यो समय हो— संकटलाई अवसरमा बदल्ने, एकता र दृढताका साथ राष्ट्र पुनर्निर्माणको यात्रा सुरु गर्ने ।
हरेक नयाँ पुस्ताका सपना तुहिएका छन् । प्रत्येक नेपालीको जीवन व्यर्थमा खेर गइरहेको छ । यो नेपाल राज्यको सुरुवातदेखिको शृंखला बन्दै आएको छ । २००७ सालको क्रान्ति, २०४६ सालको परिवर्तन, २०६२/६३ को जनआन्दोलनका सबै उपलब्धिपश्चात् २०७२ मा हामीले जारी गरेको संविधान कार्यान्वयन गर्दै मुलुकको आर्थिक निर्माणमा जुटेर अगाडि बढ्छौं भन्ने आशा थियो ।
तर राजनीतिक दल र तिनका नेताले राज्यसत्ताको यति कुरुप तरिकाले दोहन गरे कि आम नेपालीको सामाजिक र आर्थिक हैसियत झनै कमजोर र शिथिल बन्दै गयो । यस्तो अन्यायपूर्ण समाज र सत्ताको दमन र शोषणको विरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनलाई इतिहासले सलाम गर्नेछ । वर्तमान सराहना गर्छ भने भविष्यले पाठको रुपमा ग्रहण गर्नेछ ।
