानिस, आफैंले संसद् विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति जारी गरेको, संविधान बाहिरबाट खिलराज रेग्मी अन्तरिम सरकारको नेतृत्वमा पुग्नु गलत भनेर फैसला गरेको मानिस आफैंलाई सत्ता मिल्ने भएपछि भने, ती सब मान्यताहरूको देखावटी बर्को मिल्काएर दर्जनौं होनाहार नागरिकको रगतको मोलमा उभिएर प्रधानमन्त्री पदको अभिषेक लिन उभिएको दृश्य बडो डरलाग्दो छ ।
विद्रोहको आयोजक जेन–जीहरूले नै कार्कीलाई रोजी सकेपछि राष्ट्रपतिसँग अर्को विकल्प थिएन । तर, देश सबैको हो । देखिएका दृश्यहरूमा सार्वजनिक टिप्पणी अपराध होइन भने, सबैले आफ्नो धारणा राख्ने हक रहला नै । पुराना शासकहरुलाई खबरदारी र आलोचना मन नपरे पनि नयाँ पुस्ताले यसलाई संस्थागत स्थान दिने नै छ । लाओत्सेले आफ्नो कमजोरी थाहा पाउन सकियोस् भनेर आलोचकलाई दूधभात खुवाएर लेखपढ गर्ने कोठासहित आवास दिएर स्थान देऊ भनेका छन् । बीपीले आफ्नो आलोचना गरेर लेख्न पत्रकारलाई प्रोत्साहित गरेको समकालीन पत्रकारहरूले लेखेका छन् ।
आलोचकहरूलाई शत्रु करार गर्दै मैमत्त नभएको भए, निवर्तमान सत्ताधारीहरूले अहंकारको घोडाबाट यति चर्को आँधीबेहरीको मार खाएर खसालिनु नै पर्थेन । तरुण पुस्ताले उही बाटो दोहोर्याउने छैन भनेर यो टिप्पणी लेखिएको छ । यद्यपि हामी आफैंसँग त कुनै विचार, चेतना, योजना र दृढता केही छ जस्तो लाग्दैन नयाँ पुस्तालाई अर्ति दिन ।
भएको भए यी जोकरहरूलाई हामी देशको गजुर बनाएर रगतको अभिषेक लिने अवस्थामा राख्ने नै थिएनौं । कमसेकम नयाँ पुस्तासँग यिनलाई उक्त आसनबाट खसाल्ने योजना, दृढता र तत्परता देखियो । त्यसैले हामी आफूसँग हुँदै नभएको वैचारिकी र योजनाको पाल्सी भ्रमले नयाँ पुस्तालाई अपमानित गर्ने कुनै हैसियत राख्दैनौं । तर, उनीहरूको योजना, वैचारिकी र तत्परतामा सामेल हुन सक्छौं । उनीहरूलाई उत्साहित गरेर, देखेका कमजोरीहरुमा खवरदारी र आलोचना गरेर ।
nयद्यपि, यो विद्रोह केही मानिसहरूका लागि सत्ता सुलहमा सिमित भयो भने विद्रोहका कारणहरूको सुलह हुनेछैन ।
यो सहरिया सम्भ्रान्त र मध्यमवर्गीय मानिसहरुको फेन्टासीमा मात्रै रुमलियो भने यसले अर्को स्तरको सामाजिक असन्तोषलाई जन्म दिनेछ । नेपालको जुन जनसांख्यिक, भौगोलिक विविधता र उनीहरूले ऐतिहासिक रूपमा सत्ताकेन्द्रबाट किनारीकृत भएको असन्तोष पालिबसेका छन्, त्यसको समाधानको खोजी नयाँ विद्रोहीहरूको कार्यभार बन्न आएको छ । भुइँमा रहेका गरिखाने वर्गमाथिको शोषण र उनीहरूले सामना गर्नुपरेको दुःखहरुमाथि सत्ताले अहंकारको डोजर कुदाउँछ कि समाधानको प्रारूप अघि सार्छ भन्ने सवाल पनि उत्तिकै संवेदनशील छ ।
ध्वंसात्मक चपेटामा परेका सार्वजनिक र निजी सम्पत्तिको कसरी पुनर्निर्माण गर्ने भन्ने समस्या प्राविधिक मात्रै होइन राष्ट्रिय सामर्थ्यका आधारमा आर्थिक तवरले समेत जटिल छ । तर, उत्साहित नवीन तरुणहरूलाई यी सबै समस्या, समाधान र सामर्थ्यको हेक्का छ भन्ने सोचेर आशावादी हुने र सन्तोष लिने ठाउँ भने छ । सबैभन्दा पहिले विद्रोहको आयोजना गरेका जेन–जी र उनीहरूको प्रारूपमा बनेको सरकारले विभाजित र विखण्डित राष्ट्रिय मनोभावलाई जोड्न जरुरी छ । अब निर्माणको चरण सुरु गर्नुपर्छ । त्यसका लागि कित्ताकाट र निन्दा भर्त्सनाको चरणबाट देशलाई एकताबद्ध बनाएर अघि लैजाने प्रारूप आउने नै छ भन्ने अपेक्षा गरौं ।
एकतावद्ध नभई यो खरानीबाट फिनिक्स बनेर उठ्न उति सजिलो छैन । विध्वंसको चपेटामा परेर मनोबल गुमाएको देशको माङ्गेना सम्भव छैन । आन्दोलनबाट किनारामा धकेलिएकाहरूले कुण्ठा र प्रतिशोध नेपाली जेड पुस्ताको आकांक्षालाई सघाउने र देशलाई अघि बढाउने काममा लाग्ने वातावरण निर्माणका लागि लोकतन्त्रको लिकलाई भत्काउने होइन मजबुत बनाउने काम कति महत्त्वपूर्ण छ भन्ने यो पुस्तालाई हेक्का छँदै छ । देशको जिम्मा लिएको पुस्तालाई हार्दिक शुभकामना ।
