जंगीअड्डा होइन लोकतन्त्रको आँगन

जंगीअड्डा लोकतन्त्रको आँगन होइन र हुन सक्दैन । बन्दुकको घेरामा जनताले स्वतन्त्रता र सार्वभौमसत्ताको अभ्यास गर्न सक्दैनन् । त्यसैगरी जेन–जी वार्ताकारहरूले पनि जंगीअड्डामा विद्रोहको सार्वभौमसत्ता अभ्यास गर्न सक्दैनन् । अनि, यो विद्रोहको सार्वभौमसत्ता यतिखेर सम्पूर्ण जनताको सार्वभौमसत्तासँग अन्योन्याश्रित ढंगले जोडिएको छ ।

भाद्र २७, २०८२

युग पाठक

भदौ २३–२४ को जेन–जी विद्रोहपछि मुलुक एकाएक संकटग्रस्त हुन पुगेको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत राज्यका खम्बाहरू खरानी बनाइएको छ । भवन सँगसँगै ती संस्थाहरू पनि धराशायी अवस्थामा छन् । देश सरकारविहीन छ, सडक सेनाको नियन्त्रणमा छ र जनजीवन कर्फ्युको घेराभित्र त्राहिमाम् छ । 

राजनीति मात्र होइन, देशको आर्थिक संरचना पनि ध्वस्तप्रायः छ । आपसी विश्वासको धागो टुटेको जस्तो, सबैले सबैलाई शंकाको नजरले हेरिरहेजस्तो, सामाजिक मनोविज्ञानमा सल्किएको आगो झनै खतरनाक देखिन्छ । आखिरमा देश भनेको के हो ? भूगोलको सीमाले भन्दा धेरै विचारको धागोले गाँसिएका जनताको साझा तागत न हो । सीप र सेवा, उत्पादन र व्यापार, प्रत्येक गाउँसहर तथा संघसंस्थाको नेतृत्व र सहकार्य, ज्ञान र अनुभवको निरन्तर आदानप्रदान र विकास, यस्तै–यस्तै प्रक्रियाको साझा थलो नै देश हो । 


युग पाठक

Link copied successfully